Laxmi nibandhasangraha: Difference between revisions
No edit summary |
No edit summary |
||
Line 1: | Line 1: | ||
<pages index="Laxmi_nibandhasangraha.pdf" from= | <pages index="Laxmi_nibandhasangraha.pdf" from=15 to=23 /> | ||
<pages index="Laxmi_nibandhasangraha.pdf" from=60 to=66 /> | <pages index="Laxmi_nibandhasangraha.pdf" from=60 to=66 /> |
Revision as of 21:59, 29 January 2025
पहाडी जीवन
मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्, र जहाँ कटेरो र भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू यहीं बस्तछौ ?' उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले मर्दा रहेछन् । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक गर्ने ढिंडो घुचेट्दै पुलीसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय दृश्य देखेझैं लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका, चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर रहने-जस्ता थिए । मलाई मनमा लाग्यो कि बिचरा जङ्गली बिरुवाहरूलाई कठ्यांग्रिदो फूल खंग्य्राउने तुषारमय अज्ञान र दारिद्र्यबाट निकालेर आफ्नो घरमा लैजाऊँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन् । तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।
म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्। पृथ्वीले करबलले सिस्नु र मकै दिन्छिन् । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्, र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।
मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन् र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर सुधारकहरू तुरही हुन्छन्, योगी हुँदैनन् । उनीहरू भीडअगाडि गर्जन्छन्, तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्, उनीहरू ढोलक पिट्न चाहन्छन्, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दथें । कम से कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथें । त्यहाँ जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले सोचें, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरू टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो देखाएर जीवनको मूल्य लिन्थें ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता हेर्न ! त्यसको सम्भावना हेर्न ।
मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू अनुभव गर्दछन्-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले जित्छ । हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं, विलास भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा कुराको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा देखिन्छन् र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, ऊ थाकेर आखिर मौन रहन्छ ।
सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुङ्गादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोल्हाएर पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। म त यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथें, पृथ्वीनारायणका र पृथ्वीराज चौहानका । धूलोमा अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने थिएँ, अनि रसायनका बोक्सी रङहरूले तिनीहरू चकित हुने थिए । भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या झिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउँदथे; अनि कहानी सुनाइदिन्थें, कहिले हँसाउने कहिले रुवाउने ! पहाडका कथा र सागरका कथा, सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्थें, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारङ्गी र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी शिशुहरूका, र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म ईश्वरको निगाहले गरें तर कार्यमा पुर्याउन अनेक जीवनको परिष्कृतिबिना आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू यात्रीहरूकै साथमा अगाडि बढें ।
मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय) न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई दिन्छु-सरासर दगुर्यो, ठाउँमा पुगेर सरासर फर्किएर आयो। प्राचीन ऋषिहरू यसरी जरूर यात्रा गर्दा होवैनन् । हामीलाई सधैं फुर्सतैको कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी 'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म वराबर कोही गर्दथे, तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो ।
मैले बाटामा एउटा भोटेनीहरूको नाच देखें जुन बडो रमाइलो थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी रङ्गका बलिया होलान् जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना दाँतका, राताराता घिउ-घिउ गह्नाउने, रातो कोट र सत्रन्जी जस्ता जामा लगाएका, पुड्कापुड्का ठिटीहरू थिए । तिनीहरू नाचेको निक्कै रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तवरले बराबर उचाल्दै झार्दै, बराबर हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो । नृत्य नै तिनीहरूको कला र विलासको नाममा एउटा वरदान भएजस्तो बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा धनी र सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा नाचेझैं गुलाफी रङका फूलहरू गालामा फुल्दथे । यहाँ कृत्रिमताको लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र रसिलो । खुट्टाका छिटा बलिया, कामका सिपालु तामाङ्नीहरू पहाड चढ्ने र ओर्लने आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं–
“एङ्गो सङ्गो झाझे झेङ्गा
राङ्गा राजे तिप्लिङजोग्गा !'
जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कुञ्ज बनोस् त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बरावर यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्, हावा झैं चढ्दछन् र कामबाट फुर्सद पाउनासाथ ती गोडा नाच्तछन् । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्, उस्तो नुहाउँदैनन्, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरूमा उज्जण्ड बडा डरलाग्दा हरामज्यादा हन्छन् रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्कर क्रोध देखाउँछन् ।
तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको अवस्था ठीक नभएको होला । कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौं । झिल्टुङ भन्ने त्यही रहेछ ।
झिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्, त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य देखिंदो रहेछ । यसलाई बाहुनगाउँ भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्, खरले छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू पहेंलिएर टम्म रहेका, काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना बगैंचा जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू देखिन्छन् र एक-दुई ठाउँमा लिचीका बोटहरू पाइन्छन् । माटो अलि ढुङ्गिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो, जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र बाख्रीहरू पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे ।
पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पटुका कसेर हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन् र रातोको रुचि गर्दछन्, एकआँठे कपाल ज्यादा बाट्ने गर्दछन् र काम गर्दा घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको बोकेर घाँस काटेर वस्तुलाई खुवाउने गर्दछन् । अक्सर स्वास्नीमान्छेहरूको बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले गठिला हुन्छन् । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून, किनमेल गर्ने गर्दछन् र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने काममा लाग्दछन् । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का दुरदुराउँदै गफ गर्दै रहन्छन्, छिमेकीहरूका मामलो र बन्दव्यापार, मुद्दा झगडाहरूमा टीका-टिप्पणी गर्दछन् र एक्लै भए भने भानुभक्तको रामायण लिएर फलाक्ने गर्दछन् ।
एउटा चौतारो छ । ठूलो बरको हाँगादार बोटलाई ईंटले बारेर बाटुलो पिँढी उठाएको छ, र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन् र मध्याह्नको धूपबाट बचाउ लिन्छन् । त्यहाँ कहिलेकहिले नाच र गान पनि चल्दछ । कोही गाउँखाने कथा हाल्छन्, कोही मुरली बजाउँछन्, जब गाईभैंसीहरू यताउति चरिरहेका हुन्छन् । यहाँ केटाकेटीहरूलाई पढ्नको उस्तो जरूरत देखिँदैन र यिनीहरू पढ्नभन्दा कामलाई नै ज्यादा रुचाउँछन् । बराबर यही बरमनि यिनीहरू लुकामारी खेल्दछन्, नाच्तछन् र गीत गाउँछन् । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस काट्ने काममा बहुत चतुर हुन्छन् ।
यहाँ पानीको कमी छ-एउटा पहाडको कुनामा ढुङ्गा रसाएको जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत निर्मल छ, सारा झिल्टुङलाई त्यसैले पुर्याउँछ, तर दुई हात गहिरो छैन।
झिल्टुङ शान्त छ, सोझो छ, लगरीझगरीबाट दूर छ, चाहिने कुरा फलाउँछ, शानरवाफमा विश्वास गर्दैन, सीधासाधा जीवन नै आर्यको आदर्श देख्तछ, सब विश्वास श्रद्वा, भक्ति र सनातन रीतिथितिमा अडेको छ । ब्राह्मणहरू यहाँ गोठाला र किसानरूपमा रहन्छन् । यिनीहरू अरू तलाशभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिंगार्नु नै निको मान्दछन् । गठिलो शरीर, तन्दुरुस्ती र ऋणमा नडुब्नु नै यिनलाई जीवन जस्तो लाग्छ । यिनीहरू आफ्नै हातले उमार्दछन्, गोड्दछन्, फलाउँछन् र खान्छन् । आफ्ना-आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ । ढुङ्गिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिंदा चीजहरू निकाल्दछन् र यिनीहरूलाई खरखुशामद र झूटा, बाङ्गा चालको जरूरत छैन । आफ्ना-आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्, कोरी, बाटी, सिंगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा उनीहरू दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना देखाउँछन् ।
यहाँ शहरको झिलिमिली छैन, न घर्घराहट जसले मानवताका कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना खलबल्याउँछ, यहाँ कृत्रिमता छैन जसले मनुष्यआत्माउपर अत्याचार गर्दछ । जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । खानामा विष हालिंदैन, पहाडको दूध पोसिलो छ,यद्यपि दुहुन गाहारो होस् । आलस्यका निमित्त अवकाश छैन, काम नगरी खान कसैको बूता हुँदैन, पृथ्वीमाताको दूध दुहुनुभन्दा प्राकृतिक कार्यहरू केही बुझिन्न र यो उच्च हावामा त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको नमूनारूपमा देखिन्छन् ।
यहाँ दुना, मन्त्र, मोहनी, जन्त्र, जादू, झारफूक, धामी, वीर डत्यादिमा ज्यादा विश्वास देखिन्छ, धार्मिक कल्पनाले गर्दा बिरामीलाई बिगारसँग सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका रूपमा हेर्ने गर्दछन् । यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म त्यसलाई विविध अध्ययन पाउँछु । मानवविश्वास, चलन, रीति र रिवाज कति प्रभावकारी हुन्छन्, त्यस कुराको विषयमा प्रशस्त गौड गर्न मौका भेट्टाउँछु । यहाँ न्युमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा विश्वासको भरमा ईश्वरपुकारा, पूजा, मन्त्र आदिबाटै पन्छाइन्छ । खुट्टामा घाउ लागे पनि मानिस फुक्तारहेछन् र मानसिक क्रियाहरूद्वारा धेरै चमत्कार पनि देखिंदो रहेछ र जहाँ विश्वास र हावामा रहेको पत्यार काम गर्छ, त्यहाँ हामी जस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो रहेनछ ।
यो ठाउँ वेदको केन्द्र बनोस्, वैदिक सभ्यतासँग यहाँको आधुनिक सभ्यताको सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त अवकाश पाइन्छ, शान्त उचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो आर्यग्रामको रूपमा सम्बन्धित रहोस्, विज्ञानमा भन्दा ज्यादा विश्वास र श्रद्धालु कल्पनामा जोड दिएर मानवजीवनको प्रगतिको अध्ययन होस्; सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्; यसका अभावहरू मेटिऊन्, सानो स्वर्ग बनोस् ।
के नेपाल सानो छ ?
नेपाल !
सुन्दर, शान्त विशाल !
मैले आफैंले एक दिन लेखेथें, 'विशाल' को भावना कसरी आयो म भन्न सक्तिनँ ।
भूमण्डलका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैँ विश्व छ; दूर छ तर दूरताको दिव्य जादु । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।
हिरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठुलो भनेको के ? यो दुनियाँमा तारालाई ठुलो भनौं भने अनन्त आकाश जूनकिरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादुगरी दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्– एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ : त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्यूजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लागछ ।
'धत्, नेपाली पनि पढनु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन् ।' भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ। मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीपन हेर्न मन लाग्छ । अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताऊन् तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कंदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग 'को हो ! को हो !' को सौन्दर्य- संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ । 'वाल्ज' सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने गाइनेको 'रानीवनैमा' सुन्न चाहन्छु। विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरूको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लबज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ; अप्राकृतिक नक्कलीपनमा रवाफ राख्न खोज्नाका प्रवृत्तिले हामी अरू स्कूले ठिठाको 'कम्ती छु' भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरू घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरू । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।
सानो, मिठो, शान्त, सुगन्धी, अनुपम–बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; सेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरूका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरू हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरू जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?
सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरू उत्पादन गर्न सक्ने र हरहमेसा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती तुहिनतरल निर्मल शिशुतरंगहरूको मनोहर कलकले पवित्र शैशवावस्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धुवाँले दूषित वायुमण्डलमा सभ्य माकुराको जालोजस्ता तरंङहरू खेल्न पाउँदैनन् । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादु नेपाली हृदय नेपाली आबहवाको र खानपीनका असरले गर्दा सच्चा आर्यभावहरूको स्पन्दन र आर्यसपनाले सजीव छ र अरु देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्; सभ्यमानी देशहरूमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरेझैं हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरू सन्तोष अनुभव गर्दछन्, मैदानका ताता मगजहरू खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरुको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भुलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?
म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादुका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीं मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादु भने नेपाली माटोको मूर्ति जो मै हुँ– जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो–यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुवप्रदेशको नमुना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । यहीं सब आबहवा पाइन्छन्, यहीं छन् बेबिलोनका ह्यांगिङ गार्डेन्स–झुलन बाग, यहीं छन् तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंङर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीं दिनभरिभरि र मानव- आत्मा यहीं वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरू यसकै अगाडि जूनकीरी झैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्याउँछु यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?
मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरू, रंग र छाया र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटोजस्तो, मैदान चित्रकारी हुन सक्तैन, तसबीर भुइँजस्तो हुन्छ, जसबाट सच्चा तसबीर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी छ, यहाँका रङ्ग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र सङ्गीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै नीचाइ, चढ्नाको जादू, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको शेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याएजस्तो मात्र छ, यहाँ हरएक पटमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई- तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन् । म कहिले हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरू छाया, घाम, सिमसिमे पानी र कुहिरो ।
जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरू रंगदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरूले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्, झ्याउका मोती छरिएका छन्, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरू सजीव दुनियाँका हलचल झैं हमेसा बोलिरहेछन्, जहाँ प्रकृति रङ्ग-रङ्गका दृश्यचित्र रची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्, जहाँ लहराहरू राष्ट्रिय झन्डा झैं प्राकृतिक पर्खालमा फरफराइरहेछन्, अनेकौं फूलहरूले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरू बनिरहेका होओइनन् ?
मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजीक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्र-भित्र गाँसिएको हुन्छ, शस्याढ्य भूमिका पुत्रहरूका मगजमा उब्जनी-प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरू विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरू फूलबारीको नजिक जन्मन्छन्, महापुरुषहरू पहाडको नजिक । दूधमुखे शावकहरूका चेहराहरूले मान्छे धेरैजसो साधु बन्छन्, बाघ पाल्ने वनका नजीक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्, धेरै चराहरू बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरू व्यक्त हुँदै आउँदछन् । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक् र अर्थको । स्वर्ग बर्सन्छ त्यहीं, पहाडी अविरल झरझरको संहीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा दगुर्दैछन् ।
तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युूझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, 'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।'
जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिंदो रहेछ–जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए 'तँ को होस् ?' भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें– 'नेपाल', मृत्यु स्वर्गबाट ओर्लदा 'तँ के चाहन्छस् ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थें, 'नेपालको भलाइ !' अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।
विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठुलो चिज केही हुँदैन; र उसले सम्झँदैन कि यो खालि विशालको एक अल्प खण्ड हो । 'पूर्णात् पूर्णमिदं' भने जस्तै मलाई यसबाहिर अर्को क्षितिज भन्ने बुझ्नमा नै के फाइदा ? सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान् नै ठहरिन्छन् । मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो ।
जब म विदेशमा हुन्छु, तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम सङ्कुचित गुण हो भन्ने लेखकहरूले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन् । तर, ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वप्रेमी विश्वसिद्धान्ती लेखक र कविहरू भुल्दछन् कि विश्वप्रेम भनेको चिज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्तैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा सपना पनि नेपालीपनको ग्राह्य गुण छाडेर उड्न खोजे भने नबर्सिने बादलभन्दा बेकम्मा हुन्छन् । सजीव अनुभवहरूको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरुपमा अनेक क्रियाहरूद्वारा आत्मप्रकाशन लिइरहेछन् । सार्वजनिक विश्वसत्यात्मक जातिकल्याणकारी तत्त्वहरूका सम्बन्धको आधारमा म लेख्तिनँ; लेख्ने नेपाल हो, म बोल्दिनँ; बोल्ने नेपाल हो, मेरा विचार होइनन्; नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरू हुन् खालि मभित्रको अमर तत्त्व । यी सामग्रीहरूद्वारा नवीन-नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छु ।