Bhanubhaktako ramayan/shriuttarakanda
शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै ।
सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै ॥
पृथ्वीमा कति वर्ष राज् हुन् गयो लीला तहाँ कुन् भया ।
कस्ता रित् सित राज्य छोडि रघुनाथ् वैकुण्ठधाम्मा गया ॥१॥
शम्भो श्रीरघुनाथका जति त छन् लीला कृपाले गरी ।
आज्ञा आज हवस् म सुन्छु भगवन् बिन्ती छ पाऊ परी ॥
यो बिन्ती जब शम्भुका चरणमा श्रीपार्वतीले गरिन् ।
सब् लीला प्रभुका कह्या शिवजिले खुप् हर्षमा ती परिन् ॥२॥
रावण् मारि उतारि भारि भुमिको राम् राज्य गर्छन् भनी ।
जानी एक् दिन ता गया ऋषि अनेक् भेटौं सीताराम् भनी ॥
दुर्वासा भृगु अङ्गिरा इ पनि छन् कश्यप् र वाम्देव भया ।
विश्वामित्र असित् र कण्व सहितै सप्तर्षि अत्री गया ॥३॥
सब् शिष्यै सहितै अगस्तिजि गया द्वार्मा पुग्याथ्या जसै ।
हाजिर् जल्दि पठाइ मर्जि भइ सब् पौंच्या हजुर्मा तसै ॥
पूजा सब् ऋषिको गर्या प्रभुजिले सब् लाइ आसन् दिया ।
खूसी सब् ऋषिगण् भया हजुरमा जो जो गयाका थिया ॥४॥
पैल्हे प्रश्न गर्या तहाँ कुशलको राम्ले र आदर् गरी ।
सोध्या सब् ऋषिले पनी कुशलको विस्तार् बडो प्रेम् गरी ॥
बिन्ती सब् ऋषिले गर्या हजुरमा ख्वामित् ठूलो काम् भयो ।
पृथ्वीको अति भार इन्द्रजित हो भार् तेहि जाँदा गयो ॥५॥
विर् हुन् रावण कुम्भकर्ण त पनी यो इन्द्रजित् झन् जबर् ।
विर् हो त्यो पनि मारि बक्सनु भयो को जित्न सक्थ्यो अबर् ॥
लङ्कामा इनि दुष्टको मरण भो साँचा विभीषण् थिया ।
पाया राज्य कनक् झई र खुसिले चाकर् सदाका भया ॥६॥
जो दक्षिणा अभयको अघि हो दियाको ।
सो पूर्ण गर्न कन दुष्ट हरी लियाको ॥
देख्यौं कृतार्थ हुनु भो रघुनाथ ऐल्हे ।
मर्थ्या इ राक्षसहरू अरु देखि कैल्हे ॥७॥
यो बिन्ती ऋषिको सुन्या प्रभुजिले आश्चर्य मान्या पनी ।
क्याले रावण देखि झन् अति ठुलो भो इन्द्रजित् विर् भनी ॥
सोध्या सब् ऋषिका अगाडि र तहाँ साम्ने अगस्ती थिया ।
यस्तो हो तब विर् सुन्यौ भनि सबै विस्तार् बताई दिया ॥८॥
ब्रह्माका सुत हुन् पुलस्त्य तपका खातिर् सुमेरू गया ।
राजर्षी तृणबिन्दुका नचिगमा आश्रम् ति गर्दा भया ॥
तप् गर्थ्या तहिं देवपुत्रिहरु सब् आयेर खुप् गान् गरी ।
नाच्थ्या हास्यकला अनेक् तरहका गर्दै नजर्मा परी ॥९॥
तप्को विध्न हुन्या पुलस्त्य ऋषिले बूझ्या बडा धिर् थिया ।
जुन् स्त्री देख्छु म गर्भिणी उहि हवस् भन्न्या सराप् पो दिया ॥
भाग्या सब् तृणबिन्दुपुत्रि त सुनी साम्ने नजीक्मा गइन् ।
देख्ता ताहिं पुलस्त्यले र ति उसै झट् गर्भिणी पो भइन् ॥१०॥
कामिन् खुप् डरले पिता सित गइन् जान्या पिताले पनी ।
छोरी गर्भिणि भै छ आज ऋषिका साँचा वचन्ले भनी ॥
जानी छोरि पुलस्त्यजी कन दिया जल्दी नजिक्मा गई ।
ती कन्या ति पुलस्त्यले पनि लिया अत्यन्त खूसी भई ॥११॥
तिन्का पुत्र त विश्रवा हुन गया खुप् ब्रह्म जान्न्या मुनी ।
भारद्वाज् ऋषिले तिनै कन दिया छोरी बडा गुण् सुनी ॥
तिन्का पुत्र कुबेर् भया गुण निधान् तिन्ले तपस्या गरी ।
ब्रह्मालाइ रिझाउँदा ति धनका मालिक् भया तेस् घरी ॥१२॥
मालिक् दौलतको गरायर गरुन् यस्मा सयल् खुप् भनी ।
ब्रह्माले तहिं फेरि पुष्पक विमान् तिन्लाइ दीया पनी ॥
तेसै माथि चढी पिता सित गई तप्को सबै फल् कह्या ।
सब् पायाँ तर वास् त पाइन कता जाऊँ म भन्दा भया ॥१३॥
सून्या बिन्ति कुबेरको र खुसि भै ती विश्रवाले पनी ।
लङ्का खालि थियो र तेहि दिनु भो लौ राज्य गर् जा भनी ॥
लङ्कामा अघि राज्य राक्षसहरू गर्थ्या बडा विर् थिया ।
तिन्कै खातिर विश्वकर्म खुसि भै लङ्का बनाई दिया ॥१४॥
आज्काल् राक्षस विष्णुले जिति लिंदा भागेर पातालमा ।
लुक्ना खातिर गै गया र सहरै खाली छ यस् कालमा ॥
आज्ञा येति दिया कुबेर् कन तहाँ ती विश्रवाले जसै ।
लङ्कामा ति कुबेर् गई कन बस्या राज् गर्न लाग्या तसै ॥१५॥
एक् दिन् कैकसि छोरि ली कन ठुलो राक्षस् सुमाली पनी ।
डुल्थ्यो यस् पृथिवी विषे सब घुमी हेरूँ तमासा भनी ॥
पाताल् बाट सयल् गरूँ भनि यहाँ आयेर डुल्दा तहाँ ।
पुष्पक् माथि चढेर खुप् सित सयल् गर्थ्या कुबेर्जी जहाँ ॥१६॥
लाग्यो दृष्टि सुमालिको र मनले मान्यो बडा हुन् भनी ।
यस्ता विर् कुलमा कसो गरि हुनन् यस्तो चितायो पनी ॥
लाग्यो कैकसिलाइ भन्न अहिले पुत्री यती काल् गयो ।
कोही वर् पनि आउँदैन गरुँ क्या यौवन् त तिम्रो भयो ॥१७॥
तस्मात् आज त विश्रवा ऋषिजि थ्यैं जाऊ र साम्ने गई ।
हात् जोरी ऋतुदान माग तिमिले दासी चरण्की भई ॥
यस्ता पुत्र हुनन् अवश्य इ उनैका पुत्र हुन् विर् भनी ।
छोरीलाइ त विश्रवा सित तहाँ तेस्ले पठायो पनी ॥१८॥
जल्दी कैकसि विश्रवा सित गई साम्ने खडा भै रहिन् ।
पृथ्वी तर्फ नजर् दिई चरणले लेख्ती जमिन्मा भइन् ॥
चेष्टा कैकसिको नजर् गरि तहाँ ती विश्रवाले पनी ।
कन्या कस्कि तँ होस् बता किन यहाँ आइस् अगाडी भनी ॥१९॥
सोध्या कैकसिलाइ लाज् हुन गयो लाज्का सकस्मा परिन् ।
ध्यानैले सब जानि बक्सनु हवस् यस्तो त बिन्ती गरिन् ॥
सून्या बिन्ति र झट् विचार् पनि गर्या मालुम् भयो सब् जसै ।
छोरा पाउन आइछस् भनि तहाँ बोल्या ऋषीले तसै ॥२०॥
वेला दारुण पारि आज ऋतुदान् मागिस् म दिन्छू पनी ।
दोटा पुत्र हुनन् भयङ्कर स्वरुप् वेला सरीका भनी ॥
भारी बात् गरि दान् दिया र ऋतुको ती बात् जसै ता सुनिन् ।
कुन् रित्ले अब पाउँ पुत्र बढिया यस्तो बहूतै गुनिन् ॥२१॥
बिन्ती कैकसिले गरिन् उहि बखत् ख्वामित् पती भै पनी ।
तेस्ता पुत्र बुझाउँला म कसरी यो मन् कठिन् भो भनी ॥
सून्या बिन्ति तहाँ दया पनि उठ्यो ती विश्रवाको पनी ।
तेस्रो पुत्र हुन्या छ राम्चरणको दास् बुद्धिमान् खुप् भनी ॥२२॥
पत्नी कैकसिलाइ येति ऋषिले दीया कृपा खुप् गरी ।
खूसी कैकसि भै गइन् ऋषि रह्या ध्यान्मा बहुत् मन् धरी ॥
जन्म्यो रावण पूर्ण गर्भ जब भो सिर् दस् भुजा बीस् धरी ।
उल्का आदि भया अनेक् तरहका कामिन् भुमी खुप् गरी ॥२३॥
रावण्का पछि कुम्भकर्ण अति विर् जन्म्यो उसैका मनी ।
जन्मी शूर्पणखा पछी गुणनिधान् जम्न्या विभीषण् पनी ॥
शान्तात्मा बढिया विभीषण भया बस्थ्या ति शास्त्रै सुनी ।
दुष्टात्मा अति कुम्भकर्ण हुन गो डूलेर खान्थ्यो मुनी ॥२४॥
बैन्ही शूर्पणखा भई जगतमा दुष्टात्म भै डुल्दथी ।
नक्कट्टी भइ गै पछी हजुरका तेज्ले कहाँ बाँच्तथी ॥
रावण्को त बखान् कहाँ तक गरौं सब् लोकको रोग् सरी ।
लाग्यो रावण बढन् रोज् भय दिंदै तिन् लोक् वशैमा गरी ॥२५॥
सर्वान्तर्यामि साक्षी हृदय हृदयमा आत्मरुप्ले रह्ययाका ।
निर्मल् सर्वज्ञ पूर्णै प्रभु पनि नरको रूप ऐल्हे भयाका ॥
सोध्नू भो आज लीला गरि कन त सबै रावणादीहरूको ।
विस्तार् बिन्ती म गर्छू अरु पनि भगवन् तेज् हर्या जो अरूको ॥२६॥
ब्रह्म स्वरुप् प्रभु भनेर हजूरलाई ।
जानेर डुल्छु म अनुग्रह केहि पाई ॥
यस्तो अगस्ति ऋषिले जब बिन्ति लाया ।
साँचो कुरो प्रभुजिले ऋषि थ्यैं बताया ॥२७॥
माया छ यो सब जगत् भनि नित्य जानी ।
आनन्द यस् विषयमा रति भर् न मानी ॥
मेरो भजन् गरि रहोस् सब पाप हन्र्या ।
येही उपाय छ सहज् सित पार तन्र्या ॥२८॥
एक् दिन् पुष्पकमा चढी कन कुबेर् आया पिता थ्यैं जसै ।
देखिन् कैकसिले र पुत्र सित गै क्यै भन्न लागिन् तसै ॥
देख्यौ पुत्र कुबेरलाइ तिमिले सब् द्रव्यका छन् धनी ।
गर्छन् पुष्पकमा सयल् खुसि हुँदै तेजस्वि देख्तै पनी ॥२९॥
जस्तो यत्न गरेर हुन्छ तिमिले सो यत्न ऐल्हे गरी ।
सब्को मालिक भै सयल् गर अनेक् यस्तै इनैले सरी ॥
रावण्ले इ वचन् सुनी जननिकै साम्ने प्रतिज्ञा गर्यो ।
हे मातर् म बडै भयेर रहुँला क्या आज चिन्ता पर्यो ॥३०॥
यस्तो बात् तहिं कैकसी सित गरी तप् गर्न रावण् गयो ।
गोकर्णेश्वरमा गई दृढ भई तप् गर्न लाग्दो भयो ॥
रावण्का सँग कुम्भकर्ण विभीषण् भाई दुवै ती गया ।
ईश्वर्लाइ गरौ प्रसन्न भनि खुप् तिन्ले पनी मन् दिया ॥३१॥
तप् गर्दा हुँदि कुम्भकर्ण विरको ताहाँ अयुत् वर्ष गो ।
टेकी एक चरण् विभीषणजिको पाँचै हजार् मात्र भो ॥
रावण्को त बखान् कहाँ तक गरौं ठूलो तपस्या गर्यो ।
खुप् एकाग्र भयेर रोज् प्रभुजिका ध्यान्मा बहुत् मन् धर्यो ॥३२॥
दस् हज्जार् जब दिव्य वर्ष बिति गो एक् सिर् तसै होम् गरी ।
यस्तै रीत् सित नौ त सिर् पनि हुम्यो भक्ती प्रभूमा धरी ॥
नौ सिर् होम् गरि सिर् दसै पनि तहाँ दीनै तयार् भो जसै ।
ब्रह्मा आइ हटाइ वर् दिन तयार् हूनू भयो पो तसै ॥३३॥
हे रावण् वर माग दिन्छु अहिले इच्छा बमोजिम् भनी ।
ब्रह्मा बाट दया भयो र खुशि भै माग्यो तहाँ वर् पनी ॥
हे नाथ् वर् त अमर् म पाउँ न मरूँ क्वै वीर देखी कसै ।
मानिस्को त डरै म मान्दिन रती मेरा सदा छन् वशै ॥३४॥
ब्रह्माले पनि लौ भनेर वरदान् माग्यै बमोजिम् दिया ।
काट्याका पनि सिर् तयार् गरि दिया जस्तै अगाडी थिया ॥
ब्रह्माजी तहिं फेर् विभीषणजिका साम्ने नजिक्मा गया ।
इच्छा क्या मनमा छ माँग उहि वर् दिन्छू म भन्दा भया ॥३५॥
माग्या वर् खुसि भै विभीषणजिले हे नाथ् निरन्तर् मती ।
धर्मै तर्फ रहोस् अधर्म तिर ता कैल्हे न लागोस् रती ॥
ब्रह्माले अधिकै दया गरि दिया होला तँलाई भनी ।
मागेनन् त पनी तहाँ गरि दिया कल्पान्त आयू पनी ॥३६॥
फेर् कुम्भकर्ण विरका अघि जल्दि आई ।
आज्ञा भयो अब त दिन्छू म वर् तँलाई ॥
क्या माग्दछस् भनि दया हुन गो जसै ता ।
जिह्वा विषे गयर वाणि बसिन् तसै ता ॥३७॥
वाणीले जब मोह खुप् सित भयो घत्को विघत्को पनी ।
थाहा केहि भयेन तेस् कन तहाँ यस्तो म मागूँ भनी ॥
माग्यो मूढ भयेर येहि वरदान् निद्रा छ मैन्हा परोस् ।
एक् दिन् मात्र मलाइ खानपिनका खातीर निद्रा टरोस् ॥३८॥
यस्तो वाक्य सुनेर तेहि वरदान् दीया प्रभूले जसै ।
सून्या त्यो वरदान देवगणले खूसी भया सब् तसै ॥
जिह्वा देखि सरस्वती जब गइन् खेद् तेस् बखत्मा पर्यो ।
इच्छा ईश्वरकै रहेछ बलवान् भन्न्या विचार् यो गर्यो ॥३९॥
बाबू कैकसिको सुमालि खूसि भो पायो र यो सब् खबर् ।
आयो जल्दि तहाँ प्रहस्तहरु धेर् सङ्मा थिया विर् जबर् ॥
रावण्का अघि गै भन्यो खुशि हुँदै हे पुत्र खुप् काम् गर्यौ ।
विष्णूको अघि डर् थियो अब गयो सन्ताप् तिमीले हर्यौ ॥४०॥
लङ्कामा अघि राज्य राक्षसहरू गर्थ्या बडा खुस् थिया ।
विष्णूले गइ छिन्नभिन्न गरि सब् राक्षस् धपाई दिया ॥
क्यारौं जोर् न पुगेर भागि कन सब् पाताल् गयाका थियौं ।
तिम्रो आज सहाय पाइ कन पो आई बताई दियौं ॥४१॥
आज्काल् राज्य कुबेरको छ तिमिले मागी बलात्कार् गरी ।
जुन् पाठ्ले गरि हुन्छ लेउ अहिले स्थान् छैन लङ्का सरी ॥
राजाको त हुँदैन बन्धु सितको बन्धुत्व धर्मै पनी ।
यो सन्देह न मान कत्ति कसरी लङ्का म लीऊँ भनी ॥४२॥
यस्तो बिन्ति सुमालिको सुनि भन्यो लङ्का कसोरी हरूँ ।
दाज्यू हुन् पितृ तुल्य छन् तहिं बसुन् अन्तै बसूँला बरू ॥
यस्तो रावणको वचन् सुनि तहाँ साम्ने प्रहस्तै सर्यो ।
रावण्को मन फेर् फिराउन बहुत् सिप् लाइ बिन्ती गर्यो ॥४३॥
हे नाथ् कश्यपपुत्र हुन् इ जति छन् द्यौता र राक्षस्हरू ।
लड्थ्या ती पनि ता भन्या त अरुको बिन्ती कहाँ तक् गरू ॥
तस्मात् आज कुबेर छन् त पनि सो लङ्का लिन्या हो भनी ।
हात् जोरी विनती गर्यो र सुनि त्यो बिन्ती त मान्यो पनी ॥४४॥
बेसै बिन्ति गरिस् भनी उहि बखत् दौडी त्रिकुट्मा गयो ।
छोड्यो दूत प्रहस्तलाइ र कुबेर् लाई निकास्तो भयो ॥
बाबूको मतलब् बुझी कन कुबेर् छोडेर कैलाश् गया ।
तप् गर्दा शिव खुस् गराइ शिव थ्यैं बिन्ती ति गर्दा भया ॥४५॥
इच्छा माफिकको बनाउन कुशल् जो विश्वकर्मा थिया ।
तिन्ले बेस् अलकापुरी पनि कुबेर्लाई बनाई दिया ॥
दिक्पाल् भै ति कुबेर् रह्या शिवजिले तिन्मा दया खुप् गर्या ।
शम्भूको करुणा हुँदा त अरु झन् आनन्दसागर् पर्या ॥४६॥
रावण् राक्षस सब् लियेर खुसि भै लङ्का सहर्मा बस्यो ।
तप्को जोर् बलवान् जित्यो सब जगत् सन्ताप् सबैमा पस्यो ॥
विद्युज्जिह्व ठुलो निशाचर थियो तेस्लाइ बैन्ही दियो ।
ती मन्दोदरिलाइ आइ मयले दीयो र तेस्ले लियो ॥४७॥
ती मन्दोदरिलाइ दी कन दियो शक्ती अमोघ् खुस् भई ।
बीहा भो पछि कुम्भकर्ण विरको प्रल्हादकुल्मा गई ॥
शैलुष् नाम हुन्या बहूत बलवान् गन्धर्वराज् क्वै थिया ।
तिन्की छोरि थिइन् विभीषण बडा जानेर छोरी दिया ॥४८॥
जन्म्यो रावणलाइ पुत्र बलवान् जो जन्मदैका घरी ।
लाग्यो रून त शब्द भो अति ठुलो खुप् गर्जन्या मेघ् सरी ॥
मेघ् झैं शब्द गर्यो भनेर तहिं नाम् तेस्को रह्यो मेघनाद् ।
यस्को बल् यति सम्मको छ भनि यो लागेन त्यस्को त साँध् ॥४९॥
निद्राले पनि कुम्भकर्ण कन खुप् पक्ड्यो सकस्मा पर्यो ।
हे नाथ् सुत्छु म ठाउँ पाउँ भनि यो हात् जोरि बिन्ती गर्यो ॥
तेस् बिच्मा तहिं सुत्नलाइ बढिया गूफा तयारी गर्यो ।
ताहीं गै कन कुम्भकर्ण विरको खुप् मस्त निद्रा पर्यो ॥५०॥
ब्रह्माको सब देव दैत्यहरुको जो श्री थियो सब् हरी ।
लाग्यो रावण नाश् गराउन अनेक् रङ्का उपद्रव् गरी ॥
पाया थाह कुबेरले र किन यो गर्छस् उपद्रव् न गर् ।
भन्ना खातिर दुत् पठाउनु भयो बोलाक् चतूरो जबर् ॥५१॥
दुत् गै बिन्ति गर्यो त झन् बिखुसि भै ऊठ्यो ठुलो रिस् गरी ।
जल्दी गै ति कुबेरको जिति लग्यो पुष्पक् विमानै हरी ॥
कूबेर्लाइ जिती यमै पनि जित्यो जीत्यो वरूणै पनी ।
पौंच्यो स्वर्ग विषे पनी खुसि हुँदै फेर् इन्द्र जित्छु भनी ॥५२॥
एक् ठक्कर् लडि इन्द्रले त सहजै पक्डेर पाता कस्या ।
हुर्मत् रावणको गयो खुसि भई सम्पूर्ण देव्ता बस्या ॥
यो थाहा भइ मेघनाद रिसले आयो अगाडी सरी ।
जीत्यो इन्द्रजिलाइ तेस् बखतमा भारी लडाई गरी ॥५३॥
रावण्लाइ फुकाइ इन्द्र कन ली फर्केर लङ्का गयो ।
जीत्यो इन्द्र र इन्द्रजित् भनि ठुलो नाम् ताहिं देखी भयो ॥
ब्रह्मालाइ खबर् भयो र फुनका खातीर दौडी गया ।
धेरै वर् दिइ मेघनाद् कन खुसी गर्दै फुकाउँदा भया ॥५४॥
ब्रह्मा इन्द्रजिलाइ फोइ कन फेर् जानू भयो धाममा ।
लाग्यो रावण फेर् जगत् जितुँ भनी सङ्ग्रामका काममा ॥
कैलाश् पर्वत यो ठुलो छ गह्रुँको होला कहाँ तक् भनी ।
कैलाश् हात महाँ लियेर सहजै एक् दिन् त तौल्यो पनी ॥५५॥
नन्दीश्वर् कन रिस् उठ्यो र रिसले दीया सरापै पनी ।
मानिस् वानर शत्रु भै कन सहज् मारुन् तँलाई भनी ॥
ताहाँ देखि त कार्तवीर्य सित गो सङ्ग्राम खातिर् जसै ।
पुग्थ्यो तिन् सित जोर् कहाँ सहजमा पाता कस्या पो तसै ॥५६॥
मेरो नाति भनी पुलस्त्य ऋषिले आयेर बिन्ती गरी ।
बन्धन् देखि फुकाइ बक्सनु हुँदा लाज् भै फिर्यो तेस् घरी ॥
फेरी रावण बालि जित्छु भनी गो साथ्मा अनेक् विर् गया ।
बालीले पनि पक्रि तेस् कन तहाँ खुप् काखि चेप्ता भया ॥५७॥
काखीमा मिचि चार् समुद्र घुमि फेर् छोडी दियाथ्या जसै ।
मैत्री गर्छु भनी मित्यारि गरि खुप् लाज् मानि फर्क्यो तसै ॥
ई बाहेक् अरु विर् सबै वश गर्यो तिन् लोक् विषे छन् जती ।
यस्ता विर्हरु मारि बक्सनु भयो बिन्ती गरूँ यो कती ॥५८॥
नारायण् हुनुहुन्छ विष्णु भगवान् सब् यो चराचर् पनी ।
जो देखिन्छ कहिन्छ शास्त्रहरुले नारायणै हो भनी ॥
ख्वामित्का अघि नाभिमा कमल भो ब्रह्माजि ताहीं भया ।
वाणीले सँग अग्नि ता हजुरको मुख् देखि निक्ली गया ॥५९॥
बाहू देखि त लोकपाल् हुन गया ई चन्द्र सूर्यै पनी ।
आँखा देखि भया दिशाहरु भन्या कान् देखि शब्दै भनी ॥
सब्को प्राण तयार् भयो हजुरका प्राण् देखि मुख्यै भई ।
नासा देखि त वैद्य अश्िवनिकुमार् वेदाङ्गमा पार् गई ॥६०॥
जङ्घा जानु उरू जघन् यति शरिर् देखी भुवर्लोक्हरू ।
कोखा देखि त चार् समुद्र हुन गो वर्णन् कहाँ तक् गरू ॥
निस्क्या स्तन् दुइ देखि इन्द्र र वरुण् दूवै दिशाका पती ।
रेतै देखि त बालखिल्यहरु सब् निस्क्या तपस्वी अती ॥६१॥
धर्माधर्म विवेकका इ यमराज् ती लिङ्ग देखी भया ।
मृत्यू ता गुद देखि रुद्र त हजुर्का रीस देखी भया ॥
हाड् देखी जति पर्वतादिहरु छन् केश् देखि सब् मेघ् पनी ।
जो छन् औषधि रोम देखि ति भया नख् देखि सब् स्वर् पनी ॥६२॥
विश्वात्मा हुनुहुन्छ नाथ् पुरुष रुप् माया त शक्ती लिन्या ।
खूसी भै कन देवता कन सदा अम्रित् पियाई दिन्या ॥
ख्वामित्कै त छ सृष्टि सब् जति छ यो संसार् चराचर् धरी ।
बाँच्याको पनि देखिइन्छ भगवन् आधार् हजुर्कै गरी ॥६३॥
जस्तै दूद विषे रहन्छ भरिपुर् घीऊ उही रित् गरी ।
सब् चिज्मा हजुरै पसी रहनु भो सर्वान्तरात्मा हरी ॥
हुन्छन् सूर्य्यहरू प्रकाश् हजुरकै तेज्ले हजुर् सब् धनी ।
ख्वामित्लाइ त नाथ् प्रकाश गरि दिन्या छैनन् अरू क्वै पनी ॥६४॥
ज्ञानी जन्हरु देख्तछन् सकल रुप् अज्ञानि अन्धा सरी ।
देख्तैनन् प्रभुलाइ मूढ हुन गै घुम्छन् विपत्मा परी ॥
योगी भै कन वेदशीर्षहरुले खोज्छन् त देख्छन् पनी ।
यस्ता रित् सित यो चराचर विषे श्रीराम् रह्याछन् भनी ॥६५॥
बक्बात् गर्याँ प्रभु हजुर् सित रिस् न मानी ।
रक्षा हवस् प्रभु अनुग्रहपात्र जानी ॥
चिन्मात्र अद्वितिय नित्य हजूरलाई ।
भज्छू निरन्तर टहल् गरि हर्ष पाई ॥६६॥
बाली सुग्रिव इन्द्रसूर्य्यसुत हुन् भन्न्या सुन्याको त छू ।
कस्ता रित् सित जन्म भो इ दुइको विस्तार् समेत् खोज्दछू ॥
विस्तार् सुन्न म पाउँ सब् भनि हुकुम् राम्को भयेथ्यो जसै ।
विस्तार् खूसि भई अगस्ति ऋषिले बिन्ती गर्या सब् तसै ॥६७॥
ब्रह्मा चार् सय कोसको गरि सभा सूमेरु माथी थिया ।
ईश्वर्लाइ रिझाउना कन तहाँ खुप् योगमा मन् दिया ॥
योग्मा चित्त बढ्यो र भक्ति रसले आँसू खसाया जसै ।
आँसूको तहिं वीर वानर बन्यो आश्चर्य मान्या तसै ॥६८॥
ब्रह्माका मनमा दया पनि उठ्यो बोल्या वचन्ले पनी ।
मेरा नित्य नजीकमा रह यहाँ कल्याण होला भनी ॥
ब्रह्माका इ वचन् सुनेर खुसि भै वाहीं नजिक्मा रह्यो ।
फल् फुल् खायर तेहि पर्वत विषे त्यो नित्य डुल्दो भयो ॥६९॥
लाग्यो पानि पियास् र कूप नजिकै देख्यो र पौंच्यो तहाँ ।
आफ्ना छाइ विषे नजर् परि गयो त्यो कूप हेर्दा महाँ ॥
आर्कै विर् सरि मानि तेहि कुपमा कूदी पसेथ्यो जसै ।
अर्को कोइ न देखि फेरि झटपट् उफ्रेर निस्क्यो तसै ॥७०॥
निस्क्यो बाहिर कूप देखि त असल् स्त्रीको स्वरुप् पो बनी ।
लाग्यो खेद् मनमा कसो गरि भयाँ स्त्रीको स्वरुप्को भनी ॥
देख्या इन्द्रजिले र तेहि बिचमा तिन्मा बहुत् मन् भयो ।
पक्र्या इन्द्रजिले र वीर्य त गिरी सब् बाल देश्मा गयो ॥७१॥
तेही वीर्य त एक् कुमार् हुन गयो बाल्मा गिर्याको पनी ।
बालै देखि भयो भनी कन रह्यो नाम् बालि विर् भो भनी ॥
माला काञ्चनिपुत्र जानि बढिया एक् इन्द्रजीले दिया ।
बाबूको करुणा बुझेर खुसि भै त्यो बालि विर्ले लिया ॥७२॥
तेस् बिच्मा तहिं सूर्य्य आयर नजर् लाया तसै स्त्री महाँ ।
सूर्य्यैका पनि वीर्य्यपात् हुन गयो ग्रीवा विषे पो तहाँ ॥
तेही बिज् पनि बेस् कुमार् जब बन्यो ग्रीवा विषे एक् जसै ।
ग्रीवा देखि भयो भनेर तिनको सुग्रीव नाम् भो तसै ॥७३॥
सूर्य्यैले पनि पुत्रलाइ बलवान् साहाय दिन्छू भनी ।
विर् मध्ये बलवान् थिया र हनुमान्ज्यूलाइ दीया पनी ॥
सुग्रिव्का सँगमा रह्या ति हनुमान् श्रीसूर्य्य धाम्मा गया ।
बाली सुग्रिव दूइ पुत्र सहजै ती वानरीका भया ॥७४॥
बाली सुग्रिव दूइ पुत्र सँगमा ली सुत्न खातिर् गइन् ।
प्रातःकाल विषे त फेरि अघि झैं ती स्त्री पुरूषै भइन् ॥
स्त्रीरुप् भै कन बाली सुग्रिव दुवै जन्म्या इ पूरुष् भया ।
ब्रह्मालाइ गरूँ प्रणाम् भनि दुवै छोरा सँगै ली गया ॥७५॥
ब्रह्मालाइ खबर् भयो र खुसि मन् तिन्को गराया पनी ।
किष्किन्धापुरि दीन मन्सुब भयो आश्रित् अनाथ् हो भनी ॥
थीयो एक् तहिं देवदूत बलवान् हाजिर् र मर्जी पनी ।
ब्रह्माको हुन गो लगेर गरि दे यस्लाइ राजा भनी ॥७६॥
किष्किन्धापुरिमा लगी तिलक दे खुप् राज्य सोख्मा परोस् ।
सात् द्विप्मा जति वानरादिहरु छन् तिन्मा हुकुम् यो गरोस् ॥
इश् नारायण भारि हर्न भुमिको राम्चन्द्र हूनन् जसै ।
तीनैलाइ सहाय दीन कन ता तत्पर् हवस् यो तसै ॥७७॥
किष्किन्धापुरिमा लगी तिलक दे भन्न्या हुकुम् भो भनी ।
तेस् ऋक्षाधिपलाइ लैगि कन झट् राजा बनायो पनी ॥
त्यो ऋक्षाधिपका ति पुत्र दुइ हुन् बाली र सुग्रिव् भनी ।
सब् विस्तार गरी सक्याँ हजुरमा मालुम् थियो ता पनी ॥७८॥
किष्किन्धा तहिं देखि वानरकि भै सुग्रिव्हरू छन् तहाँ ।
सर्वेश्वर् हुनुहुन्छ ता हजुरमा क्या धेर् बताऊँ यहाँ ॥
नित्यानन्द चिदात्मनाथ् हजुरले लीलास्वरुप् यो धरी ।
ब्रह्माजी कन खुस् गराउनु भयो सम्पूर्ण भूभार् हरी ॥७९॥
बाली र सुग्रिव दुवै कन धर्म जानी ।
कीर्तन् गरोस् त गुण जन्म सबै बखानी ॥
सम्बन्ध केहि रघुनाथ् सित पर्न जाई ।
पाप् छुट्छ धर्म पनि बढ्दछ तेसलाई ॥८०॥
वर्णन् ता यति कर्मले हजुरको हूँदैनथ्यो ता पनी ।
वर्णन् गर्छ जगत् यहाँ कि रघुनाथ् सब् ताप् हरौंला भनी ॥
आर्को आज कथा कहन्छु रघुनाथ् सीताजिलाई पनी ।
रावण्ले हरि लै गयो त यहि हो तेस्को इरादा भनी ॥८१॥
रावण्को र सनत्कुमार ऋषिको एक् दिन् भयो भेट् कहीं ।
सोध्यो रावणले परी चरणमा क्यै बात् ऋषी थ्यैं तहीं ॥
ब्रह्मन् को बलवान् छ देवहरुमा आधार कस्को गरी ।
जित्छन् सब् रिपुलाइ देवगणले साम्ने अगाडी सरी ॥८२॥
कस्को पूजन गर्दछन् द्विजहरू जो योगि हुन् सो पनी ।
कस्को ध्यान् कन गर्दछन् सहजमा संसार् तरौंला भनी ॥
यस्को निश्चय कत्ति पाइन अनेक् कस्तै विचार्दा पनी ।
ठूलो कुन् छ बताइ बक्सनु हवस् येही छ ठूलो भनी ॥८३॥
सून्या प्रश्न सनत्कुमार ऋषिले यस्ता डबल्को जसै ।
जान्या रावणको र आशय उसै माफिक् बताया तसै ॥
सून्यौ रावण एक् हरी सरि ठुलो मिल्दैन आर्को कबै ।
द्यौताका सब दानवादिहरुका आधार् इनै हुन् सबै ॥८४॥
जस्ले नाभि कमल् विषे त भगवान् ब्रह्माजि पैदा गरी ।
ती द्वारा जगतै बनाउनु भयो ठूला तिनै हुन् हरी ॥
इन्द्रादीहरु जित्तछन् रिपु सबै आधार् हरीकै गरी ।
ध्यान्ले योगिहरू तिनै कन भजी जान्छन् सहज् पार् तरी ॥८५॥
रावण्ले इ वचन् सुन्यो र ऋषिका बिन्ती गर्यो फेर् तहाँ ।
विष्णूले जति मार्दछन् रण महाँ ती बस्न जान्छन् कहाँ ॥
दोस्रो प्रश्न सुन्या तहाँ ति ऋषिले यस्ता प्रकार्को जसै ।
उत्तर् फेरि दिया कृपा गरि तहाँ तेस्लाइ तिन्ले तसै ॥८६॥
द्यौताले जति मार्दछन् ति त अनेक् स्वर्गादिको भोग् गरी ।
कालान्तर् पछि जन्म हुन्छ तिनको पृथ्वीतलैमा झरी ॥
जस्लाई हरि मार्दछन् उ त तसै जान्छन् तुरुन्तै अनी ।
मुक्तै भै कन बस्छ जन्म तसको हूँदैन कैले पनी ॥८७॥
यस्ता सत्य वचन् सुनी मन बुझ्यो रावण् भयो खुस् पनी ।
सङ्ग्राम् श्रीहरि थ्यैं गरी तहिं मरी मुक्तै म हुन्छू भनी ॥
यस्तो सुर् मनमा जसै दृढ गर्यो जान्या ऋषीले पनी ।
खूसी भै ति सनत्कुमार ऋषिले आशीष दीया पनी ॥८८॥
हे रावण् सुन वत्स जो छ मनमा स्वाभीष्टसिद्धी सबै ।
तिम्रो लौ परिपूर्ण हुन्छ मनमा शङ्का नमान्या कबै ॥
रुप् जस्तो हरिको छ भन्छु अहिले यस्ता हरी छन् भनी ।
स्थावर् जङ्गम सूर्य्य चन्द्र पृथिवी शेष् दैत्य दानव् पनी ॥८९॥
ई रुप् हुन् हरिका अनेक् तरहका यो रुप् विराट् रूप हो ।
पीताम्बर् घनश्याम् त सूक्ष्म रुप हो देख्नू कृपैले छ यो ॥
यो रुप् देखन मन्सुवा छ त हुनन् इक्ष्वाकु कुल्मा हरी ।
छोरा हुन् दशरथ्जिका भनि जगत् भन्नन् ति राम् नाम् गरी ॥९०॥
सीता लक्ष्मण साथमा लिइ पिताजीका हुकुम्ले गरी ।
जानन् दण्डक वन् महाँ भजि लिया चीन्ह्या तिनै हुन् हरी ॥
यो विस्तार सनत्कुमार ऋषिका मुख् देखि जस्सै सुन्यो ।
चीन्ह्यो ख्वामितलाइ तेस् बखतमा तेस्ले र यस्तो गुन्यो ॥९१॥
श्रीराम्चन्द्र सितै विरोध् गरि तिनैका हात देखी मरी ।
संसार्सागर पार् तरेर सहजै जान्छू जहाँ छन् हरी ॥
यस्ता आशयले सिता कन हर्यो रावण् त हो बुद्धिमान् ।
लक्ष्मी हुन् इ सिता भनी कन चिन्ह्यो मान्थ्यो कहाँ हो अजान् ॥९२॥
जो यो कथा कन खुसी भइ पाठ गर्छन् ।
सुन्छन् कहीं कहिं सुनायर पाप हर्छन् ॥
खुप् आयु बढ्छ तिनको अति सौख्य हुन्छन् ।
धन्लाभ हुन्छ बहुतै तब नित्य सुन्छन् ॥९३॥
एक् दिन् नारदजी डुली सकल लोक् आया नजिक्मा जसै ।
देख्यो रावणले र पाउ परि एक् बिन्ती गर्यो पो तसै ॥
हे सर्वज्ञ मुने लडाकि बलिया विर् छन् कहाँ सो कही ।
पाऊ लाग्नु हवस् गर्यो विनति यो खुप् लड्न इच्छा भई ॥९४॥
रावण्का इ वचन् सुनेर मुनिले मन्ले विचार् खुप् गरी ।
भन्छन् को भनु छैन वीर अरु ता ताहाँ तिमीले सरी ॥
तिम्रो मन्सुब पूर्ण गर्न सकन्या विर् श्वेतद्विप्मा गया ।
मिल्छन् जाउ तहीं नजाउ कहिं लौ खुप् लड्न मन्सुब् भया ॥९५॥
जो विष्णुका पूजन नित्य गर्छन् ।
जो विष्णुका बाहुलि देखि मर्छन् ॥
तेस्ता महात्मा तहिं बस्न जान्छन् ।
त्रैलोक्यका विर् त ति तुच्छ मान्छन् ॥९६॥
नारद्का इ वचन् सुनी कन त झट् पुष्पक् विमान्मा चढी ।
श्वेतद्विप् पनि पुग्दछू भनि चल्यो रावण् त तेसै घडी ॥
श्वेतद्वीप नजिक् पुग्या पछि विमान् पुष्पक् न चल्न्या भयो ।
ओर्ल्यो पुष्पक देखि हिक्मति थियो पैदल् दुगुर्दै गयो ॥९७॥
श्वेतद्वीप पुगी प्रवेश् गरुँ भनी मन्सुब् गरेथ्यो जसै ।
धाया सुन्दरि नारि घेरि चहुँ ओर् आश्चर्य मान्यो तसै ॥
आर्कीले पनि देखि पक्रि कन सब् वृत्तान्त सोद्धी भई ।
आर्कीले अझ आर्किले धरि लिंदा चेत्यो वहाँ पो गई ॥९८॥
उम्क्यो स्त्रीहरु देखि बल्ल र बहुत् आश्चर्य मान्यो पनी ।
मर्छू मै पनि विष्णु देखि र यहीं आयेर बस्छू भनी ॥
जल्दी मर्न निमित्त खुप् छल गरी सीताजिलाई हर्यो ।
लङ्कामा लगि मातृवत् जननिको सेवा पनी खुप् गर्यो ॥९९॥
राम् नाम्ले परमेश्वरै हुनुभयो मालुम् छ सब्को गती ।
क्या बिन्ती गरुँ धेर् हजुर् त सबका साक्षी जगत्का पती ॥
मेरो येहि चरित्र गायर रहोस् यो लोक संसार् भनी ।
गर्नू हुन्छ यहाँ अनेक् तरहका संसारि लीला पनी ॥१००॥
येही रित् सित रामको स्तुति गरी खुस् भै अगस्ती गया ।
संसारी सरि भै अनेक् विषय भोग् श्रीराम गर्दा भया ॥
फर्क्यो पुष्प विमान् कुबेर् सित गई राम्कै हजुर्मा गयो ।
फर्क्या नाथ् म कुबेरका हुकुमले यो बिन्ति गर्दो भयो ॥१०१॥
पैल्हे रावणले जिती कन लियो सेवा उसैको गरिस् ।
ऐल्हे श्रीरघुनाथले जिति लिंदा उन्का अधिन्मा परिस् ॥
खुप् यो योग्य भयो अझै पनि तँ जा सेवा प्रभूकै गरी ।
आऊनू तइँले यहाँ जब त राम् वैकुण्ठ जान्छन् हरी ॥१०२॥
हूकुम् येती कुबेरले पनि गर्या ख्वामित् पुग्याथ्याँ जसै ।
मञ्जुर् सोहि हुकुम् गरी कन फिर्याँ खुस् भै हजुर्मा तसै ॥
पुष्पक्को विनती सुनेर रघुनाथ्जीको हुकुम् भो पनी ।
ऐल्हे जा तँ म सम्झुँला त उ बखत् चाँडो तँ आयास् भनी ॥१०३॥
पुष्पक्लाइ बिदा दिया र रघुनाथ्ले राज्यको भोग् गर्या ।
जस्का राज्य महाँ बुढा पछि रही बाला न कैल्हे मर्या ॥
यस्तो राज् प्रभुले गर्या सकलका आनन्दमै काल् गयो ।
श्रीराम्का तहिं राज्यमा पनि ठुलो आश्चर्य एक् दिन् भयो ॥१०४॥
ब्राह्मण्को लडिका मरेछ र पिता रूँदा रह्याछन् कहीं ।
देख्या श्रीरघुनाथले तब विचार् राख्या प्रभूले तहीं ॥
क्याले यो विधि भो भनी कन विचार् गर्दा भयो याद् जसै ।
तप् गर्थ्यो तहिं शूद्र जङ्गल विषे उस्लाइ मार्या तसै ॥१०५॥
तप् गर्दा जब शूद्र मारि दिनु भो ऊठ्यो लडीको पनी ।
ब्राह्मण् खूसि भया गयो परमधाम् त्यो शूद्र चाहीं पनी ॥
यस्तै रित् सित पालना गरि लिंगा दुःखी भयेनन् कहीं ।
कोटी लिङ्ग पनी स्थल स्थल विषे थाप्या प्रभूले तहीं ॥१०६॥
संसार्को सुख भोग् गराउनु भयो सीताजिलाई पनी ।
येहि गायर लोक् तरुन् भनि भन्या स्थापन् कथाको पनी ॥
सीता मात्र थिइन् प्रिया प्रभुजिकी राजर्षिको चाल् धरी ।
शिक्षा खातिर गादिमा बसि अनेक् राज्का अनेक् काम् गरी ॥१०७॥
दस् हज्जार् जब वर्ष राज् गरि बित्या काल् ता यसै बिच् महाँ ।
सीताले रघुनाथका चरणमा बिन्ती गरिन् एक् तहाँ ॥
ख्वामित् नित्य हजूरका चरणकी दासी म हूँ ता पनी ।
पर्छन् आयर पाउमा म सित खुप् ब्रह्मादि द्यौता पनी ॥१०८॥
गर्छन् बिन्ति हजुर् अघी गइ दिया आफैं प्रभू राम् पनी ।
पाऊ लाग्नु हुन्याछ युक्ति यहि हो वैकुण्ठ जान्या भनी ॥
भन्छन् बिन्ति गर्याँ हजुर् सित सबै ब्रह्मादिको मत् पनी ।
जस्तो गर्न उचीत हो उहि हवस् ख्वामित् जनायाँ भनी ॥१०९॥
सीताले विनती गरिन् र रघुनाथ्ज्यूको हुकुम् भो तहाँ ।
बेस् भन्छन् अब गर्नु पर्दछ यसो वैकुण्ठ जाँदा महाँ ॥
लोक्को एक् अपवाद् लगायर तिमीलाई बडा वन् महाँ ।
लैगी त्याग् पनि गर्छु जानु तिमिले वाल्मीकि आश्रम् जहाँ ॥११०॥
ऐल्हे गर्भ छ जन्मनन् दुइ कुमार् विर् विर् तिमीले पनी ।
लोक्को यो अपवाद मेट्छु अब ता पस्छू म नीया भनी ॥
याहीं आयर लोकका बिच महाँ न्यायै पसौली जसै ।
फाट्निन् धर्ति र ताहिं बाट तिमिले वैकुण्ठ जानू तसै ॥१११॥
यस् रित्ले तिमि जाउली जब अघी क्यै काल् बसी मै पनी ।
आऊँला किन बस्तछू कहि सक्याँ यै सुर् छ मेरो भनी ॥
जानाको यहि सूर निश्चय गरी श्रीराम् सभामा गया ।
हाम्रा यश् अपयश् कसो छ दुनियामा येहि सोद्धा भया ॥११२॥
सब्ले बिन्ति पनी गर्या हजुरमा बोल्छन् यशै यश् भनी ।
एकाले पछि क्या भन्यो कि महराज् एक् सुन्छु अप्यश् भनी ॥
रावण्ले वनमा हरी घर लगी क्यै दिन् त राख्यो पनी ।
यस्ती हुन् इ सिता उनै कन घरै ल्याया छ चोखी भनी ॥११३॥
यस्ती स्त्री पनि चोखि हो भनि यहाँ राजै त राख्छन् भन्या ।
चोखी कुन् रहली यहाँ अब उपर् सम्पूर्ण वेश्यै बन्या ॥
भन्छन् अप्यश येहि मात्र भनि यो बिन्ती गरेथ्यो जसै ।
लक्ष्मण्जी कन डाकि ल्याउन हुकुम् दीया प्रभूले तसै ॥११४॥
हूकुम्ले रघुनाथका हजुरमा लक्ष्मण् पुग्याथ्या जसै ।
सुन्नैलाइ कठिन् हुन्या अति कठोर् हूकुम् भयो पो तसै ॥
हे भाई इ सिताजिलाइ अहिले त्याग् गर्नु मैले पर्यो ।
चोखी जानि लिंदा त दुर्यश बहुत् लोक्ले मलाई गर्यो ॥११५॥
सीतालाइ चढाइ जल्दि रथमा वाल्मीकिआश्रम् जहाँ ।
जो ताहीं नजिकै गयेर वनमा छाडेर आऊ यहाँ ॥
उत्तर् केहि गर्यौ भन्या त तिमिले मार्यौ म ऐल्हे मर्याँ ।
भाई भोलि बिहान लानु वनमा हूकुम् त यै हो गर्याँ ॥११६॥
लक्ष्मण्ले जब यो हुकुम् कन सुन्या ठूला सकस्मा परी ।
प्रातःकाल महा उठ्या र बढिया एक् रथ् तयारी गरी ॥
सीतालाइ चढाइ लैगि वनमा छोडेर आया पनी ।
लागिन् गर्न विलाप् सिताजि वनमा छोड्या मलाई भनी ॥११७॥
रुन्थिन् वाल्मिकिशिष्यले सुनि कह्या वाल्मीकिजी थ्यैं गई ।
सून्या वाल्मिकिले र पूजन गर्या सीताजिको याद् भई ॥
ल्याया आश्रममा र लोकजननी सीता इनै हुन् भनी ।
स्त्रीजन्लाइ लगाइ खुप् सित गर्या सेवा सिताको पनी ॥११८॥
ती विप्रपत्निहरुले पनि लक्ष्मि जानी ।
पूजा सिता कन गर्या अति भाग्य मानी ॥
सीतापती पनि विरक्त भयेर सुख् भोग् ।
छोडी मुनी सरि भया मनले लिया योग् ॥११९॥
लीला मेरि भनी सुनी कन तरुन् ई लोक् संसार् भनी ।
लोकैका हितका निमित्त भगवान् मानिस् स्वरुप्का बनी ॥
लीला गर्नु भयो र वृद्धहरुले जो गर्दथ्या सो गरी ।
सत्कामै गरि दिन् बिताउनु भयो बाधा सबैका हरी ॥१२०॥
साथ्मा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठुलो विष् भनी ।
सोध्या लक्ष्मणले र सब् कहनु भो विस्तार् प्रभूले पनी ॥
ब्रह्मस्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जसै ।
बूझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोध्न लाग्या तसै ॥१२१॥
हे नाथ् ज्ञान स्वरूप देहहरुका आत्मा अधिन् भै पनी ।
भूभार् हर्नु भयो अनेक् तरहका यस् आकृतीका बनी ॥
लीला हो इ त आत्मरूपि भगवान् भक्तै फगत् जान्दछन् ।
यो लीला त दयानिमित्त हुन गो यस्तो पनि मान्दछन् ॥१२२॥
यस्ता मालिक जानि पाउ तलमा ख्वामित् पर्याको म छू ।
संसार् रूपि गभिर् समुद्र सहजै कुन् पाठले तर्दछू ॥
सोही युक्ति बताइ बक्सनु हवस् जुन् पाठले यो तरी ।
पुग्न्याछू पछि धाममा सहजमा आनन्दको भोग् गरी ॥१२३॥
लक्ष्मण्का इ वचन् सुनेर रघुनाथ् मूखै हँसीलो गरी ।
आफ्ना भक्त ति भाइ लक्ष्मणजिका सम्पूर्ण सन्ताप् हरी ॥
तत्त्व ज्ञान पनी तहीं दिनु भयो जुन्लाइ वेद्ले पनी ।
भन्छन् लोक्हरुलाइ तर्न सजिलो साँघू छ येही भनी ॥१२४॥
ई वर्णाश्रमका क्रिया जति त छन् तिन्लाइ पैल्हे गरी ।
दस् इन्द्रीय र मन् जितेर गुरुका साम्ने अगाडी परी ॥
आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर् गर्या ।
आत्मज्ञान् पनि मिल्छ येहि रितले संसार् कतीले तर्या ॥१२५॥
फल् इच्छा गरि कर्म गर्छ यदि ता फेर् देह यस्तै लिई ।
त्यो फल् भोग् पनि गर्छ गर्छ अरु फेर् कर्मै बहुत् मन् दिई ॥
तेस्को फेर् पनि बन्छ देह करले येसै जगत्मा परी ।
यस्तै रित् सित घुम्छ त्यो भुवनमा अत्यन्त चक्रै सरी ॥१२६॥
अज्ञाने छ घुमाउन्या सकलको शत्रू सरीको यहाँ ।
ज्ञानैले गरि नष्ट हुन्छ पनि सो लीनू यही मन् महाँ ॥
अज्ञान्को र इ कर्मको छ कति फेर् तस्मात् क्रियाले गरी ।
अज्ञान् नष्ट हुँदैन छैन अरु थोक् ऊपाय यै ज्ञान् सरी ॥१२७॥
अज्ञान् नष्ट हवस् न राग् न त छुटोस् अज्ञानका कर्मले ।
कर्मै गर्छ त घुम्छ यै जगतमा त्यै कर्मका धर्मले ॥
तस्मात् ज्ञान विचार गर्नु जनले ज्ञान्ले कती पार् भया ।
ज्ञान् छाडी कन कर्मले जनहरू संसार पार् को गया ॥१२८॥
विद्यालाइ सहाय कर्म छ ठुलो भन्छन् इ वेद्ले पनी ।
तस्मात् कर्म अवश्य गर्नु जनले साहाय होला भनी ॥
क्वै येसो पनि भन्दछन् त ति भनुन् साहाय कोही रती ।
विद्यालाइ त चाहिंदैन बुझ यो विस्तार् बताऊँ कती ॥१२९॥
हुन्छन् कर्म त देह देहहरुमा पूरा अभीमान् भई ।
विद्या हुन्छ त जो छ तेहि अभिमान् देहादिमाको गई ॥
विद्याको र इ कर्मको त छ विरोध् साहाय हुन्थ्यो कहाँ ।
विद्यै एक् छ समर्थ मुक्ति दिनमा यै जान्नु सब्ले यहाँ ॥१३०॥
बाजीका श्रुति तैत्तिरीय कहिन्या श्रूतीहरूले पनी ।
भन्छन् येहि कुरा सहाय अरुको खोज्दैन विद्या भनी ॥
तस्मात् कर्म विरोधी जानि जनले सब् कर्म छाडी दिनू ।
विद्यै मात्र ठुलो बुझेर यसमा यो मन् लगाई लिनू ॥१३१॥
जो यो तत्त्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू ।
यस्मा तिन् पद छन् ति तीन पदका तात्पर्यमा मन् दिनू ॥
तत्का अर्थ परात्म हुन् ति पदमा त्वं भन्नु जीवात्म हो ।
इन्को ऐक्य बुझाउन्या असि छ पद् रात् दिन् विचार् गर्नु यो ॥१३२॥
मायाले त बन्यो शरीर सब यो आखिर् छ मन्र्या पनी ।
देख्नू पञ्च महाभुतै छ सबमा यस्ता प्रकार्को बनी ॥
संसार्को सुख दुःख साधन स्वरुप् देखिन्छ जो देह यो ।
स्थूलोपाधि भनी कहिन्छ सबले यो नाम् यसैको त हो ॥१३३॥
दस् इन्द्रीय र मन् अपञ्चिकृत भुत् यो सोह्र जम्मा छ जो ।
स्थूलोपाधि भनी कहिन्छ सबको मुल् भोग साधन् छ यो ॥
येसै स्थूल उपाधि भित्र छ सदा इन्को वियोग् भो जसै ।
स्थूलोपाधि गलेर जान्छ सबको टिक्तैन एक् क्षण् कसै ॥१३४॥
जीव् ता मुक्त छ शुद्ध निर्मल फटिक् जस्तो उपाधी गरी ।
सो निर्मल् पनि हुन्छ सङ्गगुणले उस्तै उपाधी सरी ॥
ईनै दूइ उपाधि देखि बुझि खुप् होला फरक् जिव् जसै ।
तस्सै मुक्त हुन्या छ छैन नहिं ता आर्को उपायै कसै ॥१३५॥
राताका सँगमा रह्या स्फटिक ठिक् देखिन्छ रातै सरी ।
तस्तै आत्म पनी उपाधि सँग भै हुन्छन् उपाधी सरी ॥
आत्मामा छ उपाधि केहि न फटिक्मा क्यै छ रातो कतै ।
झुट्टै मात्र छ यो झलक् यहि विचार् खुप् राख्नु जत्ता ततै ॥१३६॥
जाग्रत् स्वप्न सुषुप्ति वृत्ति तिन छन् यस् बुद्धिका ई पनी ।
झूट्टै देखि लिइन्छ नित्य सुखरुप् यस् ब्रह्मरुप्मा भनी ॥
जानी वृत्तिनिरोध् गरेर जनले यो आत्म जानी लिनू ।
आत्मा भीत्र उपाधिलाइ त झुटा जानेर छाडी दिनू ॥१३७॥
आत्मा हो सुख रूप दुःख रुपको संसार् छ उस्मा कहाँ ।
अज्ञान्ले गरि मात्र सत्य रुपले झल्कन्छ आत्मा महाँ ॥
ज्ञान्ले लिन् पनि हुन्छ डोरि कन साँप् बुझ्नू छ जस्तो फगत् ।
तस्तै ईश्वरमा अनेक् तरहको देखिन्छ यस्तो जगत् ॥१३८॥
अध्यास् हुन्छ चिदात्ममा इ सबको जो छन् अहङ्कारका ।
इच्छादी पनि बुद्धि धर्म बुझनू छैनन् कुनै सारका ॥
आत्मा साक्षि छ यो पृथक् इ सबमा सब्मा घुस्याको पनी ।
जस्तै घुस्तछ अग्नि लोहहरुमा तस्तै प्रकार्को बनी ॥१३९॥
यै आत्मा कन चिह्न पर्छ गुरुका वेद्का वचन्ले गरी ।
आत्मालाइ चिह्न्यो भन्या बुझि लिनू त्यो मुक्त भो तेस् घरी ॥
तस्मात् आत्मविचार गर्नु जनले यस् रूपका हुन् भनी ।
अज्ञान् नष्ट गराउना कन अवर् छैनन् उपाई पनी ॥१४०॥
आत्मा यस् रितले चिह्निन्छ पहिले एकान्तमा गै बसोस् ।
दस् इन्द्रीय जितेर मन् पनि जिती आत्मैविचार्मा परोस् ॥
जानोस् जो छ जगत् प्रकाश् सकल यो हो आत्मसत्ता भनी ।
येही तत्त्व बुझी त पूर्ण रुपको होइन्छ आफू पनी ॥१४१॥
ओङ्कार् वाचक हो सबै जगतको अज्ञान् अवस्था महाँ ।
ज्ञानोत्तर् हुन सक्छ वाचक कहाँ लिन् हुन्छ आत्मै महाँ ॥
आत्मामा जब लिन् भया अ उ म तिन् विश्वादि साक्षीसहित् ।
आत्मै मात्र रहन्छ तेस् बखतमा निर्मल् उपाधीरहित् ॥१४२॥
सोही आत्म म हूँ भनी दृढ भयो ज्ञान्का विचार्ले जसै ।
जीवन्मुक्त भनी कहिन्छ जन त्यो पर्दैन ताप्मा कसै ॥
सब् इन्द्रीयशमन् गरेर बलवान् कामादिको नाश् गरी ।
अभ्यास् गर्नु समाधिमा त सहजै देखिन्छु साम्ने हरी ॥१४३॥
येही पूर्ण अनन्त आत्मरुपको ध्यान् नित्य गर्दै रहोस् ।
जो प्रारब्ध छ सो बुझेर बलियो ई दुःख सुख् सब् सहोस् ॥
येही रित् सित दिन् बिताउँछ भन्या यो देह छुट्ला जसै ।
संसार्का सब दुःख छाडि कन त्यो लिन् हुन्छ मैमा तसै ॥१४४॥
आदीमा न त अन्त्यमा न बिचमा यो देहधारी बनी ।
पूर्णानन्द हुँदैन जान्नु सबले यो सत्य बात् हो भनी ॥
तस्मात् यो विधि छोडि गर्नु जनले आत्मैविचार् खुप् गरी ।
त्यो मैमा मिलि जान्छ जल् जलधिमा पौंचेर मील्या सरी ॥१४५॥
आत्मै मात्र छ सत्य यो सब जगत् झूटै छ झूटो पनी ।
डोरी सर्प बुझ्या सरी बिबुझमा देखिन्छ साँचो भनी ॥
जान्नू जानिइयेन यो भनि भन्या मेरा चरण्मा परी ।
सेवा गर्नु र जान्दछन् नतर ता टर्दैन कस्तै गरी ॥१४६॥
वेद्को सार रहस्य यो सब कह्याँ जो यो विचार् गर्दछन् ।
कोटी जन्म सहस्रका सकल पाप् तिन्का सहज् टर्दछन् ॥
तस्मात् भाइ विचार यो सब जगत् झूटो चटक् झैं भनी ।
मैमा भक्ति सदा लगायर रहू आनन्द रूपी बनी ॥१४७॥
मेरो येहि सगुण् स्वरूप् कन खुसी मानी भजन् वा गरुन् ।
वा निर्गुण् परिपूर्ण आत्म रुपमा लैगेर यो मन् धरुन् ॥
ती दूवै मइ तुल्य हुन् ति मइ हुन् ती मै सरीका बनी ।
गर्छन् सब् भुवनै पवित्र तिनले कुल्ची दिंदामा पनी ॥१४८॥
श्रद्धा भत्ति रहोस् गुरूचरणमा मेरा वचन्मा पनी ।
यस्लाई श्रुतिसार् बुझी कन पढोस् मुल् तत्त्व यै हो भनी ॥
यस्ता रित् सित यो पढ्यो पनि भन्या अज्ञानको नाश् गरी ।
मेरै रुप् बनि जान्छ जान्छ सहजै संसारसागर् तरी ॥१४९॥
एक् दिन् श्रीयमुनाजिका तिर महाँ बस्न्या मुनीश्वर्हरू ।
भार्गव्मा च्यवनै थिया इ सँगमा बस्न्या थिया जो अरू ॥
आया श्रीरघुनाथका हजुरमा आपत्ति छुट्नन् भनी ।
आदर् खुप् रघुनाथ बाट रहँदा खुस् भो ऋषीगण् पनी ॥१५०॥
सेवक् ब्राह्मणको म हूँ अति कृपा गर्नू भयो धन्य हो ।
सेवक्लाइ अह्राइ बक्सनु हवस् कुन् काम् छ इच्छा छ जो ॥
सेवक् हूँ सब सिद्ध गर्छु भनि यो राम्को हुकुम् भो जसै ।
आपत् बिन्ति गर्या तहाँ च्यवनले राम्का हजुर्मा तसै ॥१५१॥
हे नाथ् क्वै मधु नाम दैत्य शिवका प्यारा महात्मा थिया ।
तिन्लाई शिवले त्रिशुल् पनि अमोघ् खूसी हुँदामा दिया ॥
रावण्की बहिनी थि कुम्भिनसि एक् बीहा गर्याको थियो ।
जन्म्यो पुत्र त लोककण्टक सबै चाल् राक्षसैको लियो ॥१५२॥
तेस्को नाम लवण् छ राक्षसि छ चाल् तेस्ले त्रिशुल् त्यै लिई ।
आपद् सब् ऋषिलाइ गर्छ रघुनाथ् बाधा अनेकन् दिई ॥
यो आपत्ति छुटोस् भनी हजुरमा आयौं भन्याथ्या जसै ।
तेस्को ताप न मान्नु मार्छु अहिले यस्तो हुकुम् भो तसै ॥१५३॥
यै बिच्मा सब भाइलाइ रघुनाथ्ले सोध्नु भो को गई ।
मार्छौ कण्टक तेस् लवण् कन ऋषीका प्राणदाता भई ॥
हात् जोरी विनती गर्या भरतले ख्वामित् म जान्छू भनी ।
ताहीं फेर् विनती गर्या अति उचित् शत्रुघ्नजीले पनी ॥१५४॥
लक्ष्मण्ले पनि काम् गर्या अगि बडा साथै हजुर्मा गई ।
दुःखै भोग भरत्जिले पनि गर्या योगी सरीका भई ।
ख्वामित् आज हुकुम् भया त खूसि भै जान्छू म ऐल्हे तहाँ ।
राम् ठाकुर् बहुतै खुसी हुनु भयो यो बिन्ति सुन्दा महाँ ॥१५५॥
यस्तो हूकुम भो बहुत् खुसि भई शत्रुघ्नलाई तहाँ ।
गादी आज म दिन्छु राज् पछि गर्या पूरी बनाई तहाँ ॥
पैल्हे जल्दि त मारि हाल लवणै लै जाउ यो बाण् भनी ।
बाण्मा मुख्य जउन् थियो उहि झिकी दीनू भयो बाण् पनी ॥१५६॥
अर्ती क्या दिनु भो कि भाइ शिवको त्रिशुल् छ तेस्का घरै ।
पूजा नित्य गरेर जान्छ वनमा आहार खातिर् परै ॥
तेस्ले त्यो शिवको त्रिशुल् लिन भनी जानै न पावस् घरै ।
फिर्दामा तहिं लड्नु हान्नु यहि शर् मर्ला र गिर्ला परै ॥१५७॥
पायो त्यो शिवको त्रिशुल् लिन भन्या तेसै त्रिशुल्ले गरी ।
सब्को नष्ट गराउन्या छ यहि सुर् राख्नू विचार् खुप् गरी ॥
यो मार्या पछि तेस् मधूवन महाँ एक् बेस् बनाऊ सहर् ।
जस्मा बस्न मिलोस् भनी सकलले खुप् बस्न मानुन् रहर् ॥१५८॥
तेस्को नाम् मथुरा हुन्या छ नगरी त्यै राजधानी गरी ।
राज् गर्नू तिमिले अनेक् तरहका सब्का विपत्ती हरी ॥
एक्लै गै अघि मार राक्षस पछी आऊँछ सेना पनी ।
तिस् चालीस हजार राज् गर तहाँ राम्ले दिया राज् भनी ॥१५९॥
आशीर्वाद् दिइ साथ जाउ ऋषिका भन्न्या हुकुम् भो जसै ।
हूकुम् माफिक काम् गर्या सँग गई शत्रुघ्नजीले तसै ॥
राक्षस् मार्नु भयो तुरुन्त र तहीं पूरी मथूरा बनी ।
हूकुम् माफिक राज् गर्या तहिं बसी शत्रुघ्नजीले पनी ॥१६०॥
सीताका पनि दूइ पुत्र सुकुमार् जम्ल्याह पैदा भया ।
वाल्मीकी ऋषिले ति पुत्र दुइको नाम्कर्म गर्दा भया ॥
जेठाको कुश नाम् धर्या लव भनी जुन् चाहिं कान्छा थिया ।
तिन्को नाम धर्या क्रमै सित अनेक् शास्त्रै पढाई दिया ॥१६१॥
वेलैमा व्रतबन्ध कर्म पनि भो वेदार्थ जानुन् भनी ।
लाग्या वेद् पनि पढ्न शास्त्रहरूको तात्पर्य जान्या पनी ॥
उत्तम् निर्मल वंश सूर्य्य बिचमा पैदा भयाका थिया ।
यो अभ्यास थियेन भन्नु त उसै फुस्रा कुरा पो थिया ॥१६२॥
वाल्मीकिले सकल रामचरित्रलाई ।
गान् कर्न काव्यरितले कविता बनाई ॥
गान् गर्दथ्या खुसि भयेर पढाइ दीया ।
त्यो गाउँदा त्रिभुवनै वश पारि लीया ॥१६३॥
जम्ल्याहा दुइ भाइ सुन्दर कुमार् हात्मा सितारा लिई ।
पूरा सुर् सित गाउँथ्या दुइ जना ताल् सुर् मिलाई दिई ॥
खुस् हुन्थ्या ऋषिगण् सबै ति वनका सूनेर तेस् गानले ।
प्यारो खुप् सित गर्दथ्या ति दुइको ठूला भनी मानले ॥१६४॥
यै रीतले रामचरित्र गाई ।
सम्पूर्णको मन् पनि खुस् गराई ॥
वाल्मीकि कै आश्रममा रहन्थ्या ।
गर्थ्या सधैं वाल्मिकि जो त भन्थ्या ॥१६५॥
यै बिच्मा सब अश्वमेध्हरू गरी राम्ले अनेक् दान् दिया ।
सीताजी वनमा थिइन् र सुनकी सीता बनाई लिया ॥
ब्रह्मर्षी र बडा बडा पृथिविका राजाहरू सो पनी ।
ब्राह्मण् क्षत्रिय वैश्य सब् तहिं पुग्या हेरौं तमासा भनी ॥१६६॥
वाल्मीकी ऋषिका सँगै ति कुशलव् हिंड्थ्या ति जान्थ्या जहाँ ।
पाया फुर्सत सोध्नको र कुशले सोध्या कुरा क्यै तहाँ ॥
हे सर्वज्ञ गुरो कउन् तरहले बन्धन् विषे पर्दछन् ।
कुन् पाठ्ले सब बन्धनै पनि सहज् तोडेर पार् तर्दछन् ॥१६७॥
बाँधिन्छन् यहि रीतले यति गर्या संसार तर्छन् भनी ।
यस्तो तत्त्व बताइ बक्सनुहवस् जानू म मूढो पनी ॥
यस्तो प्रश्न सुन्या जसै ति कुशको ती वाल्मिकीले पनी ।
यस्को तत्त्व बुझाइ बक्सनु भयो बाँधिन्छ यस्ले भनी ॥१६८॥
यस् जिव्ले बिहकै विचार न गरी मन्त्री अहङ्कार् लिंदा ।
मन्त्रीले जति आफुमा गुण थिया जिव्मा मिलाई दिंदा ॥
मन्त्रीका वशमा परेर यहि जिव् मै हूँ अहङ्कार् भनी ।
लाग्यो भन्न भन्या गर्यो विषयमा बाँधिन्छ यो जिव् पनी ॥१६९॥
जो छन् सत्व र रज् तम त्रिगुण ई रुप् हुन् अहङ्कारका ।
ई तीनै मनले विचार् गरि लिंदा छैनन् कुनै सारका ॥
इच्छा सत्व विषे धर्यो पनि भन्या ऐश्वर्य भोग्छन् पनी ।
संसार् कै व्यवहार बढ्छ रजले स्त्री पुत्र मेरा भनी ॥१७०॥
जो ता छन् तम गूणमा खुसि हुन्या तेस्ता त कीरा भई ।
फिर्छन् नित्य विपत्तिमा सुख सयेल् मिल्दैन काहीं गई ॥
जो ता तिन् गुणलाइ तुच्छ बुझि खुप् आत्मैविचार् गर्दछन् ।
सब् बन्धन्हरुलाइ तोडि सहजै संसार् तिनै तर्दछन् ॥१७१॥
तस्मात् अहङ्कार् कन तुच्छ मानी ।
आत्मा म हूँ पूर्ण भनेर जानी ॥
आत्मैविचार्मा तिमि चित्त देऊ ।
साँचो भन्याँ यो तिमि जानि लेऊ ॥१७२॥
वाल्मीकि देखी यति तत्त्व पाई ।
ज्ञान् भै गयो ती कुश वीरलाई ॥
मुक्तै थिया नित्य तथापि याहाँ ।
गर्दै रह्या कार्य त लोक माहाँ ॥१७३॥
एक् दिन् वाल्मिकिले त अर्ति दिनु भो हे पुत्र हो गाउँछौ ।
तिम्रो गान् सुनि खूसि हुन्छ दुनियाँ अत्यन्त यश् पाउँछौ ।
श्रीराम्का पनि गान सुन्न कन मन् आयेर गाऊ भनी ।
लाया गाउन यो भन्या दुइ जना मीलेर गाया पनी ॥१७४॥
गान्ले खुस् भइ केहि बक्सिस भया बक्सिस् भयाका जती ।
चिज् छन् सब् तृण झैं गरेर तिमिले केही न लीया रती ॥
अर्ती वाल्मिकि देखि पाइ कुशलव् अत्यन्त खूसी भई ।
लाग्या गाउन दूइ भाइ ऋषिका साम्ने अगाडी गई ॥१७५॥
सून्या तेहि अपूर्व गान् र रघुनाथ्ज्यूका पनी मन् गयो ।
मेरो मन् पनि गानले हरि लिया को हुन् इ भन्न्या भयो ॥
साम्ने डाकि म सुन्छु फेरि यहि गान् भन्न्या इरादा धरी ।
राजन् पण्डित वृद्ध जन्हरु बहुत् राखी सभा खुप् गरी ॥१७६॥
गान् सुन्छू अब डाक याहिं ति कुमार् आउन् सभामा भनी ।
हूकुम् भो र हुकूमले दुइ कुमार् आया सभामा पनी ॥
देख्या मूर्ति कुमारका र सबले आश्चर्य मान्या पनी ।
कस्का हुन् इ कुमार् कसो गरि भया रामै सरीका भनी ॥१७७॥
रामैका सरि वस्त्र भूषण भया राम्चन्द्र कुन् हुन् भनी ।
चिह्नैलाइ कठिन् हुन्या छ यहि बात् सब् बोल्न लाग्या पनी ॥
लाग्या गाउन भाइ दूइ जब ता गान्धर्व सुर्ले गरी ।
गान् सुन्दा बहुतै खुसी हुनु भयो त्रैलोक्यका नाथ् हरी ॥१७८॥
हूकुम् ताहिं भरत्जिलाइ दिनु भो लौ देउ खिल्लत् भनी ।
दस् हज्जार् रुपिया लगी कन दिया जल्दी भरत्ले पनी ॥
दस् हज्जार् रुपिया दिया त पनि त्यो सब् तृण् सरीको गरी ।
जाहाँ वाल्मिकिजी थिया उहिं गया धन् छोडि तेसै घरी ॥१७९॥
जान्या श्रीरघुनाथले इ त सिताजीका कुमार् हुन् भनी ।
त्यै बिच्मा प्रभुले हुकुम् दिनु भयो शत्रुघ्नलाई पनी ॥
हे भाई तिमि जाउ जल्दि अहिले वाल्मीकिजी छन् जहाँ ।
सीताजी र ति वाल्मिकी कन लिई दौडेर आऊ यहाँ ॥१८०॥
सीतालाइ नियाँ म दिन्छु अहिले सीताजि नीयाँ पसुन् ।
आफ्नू दोष अफालि निर्मल भई खुस् भै सिताजी बसुन् ॥
हूकुम् श्रीरघुनाथको यति हुँदा शत्रुघ्न जल्दी गया ।
वाल्मीकि ऋषिका परी चरणमा सब् बिन्ति गर्दा भया ॥१८१॥
सून्या बिन्ति र जुन् त आशय थियो राम्को उ जानी लिया ।
पस्लिन् भोलि निया सिता भनि तहाँ उत्तर् तुरुन्तै दिया ॥
उत्तर् वाल्मिकि देखि पाइ कन ती शत्रुघ्न फर्की गया ।
श्रीराम्चन्द्रजिका पुगी हजुरमा त्यो बिन्ति गर्दा भया ॥१८२॥
सुन्नू भो जब उत्तरा ति ऋषिको ताहाँ प्रभूले पनी ।
पस्छिन् भोलि सिता निया भनि हुकुम् भो लोक जानुन् भनी ॥
हूकुम् येति सुन्या र लोक पनि सब् हेरौं तमासा भनी ।
ब्राह्मण् क्षत्रिय वैश्य शूद्र जति छन् आया महर्षी पनी ॥१८३॥
आया वाल्मिकि ताहिं तेहि बिचमा सीताजिलाई लिई ।
सीताजी पनि यज्ञमा पुगि गइन् श्रीराममा मन् दिई ॥
सीताजी कन देखि लोकहरु सब् बेस् भो बहुत् बेस् भनी ।
लाग्या बोल्न तहाँ तसै बखतमा ती वाल्मिकीजी पनी ॥१८४॥
श्रीराम्जी सित बिन्ति गर्दछु भनी राम्का अगाडी सर्या ।
सीताजी अति शुद्ध छन् भनि बहुत् बिन्ती हजुर्मा गर्या ॥
छोरे हुन् कुशलव् पनी हजुरका बिन्ती कहाँ तक् गरू ।
क्यै शङ्का मनमा रह्या हजुरमा गर्छू शपथ् मै बरू ॥१८५॥
बोल्याँ केहि झुटो भन्या हजुरमा बोल्यो झुटो बात् भनी ।
निष्फल् आज गरुन् प्रभू जति थियो मेरो तपस्या पनी ॥
सून्या वाल्मिकिको शपथ् र रघुनाथ्ज्यूका हुकुम् यो भयो ।
मेरा संशय छैन कत्ति मनमा साँचो शपथ् हुन्छ यो ॥१८६॥
लङ्कामा पनि एक् निया अघि दिंदा जीतिन् र सीता लियाँ ।
ऐल्हे पो अपवाद् गर्या र जनले सो मेट्न छाडी दियाँ ॥
अर्काले अपवाद् गर्यो भनि उसै साँचै सिता त्याग् गर्याँ ।
तस्तै भो त पनी रिसानि न हवस् यस्मा क्षमापन् गर्या ॥१८७॥
मेरै पुत्र त हुन् दुवै इ कुशलव् जम्ल्याह पैदा भया ।
सीताजी पनि शुद्ध छन् सब बुझ्याँ सन्देह मेरा गया ॥
हूकुम् यो रघुनाथको हुन गयो हूकुम् भयो ता पनी ।
सीताजी ते तयार् भइन् तब बखत् पस्छू म नीया भनी ॥१८८॥
ब्रह्मादीहरु लोकपाल्हरु सबै आया सिता छन् जहाँ ।
ब्रह्मादीहरुका अगाडि ति सिता क्यै बोल्न लागिन् तहाँ ॥
जस्तो भक्ति छ रामका चरणमा मेरा उ जानी लिउन् ।
साँची छू त मलाइ जान अहिले बाटो भुमीले दिउन् ॥१८९॥
यस्ता वाणि सिताजिको पृथिविले सूनी अकीथिन् जसै ।
बेस् सिंहासन एक् तयार् गरि सिताजीलाइ राखिन् तसै ॥
त्यै सिंहासनमा बसी जननिले औदास्य मन्मा लिइन् ।
सीताजी कन जानलाइ बढिया बाटो भुमीले दिइन् ॥१९०॥
यस् रित्ले जननी सिता जब गइन् खुप् मोह लोक्मा पर्या ।
इन्द्रादीहरुले त खुप् खुसि हुँदै बेस् पुष्पवृष्टी गर्या ॥
सीताको तहिं शोक् गर्या प्रभुजिले संसारी जस्ता भई ।
ब्रह्मादीहरुले बुझाउनु भयो साम्ने अगाडी गई ॥१९१॥
बूझी बक्सनु भो र शोक् पर गरी बाँकी रह्याका थिया ।
सब् सम्पूर्ण गरेर दान् दिनु भयो ब्राह्मण् तहीं सब् थिया ॥
जो ता यज्ञ महाँ थिया जनहरू धन्ले ति पूर्णै भया ।
बीदा बक्सनु भो र देसि जति हुन् बीदा हुँदै सब् गया ॥१९२॥
सीताजी सितको वियोग् जब भयो श्रीराम् विरक्तै भया ।
यज्ञस्थान् कन छोडि पुत्र सँग ली जल्दी अयोध्या गया ॥
कौशल्या जननी पनी खुसि भइन् श्रीराम आया भनी ।
लक्षण् अन्त्य निहारि ज्ञानकि कथा चर्चा गरिन् बेस् भनी ॥१९३॥
कौशल्या रामलाई त्रिभुवनपतिका नाथ् रमानाथ जानी ।
कुन् पाठ्ले बन्ध छुट्ला भनि कन मनमा खुप् ठुलो दुःख मानी ॥
आइन् पाऊ परिन् फेर् विनति पनि गरिन् रामजीका चरण्मा ।
कुन् पाठले बन्ध छुट्छन् यति म कन कहू आज आया शरण्मा ॥१९४॥
यस्तो बिन्ती सुनी खुप् खुसि पनि हुनु भो बन्ध छुट्न्या उपाई ।
सब् भन्दा येहि ठूलो भनि कहनु भयो भक्तियोग् माइलाई ॥
भक्तीयोग्मा पनी जो त्रिगुणरहितकी भक्ति छन् सोहि गर्नू ।
गङ्गाजीका प्रवाहा सरि गरि यस मन्लाइ मै माथि धर्नू ॥१९५॥
मै माथी चित्त धन्र्या जनहरु सहजै भक्तिमान् होइ जान्छन् ।
चार् छन् मुक्ती ति चारै कन पनि तलका तृण् सरीका ति मान्छन् ॥
मैमाथी चित्त धन्र्या भनि कन बुझि ल्यौ साधना गर्न माहाँ ।
तेस्को वर्णन् म गर्छू अब सब बुझिल्यौ सब् खुलस्ता छ याहाँ ॥१९६॥
इच्छा काहिं न राखनू विषयमा सब् धर्म थाम्नू पनी ।
सत्काम् गर्नु विचार राख्नु मनमा हिंसा घटीया भनी ॥
मेरो दर्शन गर्नु खुप् स्तुति पुजा गर्नू स्मरण् खुप् गरी ।
पाऊमा परि दण्डवत् गरि लिनू जाइन्छ यस्ले तरी ॥१९७॥
सब् प्राणीहरुमा म छू यति विचार् राख्नू असङ्गी भई ।
साँचो बोल्नु बडा मिल्या चरणमा पर्नू तुरुन्तै गई ॥
गर्नू दुःखि उपर् दया सम भया तिन्मा त मैत्री पनी ।
सेवा गर्नु यमादिको पनि असल् बाटा इनै हुन् भनी ॥१९८॥
वेदान्तै कन सुन्नु गर्नु खुसि भै कीर्तन् सदा नामको ।
सज्जन्ले सतसङ्ग गर्नु दिन दिन् सोझो भई कामको ॥
मेरो देह भनाउन्या अति ठुलो छोड्नू अहङ्कार् पनी ।
यो मन् शुद्ध गराइ बुझ्नु जति छन् सब् धर्म मेरा पनी ॥१९९॥
जस्तै गन्ध रहन्छ फूलहरुमा फुल्मा रह्याको पनी ।
वायूका वशमा परी कन उडी आऊँछ नाक्मा पनी ॥
त्यस्तै योग विषे दियो मन भन्या त्यै योगवायू पनी ।
गन्धै झैं गरि मन् उडायर सहज् ल्याऊँछ मैमा पनी ॥२००॥
सर्वात्मा म छु जो त येति नबुझी पूजा सनक् गर्दछन् ।
ती देखी खुस हुन्न कत्ति ति गरुन् व्यर्थै शरिर् हर्दछन् ॥
पूजा गर्नु त तेहि हो उ न गर्या तिन्ले पुजा कुन् गर्या ।
मृत्यूको भय हुन्छ तिन् कन सदा संसारमा ती पर्या ॥२०१॥
सर्वात्मा म छु येति जानि सब जिव्लाई नमस्कार् गरुन् ।
जीवात्मा परमात्म एक् बुझि सदा अन्तःकरण्मा धरुन् ॥
मातर् मार्ग त तर्नलाइ सजिलो यै हो छ यस्तै गरी ।
संसार्का कति पार् गया सहजमा संसारसागर् तरी ॥२०२॥
याहाँलाइ त झन् सहज् छ म त हूँ पुत्रै र पुत्रै भनी ।
संझी मात्र दिनू हवस् यति गर्या छुट्नन् इ बन्धन् पनी ॥
कौशल्या रघुनाथको यति हुकुम् सूनिन् र मुक्तै भइन् ।
कैकेयी पनि देह छोडि दशरथ्जीका हजुर्मा गइन् ॥२०३॥
तस्तै सुमित्रा दशरथ्कि रानी ।
संसारको सोख् पनि सर्व जानी ॥
प्रारब्धका बन्धनलाइ तोडी ।
पौंचिन् पती थ्यैं यहिं देह छोडी ॥२०४॥
पापात्मा अति दुष्ट शत्रु सबका तिन् कोटि गन्धर्व छन् ।
ई सब्लाई मराउनू अब पर्यो बढ्नन् न मार्या त झन् ॥
यस् सुर्ले रघुनाथका हजुरमा एक् दिन् युधाजित् गया ।
पार्या बिन्ति भरत् गई हुकुमले गन्धर्व मार्दा भया ॥२०५॥
पूरी एक् तहिं पुष्करावति बनी पुष्कर् त राजा भया ॥
आर्की तक्षशिला पुरी बनि तहाँ राज् तक्ष गर्दा भया ॥
छोरा पुष्कर तक्षलाइ तिमिले राज् गर्नु याहीं भनी ।
फर्की श्रीरघुनाथका हजुरमा पौंच्या भरत्जी पनी ॥२०६॥
लक्ष्मण्लाइ पनी हुकुम् तहिं भयो भाई तिमीले पनी ।
छोरालाइ लगेर पश्चिम मुलुक्मा राज्य देऊ भनी ॥
पश्चिम्मा अति दुष्ट भिल्लहरु छन् तिन्लाइ संहार् गरी ।
दूई पूरि बनाउनू पनि तहाँ रत्नादि दौलत् भरी ॥२०७॥
राजा अङ्गद चित्रकेतु इ दुवैलाई बनाया तहाँ ।
छोरालाइ रजाइँ दी कन तिमी आया तुरुन्तै यहाँ ॥
हूकुम् श्रीरघुनाथको यति हुँदा लक्ष्मण् तुरुन्तै गया ।
जो जो हुन् अति दुष्ट भिल्लहरु सब् तिन्लाइ मार्दा भया ॥२०८॥
पूरी दूइ बनाइ लक्ष्मणजिले ताहीं रजाई दिया ।
छोरालाइ र जल्दि लक्ष्मण गया जाहाँ रघूनाथ् थिया ॥
एक् दिन् काल् ऋषि झैं भयेर रघुनाथ्ज्यूलाइ भेट्नू भनी ।
आया श्रीरघुनाथ्जिका पुरि महाँ चिन्दैन कोही पनी ॥२०९॥
पौंच्या द्वार तलक् जसै प्रभुजिका चौकी त लक्ष्मण् थिया ।
द्वार्मा एक् ऋषि छन् खडा भनि गई हाजिर् पुर्याई दिया ॥
हाजिर् सूनि हुकुम् भयो प्रभुजिको ल्याऊ तुरुन्तै भनी ।
लक्ष्मण्ले पनि जल्दि गै हजुरमा ल्याया इनै हुन् भनी ॥२१०॥
पौंच्या श्रीरघुनाथका हजुरमा काल् विप्ररुप्ले जसै ।
त्वं वर्धस्व भनेर आशिष दिया श्रीरामलाई तसै ॥
सत्कार् श्रीरघुनाथले पनि गर्या पैले कुशल्क्षेम् गरी ।
तिन्को आशय बुझ्नलाइ हरिले सोध्या अगाडी सरी ॥२११॥
कुन् काम गर्नू छ र जल्दि आई ।
भेट् गर्नु भो आज यहाँ मलाई ॥
हूकुम् प्रभूको जब येति पाया ।
ती काल्पुरुषले पनि बिन्ति लाया ॥२१२॥
हे नाथ् चरण्मा अहिले म पर्छू ।
एकान्त बक्स्या हुँदि बिन्ति गर्छू ॥
मेरा कुरा कोहि न सुन्न पाउन् ।
सुन्नन् त मारी दिनु दूर जाउन् ॥२१३॥
ती काल्पुरुष्को यति बिन्ति सूनी ।
बेसै इ भन्छन् भनि भीत्र गूनी ।
हुकुम् भयो लक्ष्मणलाइ ताहाँ ।
कोही न आउन् अब भीत्र याहाँ ॥२१४॥
क्वै आउनन् भीत्र त मर्न जानन् ।
अत्यन्त गोता बिहकै ति खानन् ॥
एकान्त तक् कोहि यहाँ न आउन् ।
यो उर्दि सब्ले तिमि देखि पाउन् ॥२१५॥
सून्या हुकुम् येति र काल बोल्या ।
आफ्नू सबै आशय ताहिं खोल्या ॥
हे नाथ् म हूँ काल् सबलाइ हन्र्या ।
मालुम् छ यो सब् किन बिन्ति गन्र्या ॥२१६॥
ब्रह्माजिको बिन्ति लियेर आयाँ ।
खुप् भाग्यले दर्शन आज पायाँ ॥
ब्रह्माजिको बिन्ति म आज गर्छू ।
होला हुकुम् जो उहि सीर धर्छू ॥२१७॥
सृष्टी देखि अगाडि पूर्ण रुपले आत्मा स्वरुप् एक् थियौ ।
नारायण् जलशायि रूप त पछी यै सृष्टि खातिर् लियौ ॥
ख्वामित्का तहिं नाभिका कमलमा एक्लै म पैदा भयाँ ।
सृष्टी गर्न हुकुम् हुँदा हुकुमले लोक्सृष्टि गर्दै गयाँ ॥२१८॥
जस्ले दुःख दिया प्रजा कन तिनैलाई म मारूँ भनी ।
युग् युग्मा अवतार् समेत् लिनु भयो यस्तै अगाडी पनी ॥
ऐले यो अवतार् पनी पृथिवि कै भार् हर्न खातिर् धरी ।
भूको भार् पनि टारि बक्सनु भयो सब् दुष्ट संहार् गरी ॥२१९॥
एघारै म हजार वर्ष रहुँला जाँदा हुकुम् जो भयो ।
सोही वर्ष गणीतले गनि लिंदा एघार हज्जार् गयो ॥
बस्नैको अरु मन् छ पो त भगवन् इच्छा हजुर्को हवस् ।
याहाँ आउन मन् भया बखत भो लौ जल्दि पाल्नू हवस् ॥२२०॥
ब्रह्माको विनति सुनेर रघुनाथ् हाँसी तिनै कालका ।
साम्ने बात्चित गर्नु भो पनि बहुत् सब् जान कै चालका ॥
दुर्वासा यहि बीचमा तहिं गया राम्लाइ भेट्छू भनी ।
लक्ष्मण् द्वार महाँ थिया र ऋषिले तिन्लाइ भेट्या पनी ॥२२१॥
लक्ष्मण्लाइ तहाँ भन्या त ऋषिले हाजिर् गराऊ भनी ।
लक्ष्मण्लाइ कठिन् भयो कठिनले बिन्ती लगाया पनी ॥
भीत्रै जान हुँदैन जाउँ कसरी विस्तार् कहाँ तक् गरू ।
जुन् काम् खातिर आज आउनु भयो सो पूर्ण गर्छू बरू ॥२२२॥
लक्ष्मण्ले यति ती मुनी कन तसै बिन्ती गर्याथा जसै ।
दुर्वासा ऋषि हुन् बडा त पनि खुप् रीसाइ बोल्या तसै ॥
लै जाऊ अझ रामका चरणमा वाहीं शरण् पर्दछू ।
लै जान्नौ त मलाइ भित्र त कुलैको भस्म झन् गर्दछू ॥२२३॥
सून्या येति वचन् र लक्ष्मणजिले मन्मा विचार् यो गर्या ।
कुल्को नाश् न हवस् कुशल् सब रहुन् क्या हुन्छ मै एक् मर्या ॥
ऐल्हे भीत्र त जान निश्चय पर्यो यस्तो विचार् खुप् गरी ।
लक्ष्मण् भित्र गया जहाँ प्रभु थिया त्रैलोक्यका नाथ् हरी ॥२२४॥
द्वार्मा हाजिर छन् ऋषी भनि तहाँ बिन्ती गर्याथ्या जसै ।
ती काल्लाइ बिदा गरेर रघुनाथ् बाहीर आया तसै ॥
दुर्वासा सित भेट् भयो जब तहाँ राम्ले नमस्कार् गरी ।
सोध्नू भो ऋषिलाइ आउनु भयो कस्तो इरादा धरी ॥२२५॥
इच्छा भोजनमा थियो ति ऋषिको सो बिन्ति गर्दा भया ।
भोजन् बक्सनु भो र भोजन गरी ऋ़षी खुसी भै गया ॥
यै बीच्मा तहिं संझि बक्सनु भयो राम्ले प्रतिज्ञा पनी ।
लक्ष्मण्लाइ कसोरि मारुँ अहिले यै हो विपत्ती भनी ॥२२६॥
सन्ताप् श्रीरघुनाथका जब पर्यो लक्ष्मण् चरण्मा पर्या ।
मारी दीनु हवस् मलाइ भगवन् यो ताहिं बिन्ती गर्या ॥
ठूलो भन्नु छ धर्म हो उहि रहोस् बिन्ती गर्या यो जसै ।
यस्को निश्चय गर्नलाइ हुन गो ठूलो सभा एक् तसै ॥२२७॥
सब्ले बिन्ति गर्या बुझी हजुरमा त्याग् मात्र गर्नू हवस् ।
मारी हाल्नु त योग्य छैन अधिराज् ज्यान् आज इन्को रहोस् ॥
ज्यान् हर्नू र वियोग गर्नु इ बराबर् हुन् भन्याथ्या जसै ।
लक्ष्मण्लाइ पनी बिदा दिनु भयो श्रीरामजीले तसै ॥२२८॥
लक्ष्मण्जी सरयू गया तस बखत् राम्का चरण्मा परी ।
प्राणायाम् तिरमा गरी कन गया जाहाँ रहन्थ्या हरी ॥
यस् रित्ले नरलोक छोडि कन ती लक्ष्मण् जसै ता गया ।
भेट्ना खातिर शेषका हजुरमा ब्रह्मादि जम्मा भया ॥२२९॥
लक्ष्मण्जी सितको वियोग् जब भयो दुःखी सरीका बनी ।
साह्रै दिक्क भयेर मन्त्रिहरु थ्यैं यस्तो हुकुम् भो पनी ॥
जान्छू लक्ष्मण छन् जता म त उता यो राज् भरत्ले गरुन् ।
राजा भै कन जो प्रजाहरु इ छन् इन्का सबै ताप् हरुन् ॥२३०॥
जस्सै येति हुकुम् सुन्या भरतले मूर्छित् सरीका भई ।
यस्तो बिन्ति गर्या तहाँ भरतले राम्का हजुर्मा गई ॥
बस्थ्याँ ख्वमितलाइ छोडि म कहाँ तिन् लोक बक्स्या पनी ।
छोरै छन् अधिराज् प्रभो हजुरका राज्का इनै हुन् धनी ॥२३१॥
जेठा पुत्र हजूरका इ कुश विर् राज् कोशलामा गरुन् ।
उत्तर्मा बसि राज् गरी इ लवले सम्पूर्णका ताप् हरुन् ॥
दूई भाइ चलाउँछन् इ जति छन् सब् राज्यको काम् यहाँ ।
दुत् जाउन् मथुरा विषे किन उसै शत्रुघ्न बस्छन् तहाँ ॥२३२॥
सूनुन् लक्ष्मणको पनी ति सम्चार् पौंच्या परम्धाम् भनी ।
साथै जान हजूरका चरणमा दौडेर आउन् पनी ॥
यस्तो बिन्ति हजूरमा भरतले गर्दा प्रजाले पनी ।
पाया थाह र ताप् भयो मन महाँ जानन् कि छोडी भनी ॥२३३॥
बिन्ती एक वशिष्ठले तहिं गर्या लान्छन् कि छोड्छन् भनी ।
रुन्छन् सब् दुनियाँ यहाँ हजुरको पाउन् प्रसाद् ई पनी ॥
सुन्नू भो तहिं यो वशिष्ठ ऋषिले बिन्ती गर्याको जसै ।
ठाकुर्का पनि खुप् दया हुन गयो ती सब् प्रजामा तसै ॥२३४॥
इच्छा क्या छ बताउ पूर्ण गरुँला भन्न्या हुकुम् भो पनी ।
सब्ले बिन्ति गर्या प्रभू सित तहाँ सब् साथ जान्छौं भनी ॥
इच्छा पूर्ण हवस् भनी हुकुम भो सब् ती प्रजा खुस् भया ।
उत्तर् कोशलमा दुवै ति कुश लव् राज् गर्न खातिर् गया ॥२३५॥
केही दुत् मथुरा तरफ् प्रभुजिले जल्दी पठाई दिया ।
दुत् पौंच्या रघुनाथका हुकुमले शत्रुघ्न जाहाँ थिया ॥
दुत् देखी समचार् सुन्या प्रभुजिको शत्रुघ्नजीले जसै ।
छोरालाइ रजाइँ दी प्रभुजि थ्यैं ती जान आँट्या तसै ॥२३६॥
जेठा पुत्र सुबाहुलाइ मथुराजी राजधानी दिया ।
युप्लाई विदिशा दिया र ति गया जाहाँ रघूनाथ् थिया ॥
जल्दी गै कन पाउमा परि तहाँ यो बिन्ति लाया पनी ।
साथै जान भनेर आज रघुनाथ् आयाँ हजुर्मा भनी ॥२३७॥
लौ मध्याह्न हुँदा तयार् भइ रह्या यस्तो हुकुम् भो तहाँ ।
आया राक्षस ऋक्ष वानरहरू सब् येति सुन्दा महाँ ॥
जान्छौं आज सँगै प्रभो हजुरमा यै बिन्ति सब्ले गर्या ।
सुग्रिव्जी पनि बिन्ति गर्न रघुनाथ्जीका अगाडी सर्या ॥२३८॥
अङ्गद्लाइ रजाइँ दीकन यहाँ जाँला म साथै भनी ।
आयाको छु दयानिधान् हजुरमा यो बिन्ति लाया पनी ॥
सुग्रिव्को अरुको ति ऋक्षहरुको बिन्ती सुनेथे जसै ।
प्यारा भक्त जहाँ विभीषण थिया ताहाँ गया राम् तसै ॥२३९॥
ताहीं गै कन यो हुकुम् पनि भयो बस्नू तिमीले यहीं ।
प्रारब्धै बलवान् छ जान सबका छुट्तैन सो ता कहीं ॥
जाहाँ सम्म रहन्छ भूमि तहिं तक् राज् गर्नु याहीं बसी ।
शिक्षा गर्नु सबै प्रजा कन बहुत् अन्यायिलाइ कसी ॥२४०॥
यस्को उत्तर छैन चुप् रहु भनी हूकुम् भयेथ्यो जसै ।
तेसै ठाउँ महाँ तुरुन्त हनुमान्जीलाइ देख्या तसै ॥
हूकुम् भो हनुमानलाइ हनुमन् चीरञ्जिवी भै रह्या ।
मेरो जुन् छ हुकुम् उ गर्न सब दिन् अत्यन्त तत्पर् भया ॥२४१॥
बुद्धीमान् तहिं जाम्बवान् पनि थिया जाँला म साथै भनी ।
तिन्लाई पनि यो हुकुम् हुन गयो बस्नू तिमीले पनी ॥
द्वाप्रमा कछु युद्ध गर्नु तिमि थ्यैं पन्र्या छ सोही गरी ।
स्वर्गैमा तिमि जाउला पछि भन्या ऐल्हे त यस्तै परी ॥२४२॥
यस्ता रित् सित जो अह्राउनु थियो सो सब् अह्राई वरी ।
सब् प्राणीहरु साथमा हिंड भनी हूकुम् भयो तेस् घरी
हुकूम् श्रीरघुनाथाको जब सुन्या आनन्द मानी तब ।
आफाफ्ना परिवार् लिएर सँगमा जम्मा भए ती सब ॥२४३॥
आफ्ना पुरोहित् ति वशिष्ठलाई ।
हूकुम् भयो मङ्गल गर्नलाई ॥
मङ्गल् अनेकै ऋषिले गराया ।
राम् स्वर्ग जाना कन निस्कि आया ॥२४४॥
सीताजिले रुप् अघिको छपाइन् ।
लक्ष्मी भई वाम् तिर बस्न आइन् ॥
दक्षिण् तरफ् भूमि बसिन् हरीका ।
सब् ताँहि आया भुवनै भरीका ॥२४५॥
शस्त्रास्त्र सब् ती पनि रूप धर्दै ।
हिंड्दा तहाँ मङ्गल शब्द गर्दै ॥
गायत्रि चार् वेद् सब ताहिं आया ।
रुप् धारि मङ्गल् यश शब्द गाया ॥२४६॥
जो ता अयोध्यापुरवासि थीया ।
तिन्ले सँगै सब् परिवार् लीया ॥
बालो बुढो कोहि रहेन ताहाँ ।
सब्को गयो मन् उहि राम माहाँ ॥२४७॥
सुग्रिव्हरू वानर मुख्य आया ।
सब् पाप छूट्या भनि हर्ष पाया ॥
जो लोक् थियो राम् सित जान गै गो ।
गुल्जार् अयोध्या पनि शून्य भै गो ॥२४८॥
छोड्या शहर् क्यै गइ भूमि माहाँ ।
देख्या प्रभूले सरयू र ताहाँ ॥
आफ्ना विराट् रुप् कन संझि लीया ।
आफैं त सब्का पनि नाथ थीया ॥२४९॥
ब्रह्मा ऋषी देव र सिद्ध आया ।
आकाश् विमान्ले भरि छुट्टि छाया ॥
श्रीराम् उपर् खुप् सित पुष्पवृष्टि ।
सब् गर्न लाग्या उहिं लाइ दृष्टि ॥२५०॥
गाऊँछन् कहिं नाच्तछन् प्रभुजि कै यश् मात्र कीर्तन् गरी ।
यै बिच्मा रघुनाथ् पस्या सरयुमा सब्का अगाडी सरी ॥
ब्रह्माको पनि ताहिं औसर पर्यो हात् जोरि बिन्ती गर्या ।
सब्को ताप् अब गै गयो सकल लोक् आनन्दसागर् पर्या ॥२५१॥
ख्वामित्ले अब विष्णुको रुप लिने वेला भयेथ्यो भनी ।
पार्या बिन्ति र होइ बक्सनु भयो श्रीराम् चतुर्भुज् पनी ॥
जो शत्रुघ्न भरत् थिया दुइ जना ती शङ्ख चक्रै बनी ।
ख्वामित्का तहिं बाहुमा बसि गया बस्न्या यहीं हो भनी ॥२५२॥
ब्रह्माण्डै सब देवगण् खुसि भया यो रूप देख्या जसै ।
ब्रह्मालाइ हुकुम् गर्या प्रभुजिले सब् प्राणि खातिर् तसै ॥
हे ब्रह्मन् जति जन् थिया सहरमा सब् साथ जान्छौं भनी ।
आया सब् परिवार् लियेर सँगमा लाग्या पछाडी पनी ॥२५३॥
इन्लाई शुभलोक देउ तिमिले सत्लोकमा वास् गरुन् ।
आफ्ना सब् परिवारले सँग रही आनन्दमा ई परुन् ॥
ब्रह्माले प्रभुको हुकुम् यति सुनी हूकुम् सिरोपर् लिया ।
सब्लाई सुख भोग गर्न कन एक् लोकै खटाई दिया ॥२५४॥
ती लोक्ले पनि खुस् भयेर सरयूमा स्नान् सबैले गर्या ।
जुन् सान्तानिक लोक हो उहिं पुगी आनन्दका भै गया ॥
सुग्रिव् सूर्य्य विषे गई मिलि गया अंशै हुनाले गरी ।
भूभार् यै रितले हरेर रघुनाथ् वैकुण्ठ पौंच्या हरी ॥२५५॥
येती मात्र कह्या सदाशिवजिले ती पार्वती थ्यैं पनी ।
जस्ले यस् कन पाठ गर्छ मनले अत्यन्त ठूलो भनी ॥
तिन्का जन्म सहस्रका जति त छन् पाप् भस्म हुन्छन् भनी ।
सब् षड् शास्त्र बताउँछन् पढि लिया तर्छन् दुनीयाँ पनी ॥२५६॥
शम्भूले पार्वती थ्यैं खुसि भइ बहुतै प्रेमपूर्वक् कह्याको ।
संसार् पार् तर्नलाइ सब कन सजिलो साँघु झैं भै रह्याको ॥
जानी यस्लाइ जो ता जनहरु बहुतै प्रेमले पाठ गर्छन् ।
संसार्का सौख्य सब् भोग् गरि कन दुनियाँ सब् सहज् पार तर्छन् ॥२५७॥
इति श्रीउत्तरकाण्ड ।