"रिसाएँ भने तिमीले जित्यौ, लौ भो अब ?"
"मैले जितेर के पाउँछु ?"
"मलाई पाउँछ्यौ, अनि जे काम अराउन पनि नोकरलाई झैं ‘उठ् भने उठ्, बस् भने बस्’ भइदिन्छु ।"
"चाहन्नँ म कोही पनि ।"
"मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा होस् अनि म हाँसुँला खुब खुसी भएर- चकोरले चन्द्रमा पाए, चातकले वृष्टि पाएझैं, कवि र कोइलीले वसन्त पाए अनि प्यासीले पानी पाएझैं आनन्दित हुँला ।"
"आफू हार्ने मूर्खता पनि कोही गर्ला ?" बसिरहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानीथकुंले भनिन् ।
"म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।"
"जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नुभयो भने के गराउने नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिएझैँ दुःख दिने कि ?" झ्यालबाट फर्कंदै नानीथकुंले भनिन् ।
"मैले जितें भने, भनूँ त ?"
"भन्नुहोस् न लौ ।"
"तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।"
"अहो ! को गाइरहोस्, त्यसो भए मै जित्छु । मैले जितें भने त
तपाईंलाई गाउन लाउँदिनँ ।"
"के गराउने त ?"
"लाखेनाच नचाउँछु ।" खित्त हाँसेर नानीथकुंले भनिन् । "’लाखे’ हुँ र म ‘लाखेनाच’ नाच्नलाई ?"
"म चरी हुँ त गीत गाउनलाई ?"
"उ: क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पूरा सङ्गीतको प्रकार छ ।"
"तपाईंको अनुहारमा पनि झम्टिहाल्ला झैं लाखेको ‘पन’ छ, आँखा लाखेझैं उफ्रीउफ्री नाचिरहेको छ ।"
"तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?"