Bhanubhaktako ramayan/shrikishkindhakanda
जस्सै मुक्त भई गइन् ति शबरी सब् बात् सुनी राम् पनी ।
जान्छू आज म ऋष्यमूक गिरिमा सुग्रीव भेट्छू भनी ॥
जान्थ्या कोस् भरिको तलाउ मिलिगो पम्पा भन्याको पनी ।
चीह्न्या श्री रघुनाथले शबरिले यै हो भन्याको भनी ॥१॥
माछा कच्छप चल्दछन् कमलको सब् गिर्छ केसर् तहाँ ।
केसर्ले जब छोपियो पनि भन्या देखिन्छ जल् पो कहाँ ॥
नीला लाल सफेद् कमल् पनि अनेक् रङ्का भयाका तहाँ ।
बोल्छन् हंस चकोर सारसहरू लाटाक्वस्यारा जहाँ ॥२॥
जस्तो निर्मल हुन्छ सन्तहरुको मन् सोहि माफीक जल् ।
निर्मल् देखि बहुत् प्रसन्न मन भो लाग्यो र साह्रै असल् ॥
थोडा जल् पनि पान् गरी सकल वन् हेर्थ्या जगन्नाथ् तहाँ ।
देख्या सुग्रिवले डरायर नजर् लाया प्रभू छन् जहाँ ॥३॥
बालीको छल हो भन्या बुझि तहाँ हात्ले इसारा दिया ।
ओरै कोहि रहेछ सज्जन भन्या हेरेर हाँसी लिया ॥
ब्राह्मण्को लडिका बनेर हनुमान् जाऊ ति को हुन् कहाँ ।
जान्छन् क्या मनमा छ सब् वरिपरी हेरेर डुल्छन् तहाँ ॥४॥
सुग्रिव्ले हनुमानलाइ जब यो हूकुम् दिया जा भनी ।
ब्राह्मण्का लडिका बनेर हनुमान् राम्का हजुर्मा पनी ॥
पौंची पाठ् सित बिन्ति पारि सब काम् सोध्या प्रभूको जसै ।
विस्तार् नाम र कामको प्रभुजिले खुस् भै बताया तसै ॥५॥
सुग्रिव्को हनुमानले पनि तहाँ विस्तार बिन्ती गर्या ।
बोकूँ श्री रघुनाथलाइ भनि फेर् आफ्नू स्वरुप् झट् धर्या ॥
राम् लक्ष्मण् कन बोकि जल्दि हनुमान् सुग्रीवका पासमा ।
पौंचाऊँ रघुनाथलाइ भनि खुप् कूद्या ति आकाशमा ॥६॥
जल्दी पर्वतका उपर् पुगि गया छाया विषे राम् रह्या ।
सुग्रिव्लाइ खबर् दिना कन तहाँ जल्दी हनूमान् गया ॥
विस्तार् पायर आइ सुग्रिवजिले दर्शन् प्रभूको गर्या ।
हाँगा कोमल भाँचि आसन दिया आनन्दसागर् पर्या ॥७॥
आसन् सुग्रिवलाइ लक्ष्मणजिले दीया हनूमानले ।
लक्ष्मण्जी कन बस्न आसन दिया ताहीं ठुला शानले ॥
सब् वृत्तान्त बताइ लक्ष्मणजिले विस्तार् सुनाया जसै ।
सीता जुन् गहना खसालि गइथिन् हाजिर् गराया तसै ॥८॥
हा राम् लक्ष्मण येति मात्र मुखले बोलेर आकाशमा ।
जान्थिन् सब् गहना फुकालि कन ता हाम्रा यसै वासमा ॥
गिन्र्या पाठ् सित पो खसालि ति गइन् चिह्नीन याहीं थियाँ ।
कस्का हुन् यहिं चीह्िनबक्सनु हवस् यै हो हजूर्मा दियाँ ॥९॥
येती बिन्ति गरी दिया ति गहना देख्या प्रभूले पनी ।
चीह्न्या सब् गहना र शोक् बहुत भो हा मेरि सीता भनी ॥
रोया छाति विषे धर्या र गहना नाना विलाप्ले जसै ।
लक्ष्मण् सुग्रिवले तहाँ प्रभुजिको दिल् खुस् गराया तसै ॥१०॥
हे राम् रावणलाइ मारि सहजै सीताजिलाई यहाँ ।
हाजिर् हामि गराउँला हजुरमा त्यो दुष्ट जाला कहाँ ॥
येति बिन्ति तहाँ ति सुग्रिवजिले राम्का हजुर्मा गर्या ।
बोल्या श्री हनुमानले पनि तहाँ अग्नी र साक्षी धर्या ॥११॥
अग्नी साक्षि धरेर सुग्रिवजिले राम् थ्यैं मित्यारी गरी ।
बाहाँ जोरि सखा भई नजिकमा सुग्रिव् बस्या तेस् घरी ॥
सुग्रिव्ले तहिं बिन्ति बात् पनि गर्या हे नाथ् फजीती सही ।
बालीका डरले बहुत् दिन बित्या एसै जगामा रही ॥१२॥
याहाँ बाली त आउँदैन छ सराप् मातङ्गजीको र यो ।
पायाँ बस्न नहीं भन्या म कन ता कस्ले बचाऊँदथ्यो ॥
बालीको बल बिन्ति गर्छु अहिले जस् देखि सब् डर्दछन् ।
कस्तै वीर हउन् लड्या पनि भन्या लड्न्या सबै मर्दछन् ॥१३॥
ठूलो विर् मयपुत्र राक्षस थियो मायावि ता नाम् थियो ।
बाली सीत लडाञि गर्न भनि त्यो आयो र हाँक् खुप् दियो ॥
बालीले पनि दौडि गै कन तहाँ हान्यो मुठीले जसै ।
बाधा पाइ डराइ भागि ऊ गयो लाग्यो पछाडी तसै ॥१४॥
बालीका पछि लागि मै पनि गयाँ राक्षस् गुफामा गयो ।
ढोकामा त मलाइ राखि रिसले फेर् भित्र जाँदो भयो ॥
मैन्हा दिन् बिति गै गयो त पनि त्यो फर्केन बाली जसै ।
साह्रै दिक् म थियाँ कसो गरुँ भनी आयो रगत् पो तसै ॥१५॥
लौ बाली त मरेछ हेरि रगतै आयो गुफा देखि ता ।
मैलाई पनि फर्कि मार्छ रिसले गूफा थुनी जाँ म ता ॥
यस्तो बुद्धि भयो र पत्थर ठुलो ल्यायाँ र गूफा थुन्याँ ।
फर्की आउन मन् गर्या पनि सहज् निस्की न सक्नू हुन्या ॥१६॥
यस्ता पाठ् सित खुप् थुन्याँ र म फिर्याँ बाली मर्या लौ भनी ।
विस्तार् सर्व सुनाउँदा म कन ता राजा बनाया पनी ॥
राजा भै कन राज्य भोग् पनि गर्याँ क्यै दिन् पछी बालि ता ।
राक्षस् मारि फिरेर दाखिल भयो रीसाइ मै माथि ता ॥१७॥
उस् दिन् देखि डराइ याहिं म रह्याँ मेरी त पत्नी पनी ।
बल्जफ्ती सित भोग गर्छ गरुँ क्या पुग्दैन जोर् तै पनी ॥
याहीं आउन सक् भये यहिं पनी आयेर मान्र्या थियो ।
पाप्को क्या डर मान्छ त्यो र बलले जस्ले बुहारी लियो ॥१८॥
साह्रै दुःखि भयेर सुग्रिवजिले बिन्ती गर्याको सुनी ।
सुग्रिव्का अब दुःख हर्दछु भनी अन्तःकरण्ले गुनी ॥
खातिर् श्री प्रभुले गर्या सुन सखे त्यो बालि मारी यहाँ ।
तिम्रो राज्य गराउँला अब उपर् जोर् चल्छ तेस्को कहाँ ॥१९॥
यस्तो सत्य वचन् सुन्या प्रभुजिको शङ्का पर्यो तै पनी ।
सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ बाली भनी ॥
बालीलाइ बहूत विर् बुझि तहाँ राम्का अगाडी सरी ।
बालीको अघिको पराक्रम कह्या बिल्कूल विस्तार् गरी ॥२०॥
एक् दिन् दुन्दुभि नाम राक्षस ठुलो आयो र हाँक् खुप् दियो ।
बालीले सहजै निमोठि कन सिर् छुट्ट्याइ हात्मा लियो ॥
सोही फ्याँकि दिंदा यहाँ गिरि गयो चार् कोस् जगामा जसै ।
छीटा पर्न गयो बहुत् रगतको ऋ़षी रिसाया तसै ॥२१॥
बालीलाइ सराप् दिया अब यहाँ आइस् भन्या तैं पनी ।
सिर् जुद्दा भइ पृथ्विमा गिरि गयास् जस्तै गिर्यो यो पनी ॥
यो मालुम् त मलाइ सब् अघि थियो सो जानि याहीं रह्याँ ।
उस्लाई पनि यो छ याद् तब म तेस् विर् देखि बाँच्तो भयाँ ॥२२॥
सोही सिर् अझ तक् छ पर्वत सरी यो फ्याँक्न सक्नू भया ।
बाली मार्न समर्थ ताहिं चिह्नुला मेरा त सेखी गया ॥
ई बात् सुग्रिवका सुनी झलक द्यूँ इन्लाइ भन्न्या भयो ।
फ्याँक्या सिर् तहिं पाउका अँगुलिले चालीस कोस् तक् गयो ॥२३॥
देख्या सुग्रिवले तथापि मनमा शङ्का त फेरी रह्यो ।
सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ भन्न्या भयो ॥
सात् ताल् वृक्ष इ छन् इ एक शरले छेड्छन् त मार्छन् भनी ।
सुग्रिव्का मनमा भयो र इ कुरा सब् थोक् सुनाया पनी ॥२४॥
हे नाथ् बिन्ति म गर्दछू अरु पनी यस्तो छ बाली भनी ।
येही सिर् कन फ्याँकि मात्र मनले मानेन विश्वास् पनी ॥
बालीले यही ताल वृक्ष कन ता बूटै बराबर् गनी ।
हल्लायेर खसालि दिन्छ जति छन् सम्पूर्ण पत्ता पनी ॥२५॥
ई ताल् वृक्ष पनी यहाँ हजुरले एक् बाण ऐल्हे धरी ।
सब्मा छिद्र गराइ बक्सनु हवस् बुझ्न्या छ मन् खुप् गरी ॥
येती बिन्ति तहाँ ति सुग्रिवजिले राम् थ्यैं जसै ता गर्या ।
राम्जीले पनि लौ भनेर खुसिले हात्मा धनूबाण् लिया ॥२६॥
बाण् फ्याँक्या प्रभुले र वेग् सित गयो सात्ताल भेदन् गरी ।
पर्वत् भूमि समेत् विदारि पर गो साम्ने त सब् साफ् गरी ॥
ठोक्रैमा फिरि आइ बाण् जब पर्यो सुग्रीवजी छक् पर्या ।
साक्षात् श्रीपति हुन् भनी चिह्नी तहाँ राम्को स्तुती खूप् गर्या ॥२७॥
हे नाथ् बल्ल चिह्न्याँ अहो सकलका आत्मा जगन्नाथ् भनी ।
माया देखि फरक् भयो अब त मन् लाग्दैन माया पनी ॥
क्या गर्छू अब पुत्र दार धनले सम्पूर्ण ई दुर् हउन् ।
मेरा सब् दस इन्द्रियै हजुरका सेवा टहल्मा रहुन् ॥२८॥
यै पाठ्ले जब ता गर्या स्तुति तहाँ सुग्रीवले सो सुनी ।
यो ज्ञान् आज म द्यूँ भनी प्रभुजिले अन्तःकरण्ले गुनी ॥
मायाले अनि मोह पारि रघुनाथ् हाँस्या र बोल्या जसै ।
सुग्रिव् मोह भया वचन् सुनि तहाँ ऊ ज्ञान बिस्र्या तसै ॥२९॥
हे सुग्रीव सखे मलाइ दुनियाँ भन्नन् मित्यारी गरी ।
कुन् चिज् सुग्रिवलाइ दी कन गया आपत्ति तिन्का हरी ॥
यो लोक्को अपवाद् म मेट्छु अब ता बाली छ ऐल्हे जहाँ ।
ताहाँ गै कन हाँक देउ तिमिले त्यो बालि मार्छू यहाँ ॥३०॥
ऐल्हे राज्य गराउँछू भनि तहाँ राम्को हुकुम् भो जसै ।
सुग्रिव् खूसि भयेर बालि कन खुप् हाँक्या वचन्ले तसै ॥
किष्किन्धापुरिका नजीक वनमा आयेर हाँक् खुप् गरी ।
सुग्रिव् ता जब ता चल्या बुझि खबर् बाली छुट्या घरी ॥३१॥
बाली सुग्रीवको लडाञि पनि भो सुग्रीव एक् क्षण् लड्या ।
सक्थ्या सुग्रिवले कहाँ सहजमा बाली विरैले धर्या ॥
बाण् छाडी कन बालिलाइ अब ता मार्नन् प्रभूले भनी ।
एक् क्षण् ता यहि आसले टिकि गया घुस्सा दिंदामा पनी ॥३२॥
बाली सुग्रिवको दुरुस्त अनुहार् एक् देखि राम्ले जसै ।
बाण् थाम्या टिकि सक्नु मुस्किल भई सुग्रीव भाग्या तसै ॥
पौंच्या श्रीरघुनाथका हजुरमा काम्दै र छाद्दै रगत् ।
बल् तोडी कन बालिले हरि लिया एक् देह पौंच्या फगत् ॥३३॥
सुग्रीव्ले तहिं बिन्ति खुप् सित गर्या हे नाथ् मलाई यहाँ ।
मार्नैको यदि मन् छ पो पनि भन्या जोर् चल्छ मेरो कहाँ ॥
आफैंले यहिं मारि बक्सनु हवस् ख्वामित् हजूर्ले पनी ।
शत्रूलाइ लगाइ मार्न त उचित् हो क्या सखा हो भनी ॥३४॥
सुग्रीव्का इ वचन् सुनी गह भरी आँसू प्रभूले धर्या ।
सुग्रीवजी कन अङ्कमाल गरि खुप् खातिर् प्रभूले गर्या ॥
हे सुग्रीव सखे दुरुस्त अनुहार् एक् देखि शङ्का भयो ।
मर्नन् मित्र भनेर पो डर हुँदा बाँचेर बाली गयो ॥३५॥
चिह्नू देह विषे धरेर अहिले जाऊ र हाँक् देउ फेर् ।
बालीलाइ म मारि दिन्छु सहजै लाग्वैन ऐल्हे त बेर् ॥
यस्ता बात् गरि खुप् शपथ् पनि गरी सुग्रीवको मन् भरी ।
आज्ञा लक्ष्मणलाइ बक्सनु भयो फुल् ल्याउ माला धरी ॥३६॥
सो माला पहिराइ भाइ तिमिले जल्दी पठाऊ तहाँ ।
हाँक् दीउन् अब बालिलाइ अहिले मार्छू म छोड्छू कहाँ ॥
लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ माला लगाई दिया ।
त्यो माला पहिरेर सुग्रिव गया बाली जहाँ विर् थिया ॥३७॥
बालीलाइ सुनाइ हाँक् बहुत दी सुग्रिव् बस्याथ्या जसै ।
बालीले पनि शब्द सुग्रिवजिको सून्या र ऊठ्या तसै ॥
आश्चर्यै मनमा भयो अघि भन्या ऊठ्यो पछी रिस् पनी ।
मुक्का ख्वाइ लघारियो त पनि फेर् फर्क्यो भगूवा बनी ॥३८॥
बालीले पनि फेर् कछाड् कसि तयार् भै जान लाग्या जसै ।
ताराले त न जाउ यस् बखतमा भन्दै समातिन् तसै ॥
कोही वीर् बलवान् सहाय मिलि पो सुग्रीव आया यहाँ ।
साहायै न भया त येहि घडिमा सुग्रीव फिर्थ्या कहाँ ॥३९॥
ताराका इ वचन् सुनेर बलवान् वीर् बालि बोल्छन् तहाँ ।
हे प्यारी न डराउ को छ म सरी विर् आज दोस्रो यहाँ ॥
सुग्रिव्लाइ सहज् सहाय सहितै मारेर फिन्र्या म छू ।
विर् हूँ हाँक दिंदा कसो गरि बसूँ शङ्का न मान्या कछू ॥४०॥
बालीका इ वचन् सुनी कन तहाँ ताराजिले फेर् पनी ।
भन्छिन् नाथ् कछु सूनि बक्सनु हवस् क्या भन्दछे यो भनी ॥
बिन्ती गर्छु म हित् कुरो हजुरमा साक्षात् अयोध्यापती ।
श्री राम्चन्द्र सहाय छन् अब तहाँ चल्दैन जोर् एक् रती ॥४१॥
सुग्रिव् सीत मित्यारि लाइ रघुनाथ्ज्यूले पिछामा लिया ।
बाली मारि म राज्य आज दिउँला भन्न्या वचन् यो दिया ॥
भन्न्या बात् अरुमा हुँदा वन महाँ सूनेर अङ्गद् यहाँ ।
आई सब् इ कुरा मलाइ अघि नै भन्थ्यो न जाऊ तहाँ ॥४२॥
सुग्रिव् सीत विरोध् न राख तिमीले जाऊ र ल्याऊ यहाँ ।
यो राज् सुग्रिवलाइ देउ अब ता जित् छैन तिम्रो तहाँ ॥
श्री राम्का दुइ पाउमा पर तिमी गर्नन् प्रभूले दया ।
साँचा हुन् इ कुरा बुझी लिनु हवस् भोग् गर्न इच्छा भया ॥४३॥
येती बिन्ति गरेर पाउ दुइमा पक्रेर रोइन् जसै ।
तारालाइ बुझाउना कन तहाँ फेर् बालि बोल्या तसै ॥
हे प्यारी न डराउ कत्ति रघुनाथ् साक्षात् रमाका पती ।
नारायण् भनि चिन्दछू म पनि सो नाथ् हुन् जगत्का पति ॥४४॥
ताहाँ छन् रघुनाथ् भन्या चरणमा पन्र्याछु चाँडै तसै ।
सुग्रीवै छ फगत् भन्या सहजमा मान्र्याछु छोड्छू कसै ॥
सुग्रीव् कुन् बलियो छ पाजि भगुवा त्यो लड्न मन्सुब् लिन्या ।
तेस् पाजी कन डाकि आज कसरी यो राज्य मैले दिन्या ॥४५॥
तस्मात् शोक् न गरी बसी रहु तिमी जान्छू म ताहाँ भनी ।
लड्नैलाइ कछाड् कसी कन तयार् भै बालि दौड्या पनी ॥
बाली सुग्रिव दूइ भाइ रिसले फेर् लड्न लाग्या जसै ।
रुख्को आड गरी तहाँ प्रभुजिले एक् बाण छोड्या तसै ॥४६॥
बाण् बज्र्यो जब बालिका हृदयमा सर्वाङ्ग बाधा गरी ।
पृथ्वी कम्प गराइ झट् तहिं गिर्या बाली त मूर्छा परी ॥
मूर्छा दूइ घडी पर्या पछि अलिक् चैतन्य आयो जसै ।
देख्या श्री रघुनाथलाइ खुसि भै साम्ने बस्याका तसै ॥४७॥
भन्छन् श्रीरघुनाथलाइ रघुनाथ् तिम्रो बिराम् क्या गर्याँ ।
धर्मै छोडि लुकेर आज तिमिले मार्यौ म ऐल्हे मर्याँ ॥
यो क्या क्षत्रियधर्म हो लुकि लुकी विर् बाण छोड्छन् कहीं ।
क्षत्री भै कन धर्म छोडि लडन्या एक् आज देख्याँ यहीं ॥४८॥
साम्ने भै कन बाण छोडि तिमिले मार्थ्यौ त खुप् यश् थियो ।
सुग्रिव् हो कति साख् म हुँ कति कुसाख् हा दैव क्या मन् दियो ॥
सीता रावणले हर्यो भनि बहुत् सन्ताप मन्ले गरी ।
सुग्रिव्लाइ सहाय ली म कन ता लूकेर चोर् झैं गरी ॥४९॥
मार्यौ यो अति चुक् भयो गरुँ कसो बाँच्थ्याँ त याहीं बसी ।
रावण्लाइ कुलै समेत् सहजमा झिक्थ्याँ म पाता कसी ॥
लङ्कापूरि समेत् पनी म बलले झिक्थ्याँ सहज्मा यहीं ।
पाजी रावणलाइ मार्न तिमिले क्या जानु पर्थ्यो उहीं ॥५०॥
चोरी मारि लिंदा न यश् हुन गयो मासू न खानू भयो ।
धर्मात्मा तिमि पापि झैं हुन गयौ ज्यान् व्यर्थ मेरो गयो ॥
बालीका इ वचन् सुनेर रघुनाथ् भन्छन् तँ बोल्छस् कति ।
बाली हूँ भनि गर्व गर् त पनि हेर् साँच्चै तँ होस् दुर्मति ॥५१॥
पाप्को डर् रति भर् न राखि तइँले खुस् भै बुहारी हरिस् ।
सोही पाप् अहिले प्रकट् हुन गयो तेस् पापले पो मरिस् ॥
धर्मस्थापन गर्नलाइ त यहाँ औतार मैले लियाँ ।
धर्मै जानि अधर्म ठानि अहिले तैंलाइ मारी दियाँ ॥५२॥
श्री राम्का इ वचन् सुनी प्रभु भनी जानी चरण्मा पर्या ।
वानर् हूँ रघुनाथ् क्षमा गर भनी हात् जोरि बिन्ती गर्या ॥
नामोच्चारणले फगत् सहजमा संसारसागर् तरी ।
ख्वामित् जान्छु हजूरमा अब भन्या मैले त दर्शन् गरी ॥५३॥
पायाँ मर्न म भाग्यको कति बखान् मेरो म ऐल्हे गरूँ ।
को पाऊँछ हजूरलाइ भगवान् मन्र्या बखत्मा अरू ॥
मेरो ता गति यै थियो मिलि गयो जान्छू परम्धाम् म ता ।
अङ्गद् माथि दया रहोस् हजुरको हाजिर् छ सेवक् उ ता ॥५४॥
मेरा छाति महाँ छ बाण् हजुरको यो खैंचि छोई दिया ।
शीतल् देह हुने थियो सहजमा प्राण् आज जान्या थिया ॥
बालीका इ वचन् सुनी प्रभुजिले बाण् झीकि छूँदा भया ।
ठाकुर्का अघि देह छोडि खुसि भै बाली परम्धाम् गया ॥५५॥
बालीका सँगमा थिया जति तहाँ वानर् ति भागी गया ।
ताराजी सित गै वहाँ सब हवाल् विस्तार गर्दा भया ॥
राम्जीले लुकि बाण छोडि सहजै बाली त मारी दिया ।
सुग्रिव् मन्त्रि समेत् बहुत् खुशि भई राम्कै हजुर्मा थिया ॥५६॥
यो राज् अङ्गदलाइ बक्सनु हवस् ढोका सहर्को थुनी ।
बस्छौं जल्दि हुकुम् हवस् हजुरको क्या हुन्छ धेरै गुनी ॥
येती बिन्ति गर्या र वानरहरू जल्दी तयारी भया ।
हूकुम् माफिक काम गर्न भनि सब् वानर् खडा भै रह्या ॥५७॥
बालीको परलोक् भयो भनि खबर् सूनिन् र तारा रुँदै ।
हा नाथ् आज कता गयौ भनि बहुत् विह्वल् निरन्तर हुँदै ॥
क्या गर्छू अब पुत्र राज्य धनले भन्दै ति तारा जहाँ ।
बालीको परलोक् भयो उहि जगा सोधेर पौंचिन् तहाँ ॥५८॥
बालीका दुइ पाउ पक्रि बहुतै रूँदी विलाप् खुप् गरी ।
भन्छिन् श्रीरघुनाथलाइ रघुनाथ् फेर् बाण ऐल्हे धरी ॥
मारी देउ मलाइ जान्छु म पनी मेरा पतीका सँगै ।
खोज्छन् स्वर्ग विषे मलाइ पतिले काहाँ म बस्छू न गै ॥५९॥
पत्नी सीत वियोग् हुँदा यति विलाप् हूँदा रह्याछन् भनी ।
मालुम् सब् त तहीं छ फेर् म भनु क्या पर्दैन भन्नू पनी ॥
पत्नीदान् गरि पुण्य हुन्छ जति सो मिल्न्या छ पुण्यै पनी ।
तस्मात् आज अवश्य हान शरले जावस् पती थ्यैं भनी ॥६०॥
येती बात् अगि राम सीत गरि फेर् सुग्रिव्जिलाई पनी ।
भन्छिन् लौ गर राज्य आज खुसिले मित्ले दियाको भनी ॥
ताराका इ वचन् सुनी कन बहुत् आयो प्रभूमा दया ।
तारालाइ बुझाउना कन तहाँ एक् तत्त्व भन्दा भया ॥६१॥
हे ताराजि विचार् न राखि तिमिले शोकै कती गर्दछ्यौ ।
यो मेरो पति हो भनेर न बुझी व्यर्थै शरिर् हर्दछ्यौ ॥
जीवै हो पति भन्दछ्यौ पनि भन्या मर्दैन जीव् ता कहीं ।
देहै हो पनि भन्दछ्यो त किन शोक् गर्छ्यौ छ ऊ ता यहीं ॥६२॥
श्रीराम्का इ वचन् सुनी कन तहाँ ताराजि चुप् भै रहिन् ।
जुन् सन्देह पर्यो वहाँ मन महाँ सो मात्र सोद्धी भइन् ॥
हे नाथ् मर्जि भयो सुन्याँ सब कुरा बुझ्दैन मन् तै पनी ।
सन्देहै मनमा रह्यो म कन ता को गर्छ यो भोग् भनी ॥६३॥
देहै गर्दछ भोग् भनू पनि भन्या जड् पो छ यो देह ता ।
ईश्वर् हो उहि गर्छ भोग् भनु भन्याँ सक्तीन भन्नै म ता ॥
साह्रै मोह भयाँ म ता हजुरका एकै वचन्ले गरी ।
माया राखि बुझाइ बक्सनु हवस् अज्ञान मेरो हरी ॥६४॥
ताराका इ वचन् सुनी कन बहुत् माया मनैमा धरी ।
तत्त्वज्ञान् सब ताहिं बक्सनु भयो खोलेर विस्तार् गरी ॥
हे ताराजि न रोउ आज मनले संसार् छ झूटो भनी ।
झूटो कुन् रितले छ यो भनि भन्या भन्छू म विस्तार् पनी ॥६५॥
म ता नित्यै पो हूँ यहि शरिरमा लागि म गयाँ ।
शरिर् मर्दा आफै मइँ मरि गया झैं पनि भयाँ ॥
अहो अज्ञान् मेरो भनि कन जहाँ तक् त मनमा ।
लिंदैनन् ताहाँ तक् फजिति पनि छन् यै जनमहाँ ॥६६॥
स्फटिक् जस्तो जीव् हो शरिरहरु लाहा बुझि लिनू ॥
स्फटिक् लाहाका सङ् धरि कन त दृष्टान्त छ दिनू ॥
लहाका सङ् बस्ता स्फटिक म छु लाल् भन्छ जसरी ।
शरिर् मर्दा मर्छू म पनि भनि जिव् भन्छ तसरी ॥६७॥
स्फटिक्ले रातो छू भनि कन सुहावस् त उ पनी ।
सुहावस् यस् जिव्ले शरिर सँगमा मर्छु म भनी ॥
न ता जिव् मन्र्या हो शरिर सँग लागेर जनको ।
न रातो हून्या हो स्फटिक सब खेल् जान मनको ॥६८॥
मनैका खेल्ले जिव् शरिर मइँ हूँ भन्दछ भनी ।
जहाँ तक् जान्दैनन् फजिति तहिं तक् मिल्दछ पनी ॥
मनैको खेल् हो यो भनी कन त जान्न्या तरि गया ।
न जान्न्या जिव् जो हुन् उति त सब फन्दा परि गया ॥६९॥
शरिर् मैं हूँ मेरै धन जनहरू हुन् भनि जसै ।
पर्यो मन्का खेल्मा तब फजिति मिल्छन् बुझ यसै ॥
विना सत्का सङ्ले विन गुरु कृपाले इ फजिती ।
अवश्यै छुट्तैनन् सकल मनका खेल नजिती ॥७०॥
म नित्यै आत्मा हूँ शरिरहरू हुन् चार घरिका ।
विचार्मा टिक्तैनन् विषय पनि छन् स्वप्न सरिका ॥
भनी जान्न्या जन्ले दृढ गरि लिया भक्तिरसले ।
न बिस्र्या यी मैले यति कहिदियाँ प्रीतिवशले ॥७१॥
उस् जन्ममा अधिक भक्ति गर्यौ र ऐल्हे ।
दर्शन् दियाँ नतर झट्ट म मिल्छु कैल्हे ॥
मेरो स्वरुप् र इ वचन् अब सम्झी लीया ।
छुट्नन् ति दुःख तिमिलाइ जती त थीया ॥७२॥
लेखै हवैन अब कर्म पनी गरीन्या ।
रस्ता कह्याँ भवसमुद्र सहज् तरीन्या ॥
मेरो स्वरुप् र इ वचन् जति सम्झि लिन्छन् ।
सब् कर्मपाश् ति सहजै सित काटि दिन्छन् ॥७३॥
यस्ता वचन् प्रभुजिका सुनि खूसि मन्ले ।
छोडिन् जती छ अभिमान् पनि ताहिं तिन्ले ॥
सुग्रीवको पनि गयो अभिमान ताहाँ ।
राम्को कृपा हुन गया पछि टिक्छ काहाँ ॥७४॥
हूकुम् भयो प्रभुजिको तहिं मित्रलाई ।
हे मित्र सुग्रिव जराउ इ बालिलाई ॥
क्रीया गरी कन शरिर् गर शुद्ध ऐल्हे ।
सब् काम छोडि कन यै गर आज पैल्हे ॥७५॥
हूकुम् भयो र तब बालि लगी जलाया ।
क्रीया गरी सकि ति सुग्रिव ताहिं आया ॥
अर्पण् गरी सकल राज् प्रभुका चरण्मा ।
सेवक् बनी कन म बस्छु भनी शरण्मा ॥७६॥
सुग्रिव्लाइ हुकुम् भयो प्रभुजिको जो हौ तिमी सो म हूँ ।
जाऊ आज र गादिमा बस म ता याहीं वनैमा रहूँ ॥
गाऊँमा घरमा बस्वैन म भनी मेरो प्रतिज्ञा छ यो ।
जानन् लक्ष्मण ता सँगै घर पनी भाई गया भै गयो ॥७७॥
वर्षाकाल् बिति सक्छ यो जब तसै सीताजिको खोज् गर्या ।
येती मर्जि दिया र सुग्रिव बहुत् आनन्दसागर् पर्या ॥
लक्ष्मण्जी पनि रामका हुकुमले सुग्रीवका साथ् गया ।
सुग्रिव् गादि विषे बस्या पछि फिरी दाखिल् प्रभू थ्यैं भया ॥७८॥
राम्ले ताहिं थियो प्रवर्षण गिरी तेस्का शिखर्मा चढी ।
देख्या सुन्दर एक् गुफा स्फटिकको ताहीं गराया मढी ॥
फल्फूल ताहिं खचित् थियो नजिकमै थीयो तलाऊ पनी ।
देख्या मन् खुसि भो तहाँ प्रभुजिको बस्न्यै जगा हो भनी ॥७९॥
वर्षाकाल तलक् रह्या प्रभु तहाँ पर्थ्यो बखत्मा झरी ।
जन्तू पुष्ट थिया सबै ति वनका खायेर घाँस् पेट् भरी ॥
बस्थ्या श्रीरघुनाथका वरिपरी खुप् ध्यान् प्रभूमा धरी ।
ध्यान् जन्तूहरुको विचार् गरि तहाँ खूसी रहन्थ्या हरी ॥८०॥
लक्ष्मण्ले तहिं बिन्ति एक् दिन गर्या हे नाथ् पुजाको विधान् ।
पाऊँ सुन्न हुकुम् हवस् खुसि भई कुन् हो करूणानिधान् ॥
ब्रह्मा व्यास् अरु नारदादिहरु सब् भन्छन् पुजाले सरी ।
अर्को तर्न उपाय छैन जनको खुस् छन् पुजैमा हरी ॥८१॥
यस्तो सूनि गयो र मन् चरणमा सोध्याँ पुजाको विधान् ।
साँचो तत्त्व बताउन्या हजुर झैं को छन् दयाका निधान् ।
यस्ता लक्ष्मणका वचन् सुनि तहाँ पूजा विधी हो जती ।
सब् संक्षेप् रितले कह्या प्रभुजिले लक्ष्मण् भया खुस् अती ॥८२॥
वर्षाकाल् यहि रीतले तहिं बित्यो वार्ता कथाको गरी ।
सम्झ्या झट्ट सिताजिलाइ र विलाप् फेर् गर्न लाग्या हरी ॥
किष्किन्धापुरिमा यसै बिच महाँ मन्त्री हनूमानले ।
सुग्रिव् सीत सिताजि खोज् गर भनी बिन्ती गर्या ज्ञानले ॥८३॥
हे राजन् रघुनाथले त उपकार् ठूलो हजुर्को गरी ।
यो राज् बक्सनु भो हजुर् कन ठुलो विर् बालिलाई हरी ॥
सो बिस्र्या झइँ मान्दछू हजुरले सीताजिको खोज् खबर् ।
गन्र्या हो अब ता बखत् पनि भयो सब् काम छोडी अबर् ॥८४॥
यादै छैन हजूरलाइ त सिता खोज् गर्नु पर्ला भनी ।
बालीको गति जुन् भयो उहि गती होला हजुर्को पनी ॥
यो बिन्ती हनुमानको सुनि तहाँ साँचो भन्याको भनी ।
सुग्रिव्ले तहिं झट् हुकुम् पनि दिया लस्कर् पठाऊ भनी ॥८५॥
दस् हज्जार् विर गै इ सात द्विपका वानर् जती छन् सबै ।
खोजी आज खबर् दिउन् र सब विर् जम्मा हउन् झट् अबै ॥
जो आवैन हुकुम् बदर् गरि यहाँ यै पन्ध्र दिन् भित्रमा ।
तेस्को प्राण् म लिन्याछु निश्चय बुझुन् मानुन् सबै चित्तमा ॥८६॥
यस्तो सुग्रिवको हुकुम् हुन गयो सोही बमोजिम् गरी ।
दस् हज्जार् विरको खटन् पनि गर्या लागेन बेर् एक् घरी ॥
दस् हज्जार् विर दस् दिशा तिर छिटी खुस् भै हनूमान् रह्या ।
ती विर् दस् तिर गै खबर् दिइ अनेक् सेना बटुल्दा भया ॥८७॥
लाग्या गर्न विलाप् अनेक् तरहले लीला गरी राम् उसै ।
भन्छन् छन् ति सिता कहाँ अझ पनी लागेन पत्ता कसै ॥
याहाँ छन् ति सिता भनी कन खबर् पाऊँ त जाऊँ तहाँ ।
ल्याऊँ अम्रित झैँ सिता कन यहाँ पाऊँ खबर् पो कहाँ ॥८८॥
हे भाई सुन जो छ आज इ सिता हन्र्या म तेस्को सबै ।
कूलै भस्म गराउन्या छु करुणा राख्वैन उस्मा कबै ॥
येती बात् तहिं भाइ सीत गरि फेर् सीताजिका शोक् धरी ।
लाग्या गर्न विलाप् अनेक् तरहले त्रैलोक्यका नाथ् हरी ॥८९॥
हे सीते कसरी म देखि पर भै बस्छ्यौ तिमी छौ कहाँ ।
प्राणै थाम्न कठिन् भयो म विनु ता आपत् भया हुन् तहाँ ॥
तिम्रो भेट न पाउँदा म कन ता ई चन्द्र सूर्यै बन्या ।
तिम्रो ता गरुँ क्या बखान् तिमि त झन् छ्यौ दुष्टका पास् भन्या ॥९०॥
सुग्रिव् आज कृतघ्न झैं हुन गया आयो शरत्काल् पनी ।
सुर्तै छैन सिताजिलाइ अझ तक् खोज् गर्नु पर्ला भनी ॥
मार्छू सुग्रिव दुष्टलाइ पनि फेर् बाली सरीको गरी ।
लक्ष्मण्ले प्रभुका वचन् सुनि गर्या बिन्ती अगाडी सरी ॥९१॥
हे नाथ् आज मलाइ बक्सनु हवस् हूकुम् म मार्छू गई ।
लक्ष्मण्का इ वचन् सुनेर रघुनाथ् अत्यन्त खूसी भई ॥
भन्छन् भाइ न मार आज बहुतै हप्काउ जाऊ तहाँ ।
मारी हाल्न त योग्य छैन तर खुप् चेताइ आऊ यहाँ ॥९२॥
हूकुम् यो प्रभुको सुनी कन तहाँ लक्ष्मण्जि जल्दी गया ।
सीतानाथ् नरको लिला गरि विलाप् खुप् गर्न लाग्दा भया ॥
किष्किन्धापुरि पौंचि लक्ष्मणजिले टङ्कार् धनूको गर्या ।
पत्थर् वृक्ष उठाइ वानरहरू कोही अगाडी पर्या ॥९३॥
सब् वानर् कन नष्ट गर्दछु भनी लक्ष्मण्जिले बाण् धर्या ।
अङ्गद् आइ उठाइ वानरहरू जल्दी चरण्मा पर्या ॥
अङ्गद् सीत बहुत् प्रसन्न भइ झट् ताहाँ अह्राया पनी ।
जाऊ देउ खबर् अगाडि तिमिले लक्ष्मण्जि आया भनी ॥९४॥
अङ्गद् गै कन त्यो खबर् जब दिया सुग्रीवलाई तहाँ ।
जल्दी सुग्रिवले हुकुम् पनि दिया लौ जाउ ल्याऊ यहाँ ॥
अङ्गद्लाइ सँगै लियेर हनुमान् चाँडै चरण्मा परी ।
लक्ष्मण्लाइ बुझाइ ल्याउ तिमिले सब् रीस शान्ती गरी ॥९५॥
यस्तो सुग्रिवो वचन् सुनि तहाँ सोही बमोजिम् गरी ।
पाऊमा परि बाहुमा धरि लिया ल्याया बहुत् खुस् गरी ॥
हूकुम् सुग्रिवको सुनी कन तहाँ ताराजि चाँडै गइन् ।
लक्ष्मण्लाइ बुझाइ खुस् गरुँ भनी खुप् बिन्ति गर्दी भइन् ॥९६॥
लक्ष्मण् सुग्रिवको भयो जब त भेट् सुग्रिव् चरण्मा पर्या ।
लक्ष्मण्ले पनि ताहिं सुग्रिवजिको सातो कुराले हर्या ॥
बाली झैं हुन मन् छ की भनि जसै लक्ष्मण्जिले बात् गर्या ।
लक्ष्मण्लाइ बुझाउना कन तहाँ जल्दी हनूमान् सर्या ॥९७॥
लक्ष्मण्जी पनि कामले बुझि गया बात्चित् खुसीका गरी ।
फिर्नाको मतलब् गर्या प्रभु थिया जाहाँ जगन्नाथ् हरी ॥
लक्ष्मण्का सँग लागि सैन्य पनि ली सुग्रीव खुस् भै गया ।
जाहाँ श्रीरघुनाथ् थिया तहिं सबै दाखिल् क्षणैमा भया ॥९८॥
देख्या श्रीरघुनाथलाइ र परै रथ् देखि उत्रेर फेर् ।
लक्ष्मण् सुग्रिव पाउमा परि गया लागेन एक् छीन बेर् ॥
राम्ले सुग्रिवलाइ मित्र भनि खुप् आलिङ्गनादी गरी ।
सोधपुछ् गर्नु भयो बहुत् खुसि हुँदै आफैं अगाडी सरी ॥९९॥
लाग्या सुग्रिव बिन्ति गर्न रघुनाथ् मैले त सेना पनी ।
ल्यायाँ विर्हरु छन् अनेक् तरहका छन् इन्द्र तुल्यै पनी ॥
ई सब् ख्वामितका निमित्त खुसि भै प्राणै दिन्या छन् जसो ।
हूकुम् हुन्छ हवस् यहाँ हजुरको गर्छन् ति ऐल्हे तसो ॥१००॥
खूसी भै रघुनाथको हुकुम भो हर्षाश्रुधारा परी ।
हे सुग्रिव सखे इ वानरहरू जाउन् दिशा दस् भरी ॥
जाहाँ छन् ति सिता तहीं पुगि खबर् ल्याउन् भनी रामको ।
हूकुम् पाइ पठाइ वानरहरू उर्दी दिया कामको ॥१०१॥
जाऊ विर्हरु सब् दिसा दस विषे सीताजि मिल्छिन् कहाँ ।
पत्ता लाइ सिताजिको खबर ली सब् वीर आऊ यहाँ ॥
मैन्हा दीन बिताइ एक् रति खबर् केही न पाई त जो ।
ढिल् गर्ला तसलाइ ता म सहजै मान्र्या छु मन्र्या छ त्यो ॥१०२॥
यस्तो जल्दि हुकुम् गरी अरु दिशा वानर् पठाया अबर् ।
दक्षिण् तीर त खुप् बडा विरहरू छानी पठाया जबर् ॥
अङ्गद्लाइ र जाम्बवान् र हनुमान् विर् नल् सुषेण् फेर् शरभ् ।
मैन्द द्वीविद आठ् पठाइ प्रभुका पास्मा रह्या एक् फगत् ॥१०३॥
हूकुम् पाइ इ आठ विर्हरु पनी झट् जान लाग्या जसै ।
हात्मा औंठि लियेर एक् हुकुम भो राम्चन्द्रजीको तसै ॥
जाऊ काम् पनि साधि आउ हनुमान् ली जाउ औंठी पनी ।
मेरो नाम् यहि औंठिमा छ र दियाँ सीताजि चिन्लिन् भनी ॥१०४॥
यो काम् सिद्ध गराउन्या त तिमि छौ तिम्रो छ यो बल् भनी ।
चीन्ह्याँको छु तबै त भन्छु म शुभै हून्या छ रस्ता पनी ॥
येती श्रीरघुनाथको पनि हुकुम् पाया र औंठी लिया ।
खूसी भै हनुमानले प्रभुजिमा सम्पूर्ण तन् मन् दिया ॥१०५॥
अङ्गद् विर् हनुमान्हरू हुकुमले दक्षिण् दिशामा गया ।
सर्वत्र पृथिवी ढुँडी ढुँडि सबै घुम्दै ति जाँदा भया ॥
एक् दिन् विन्ध्यगिरी विषे वन महाँ देख्या र राक्षस् जसै ।
रावण् हो कि भनी मुठी मुठि कसी मार्या कसैले तसै ॥१०६॥
रावण् होइन यो त जाउँ भनि फेर् अर्का वनैमा गई ।
ढुँढ्थ्या प्यास बढ्यो र जल् पनि ढुँडी हिंड्थ्या ति आकुल् भई ॥
गुफा देखि त प्वाँख् चिसा गरि गरी हाँस् निस्कँदा देखि तेस् ।
गूफा भित्र पस्या सबै विरहरू देख्या बहुत् बस्ति बेस् ॥१०७॥
ठण्डा जल् सितका तलाउ पनि धेर् सब् वृक्ष फल् फुल् भरी ।
घर् छन् धेर् घरमा छ चिज् पनि अनेक् हीरा जवाहेर् धरी ॥
गुल्जार् देख्नु भन्या मनुष्यहरु ता एक् देख्नु नाहीं कहीं ।
एक् योगीनि स्वयम्प्रभा कन जहाँ ध्यान् गर्दि देख्या तहीं ॥१०८॥
सोधिन् योगिनिले प्रणाम् तब गर्या कुन् काम आयौ यहाँ ।
क्या मन्सुब् छ बताउ फेर् अब उपर् जानू छ इच्छा कहाँ ॥
यस्ता योगिनिका वचन् सुनि तहाँ बोल्या हनूमानले ।
आयौं आज यहाँ सबै यति जना केवल् जलै खानले ॥१०९॥
काम् यै हो यहि काम गर्नु छ भनी विस्तार् सुनाया जसै ।
साह्रै खुस् हनुमानका वचनले हूँदी भइन् ती तसै ॥
बोलिन् फल्फुल खाउ जल् पनि पिई फर्केर आऊ यहाँ ।
मेरो नाम बताइ आज त म ता जान्छू प्रभू छन् जहाँ ॥११०॥
यस्ता योगिनिका वचन् सुनि गया जल्पान् गरी फेर् पनी ।
आया योगिनीले गरिन् सब कुरा राम्का इ दुत् हुन् भनी ॥
हेमाकी सखि हूँ सखी गइ गइन् उन्का वचन्ले यहाँ ।
धेरै वर्ष बसी प्रभू भजि लिंदा ऐल्हे कृतार्थै भयाँ ॥१११॥
भन्थिन् राम् अवतार् हुन्याछ हरिको हन्र्या छ रावण् सिता ।
खोज्न्या वानर आउनन् तहिं तलक् याहीं रहू तीमि ता ॥
वानर्को रघुनाथको गरि पूजा यै ब्रह्मलोक् आउली ।
जान्छू आज म ता तिमी बसि रहू क्यै काल् पछी आउली ॥११२॥
यस्तो अर्ति दिई गइन् सङिनिज्यू जुन् ब्रह्मलोक् हो वहाँ ।
नाच्तैमा शिव खुस् हुँदा अघि दिया यो स्थान बस्ती यहाँ ॥
पुत्री हुन् उ त विश्वकर्मकि म हूँ गन्धर्वकन्या सबै ।
विस्तार् आज कह्याँ म जान्छु खुसि भै जाहाँ प्रभू छन् अबै ॥११३॥
आँखा चिम्ल पुर्याइ दिन्छु सहजै रस्ता विषे क्षण् महाँ ।
जाऊ तीमिहरू पनी भनि सहज् पौंचाइ रस्ता महाँ ॥
श्रीराम्चन्द्रजि थ्यैं ति योगिनि गइन् वानर् पुग्या रस्तिमा ।
पौंचिन् योगिनि रामको कुटि जहाँ थीयो उसै बस्तिमा ॥११४॥
राम्को स्तूति गरिन् र वर् दिनु भयो जाऊ र बद्री महाँ ।
मेरो ध्यान् गरि यो बिताउ र शरिर् पाउली परम्धाम् तहाँ ॥
जो तिम्रा मनमा छ त्यो सब पुगोस् यस्तो त वर् ली गइन् ।
बद्रीमा गइ रामका वचनले संसार तर्दी भइन् ॥११५॥
सीता खोज्न भनेर वानरहरू फिर्थ्या सबै वन् महाँ ।
सीतालाइ न पाउँदै बिति गयो धेर् काल एक् दिन् तहाँ ॥
अङ्गद्ले अति शोक् गर्या अब सहज् मार्छन् सबैको गयो ।
प्यारो प्राण गरौं कसो अब मर्यौं बाँच्नू यहीं तक् भयो ॥११६॥
सुग्रिव्ले त मलाइ मार्नु छ सहज् पाया निहूँ यो पनी ।
मार्छन् निश्चय शत्रु जानि अहिले यो शत्रुको बिज् भनी ॥
केवल् रामकृपा हुँदा अघि बच्याँ ऐल्हे त राम्ले पनी ।
दिन्छन् निश्चय मार्नलाइ मतलब् खोजेन सीता भनी ॥११७॥
अङ्गद्का इ वचन सुनी कन तहाँ क्वै बिन्ति यो पार्दछन् ।
हे साहेप यहीं बसौं यहिं बस्या कुन् पाठले मार्दछन् ॥
अङ्गद्का अरु वानरादिहरुका सून्या र कूरा तहाँ ।
बोल्या श्रीहनुमानले किन बहुत् छोटा गर्यौ बात् यहाँ ॥११८॥
सुग्रिव्का प्रिय छौ अवश्य भगवान् राम्चन्द्रजीका पनी ।
साँचो भन्छु म बेस् कुरो हजुरमा यस्तो छ कारण् भनी ॥
भूभार् हर्न भनेर राम अवतार् आदीपुरुष्को भयो ।
कस्को सक् छ सिताजि ह्रर्न नहिं ता इच्छा प्रभूकै छ यो ॥११९॥
मानिस्को अवतार् भयो प्रभुजिको सेवक् त वानर् भई ।
गर्छौ सेवन भक्तिले प्रभुजिका केवल् हुकुम्मा रही ॥
जान्याछौं पछि धाममा पनि सँगै यो जान मन्ले यहाँ ।
क्या गर्छौ मनमा कुतर्क हरिको रिस् छैन कस्सै महाँ ॥१२०॥
यस्ता बात् हनुमानका सुनि बुझ्या अङ्गद् र खूसी भई ।
विन्ध्याचल् गिरिका कुनाकुनि समेत् सम्पूर्ण खोज्दै गई ॥
पौंच्या क्षारसमुद्रका तिर महाँ पर्वत् थियो एक् तहाँ ।
तेस्को नाम महेन्द्र हो नजिकमा देखिन्छ सागर् जहाँ ॥१२१॥
पृथ्वीमा न मिलिन् सिता न जलमा जान्या छ बाटो कतै ।
खोजौं जाउँ भन्या सक्यौं पृथिवि सब् पायौंन सीता कसै ॥
फर्कौ जाउँ भन्या पनी अब सहज् मार्छन् त चाहीं यहीं ।
मर्नू आज निको भनेर तिरमा बन्दर् बस्या सब् तहीं ॥१२२॥
सम्पाती अति वृद्ध गृद्ध वनमा थीया ति निस्क्या जसै ।
हेर्या दृष्टि फिराइ तेस् तिर महाँ देख्या ति वानर् तसै ॥
बोल्या वाक्य पनी म भर्छु अब पेट् पायाँ अहारा भनी ।
अङ्गद् विर्हरुले सुन्या र इ वचन् साह्रै डराया पनी ॥१२३॥
लाग्या भन्न सबै ति वानरहरू आयेछ हाम्रो त काल् ।
मछौं आज अवश्य मार्छ यसले यो गृद्धको हेर चाल् ॥
क्या बात् भाग्य जटायुको प्रभुजिको प्यारो हुन्या काम् गरी ।
ठाकुर्लाइ रिझाइ पार् पनि गया संसारसागर् तरी ॥१२४॥
व्यर्थै हामि त गृद्धका मुख विषे सब् पर्न आयौं यहाँ ।
येती वानरका वचन् सुनि तसै सम्पाति बोल्या तहाँ ॥
हे विर् हो न डराउ आज तिमिले प्यारो सुनायौ कुरा ।
मेरै भाइ जटायु हो कहु खबर् तेस्को त सप्पै कुरा ॥१२५॥
अङ्गद् विर्हरुलाइ निर्भय दिई येती भन्याथ्या जसै ।
सब् वृत्तान्त बताइ अङ्गदजिले विस्तार् सुनाया तसै ॥
सम्पाती तहिं भन्दछन् म कन लौ लैजाउ सागर् महाँ ।
दिन्छू आज जटायुलाइ जलदान् चाँडो म ऐल्हे तहाँ ॥१२६॥
सीताको म बताउँला सब खबर् स्नान् अञ्जलीदान् गरी ।
ई बात सूनि उचालि झट् लगि दिया सम्पातिले स्नान् गरी ॥
दीया अञ्जलिदान् जसै फिरि उहीं ल्यायेर राखी दिया ।
सम्पाती खुसि भै सबै कहि दिया आपत्ति देख्तै थिया ॥१२७॥
हे विर् हो म त गृद्ध हूँ र म सिता देख्छू नजर्ले पनी ।
याहीं छन् यहि भेष् छ येति सँग छन् यस्तो छ चाला भनी ॥
भन्छू सब् तिमिलाइ चार सय कोस् जो कुद्न सक्छौ यहाँ ।
सो लङ्का पनि पुग्दछौ उति कुद्या पौंचिन्छ लङ्का महाँ ॥१२८॥
लङ्कामा ति सिताजि छन् तहिं गया मिल्छिन् सिताजी जहाँ ।
गाह्रो चार् सय कोस कुद्न छ तहीं जाऊ न जाऊ तहाँ ॥
रावण्ले लगि भित्रि गुप्ति वनमा राख्याकि छन् बेस् गरी ।
पौंची भेट् गर जान सक्छ तिमिमा को यो समुद्रै तरी ॥१२९॥
अश्शोक्का वन भित्र वृक्ष छ असल् एक् शिंशपाको तहीं ।
सीता छन् तहीं भेट् हुन्या छ तहिं लौ जाऊ गयो काल् यहीं ॥
क्यारूँ रावणलाइ मार्न म सहज् मान्र्या थियाँ हो र को ।
साक्षात् सूर्यजिका कठोर् किरणले प्वाँखै डढ्या सब् र पो ॥१३०॥
जाऊ चार् सय कोस कुद्न सकन्या कुन् विर् छ सागर् महाँ ।
सीताको समचार् खबर् बुझि सहज् फर्केर आऊ यहाँ ॥
यो सम्चार बताइ फेर् खुसि भई आफ्नू हवाल् सब् कह्या ।
जुन् रित्ले अघि प्वाँख् डढ्या र विपती पाई अनेक् ताप् सह्या ॥१३१॥
सम्पाती र जटायु भाइ दुइ हूँ हाम्रो कती बल् भनी ।
बल् जान्ना कन दूइ भाइ उडि गै श्रीसूर्यबिम्बै मनी ॥
पुग्दामा ति जटायुले त अपि ताप् मान्या र छोप्याँ जसै ।
बाँच्या भाइ जटायु क्यारुँ म गिर्याँ मेरा डढ्या प्वाँख् तसै ॥१३२॥
उच्चा देखि गिर्याँ म विन्ध्यगिरिमा तिन् दिन् त मूर्छा भयाँ ।
ब्यूत्याँथ्याँ जब चन्द्रमा मुनि मिल्या तिन्का नजिक्मा गयाँ ॥
सोध्या ती ऋषिले र सब् जब भन्याँ आफ्ना विपत्को गती ।
मेरो चित् बुझाउना कन भन्या सब् दुःख हुन्छन् जती ॥१३३॥
यस्तो हुन्छ विपत्ति गर्भ रहँदा यो हुन्छ यौवन् महाँ ।
यस्तो हुन्छ बुढो हुँदा त भनु क्या थाहै छ सब् मन् महाँ ॥
जाहाँ देह बन्यो र दुःख छ भनी पर्दैन भन्नू पनी ।
जाहाँ देह छ ताहिं दुःख छ चिह्न्या साँचो कुरा हो भनी ॥१३४॥
तस्मात् दुःख न मान देह छ त रोग् दुःखै छ दुःखै सही ।
श्रीराम्को अवतार् हुन्या बखत तक् यस्सै जगामा रही ॥
केही काल बिताउ राम अवतार् होला र सीता पनी ।
हर्ला रावणले र तेस् बखतमा सीताजि खोज्नै भनी ॥१३५॥
विर् बानर्हरु आउनन् ति सँग् भेट् होला उ वेला महाँ ।
सीताको समचार् जसै त कहुला प्वाँख् उम्रनन् फेर् तहाँ ॥
भन्थ्या सोहि कुरा सबै पुगि गया हेर् प्वाँख उम्र्या भनी ।
प्वाँख् देखाइ बिदा भई उडि गया जाऊ तिमी लौ भनी ॥१३६॥
अङ्गद् वीर्हरू खुस् भया अब मिलिन् सीता भनी सब् जसै ।
लाग्या गम्न समुद्रलाइ र गमन् गर्नै न सक्नू कसै ॥
फेरी ताप् मनमा पर्यो र अति शोक् अङ्गद्जि गर्दा भया ।
अङ्गद्लाइ बुझाउना कन अघी श्रीजाम्बवान्जी सर्या ॥१३७॥
साहेप् शोक् रति भर् कदापि न हवस् जाउन् हनुमान् भनी ।
अङ्गद्लाइ बुझाइ झट्ट हनुमान्जीका नजिक्मा पनी ॥
पौंची बेस् स्तुति गर्दछन् किन यहाँ चुप्चाप् भई दुर् रह्यौ ।
राम्का काम निमित्त मात्र हनुमन् यो जन्म लींदा भयौ ॥१३८॥
क्या वर्णन् बलको गरौं जब तिमी जन्म्यौ उसै फल् भनी ।
पाक्याको फल ठानि सूर्य कन ता हात्ले म टिप्छू भनी ॥
आकाश्मा जब ता कुद्यौ दुइ हजार् कोस् तक् पुगी फेर् झर्यौ ।
यस्ता बालकमै थियौ किन यहाँ कोस् चार् सयैमा डर्यौ ॥१३९॥
सून्या सब् हनुमानले स्तुति तहाँ जो जाम्बवान्ले गर्या ।
साह्रै खुस् हनुमान् भया र खुसिले खुप् गर्जना पो गर्या ॥
पर्वत्तुल्य बडो स्वरूप् धरि वचन् बोल्या म सागर् तरी ।
लङ्का भस्म गराइ रावण समेत् सब् सैन्य चूर्णै गरी ॥१४०॥
सीता ली कन आउँछू कि रिसले झुण्ड्यायि रावण् पनी ।
ज्यूँदै दाखिल गर्छु राम्चरणमा खूनी हजुर्को भनी ॥
की ता छन् ति सिता यहाँ भनि खबर् मात्रै सिताको लिई ।
फिर्छू श्रीरघुनाथका चरणमा तन् मन् वचन् सब् दिई ॥१४१॥
श्रीराम्का चरणाविन्द मनमा धर्दा र उठ्दा जसै ।
बोल्या श्री हनुमानले यति कुरा श्री जाम्बवान्ले तसै ॥
भन्छन् श्री हनुमानलाइ हनुमन् भेट् मात्र ऐल्है गरी ।
फर्की आउ सिताजिको खबर ली एक्लै न लड्न्या गरी ॥१४२॥
ख्वामित्का सँग लागि गै कन पछी सक्भर् लडौला भनी ।
भन्दा खूसि भई बिदा भइ लिया झट् कुद्न मन्सुब् पनी ॥
लाल् मुख् पीत शरीर् गरी गिरि उपर् जल्दी हनूमान् गया ।
सब् प्राणीहरुले तहाँ ति हनुमान्जीलाइ हेर्दा भया ॥१४३॥
इति श्रीकिष्किन्धाकाण्ड ।