Jump to content

Page:Ek chihan.pdf/37

From Nepali Proofreaders
Revision as of 11:25, 13 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।

"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"

"के ?"

"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?"

"हो त ? रिसाउन पाइन्न नि ?"

"हो हो लौ, रिसाउँदिनँ ।"

"नाइँ, तपाईं रिसाउनुहुन्छ ।"

"रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।"

"भैगो लौ, अरू कुरा गर्नोस् ।"

"नभने म मारे हत्या ।"

"भनिहालूँ त ? तपाईंलाई…?"

नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।

"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् ।

"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने ।

"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् ।

डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।

"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।

"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।