Jump to content

Kavi bhanubhaktako jivancharitra/kavi bhanubhaktako jivancharitra

From Nepali Proofreaders
Revision as of 20:13, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="kavi_bhanubhaktako_jivancharitra.pdf" from=10 to=36/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
कवि भानुभक्ताचार्यको
जीवनचरित्र
श्री गणेशाय नमः

हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि पश्चिम तरफ् तनहूं नाम गर्‍याकी देश अझतक प्रख्यात छँदै छ जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल्‌ गनिन्थे, जस्का प्रबल प्रतापले यवन राजाहरूको यस्‌ तर्फ आउनाको इच्छासम्म हुन दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको तहसील हुंथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन्‌ नखैंची छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल अनमोल छन्‌ । जहाँका जङ्गलको विचित्र शोभा स्वर्गका नन्दनवनका शोभालाई लज्जावान्‌ गरी दिन्‌छ । बखत्‌ बखत्‌मा जङ्गलका पशुको गर्जन्‌ पनि सनिन्‌छ; कहाँसम्म बयान गर्नु अर्थात्‌ तनहूं देश सामान्य छैन ।

अनुमान्‌ सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासर्कारको प्रताप फैल्यो यसै बखत्‌मा गोर्खासर्कारले कोट कांगडादेखि पूर्व लगायत शिकिम्‌ (जस्लाई सौखीम पनि भन्दछन्‌) सम्मका राज्य आफ्ना कबुज्‌मा गर्दा दैवी इच्छाले यस्‌ तनहुं राज्यको पनि स्वत्रं (तन्त्र) ताको मिति सकियेको हनाले यो राज्य पनि गोर्खा राज्यमा मिल्यो । पछि पनि शूर वीर धीरवान अफिसरका असल्‌ बन्दोबस्तले राज्य स्थिति श्री ५ गोर्खासर्कारको बहुत बढिया हुन गयो । श्री ५ गोर्खासर्कारको यश कीर्ति सारा भारतवर्षमा प्रख्यात छ, जहाँका रण शूर पुरुष जातिको वीरता र खुकुरीको चमक्‌ दमक्‌ सन्सारभरका वीर समाजमा वाहवाही पाउँछन्‌ । गम्भीर राजनीतिको चलन्‌ जहाँ सहज्‌ देखिन्‌छ । न्याय गर्नमा त "निसाफ् न पाये गोर्खा जानू" भन्ने उखानै छ । यसै औसरमा म पनि श्री ५ गोर्खासर्कारको यश कीर्तिलाई धन्य भनी एक्‌ श्लोक्‌ लेख्‌तछु-


अचल् झण्डा फर्कोस्‌ फरफर गरी कान्तिपुरिमा ।
रिपूको मन्‌ थर्कोस्‌ थरथर गरी छीन घरिमा ॥
यवन्‌ले राज्‌ गर्दा कति पतित हिन्दुस्थल भयो ।
फकत्‌ यो नेपाल्को मलुक बचि कञ्चन्‌ रहिगयो ॥

यदि श्री ५ गोर्खासर्कारको प्रचण्ड भुजदण्ड यस्‌ उत्तराखण्डको रक्षक नभयाको भया आज हाम्रा आर्य आचार्यहरूको धर्मको मर्यादा एक्‌ रहने थियेन । श्री ५ गोर्खासर्कारका दयादृष्टिले गौ-ब्राह्मणको प्रतिपालन; विजयी क्षत्रीवर्गको अतुल पराक्रम, र तस्तै अरू वर्णको काम, राज्यभक्ति, धर्मको चर्चा, नीतिको मर्म जान्न्या गुणीहरूको अपूर्व विद्याको प्रभाव जुन्‌ नेपाल देशमा बराबर देखिन्छ; यस्ता नारायणावतार सूर्यवंशी हाम्रा गोर्खासर्कारको प्रबल प्रताप दिन्‌ २ बढ्दै रहोस्‌, कीर्ति र यश् दुवै फैलिंदै रहून्‌, तस्तै प्रजाहरू पनि "दिन्‌ दोब्बर्रात चोब्बर्गरिकन दुनिञा सुक्खले दिन्‌ बिताउन्‌" भने यस्तो गरी सर्कारको जय मनाई यशका भागी हून्‌।

अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस्‌ । कविको पवित्र जीवन वृत्तान्त साधारण कुरो ह्वैन । अघि मैले बयान्‌ गरेका तनहूं देशका वासी एक्‌ श्रीकृष्ण नाम गर्‌याका आचार्य थर्‌ भयाका उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान्‌ हुनाले भक्तको चित्त धर्मार्थमा लगाई आफू पनि ब्रह्मकार्यमा तत्पर रही ई श्रीकृष्ण आचार्यजी सुखपूर्वक प्रशस्त खेतीपाती चलाई उत्तम अन्नले जीवनाधार गरी रहे र इन्को सत्‌गुण प्रकृति हनाले तनहूं देशभरिमा नामवर भये । संस्कृत विद्यामा पनि असल्‌ हुन्‌ किनभने भानुभक्तलाई इनैले तालीम गरेका हन्‌ । एक्‌ पल्ट एक्‌ मानिस्‌ले भानुभक्तलाई 'चिह्न सकिन, तपाञी को ? भन्दा भानुभक्तजीले भने– 'मलाई चिह्नेर के गर्छौ ? भन्दामा पनि त्यो मानिस्‌ले दोहर्‌याई सोद्धा भानुभक्तले झट कविता गरी यो जवाब्‌ दियेका पनि छन्‌–


पाहाड्‌को अति वेस देश्‌ तनहुंमा श्रीकृष्ण ब्राह्मण्‌ थिया ।
खुप्‌ उच्चा कुल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया ॥
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिह्नी लिया ॥

यस्ले श्रीकृष्ण आचार्यजी असल्‌ पण्डित रहेछन्‌ भनी जानिन्‌छ । ई श्रीकृष्ण आचार्यजीका ६ पुत्र भये– ज्येठा धनञ्जय, माहिला काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र कान्‌छा इन्द्रविलास हुन्‌ । छवटै छोरा श्रीकृष्ण आचार्यजीका बुद्धिमान र पठित थिये । श्रीकृष्ण आचार्यजीका ज्येठा छोरा धनञ्जय आचार्यले बालख्‌ कालमा विद्याको उपार्जन गरी पछि समर्थवान हुंदा, खर्दारी जागीर पाई सर्कारी कामकाजमा लागे । क्यै बर्षपछि ई धनञ्जय आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै हुन्– इन्का नाम भानभक्त हो । इन्को जन्मवर्ष विक्रमीय सम्वत्‌ १८६९ साल हो । हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्‌ । इन्को जन्मस्थल तनहूं देशका चुंदी बेसीको रम्‌घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्‌, जुन्‌ श्लोकलाई म ञहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर्‌ लेखी दिन्‌छु–


भानूभक्त भनी प्रसिद्ध नरमा जस्को त नाऊँ पनि ।
घर्‌ तिन्को तनहूँ त बेसि चुंदि हो गाऊँ छ रम्‌घा भनी ॥
प्रख्यात्‌ छन्‌ सब लोकमा ति गुणि हुन्‌ विद्वान्‌ कवी खुब् थिया ।
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥[1]

कवि भानुभक्ताचार्यको वंश विस्तार


श्रीकृष्ण आचार्य

१. धनञ्जय → कवि भानुभक्ताचार्य → रमानाथ
२. काशीनाथ
३. पद्‌मनाभ
४. तुलसी
५. गङ्गादत्त
६. इन्द्रविलास → ………→रामदत्त धनञ्जयजीका एकै पुत्र हुनाले बडा यत्नसाथ पालन पोषण गरी ई छोरा भानुभक्तलाई जन पढ्न सकने उमेरका भये श्रीकृष्णका तालीममा राखी दिये; १८ वर्षका अवस्थामा लेख्‌पढ्मा हुसियार्‌ भये । विद्याको रस्‌ पाई मग्न भयाका भानुभम्तको चित्तको प्रसन्नताको बयान्‌ को गरोस्‌ । विक्रमी सम्वत्‌ १८९१ सालमा भानुभक्त एक दिन्‌ हावा खान भनी यसै डुल्‌दा डुल्‌दा एक नदीका तीरमा पुगेछन्‌ । पहाड्को खोच्‌ तहाँ परेको हुनाले र ई भानुभक्त पनि घाम्‌मा हिँडेर तहाँ शीतल्‌ जग्गामा पुगेका हुनाले नदीका किनारमा एक ठूलो ढुंगो रहेछ; तेस्माथि पल्‌टेछन्‌ । हिँड्दा साह्रै थकाइ लागेको हनाले, मलयाचलको वायुसमान हावा मन्द मन्द चलेको हुनाले, मधुर मधुर मनहरा चराका बोली सुन्नाले बडो आनन्द पाई तहीं भानुभक्तका आँखा लागेछन्‌ । अन्दाजी दुई घडी सुतेपछि फेरि निद्राबाट जागा भै बस्ता ती सुतेकै ढुंगानेर एक घाँसी बराबर घाँस्‌ काट्न लागेको रहेछ र भानुभक्तले तेस्‌ घाँसीलाई 'कहाँको होस्‌ ?' भनी सोधे र घाँसीले भन्यो 'नानी बाजे, मेरो घर ञहाँबाट दुई कोस्‌मा छ । म घाँसी हूँ; भरजन्म यसै घाँस्‌मा बिते । यसेरी घाँस्‌ काटी डोकामा हाली गाउँतिर लैजान्‌छु र दुई आना तीन आना जति मिल्‌छ उतिमा यो घाँस्‌को भारी बेची रातिमा घर जान्छु; मेरा एक स्वास्नी छ छोरा २ टा छन्‌ । तिनीहरू पनि घाँसै काटी भाग्य अन्सारको कमाई आजको आज भोलिको भो (लि) निर्वाह गरी रयेका छन्‌ । यति वर्ष त बिताञे अब आगे जसो होला' यस्ता पूरा दरिद्रीको हाल भानुभक्तजीले सुनी मनमा बडो खेद मानी फेरि तेस्‌ घाँसीलाई सोधे, 'ए घाँसी दाइ, उसो भये तिम्रा पासमा क्यै धन्‌ छैन ?' घाँसीले भन्यो 'बाब नानी ! धन्‌ पासमा भयेर गर्नु के ? खानपिनसम्मको खर्च टार्न सक्‌ने जति धन्‌ जुरेदेखि पुगेन ? त्यति म सधैं कमाइहाल्छु बरु क्यै २/४ पैसा गरी जम्मा गरेको पनि यौटा कवा खनाउदा खर्च भै सक्यो । आफै बिचार्‌ गरन नानी, घरमा थैलीका रूपिञा कहायेर सित्तिमा ढुंढी पार्नु के काम, तहाँ चैं र आफ्ना मतलब्‌ भर्को राखी बाकी इ मैले गरेजस्ता धर्म काम्‌मा खर्च गरिदिये धर्मको धर्म नाम्‌को नाम्‌ । भला यौटा इँदार्‌ खनाई रहेछु; सय पचास वर्षसम्मन्‌ फलाना घाँसीले बनायेको इनार हो भन्ने नाम्‌ त रहला । भयेको धन्‌ जम्मा गर्‍यो; प्वाक्क लागेर आफू मर्‍यो, वारिस्‌को धन्‌ सत्र आफू अलपत्र; कुकर्‌ मर्‌यो कि स्याल्‌ मर्‌यो क्यै पत्ता लाग्दैन नानी ! हद होला सन्तान्‌ रह्यो भने नातिसम्मले 'ए, हाम्रा बाजे फलाना थिये; यस्तो गर्दथे उस्तो गर्दथे भनेर सम्‌झला, उई पनि बर्ष छ मास्‌मा एक्‌पल्ट फेरि दैवगतिले सन्तानै रहेन भने तेति पनि सपनामा घोडा चढेझैं हुन जान्‌छ । हुन त मैले तिमी नानीसित बडा शास्तर्का कुरा झैं गरें तर म घाँस्‌ काट्ने के जान्द छु ! अब त घाँस्‌ पनि एक्‌ भारी पुगिसक्यो हो' भनी डोका भरी हाली खुर्पी घुसारी 'जाऊँ है त नानि' भनी भानुभक्तसित बिदा भै घाँस्‌को भारी बोकी गाउँतिर गयो । जब घाँसी आफ्नो बाटो लाग्यो भानुभक्त टोल्हाये; एक्‌लै सोही ढुंगामा बसेरै विचार्‌ गरे–धन्य–ईश्वर ! यस्‌ घाँसीलाई यस्तो ज्ञान, पण्डितले शास्त्र वर्काई फर्काई के गर्नन्‌ । घाँस काटी जहान्‌ पाली जे उब्रेका धनले कवा खनाउनु सानो करो हो ? तेस्‌ घाँसीले कथा सुनेन होला; संग सोहबत्‌ भने के गर्‌यो होला, जस्को जनम्‌ घाँसै काट्नामा गयो तर पनि धन्‌भन्दा नाम ठूलो हो भन्ने बुद्धि तेस्ले पायो कहाँबाट ? यो लीला हरिको हो ! भानुभक्त यति एकलै मन्मा भन्दै थिये; कविजननी शारदाका मनमा दया तेसै बखतमा आयो र भानुभक्तलाई कविता गरूँ भन्ने यस्तो लह (ड) चली तेसै ढुंगामा कोरीकन ई आदि दुई श्लोक बनाये ।


भर्जन्म घाँसतिर मन्दिइ धन्‌ कमायो ।
नाम्‌ क्यै रहोस्‌ पछि भनेर कवा खनायो ॥
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ॥१॥


मेरा इँदार तत सत्तल पाटि क्यै छन्‌ ।
जे धन् र चीजहरु छन्‌ घरभित्र नै छन्‌ ॥
तेस्‌ घाँसिले कसरि आज दियेछ अर्ती ।
धिक्कार हो ! मकन बस्नु नराखि कीर्ति ॥२॥

ई दुवै श्लोकलाई कण्ठ गरी भानुभक्त पनि आफ्ना घर्‌ तरफ्‌ फिरे । यसै दिन्‌देखि कवि भानुभक्ताचार्य्यका हृदयमा कविताको प्रेम बस्यो– इनै दुई श्लोक्‌लाई खाँदा, पींदा, उठबस्‌ गर्दा बराबर भनी रहँदा कसैले सेल्ली भने कसैले 'के भयो ?' भनी सोधपुछ् गरे । तर भानुभक्तले क्यै पनि जवाब् दियेनन्‌; आफ्नै मनका तरङ्गमा दङ्ग थिये । अब कुन्‌ उपायले म यस्‌ सन्सारमा प्रसिद्ध हुंछु भन्ने यस्तै कुरा मात्र मनमा खेलाई रहँदा रघुवंशकुलतिलक्‌ श्री रामचन्द्रको कथा भाषा श्लोक्‌मा बनाये ता संस्कृत नजान्न्याहरूको पनि उद्धार हुन्या थियो, मेरो पनि नाम चल्‌नेछ भनी अध्यात्मरामायणको तर्जुमा भाषा श्लोकमा गर्न लागे । पैल्है रामायण बालकाण्डको मात्र तर्जुमा विक्रमी सम्वत्‌ १८९८ मा गरी सिध्याये तर प्रथम कविता हुनाले बीच बीचमा नमिल्‌न सकेका पदको क्रम्‌ पछिबाट बहुत्‌ असल्‌ युक्तिले जोडीकन राखे । रामायण बालकाण्ड बनाये पछि ८ वर्षसम्मन्‌ कठि भानुभक्तजीले फाट्फुट् कविता मात्र गरे, जुन्मध्ये एक्‌ श्लोक्‌ अझसम्म खूप्‌ प्रख्यात छ । विक्रमीय सम्वत्‌ १९०१ मा कलाधर ब्राह्मणलाई मंत्र सुनाउन भनी कार्तिक मासमा भानुभक्तलाई २/३ दिन्को बाटो हिँडी निज कलाधरका घर जानुपर्‌यो । रम्‌घा गाउँदेखि दुइ कोस्‌ पर रहने एक गजाधर सोती थिये । इन्को घर रिस्ती नदीका किनारानेरै थियो । फर्सत्‌ पायेका बेलामा गजाधर सोती रम्‌घा गाउँमा आई भानुभक्तजीसित भेट गरी 'एक्‌ दिन्‌ त मेरा घर पाल्‌नुहोस्‌' भनी सद्धैं भन्थे । भानुभक्त पनि अनुकूल नपाई गजाधरका घर जान सकेका थियेनन्‌ र निज कलाधरकहाँ जानुपर्दा बाटामा गजाधर सोतीको घर पनलि तेस्‌ दिन्‌ तहीं बास बस्न आँटी ती गजाधरका घरमा गै 'बास्‌ पाउँछु कि ?' भनी भने । तेस्‌ दिन्‌ गजाधर सोती काम विशेषले आफ्नू ज्येठो छोरो ली एक्‌ दुई दिन्को बाटो परदेश् गयेका रहेछन्‌ र गजाधर्की बुहारीले भानुभक्तलाई 'पिंढीमा बस्नुहोस्‌' भनी भन्दा भानुभक्त कविजी तहीं बसे । फेरि गजाधर सोतीकी ब्राह्मणी आयेर 'ह्याँ न बस' भनी पिंढीमा बस्न दिइनछन्‌ । फेरि बुहारी अलिक दयावती हनाले ढिकी राखेको छाप्रो देखाई 'ह्यैं बस्नुहोस्‌' भनी गइन । भला पर्देशमा यो छाप्रो पनि हत्तपत्त कहाँ पाइन्‌छ भनी सन्तोष गरी तेसै ढिकी राखेका छाप्रामा बास्‌ बसे तर साँझ हुने हुने बेलामा फेरि गजाधर्की पत्नी तेस्‌ ढिकी राखेका छाप्रामा गै 'हुँदैन ह्याँ बस्न; भोलि बिहानै हाम्रा धान्‌ कुट्ना पर्ने छन्‌' भनी बिचारा पर्देशी भानुभक्तलाई तेस्‌ छाप्राबाट पनि निकालिन्‌ । वरपर तहाँ आर्काको झोपडी नदेख्ता निराश्‌ भै एक् रूख्‌मनि गै रात्‌भर्‌ तहीं शीत्मा डल्लिये । भोलिपल्ट बिहानै उठी बाटा लाग्ने बेलामा एक्‌ ६/७ वर्षको लडिको देखेर 'को हौ नानी तिमी, कस्का छोरा ह्वौ ?' भनी सोद्धा 'गजाधरको कांछो छोरो हुं' भनी तेस्‌ लड्काले भन्यो र 'उसो भये एक्कै छिन्‌ पख है त' भनी यो श्लोक बनाये:–


गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्‌ ।
नरक् जानालाई सबसित बिदाबादि भइछन्‌ ॥
पुग्यौं साँझ्‌मा तिन्का घर पिढिमहाँ बास गरियो ।
निकालिन्‌ साँझमा अलिक पर गुलजार[2] गरियो ॥

फेरि यो श्लोक लेखेको कागत्‌ लड्काका तनामा बाँधिदिये । 'बाबालाई घर आयेपछि दिए है' भनी फेरि श्लोक्‌ तेस्‌ लडकालाई काठ गराई भानभक्तजी आफ्ना बारा लागे । गजाधर्का छोराले बालक्खै हुंदा श्लोक्‌को अर्थ नजानी यो श्लोक् भनी भनी अरू लड्काहरूसित खेल्दा अरू अरू लड्काहरूले पनि यै श्लोक भने । २/४ दिन्‌पछि गजाधर्‌सोती घर आई पुग्दा साथ्‌ लड्काअ (ह) रूले यो श्लोक भनेको सुनी मनमा बडो खेद्‌ गरे; आफ्नी पत्नीलाई खुप्‌ हप्‌काये । यस्‌ श्लोकले गर्दा भानुभक्तले गजाधर्‌ ब्राह्मणको बेइज्जती गरे भनी कसैले दोष्‌ नलाउन्‌, भानुभम्तले ब्राह्मण्‌को अखानो गरेको ह्वैन, अतिथिको सत्कार नगर्नेलाई यस्तै दण्ड मिल्दछ भत्ती दृष्टान्त देखाएको हो । तस्‌ अर्थ अतिथिको सत्कार गर्नू; सत्कार नगरेदेखि पाप्‌ लाग्दछ भनी शास्त्रकारहरूले पनि भनेको छ ।

कवि भानुभक्तका सम्वत्‌ विक्रमी १८९८ देखि १९०५ सम्म बनेका फुट्कर कविताको पत्ता छैन । सम्वत्‌ १९०६ विक्रमीयमा जग्गाबाबत्‌को झगरा भानभक्तलाई आई पर्दा नेपाल्‌ नआई नहुन जाँदा झगराको कागत्‌पत्र ली आउँदा नेपाल्‌ आई पुग्नै दिन काठमाणौंदेखि एक् कोस्‌ उत्तर्तरफको बालाजी नाम गरेका जग्गामा आई क्यै बेर थकाई मार्दा कति भानुभक्तले ई दुइ श्लोक अत्त्यन्त रमणीय जग्गा रहेछ भनी बनाये । प्राय: भानुभक्तका भुङ्गारका कविता धेरै कम्‌ती देखेको होला तर यस्ले भानुभक्तलाई जस्तो करुणा रस्‌मा लेख्‌ने ताकत्‌ थियो तस्तै शृङ्गार रस्‌मा पनि लेख्‌न सक्तथे, शृंगारको नमूना हेर्नुहोस्‌–


ञाहाँ बतेर कविता यदि गर्न पाऊँ ।
यस्‌देखि सोख अरु थोक म के चिताऊँ ॥
यस्माथि झन्‌ असल सुन्दरि एक्‌ नचाऊँ ।
खैचेर इन्द्रकन स्वर्ग ञहीं बनाऊँ ॥१॥

यति दिन पछि मैले आज बालाजि देख्याँ ।
पृथिवितल भरीमा स्वर्ग जो जानि लेख्याँ ॥
वरिपरि लहराका झूलि बस्‌न्या चरा छन्‌ ।
मधुर वचन बोली मन्‌ लिँदा क्या सुरा छन्‌ ॥२॥

अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको अपार्‌ छ । एक्‌ त बालाजीको जग्गा, दौस्रो कवि भानुभक्तको बयान्‌ के भन्नुपर्छ । अन्दाजी एक्‌ घडी जति तहाँ बसेर दक्खिन मुहडा गरी काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम्‌ शहर कान्तिपुरमा[3] कविको पर्‌यो । अठौना घर, देवल, धारा, पाटी, सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्‌देश्‌का चीजवीज, अनेक भाषाका बोलचाल्‌, मानिसहरूको पैह्रन, बोली, मिजाइस्‌, फूलको चलन्‌, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसन्न मन भैकन काठमाणौं नगरको बयान्‌ ई तल लेखियाका ५ श्लोकमा जाहिर हुन्‌छ–


चपला अबलाहरु एक् सुरमा ।
गुन केसरिको फुल ली शिरमा ॥
हिँडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ॥१॥

यति छन्‌ भनि गन्नु कहाँ धनिञा ।
खुशि छन्‌ मनमा बहुतै दुनिञा ॥
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥२॥

कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्‌भरि गल्लि छ दिल्लिसरी ॥
लखनौ पटना मदारस (मदरास) सरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥३॥[4]


तरवार कटार खुंडा खुकुरी ।
पिसतोल र बन्दुक सम्म भिरी ॥
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥

रिस राग कपट् छल छैन जहाँ ।
तव धर्म कती छ कती छ ञहाँ ॥
पशुका पति छन्‌ रखवारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ॥५॥

कवि भानुभक्तजीको डेरा लगन्‌टोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्‌टोलामा अझतक्‌ छँदै छन्‌ । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान्‌ यो छ

रम्‌घामा कवि भानुभक्तको एक्‌ जग्गा थियो, तेसै खेत्‌को साँध एक्‌ गिरिधारी भाटका खेत्‌सित थियो । ई दुवै खेत्‌का बीचमा एक् खोलो थियो । अकस्मात्‌ एक्‌ वर्ष खोलाले भानुभक्तको खेत्‌ खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्‌यो । तिन्‌ताकका ऐनबमोजिम्‌ गिरिधारीको भोग्‌ पाको हो, पछि ४/५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत्‌ बेहिसाब्‌ मिच्यो र भानुभक्तले ऐनबमोजिम्‌ खोलाले छाडेको बगर ३/४ वर्ष आबादी गरी भोग्‌ गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग्‌ गर्‌यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-


ख्वामित्‌ यस्‌ गिरिधारिले अति पिर्‌यो व्यर्थै गर्‌यो झेल्‌पनि ।
यस्का झेल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥
ख्वामित्‌लाइ चढाउनाकन ञहाँ क्यै श्लोक् कवीता गर्‌याँ ।
मेरा श्लोक सुनिवक्सियोस्त झगडा छीनिन्‌छ पाऊ पर्‌याँ[5] ॥१॥


साँचो हुन्‌ जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी ।
ई कूरा त अइन् सवाल रितले श्रेस्ता प्रमाण्‌ले गरी ॥
साबित् ता ठहरेन पो पनि भन्या यस्मा अइन्‌मा जति ।
तोक्याको छ गुनाहजार तिरुला राख्वैन एक् दाम रती ॥२॥

यस्‌भन्दा अरु पत्र पात्र पनि छन्‌ भोग्‌ छन्‌ दसी छन्‌ सही ।
श्रोत्रा साक्षि कुरा कहानि पनि छन्‌ मेरा सनद्‌ छन्‌ कहीँ ॥
गर्न्याछैन उजुर्गर्‍याँ पनि भन्या झुट्टा गराई दिनू ।
सर्कार्मा इजहार्‌दिञा खुशि भई यो झेल्‌ कसोरी छिनू ॥३॥

यस्‌ इजहारमा भानुभक्तले अरू श्लोक पनि बनायेका छन्‌ तर क्यै पत्ता छैन पछि पाइये भने छापियेला । यो इजहार दियेपछि झगरा जोरियो तर अदालतिया चाल्‌ले गर्दा मैन्हन्‌ झगरा छिनियेन । भानुभक्तले अरू झगरियाको झञी खर्खुसामद्‌ केही गरेनन्‌ र झगरा पनि टाँगियेछ र्‌ अदालतियाहरूसित रिसाई केवल्‌ आफ्ना कविताका सहायताले येक्‌ बिन्तीपत्र दिये हनत यस्‌ बिन्तीपत्रमा अरू श्लोक् पनि हुंदा हुन्‌ तर आजकाल्‌ योटै श्लोक्‌ मात्र पाइन्‌छ जुन्‌ श्लोक ञहाँ लेखी दियाको छ ।


बिन्ती डिट्‌ठा बिचारीसित म कति गरूँ चुप्‌ रहंछन्‌ न बोली ।
बोल्‌छन्‌ ता ख्याल्‌ गर्‌याझै अनि पछि दिनदिन्‌ भन्दछन्‌ भोलि भोली ॥
की ता सक्‌तीन भन्नू कि तब छिनि दिनू क्यान भन्‌छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस्‌ आज झोली ॥१॥

यस्तो बिन्तीपत्र हेरी कवि भानुभक्तको झगरा छिनियो, भाट गिरिधारी हार्‌यो, भानुभक्ताचार्यले जितापत्र पाये र यसै वर्ष एक्‌ पल्ट घर गै आफ्नो जग्गाको सांध दरुस्त गरी तुरन्त फागुन्‌का महीनामा नेपाल आये ।

इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार कमारात्मज श्री ३ कम्यान्‌‌डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत्‌ १९०७ सालका बैशाख मासमा मदेश्‌ (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं सम्वत्‌ १९०९ मा खोस्सिये र कागत्‌पत्र बुझाउन भनी नेपाल्‌ कुमारीचोक्‌मा आई कागतपत्र आफूले २ वर्ष काम्‌ गरेको खर्चा आम्‌दानी समेत्‌को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन्‌ । प्रायः यस्‌ सन्सारमा जहाँ जति प्रसिद्ध कवि हुन्‌छन्‌ इनीहरूका जीवन कथामा एक्‌ न एक्‌ कलङ्क नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन्‌ उनीहरूमा पनि एक्‌ न एक्‌ कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क, साक्षात्‌ ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्‌छन्‌, सदाशिव महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु ।

यस्‌ सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन्‌ जन्‌ मान्‌ मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन्‌ । भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान्‌ कलम्‌ले लेख्न सकिदैन । कदाचित्‌ एक २ घडी युग्‌ जस्ता भये हुनन्‌; भर्दिन कोठाका दलिन्‌ गनी काट्नुपर्‍यो होला । कसै सित बोल्‌चाल्‌ होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्‌चाल्‌ होस्‌ तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस्‌ बखतको बोल्‌चाल्‌ के बोल्‌चाल्‌; बहीपत्र स्याह कागत्‌ बुझ्नेहरूको जो मिजाज्‌ हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर्‌ इन्‌चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको श्लोक् यो हो।


रोज्‌ रोज्‌ दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात्‌ भर्नाच्‌ पनि हेर्छु, खर्च नगरी ठूला चयन्‌मा मछू ॥
लाङ्‌खुट्या उपिञा उडुस् इ संगि छन्‌ इन्‌कै लहर्मा बसी ।
लाङ्‌खुट्याहरु गाउँछन्‌ इ उपिञा नाच्छन्‌ म हेर्छू बसी ॥१॥

यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत्‌ छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार्‌ गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्‌मा आफ्ना छोरा रमानाथ्‌को व्रतबन्ध गर्नुपर्‍यो र फेरि आफ्नो दुख्ख दरद जनाई एक्‌ बिन्तीपत्र लेखी श्री ३ कम्यान्‌डर इन्‌चीफका हजूरमा दिये, जस्को नकल्‌ यो छ-


जागिर्छैन धनी म छैन घरको केवल्‌ कुदालो खनी ।
खान्थ्यां दुक्ख गरेर चाकरि गर्‍या मान्‌ पाउंला की भनी ॥
एक् मन्‌ चित्त लगाइ चाकरि गर्‍याँ खूसी भयाछन्‌ हरी ।
मान्‌माथी पनि भुक्तमान्‌ थपिदिया कैल्ह्यै न खोस्न्या ररी ॥१॥

चालिस्‌ वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल्‌ व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥
क्यारू आज पर्‌यां म ता विपतमा एकलो ञहां छूं फगत्‌ ।
कुन्‌ पाठले व्रतबन्ध पार्गरु मफेर्मान्‌छू अंध्यारो जगत्‌ ॥२॥

गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनू माइको ।
बालखमा पनि वेद्‌ पढी कन ससार्गर्नु गुरू गाइको ॥
यस्तो मख्य बखत्‌ छ यो अरु छ कुन् काम्‌ पारलाई दिन्या ।
धेरै बिन्ति कती गरूँ चरणमा एकै कुराले छिन्या ॥३॥


ख्वामित्‌ आज हजुर्हरू पृथिविमा मालिक्‌ छंदामा पनी ।
ब्राह्मण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
जाहीरात गर्‍या प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित्‌ भनि मर्जि हुंछ त भन्या क्यारू सहन्‌छू पनी ॥४॥[6]

यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर पछि पाइयो भने छापी प्रकाश गरियेला । जब यो व्रतबन्धको कुरो राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज कवि भानुभक्तलाई कमारीचोक्‌बाट फारग्‌ पत्र दिंदामा तुरन्त सम्वत्‌ १९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको व्रतवन्ध गरे ।

फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा भयो ।

इनै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला अनुवादित ह्वैन किन्तु स्वकल्पित अर्थात्‌ आफैले अज्‌माई बनायेको हो । भक्ति रस्‌ जस्का फी पद्‌बाट तप्‌ तप्‌ गरी चुहुन्‌छ, सन्सारका प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हंन जांदो रहेछ यस्‌को साफ्‌ ऐनामा मुख हेरेझैँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रंथ छ तर यो संस्कृतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि अनौठै हो [7], प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ तयार्‌ गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता बाहेक् अरू विशेष ग्रन्थ केही देखिँदैन ।

विक्रमीय सम्वत्‌ १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ्‌ जान लाग्दा बाटामा एक्‌दिन्‌ इनका मित्र तारापति उपाध्याय ब्राह्मणसित भेट्‌ भयो र 'आज मेरा घरमा बास बस्नुहोस्‌' भनी भन्दा बास बस्ने बखत्‌ भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक्‌ रात्‌ चढेदेखि तारापति उपाध्याकी ब्राह्मणी र बुहारीले ठाक्‌ठुक्‌ गर्न थाले । भर्रात्‌ झगरा भयाको सुनी बडा रिसले तेसै रात्‌भरीमा 'बधूशिक्षा' भन्ने ग्रंथ तयार्‌ गरे । भोलि पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे[8] (को) ग्रन्थ दिये । पछिबाट तारापतिलाई उपदेशका ३ श्लोकको एक् पुर्जी दीकन बाटा लागे, जस्को खुलस्ता लेखेको छ–


एक् थोक् भन्‌छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
तिम्रा ई जति छन्‌ जहानहरु ता लड्न्या रह्या छन्‌ अती ॥
सून्यां दन्त बझान आज घरको कर्कर्गर्‍याको उसै ।
भर्रात्‌ जाग्रनझैँ भयो मकन ता लागेन आंखा कसै ॥१।

धन्‌ इज्जत र कमाइ देख्छु बढिया छैनन्‌ कुनै चीज्‌ कमी ।
बूहारी यदि कर्कशा हुन गया क्‌या घर्गरौला तिमी ॥
साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी ।
यस्‌ले पत्नि बुहारि छोरिहरुको तालिम्‌ गरौला भनी ॥२॥

हुन त म अतिथी हूँ यस्‌ बिनू क्या छ खांचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि साँचो ॥


घर चतुरइँ गर्छन्‌ बुद्धिमान्‌ले अगाडी ।
बखत चुकि दिंदामा हुछ काहां पछाडी ॥३॥

कवि भानुभमक्ताचार्यका यस्ता परोपकारी कविताको बयान्‌ कहाँतक्‌ लेखूं ।

सम्वत्‌ १९२० विक्रमीयमा भानुभक्तजी फेरि नेपाल्‌ तरफ्‌ आये । एक्‌दिन्‌ एस्‌ काठमाणौका एक रहीसकहाँ भेट् गर्न भनी कवि भानुभक्तजी गये र बैठक्‌मा एक्‌ असल्‌ बंदूक राखेको देखेछन्‌ । कविजीलाई पनि यस्तै बन्दूक्‌को खाइश्‌ पैल्हेदेखि हुँदा बडा हुशियारीसाथ कविजीले सोधे- "विद्वान्‌ जन्‌ले लोहलाई बेच्नु छैन, भन्दा सुन्थें यो कुरो हो कि ह्वैन ?" यस्तो प्रश्न सुनी निज घरका मालिक्‌ले 'ठीक्‌ हो, फलाम्‌ बेच्नु छैन' भनी भन्दा भानुभक्त कविजीले फेरि भने "लोहा बेची मोल क्या लीनु होला ? योग्यै जानी यो उसै दीनु होला" भनी भन्दा कविजीले बन्दूक पाये । ञहाँ विशेष चमत्कार के छ भने कवि भानुभक्ताचार्यले भनेका कुरा श्लोक्‌ भयो, अर्थात्‌-


विद्वान्‌ जन्‌ले लोहलाइ बेच्नु छैन ।
भन्दा सुन्थ्यां यो कुरा हो कि ह्वैन ॥
लोहा बेची मोल क्या लीनु होला ।
योग्यै जानी यो उसै दीनु होला ॥१।

यस्‌ श्लोक्‌को भनाइ र गद्यको पद-क्रम एकै छ; अर्थात्‌ यस्‌ श्लोकको अन्वय गर्नु पर्दैन ।

विक्रमीय सम्वत्‌ १९२५ मा भानुभक्तलाई विशेष काम आइपर्दा घर जानुपर्‍यो । यसै सालमा घर पुग्नासाथ ज्वर आयेछ । यस्‌ ज्वरले कवि भानुभक्ताचार्यलाई साह्रै दुक्ख दियो । रुचि घट्‌यो । ताकत्‌ पनि दिन प्रतिदिन्‌ घट्तै गयो । चेहराले रंग बदल्यो । रोग्‌ले गर्दा पैल्‌हे जुन्‌ चीजको इच्छा हंथ्यो अब त्यो हेर्न पनि भयेन । तेज्‌ पनि एक्‌ एक्‌ कला प्रतिदिन घटी हीन हुन लाग्यो ।

कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले यो २५ साल्‌मा कविजी घर्‌ तरफ्‌ जान लाग्दा रामायण उत्तरकांडको रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि भानुभक्तले कालज्वरै हो भन्ने ठहर्‍याई आफ्ना पुत्र रमानाथकन लेख्‌ भनी आफूले बिछौनामा सुती रामगीताको भाषा बनाये । निज कविका पुत्र रमानाथ आचार्यले लेखे[9] रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश र अर्थनीतिको उपदेश दिये ।

यस्‌ सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो आर्काको भन्दै रहोस्‌ त पनि कालपाशको पासो पर्दा सबै जनधन आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुंछ सोही चालमा चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस्‌ त पनि कालबलका अगाडि केही न चल्ने हनाले, आफ्ना एक् एक्‌ परिश्रम र उद्योगका सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्ज्‌त, इष्टमित्रहरूको ममता गरीकन पनि विकराल कालका मुखदेखि न निस्किसकिनु हुनाले मेरा मनको अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड कालराजदेखि मियाद नपाइनाले यस्‌भन्दा बलियो ईश्वरका इच्छाले अह्राइयाको कालका विकराल जालमा नपरी नहुन जांदा, आफ्ना परिवार पुत्र, कलत्र, मित्रवर्गसितको प्रेम त्याग गरी, यस्‌ असार सन्सार सागर्‌लाई तुच्छ्य मानी तेस अन्त्यावस्थामा केवल रामनामको मुख्य आधार मानी, आफ्ना अपूर्व कविता शक्तिले रामगुण गान गरी, कहांसम्म भनू, निराधार कवितासित यति दिन सहवास गरी, आफ्ना चित्त मन्दिरमा प्रेमले अ (।) धार दी, आफ्ना बख्‌तबख्‌तका स्मरणले आश्वासन्‌ दी मानो कवितारूप लतिकाको सम्भान प्रेमरूपी स्वच्छ जलले औसर्मा गरी, फेरि छंद, रस, शब्द र अर्थका अलङ्कारले युक्त भयेका प्रबन्ध रूप कुसुम अर्थात्‌ फूलको विख्याति भम्तिरसका भ्रमरसमूहका नजीकसम्म पुर्‍याई, छंदले कवितानुरागी पुरुषका अत्यन्त मन्‌परेकी, रसात्मक अर्थात्‌ अंग २ रसले पूर्ण भयाकी, अलङ्कारले शोभयमान भयाकी, ध्वनिले गम्भीर स्वभाव भयाकी, अर्थले साहित्य जान्न्या र काव्यको मर्म जान्न्या रसिक जनको चित्त आनन्दित गर्ने भयाकी, अन्वय रूप गुप्त मन्दिरमा बस्ने भयाकी, काव्यका अरू कलाले ललित भयाकी यस्ती कवितारूपी वनितासित आफ्ना बुद्धि, पूर्वजन्म जनित काव्यरचना शक्तिले लगाइयाका चित्तवृत्ति, चातुर्यतासाथ प्रेमको नेम यति दिनसम्म राखी, अब उपरान्त त्यो हृदयको कोमलता त्याग गरी, प्रेमबन्धन तोडी, अबला कविताकन पनि सर्वथा निराधार गरी, पाषाण बराबर मन गरी, हज्जारन्‌ वर्षसम्मन्‌ गोर्खासमाजमा बराबर चर्चा हुनाका लायक्‌ भयाकी कविताकन निर्माण गरी, मानो कवितारूपी अक्षयि लतिकासितको अवलम्बन आफ्ना चित्तरूपी कल्पवक्ष छुडाई अरू सामान्य क्षणभङ्गी, असमर्थ, कविसमूहरूप भविष्य वक्षको लोभ देखाई असहाय गरी, अपूर्व कवितारूप यश र कीर्ति दुवै राखी मानो सन्सारभर्का सब पहाडमा अल्गो भयाको हिमालय गिरिनिवासी रसिक कविताभिलाषी बुद्धिमान, यथार्थ वक्ता, पुरुषहरूका हृदयमा निजनिर्मित कविताले आफ्नू चित्तवृत्तिको चित्र, स्वभावको, बुद्धिको, विवेक शक्ति र कविता शक्तिको अनेक आल्‌हादजनक्‌ प्रबंधरूप लिपि लेखी, प्रसिद्ध स्मारक चिह्न पछिसम्म पनि मानिसहरूलाई मालूम होस्‌ भन्नाखातिर स्थापना गरी; जन्मभरि परोपकार गरी, सदुपदेश पनि आफ्ना मित्रवर्गहरूलाई गरी; रामायण, प्रष्णोत्तरा भक्तमाला, बधूशिक्षा भादि ग्रंथले गोर्खा भाषाको उन्नति र पछि हने कविहरूका कविता गर्नमा अपार भण्डार जस्तो कवितामृत सरोवर निर्माण गरी, भविष्य कविताप्रेमीहरूको अभिलाषा पूर्ण गर्न भनी चिरस्थायी कमल पुष्पको समूहको श्रेणी राखी, आफू पनि अपूर्व यशका भागी भै यस्‌ सन्सारका क्षणिक्‌ अंधकारपट्टि सधैं पीठ दी केवल परमात्मा सच्चिदानन्द सर्वगुण सम्पन्न अन्तर्यामी अखिल ब्रह्माण्डकर्ता सर्वशक्तिमान जगदीश्वर परमेश्वरका चरणकमलरजमा आफ्नू तन मन लगाई, शक्तिमान, मुक्ति मुक्ति दाता विधाता अपरम्पार कीर्ति मूर्ति चैतन्य चन्द्रतिर दृष्टिगोचर दी आफ्नू अन्त्य विधान गरिसकी कदाचित्‌ देवलोकको पनि वर्णन आफ्ना कविताले गर्न भनी, कवि चक्र चूडामणि भानुभक्ताचार्यजीको प्राणहंसको यात्रा सबैका अगाडि देख्ता देख्तै भयो ।

-:०:-
कवि भानुभक्ताचार्यको कविता शक्ति
स्वभाव इत्यादि वर्णन्‌

कवि दुइ प्रकारका हुंछन्‌ । पैल्‌हा स्वाभाविक अथवा सहज कवि, दोस्रा संसर्गी अर्थात कृत्रिम कवि । स्वाभाविक कविका बराबर कृत्रिम्‌ कवि कदापि हुन सुन्दैन । सहज कविका कविताका बराबर संसर्गी कविता कैल्ह्यै पनि हुन्न । सहज कवितामा अर्थ र शब्दको अलङ्कार सरासर देखिन्छ । जो सहज कवि छ उस्ले कविता गर्दा लेख्न हने नहुने कुराको क्यै विचार राख्दैन अर्थात्‌ कसैको तारीफ गरी लेख्नुपर्‍यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन । सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो भयेन भने भयेन ।[10]

कवि भानुभक्ताचार्य सहज कवि थिये । आर्काका करमा कैल्‌ह्यै पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌। आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखत्‌मा कविता गर्दथे । निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभक्त एक दिनमा ६० श्लोक्‌ शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे । रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२ ग्रन्थका बराबर कविता बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र गद्य एक नास हुंथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका भनाइको छाँट कवितामा चौपट्ट असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌ कविले राख्न आंटे भने नराखी छोड्दैनथे । ञहाँ एक्‌ श्लोक पद क्रमको कवि भानुभक्तले बनायेको लेख्दछु–


मास्‌ भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्‌का ।
वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात्‌ ॥
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्‌‌याका जयन्ती ।
फूल्‌का गीदेरिका पात्‌ लिनु बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥

गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम माथिको श्लोकमा लेखियाको छ । जुन्‌ हिसाब्‌ले श्लोकमा लेखेको छ सोही हिसाब्‌सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला । तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌ आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्‌दनी खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शृंगार रसका कविता यी कविका आज्‌काल उस्तो पाइदैन तर पनि यस आधा श्लोक्‌को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई सकल कविता रसिक्‌हरूले बांची प्रसन्न हुन्‌ भनी ञहां लेखी दिंछु ।


विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ ।
ताहाँका मन पिंजरा म मुनिञा यै चाल्‌ सदा काल्‌ रहोस्‌ ।[11]
X X X
X X X

यस्‌ श्लोकका २ अधारी आज्‌तक्‌ पाइयेका छैनन्‌ । अतएव पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ । अहा ! आजतक् हाम्रा गोर्खा भाषामा कम्‌ सें कम्‌ शृंगारका ५००० श्लोक् बनेका छन्‌ तर यो श्लोक्‌का बराबर्‌ अर्थको चमत्कार भयाको श्लोक्‌ मैले त देखेको छैन, अझ यस्‌ श्लोकका २ अधारी समेत्‌ राखी पूरा अर्थको मर्म निकाल्न सकियो भने के भन्‌ स्वर्गको आनन्द तहीं हुन जाला ।

भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै कवि पनि हन सक्दैनन्‌ भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्‌; इनीभन्दा बढ्ता पक्का कोई पनि हने छैनन्‌ भनी ठोकी लेखी दिञे । रात्‌ दिन्‌का बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा अझतक्‌ देखियाको छ । पछि हुनेहरूका बयान्‌ पछि नै हुनन्‌ ।

जस्ता भानुभक्तका सरस कविता छन्‌ उस्तै इन्‌‌को नाम पनि पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखेन भने तेस्‌ पुरुषले जन्मेको के सार ? आज भानुभक्त स्वर्गवासी भयाको केवल २२ वर्ष भयो तर कविताको सामर्थ्य हेर्नुहोस्‌ भानुभक्त फलाना हुन्‌ नभन्न सम्ने हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २/४ हुनन्‌ । साधारण ब्राह्मणका कुलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात गर्नु यो सानो पुण्यको फल्‌ होइन । किन नहोस्‌ तब कविता तब कवि ! यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस्‌ ग्रन्थको विस्तार ह्यैं गर्छु ।

ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान गर्न भनी श्लोक्‌ लेख्‌छु । भाषानुरागीहरूले यो समेत्‌ पढी यस्‌ ग्रन्थमा केही ऊंचे नीच भया माफ्‌ गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट भनी जानून्‌ ।


स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कथा यो थिया ।
भाषाका अनुरागि जन्हरु सबै जानुन्‌ भनी लेखिया ॥
यस्मा ऊँच र नीच केहि छ भन्या सज्जन्‌ सबै माफ् गरून्‌ ।
इन्‌का जीवनको कथा पनि सबै आनन्द सागर्परून्‌ ॥१॥


जाहाँ जे जति पाइयो उ उति ह्वां गै गै सबै सोद्धथ्यां ।
पक्का हाल्‌ कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्‍यां ।
सो सप्पै अब छापि गर्दछु प्रकाश्‌ भन्न्या इरादा धर्‍यां ॥२॥

आफ्ना सक्‌भर गद्य पद्य मइले मन्‌ले कथेकै थिञा ।
यस्को सङ्ग्रह फैलियोस्‌ अब भनी काशी पठाई दिञा ॥
भन्न्यै भन्छु म रामकृष्णकन ता जस्ले मदत्‌ खुप्‌ दिया ।
भारत्‌जीवन यंत्रमा यति कथा छापी प्रकाश्‌ गर्दिया ।॥३॥

यस्मा ई कविराजको यति कथा जीवन्‌भरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुंथ्या उती लेखिया ॥
यस्मा पुग्‌ र नपुग्‌ मलाइ जसले देला म त्यो राखुला ।
फेरी छाप्‌नुपर्‍यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥

आफ्नो नाम रहोस्‌ भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव् जस्ता थिया लेखिया ॥
आँखा नाक् मुख बाहु पाउ कविको जो जान्न मन्‌सुब्‌ भया ।
फोटोग्राफ्‌ तयार्छदै छ यसमा हेर्नू इ यस्तै थिया ॥

ईति
––०––

यसै अवसरमा आजकालका च्याँटा २ कविहरूलाई हिव होस्‌ भन्ना निमित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच्‌ पारी छेडछाड गरी यो लेख्‌तिन; यो लेखनाको मतलब्‌ केबल्‌ आजकाल्‌का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका हितका निमित्त हो । मेरा लेखा जस्ता भानुभक्त तस्तै तपाञीहरू । अझ तपाञीहरू त भानुभक्तभन्दा पनि विशेष मानिनामा योग्य किनभने कहाँ कहाँका कविहरूका ग्रन्थ खोज्‌नुहुंछ, आफ्ना गाँठका रुपिञा खर्च गरी बडा परिश्रमसाथ कैल्हे बम्बै, कैल्हे प्रयाग, कैल्हे काशीमा गै गैकन बराब गोर्खा भाषाका पुस्तक्‌ छपाई देशदेशमा प्रचार गर्नुहुन्छ । तर यो तपाञीहरूको परिश्रम्‌ व्यर्थ छ; व्यर्थ मात्र ह्वैन किन्तु सभ्य समाजमा हास्यको मुख्य कारण हुंछ फेरि अशुद्ध गरी छापी दिँदा हाम्रा गोर्खा भाषाको दुर्दशा पनि हुन गयो । यसो नगर्नुहोस्‌, भला पिङ्गल सूत्र सबै हेर्न आफूलाई सावकाश नभये पनि श्रुतबोध ग्रन्थका केवल्‌ २० श्लोक लक्षणको हेका मनमा राखी छाप्ता शुद्ध गर्नुपर्ने कागज्‌ (प्रूफशीट) हेर्दा सावधान भै हेर्नुभयो भने छन्दको कसर्‌ कत्ति पनि रहने छैन । छाप्ताखेरि आफ्ना गोर्खा भाषाका महावरा र भनाइका छाँटमा पनि ध्यान अवश्य दिनुहोस्‌ । सब्‌भन्दा अचाकली कुरो तपाञीहरूले छपायाका ग्रन्थमा के छ भने जुन्‌ ग्रन्थ छाप्नुहुंछ उस ग्रन्थका कर्ताको नाम्‌ गोत्‌सम्म हाल्नुहुन्न । कदाचित्‌ नाम्‌ हालिदिनु भो भने पनि "फलानाका सहायताले" भनी लेख्नुहुंछ, "फलाना कृत" अथवा "फलाना रचित" या "विरचित" यस्तो कैल्ह्यै पनि लेख्नुहुन्न । "सहायता" र "कृत" शब्दका अर्थमा कति फरक्‌ छ आफै कोष हेरी विचार गर्नुहोस्‌ । ग्रन्थमा सहायता पट् मूर्खले पनि दिन सक्छ । तपाञीहरूलाई ग्रन्थकारको नाम मालूम छैन भने सो माफिकको सूचनासाथ ग्रन्थ छाप्नुपर्छ । सर्वसाधारणमा यसरी ग्रन्थ छापी प्रचार गर्दा ग्रन्थकारका नामको सन्देह पर्न जान्छ । कविले कविता गरी आफ्ना २ स्थानमा जान्छन्‌ मेरो ताम रहना (ला) भनी बडा परिश्रमसाथ ग्रन्थ लेख्छन्‌ । यसरी नाम चट् पारी नसुहाउने कल्गी तपाञीहरूले लाउनु केवल्‌ आफ्नो हास्य गराउनु र कविका आत्मालाई कल्पाउनु हो । तपाञीहरूको सच्चा हितैषी भैकन यो सूचना दियेको छु । अब उपरान्त सावधान भै ग्रन्थ छापी दिनुभयो भने मेरो परिश्रम पनि सुफल होला; ग्रन्थको उद्धार भन्न पनि निस्सदेह होला । न्यायदृष्टिले ई मेरा कुरा हेरी उचित कर्तव्य गर्नुभयो भने बहुतै असल्‌ हुनेछ । कदाचित्‌ पक्ष दृष्टिले नजर गरी खण्डनमण्डनतिर दगुर्नुभयो भने मेरो क्यै जोर छैन, अब जे गर्नुपर्छ सो गर्नुहोस्‌ ।

  1. यो श्लोक भानुभक्तले बनायेको ह्वैन भनी कसैले पनि शङ्का नगर्नु । यस्मा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब्‌ कवि भानुभक्तको क्या हो भने यसरी लेखेदेखिन्‌ पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।
  2. 'गुज्रान'भन्ने पनि पाठान्तर सुनिन्‌छ् ।
  3. कान्तिपुर, काष्ठमण्डप, काठमाणौ, काठमांडू भनी यौटै शहरको नाम जान्नू, नेपालले चार्भन्‌ज्याङ्भित्र धग्गा जान्नू ।
  4. यस्‌ श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुन्‌छ ।
  5. यस्‌ श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन्‌ पाइयाका छैनन्‌ ।
  6. यस्‌ पाउको ध्वनि विचार गर्नुपर्‍यो भने 'ध्वन्यालोक' भन्ने संस्कृतको ग्रंथ हेर्नुहोस्‌ खुलस्त हुन्छ ।
  7. यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका हुन्‌ भन्ने सुनिन्‌छ जो अझतक् छदै छन्‌ ।
  8. यो ग्रन्थ पनि छापिने छ ।
  9. यो पुस्तक्‌ अझतक्‌ सुब्बा धर्मदत्तका पास छदै छ । अझतक्‌ ३००० पुस्तक्‌ भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको हुनाले यस् नवीन मोटा अक्षरका रामायणमा छापियाको छ ।

    मूल्य ३) रामकृष्ण बर्म्मा

    भारतजीवन प्रेस, काशी ।

  10. मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ–

    धन्‌ले हुदैन कविता न त हुन्छ मन्‌ले ।
    ज्ञान्‌ले हुँदैन कविता न त हुन्छ तन्‌ले ॥
    इन्‌ले भयाकि कविता कविता समान्हो ।
    आफै भयाकि कविता बहुतै असल्‌ हो ॥१॥

  11. मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।