Page:Mhendu.pdf/17: Difference between revisions
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 17:33, 3 May 2025
[१३]
आफ्नोभन्दा तामाङ् बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।
[१४]
सुन्दा 'म्हेन्दु' गाना इन्दु
छुन्छिन् इन्दीवरका विन्दु
झर्छन् तारा पृथ्वी जलमा
बन्छन् द्यौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन् छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया झार्छन् मानव दिलमा
गाँसिन्छन् सब देश र रीति
माला बन्दै रङ्गी फूलमा ॥
[१५]
भाषा घुम्छन्, जाति मिल्छन्
यौटै रूखमा हाँगा फुल्छन् !
देव र देवी पन्छी डुल्छन् !
एकै ज्योति फूलमा फुल्छिन् ॥
[१६]
जानें मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।
[१७]
हेलम्बुमा कान्तिपुरी छन्
कान्तिपुरीमा भोट भरी छन्
फूल अनेकन बोटभरी छन्
कमलहरूमा दिव्य गुलाफ ।
एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्
आखिर सब स्वर मुटुमा मिल्छन्
प्रेम प्रेरणा सुन्दर राहा
ब्रह्म अनेक छ एक मिलाप ॥
[१८]
सुनयुग हाम्रा नभमा फुल्छन्
मनका सपना बादल झुल्छन् ।
उदयहरूले नवी उछल्छन्
तारा बिरादर नभमा फुल्छन् ।
प्रेरण हावा ऋतुमा डुल्छन्
कविहरू तादीसँगमा झुल्छन् !
मानिस हो संसार !
उदय नयाँमा नवध्वनि खुल्छन्
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आऊ आऊ सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥