Jump to content

Page:Tarun tapasi.pdf/51

From Nepali Proofreaders
Revision as of 20:48, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा ।
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब ॥

१०
जबर्जस्ती मेरो अति जरकटे कान पकडी
तपस्याका खोले सकल गुरुले दुर्गम कडी ।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म ॥

११
कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून् ।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू ॥

१२
डुब्यो त्यस्तो चालासित किन चराको रगतमा ?
भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा ।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा ॥

१३
लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
उदायो निःस्वार्थप्रणयविधुको शीतल कला ।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
भयो साह्रै हल्का सुखमय अनासक्त हृदय ॥

१४
जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी ।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी अग्ला अग्ला हिमशिखर सेता झलमल ॥