Jump to content

Chadbad/chadbad

From Nepali Proofreaders
Revision as of 20:17, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Chadbad.pdf" from=4 to=11/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
चाडबाड

उत्तर, दक्षिण, पश्चिमपट्टि तीनै दाउ खुला
च्याँखे उत्तिकै वैरिन्छन् कुनै साना, ठूला
आलाकाँचा पत्रकारको ढाँचाकाँचा देख्ता
कोजाग्रत पूर्णिमामा गुप्त जूवा मारे झैं लाग्छ
(१)

जति जति शिक्षा बढ्छ उति बेकारी
जति जति बेकारी बढ्छ उति क्रान्तिकारी
कहाँ जाने, के गर्ने, शिक्षितवर्गको दिमाग
लक्ष्मीपूजा, ताइताप्केमा सेल घुमे झैं लाग्छ
(२)

कसैको पनि यो सिद्धान्त भन्ने पहिचान छैन
कुन धर्म, कुन परंपरा, कुन संस्कृति, ज्ञान छैन
बहु जन, बहु रूप, बहु वय, बहु भेष
भाइटीकामा नव रंगी टीका लाए झैं लाग्छ
(३)

आफू जन्मेको साल पनि भन्न नहुने गोप्य
पेटभित्र के छ के छ आँत पाईनसक्नु गोप्य
हिजोआजका केटीको शुभ विवाह त मलाई
कुष्माण्ड नवमीमा कुभिण्डो दान गरे झैं लाग्छ
(४)

कालेको कानमा साउती गरूँ, पाकेको पिप ह्वास्स गनाउँछ
गोरेको कानमा सुटक्क भनूँ, वज्र बहिरो सुन्दैन
कल्लाई भनूँ, कल्लाइ भनूँ, यो बजारको भाउबेसाहा
हरिबोधिनी एकादशी, घाँटीमा पिंडालु कोकाए झैं लाग्छ
(५)

बेपत्ताका मानिस झ्वाट्ट माथि शिरमा पुग्छन्
हेर्दा हेर्दै तुरुन्त फेरि तल पुच्छरमा झर्छन्
उन्नति र अवनतिको के छ र यहाँ ठेगान ?
वैकुण्ठे चतुर्दशीमा वैकुण्ठे खेले झैं लाग्छ
(६)

एक बित्ताको देशमा कति पो काम होला र !
मिलेर बसौंभने के ठाम नहोला र ?
हरेक टोलका ठूला घर––अड्डा र कर्मचारी
बालाचतुर्दशी, पशुपतिको वनमा सतबीउ छरे झैं लागे
(७)

सैंतीस सालको साहित्यसेवाले न कसैलाइ रिझाउनै सकियो
न त एकतीस वर्षको नोकरीमा कौडी कमाउनै सकियछ
न त एक दर्जन छोराछोरीको बाबु नै बन्न सकियो
सारा जीवन त पूसको आइतवार झैं अलिनो पो लाग्छ
(८)

अध्ययनमा लगन छैन, अनुशासनमा आसन छैन,
स्थिर चित्तवृत्ति छैन, समयको पनि पालन छैन,
भविष्यको उज्ज्वल आशा, राष्ट्रका कर्णधार
विद्यार्थीहरु माघे संक्रातिमा काँचो खिचडी छड्के झैं लाग्छ
(९)

हामी "कवि" भनेर कवि–संमेलनमा कुदेको देख्दा
हामी "कथाकार" भनेर कतै कतै कुर्ल्हेको सुन्दा
हामी "नाटककार" भनेर रंगमंचमा कड्केको हेर्दा
श्रीपंचमीमा नानीले "कपूरी क" नचिन्हे झैं लाग्छ
(१०)

हामीलाइ काम चाहिएको छ, एक पेट माम चाहिएको छ,
शीत, वर्षा ओत लाग्ने एउटा ठाम चाहिएको छ
नवरात्रीको चण्डी जस्तो उही पुरानो भाषण सुन्दा
शिवरात्रीको जागरणमा झप्प झप्प ऊंघ लागे झैं लाग्छ
(११)

उता हेर्छु एक गाँसको निम्ति पसीना बहिरहेछ
यता हेर्छु सिनेमाको खहरेमा धनराशि बहिरहेछ
यस्तै वैषम्यको विषालु हावा सर्वत्र नै फैलिरहेछ
अनि त आफ्नो मुटु फागूपूर्णेमा चीरदाह गरे झैं लाग्छ
(१२)

मान्छे सबै मुडुला छन् सधैं मलामी जस्ता
घर पनि मुडुला हुँदैछन् इन्जिनिएर जस्ता
कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा
घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटे झैं लाग्छ
(१३)

झरना रोएर गइरहेछन्, खानी गुम्सेर बसिरहेछन्,
वनको अकाल मृत्युमा जीवजन्तु तड्पिरहेछन्,
सहानुभूत हृदयले यति दुई शब्द लेख्दा पनि
मातातीर्थे औंसीमा आमाको मुख हेरे झैं लाग्छ
(१४)

ठूला पदमा हामी बस्ने हामी मात्रै ठूला
तिमीहरु ता जुत्ता व्हौ, हामी श्रीपेच, ठूला
राणाको त्यो साँढा नीति पछारिएको देख्ता
अक्षय तृतीया, शीतल ! शर्बत पिए झैं लाग्छ
(१५)

सूचनाले हिंसा रोकेको छ तापनि
हिंसा त भइ नै रहेछ––यता पनि, उता पनि
परीक्षकले परीक्षार्थीको कापी रेटेको देख्दा
बुद्धजयन्तीमा बुद्धकै आत्मा छटपटाए झैं लाग्छ
(१६)

पहाड, तराई यहीं छन्; लेक, बेंसी यहीं छन्;
युरोप, अमेरिका यहीं छन्; चीन, जापान यहीं छन्;
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीं छन्;
काठमाडौं शहर त दशहरामा जोगी–तरकारी पाके झैं लाग्छ
(१७)

पुरुषको पुरुषार्थ सार्‍हो हुन्छ, नारीको भावना कोमल हुन्छ
बच्चा बोक्नेलाई बन्दूक बोकाउनु बेकारको काम हुन्छ
नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्न थालेको देख्दा
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे झैं लाग्छ
(१८)

बुहारीले घरधन्धा गर्छे म बोझो चुसेर बसुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
गुरुपूर्णेमा लोभी गुरुले र्‍याल चुहाए झैं लाग्छ
(१९)

मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
कतै नबिक्ने सेनामेना पछि लगायो भुरा
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
गठेमंगल साँझमा आजाजुजे चिच्याए झैं लाग्छ
(२०)

यहाँ, छातीभन्दा पनि अरे ! तक्मा धेरै छन्
ईमानदारीभन्दा पनि चकमा धेरै छन्
हरेकले पाउनैपर्ने, हरेकले लाउनैपर्ने
हर दैलोमा नागपंचमी, नाग टाँसे झैं लाग्छ
(२१)

राष्ट्रिय, अन्तर्राष्ट्रिय छैन सूक्ष्म कुराको ज्ञान
जनताका प्रतिनिधि ? बेच्तैमा चाँदीमा गुणगान !
जुठे पनि, ठुटे पनि आज जो पनि नेता छन्
साउनमास, जनैपूर्णेमा क्वाँटी उम्रे झैं लाग्छ
(२२)

इज्जत जाने त यहाँ कुरै छैन जब इज्जत नै छैन
पाकेटमारसित केको डर जब जेबमा कौडी छैन ?
हाम्रो इज्जत ! हाम्रो औकात ! टिम्केर हिंडेको देख्दा
गाईजात्रामा खुर्सानीको माला, झुत्रो छाता ओढे झैं लाग्छ
(२३)

नाम गयो, दाम गयो, (ट्वाँटमय टोल भयो)
जात गयो, जागीर गयो, जोबन गयो, जीवन गयो,
चौबाटाका माझमा होनहार नव युवक
कृष्णाष्टमी, रातमा कंस पछारिए झैं लाग्छ
(२४)

नांगो छाती, नांगो पिठ्यूँ, नांगो पाखुरा, नांगो पेट
चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट
सती साध्वीको रित्तो निधार, झाँक्रो फिंजेको देख्दा
तीजमा भोकले पार्वती बौलाइन् कि झैं लाग्छ
(२५)

हरेक अड्डा गएर हेरौं एउटी महिला टाइपिस्ट
तिनैद्वारा छाप्नुपर्छ सबैकी ती इष्ट
तिनै माननीया छन्, ती नै पूजनीया
ऋषिपंचमी, सप्तर्षिको बीच अरुन्धती झैं लाग्छ
(२६)

दुइको चार बनायो, चारको आठ
आठबाट अट्ठाईस बन्छ, अट्ठाईसबाट एक सय आठ
नाकभन्दा नाइटो अग्लो साहूमहाजनको भुँडी देख्दा
सोह्रश्राद्धमा बाजेले ठहरभर खीर खाए झैं लाग्छ
(२७)

छिमेकीले आँगनसम्म ल्याइदिए पानी
उनले पनि के भन्लान् ए ! कत्ति लाज नमानी
एक घुड्कोको सात रुपियाँ जिप्टाएको देख्दा
घटस्थापनामा घडा नै नथापूँ कि झैं लाग्छ
(२८)

काम गर्ने गरिरहेछन्, अघि अघि बढिरहेछन्
बथुवाइ गर्ने गरिरहेछन्, डाहले आफै जलिरहेछन्
कोही घायल हुने होइन, कसैलाई लाग्ने होइन
फूलपातीमा टुँडिखेलमा बढाइँ हाने झैं लाग्छ
(२९)

सीता, बुद्ध जन्मेको हो यो पुण्यभूमि !
गोकुलधूप सल्कनु पर्ने हो यो देवभूमि !
चुरोटको धूवाँले देश व्याप्त पारेको देख्दा
महाष्टमी, मासु पोले झैं नाकमा ठस्स लाग्छ
(३०)

सत्यताको हत्या हुन्छ, दुर्बलतामा मार हुन्छ,
समालोचक भन्ने खुकुरीको पानी तीखो धार हुन्छ
सीधासादा, भोलाभाला कवि, कलाकारहरुलाइ
महानवमी, कोतमा बोका, राँगा छप्काए झैं लाग्छ
(३१)

यता हेर्‍यो पहेंलै छ, उता हेर्‍यो पहेंलै छ,
कतै धान पाकेको छ, कतै सयपत्री फुलेको छ,
कति धनी यो देश ! कति राम्रो यो देश !
विजया दशमी, जमराको माला लाए झैं लाग्छ !
(३२)