Jump to content

Bhanubhaktako ramayan/bhaktamala

From Nepali Proofreaders
Revision as of 20:05, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="bhanubhaktako_ramayan.pdf" from= 238 to=241/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
भक्तमाला

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता ॥
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो ।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो ॥१॥

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी ।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी ॥
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा ।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा ॥२॥

गयो बालक् काल्को वय पनि उसै बालरसले ।
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले ॥
भयो वृद्धावस्था अझ पनि भजींदैन मनले ।
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले ॥३॥

घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले ।
घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतिले ॥
कृपानाथ् हे स्वामी अब कसरि संसार तरुँला ।
कृपा राख्या जावस् नतर त अनाथ् बीच परुँला ॥४॥

बडो दुर्लभ् जानोस् भरत भुमिको जन्म जनले ।
सहज् मिल्छन् ठाकुर् हरि भजि लिया शुद्ध मनले ॥
बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस् ।
निरन्तर् श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस् ॥५॥

जगत्मा पृथ्वीका अधिपति बडा दौलाथि थिया ।
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया ॥
निरन्तर यै सम्झी हरि भजि रहोस् शुद्ध मनले ।
परन्तू हक् मर्न्यै छ त बटुलि क्या गर्नु धनले ॥६॥

कडोरन्का मालिक् अघि पनि बडा वीर्हरू भया ।
तिमध्ये जो जो हुन् हरि भजिलिन्या पार् पनि गया ॥
मरण्का वेलामा हरिबिु त क्या भर् छ अरुको ।
शरण् लेला सो नाथ् अधिपति अजामीलहरुको ॥७॥

जगत्मा सब् ढुँड्दै सबकन विचार्या जन पनि ।
बडा हूँ भन्याका घरघर सह्याको धन धनै ॥
रह्या छन् कालैका वश परिरह्याका जन पनि ।
बुझ्याँ मैले सब्को रिपुसरि भयाको पनि मनै ॥८॥

मनुष्यै योनीमा यदि हरि भज्यो ता जन तर्यो ।
अवश्यै फन्दामा हरिकन न भज्न्या पछि पर्यो ॥
जगत्मा यो चाला बुझिकन विचार् गर्नु जनले ।
निरन्तर् ठाकर् को चरणकमलै धर्नु मनले ॥९॥

भजौँला भन्दैमा कति कति बित्यो जन्म जनको ।
मरौँला भन्नाको अझ पनि विचार् छैन मनको ॥
अहो दैवी माया बडि बलवती जानि मनले ।
विचार् गर्दै गर्दै हरि भजिलिनू भक्त जनले ॥१०॥

दया पाऊँ ख्वामित् विनति छ हजुर् का चरणमा ।
नलागुन् पाशा फेर् मकन यमराज् का मरणमा ॥
दयाले पो छुट्छन् सकल जनका दु:खहरु ती ।
उपायै क्यै छनन् कहिँ पनि दया देखि अरु ता ॥११॥

भरोसा ख्वामित् को गरिकन रहन्छू दिनदिनै ।
सहन्छू सब् आपत् जति जति त पर्छन् छिनछिनै ॥
पर्याका पर्न्यै छन् मकन करुणा दूर् हुन गया ।
सहज् मा टर्न्यै छन् मकन करुणा पो यदि भया ॥१२॥

मुरारे ख्वामित् का चरणतलमा मन् न धरि ता ।
बडो दुर्लभ् देख्याँ सकल जनको मुक्ति गति ता ॥
विचार् गर्छू क्यारूँ मन पनि बलैले हरि लिया ।
दशेन्द्री डाँकूले बिच बिच पसी दु:ख् पनि दिया ॥१३॥

न कैल्हे भक्तीले गुरुचरणको ध्यान गरियो ।
न ठाकुर् को पूजा गरि तुलसिको पत्र धरियो ॥
दया भो ख्वामित् को भनिकन भन्या पार तरियो ।
अवश्यै साँचो हो नतर यमका पास परियो ॥१४॥

पुकारा गर्दो छू घडि घडि रुँदो छू चरणमा ।
दया छे ख्वामित् की म त हर घडी छू चरणमा ॥
बिचार् गर्थ्यो क्यारोस् भनिकन दया हुन्छ त पनि ।
झलक् पाइ भुल्न्या होस् भनिकन रिसै हुन्छ त पनि ॥१५॥

जगत् कोइ जान्दैनन् भनु त सबका बात् पनि भन्या ।
पलक् भर् ती योगी अघि सरि बडो ज्ञान कहन्या ॥
उनै काम् गर्छन् ता यमपुरि महाँ चोट मिलन्या ।
अहो यो क्या ले हो बुझिबुझि सबै लोक भुलन्या ॥१६॥

भज्न राम् को ठूलो बुझिकन भजन् गर्नु जनले ।
नभुल्नू कैल्हे यस् विषय सुखमा लागि धनले ॥
अविश्वासी चोला कति रहन जाला बितिगया ।
पछीतो खुप् होला जपतप विवेक् केही नभया ॥१७॥

टहल् ठाकुर्जीको अलिकति यहाँ केहि नगरी ।
गभीर् संसार् सागर् सहजसित पार् पुग्नु कसरी ॥
टहल् ठाकुर्जीको गरि लिन सक्यादेखि तरियो ।
विपतका खानीमा नतर सहजै फेरि परियो ॥१८॥

अनाथ् को नाथ मै हूँ भनिकन हँसीलो मुख गरी ।
हरूँ यस् का पाप् ताप् भनिकन अगाडी पनि सरी ॥
कृपादृष्टी नाथ्ले यदि दिनु भया तर्छु अहिले ।
कृपादृष्टी वाहेक् तप गरि त पार् तर्छु कहिले ॥१९॥

अवीवेकी मूढो त्रुभुवनविषे को छ म सरी ।
बिताञाँ व्यर्थै यस् विषयरसमा जन्म यसरी ॥
कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा ।
दिञाँ मैले यो मन् बुझिबुझि पर्या मोहवशमा ॥२०॥

जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती ।
तपस्याको हानी हुनकन गयाको कहुँ कती ॥
तपस्या गर्न्या काल् अघि बिति गयो क्यारुँ अहिले ।
यसै योनीमा पार् सहज न तर्या तर्नु कहिले ॥२१॥

कटीको पीताम्बर् करकमलका ककणहरू ।
किरीट् कुण्डल् कौस्तुभ् तुलसि वनमालाहरु अरू ॥
बलैले सम्झन्छू दृढ नरहन्या एक् क्षण पलक् ।
कउन् दिन् मा देख्छू प्रभु हजुरको सुन्दर झलक् ॥२२॥