This page has not been proofread
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैं।
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैं।।
हिमालका नदीभित्र हिमको त्यो कडापन।
भरिनाले सबै लागे हिम झैं गँगर्याउन।।
त्रिशूली, कौशिका, कृष्णागण्डकीहरुले शिर।
लुकाये हिमको घुम्टो हाली टम्म उँभोतिर?।।
थिचँदैछ तुषाराले सारा कमलको वन।
नयाँ विचारधाराले धर्मजस्तै सनातन।।
पद्मपत्र सडे सारा हिलामा ती कठैबरी।
गुणग्राही नपायेर मिल्कियेका गुणीसरी।।
उस्तो जनमनोहारी भरिलो पद्मसंहति।
डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति।।
नपारी बाहिरी ताप देखाई शीतलोपन।
कठै शिशिरले साह्रै शुकायो रसिलो वन।।
खडाखडै सबै सिट्ठी बने तेसै वनस्पति।
प्रमेहरोग लागेका रोगी झैं लागने अति।।
न ता वृक्षविषे पात, न ता झार कतै रति।
जता हेर्यो उतै खाली उराठै लागने अति।।