Jump to content

Page:Tarun tapasi.pdf/79

From Nepali Proofreaders
Revision as of 21:02, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैं संसारी मनुज बिचरा भुन्भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?

२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैंचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै तेसै जाला कठिनतम यो व्याधि कसरी ?

२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्वगुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्यजुनिको ॥

३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुणमधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥

३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥

३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥