Jump to content

Bhanubhaktako ramayan/shriayodhyakanda

From Nepali Proofreaders
Revision as of 19:58, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="bhanubhaktako_ramayan.pdf" from=36 to=56/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
श्रीआयोध्याकाण्ड

एकान्त स्थलमा सितापति थिया सीता हजुर्‌मा रही ।
हात्‌मा चामर ली प्रभू कन तहाँ हाँक्‌थिन् समीप्‌मा गई ॥
आकाश्‌मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ताहीं गया ।
नारद्जी कन दण्डवत् गरि तहाँ राम्‌जी बहुत् खुस् भया ॥१॥

संसारी म थियाँ बडो हुन गयाँ दर्शन् मिलेथ्यो जसै ।
यो भाग्योदय हो बुझ्याँ पनि यहाँ दर्शन् मिल्याको उसै ॥
मैले गर्नुछ काम् कउन् हजुरको चाँडो उ आज्ञा हवस् ।
त्यो काम् सिद्ध गराउँला हजुरको आनन्द मन्‌मा रहोस् ॥२॥

यस्ता बात् प्रभुका सुनी कन जवाफ् सोही बमोजिम् दिया ।
नारद्ले बहुतै गर्‍या स्तुति तहाँ राम्‌लाइ मन्‌मा लिया ॥
बिन्ती गर्नु कुरो थियो मन विषे बिन्ती गर्‍या त्यो पनी ।
ब्रह्माको विनती लिई हजुरमा आई रह्याँछू भनी ॥३॥

भूको भार म दुष्ट मारि हरुँला जान्छू अयोध्या महाँ ।
भन्न्या येति वचन् गरी कन हजुर् पाल्नू भयेथ्यो यहाँ ॥
यस्‌तो हो तर गादि दीन दशरथ् राजाजिका मन् भयो ।
ख्वामित्‌ले अब राज्यमा भुलिदिया भार् हर्नु काम् ता रह्यो ॥४॥

नारद्का इ वचन् सुनी खुसि भई उत्तर् प्रभूले पनी ।
जल्दी बक्सनु भो म राज्य न गरी भोली म जान्छू भनी ॥
ख्वामित्‌का इ वचन् सुनेर बहुतै नारद्जि खूसी भया ।
तिन् फेरा प्रभुको प्रदक्षिण गरी आकाश्‌गतीले गया ॥५॥

सन्तोष्‌ले दशरथ्‌जिका मन विषे आनन्दमङ्गल् भयो ।
राम्‌लाई अब राज्य द्यूँ भनि उसै मन् यस् लहड्मा गयो ॥
यस्‌को मन् हुन गो र डाकि गुरु थ्यैं यस्‌तो हुकुम् भो पनी ।
भोली राज्य म दिन्छु पुत्र कन सब् सामग्रि ल्याऊ भनी ॥६॥

मन्त्री डाकि हुकुम् भयो सँग रह्या जो जो कहन्छन् गुरु ।
सो सो चिज् झटपट् तयार् गर अवर् सब् काम छोड्नू बरु ॥
मन्त्रीले पनि यो हुकुम् सुनि तहाँ साथै गुरूका रह्या ।
चाहिन्छन् जति चिज् ति खोज्न गुरुले खोलेर सब् चिज् कह्या ॥७॥

मन्त्रीलाइ अह्राइ राघवजिका साथ्‌मा वशिष्ठै गया ।
पैल्हे श्री रघुनाथले गुरु भनी सम्मान गर्दा भया ॥
हे त्रैलोक्यपते ! गुरू हुन त हूँ तिम्रो म क्या हूँ गुरू ।
इन्‌का हुन् इ गुरू भनेर इ सबै भन्छन् भनुन् लौ बरू ॥८॥

तिम्रो दर्शन पाउँला भनि यहाँ प्रोहित् भयाकै म हूँ ।
गुह्यै खुल्छ भनेर डर् हुन गयो धेरै कुरा क्या कहूँ ॥
खोल्‌न्या छैन म गुह्य चुप्प रहुँला सब् जान्दछू ता पनी ।
जानी जानि म बिन्ति गर्न अहिले आयाँ हजुर्‌मा पनी ॥९॥

भोली हुन्छ तिलक् हजुर् कन यहाँ सामग्रि जम्मा भयो ।
पृथ्वीमा सुकला हवस् हजुरको सब् शास्त्रले भन्छ यो ॥
सब् इन्द्रीय जितेर आज उपवास् गर्नू सिताले सँगै ।
आज्ञा पाउँ म जान्छु काम् छ बहुतै सब् काम् विचार्‌छू म गै ॥१०॥

यस्तो बिन्ति गरी वशिष्ठ गुरु फेर् जस्सै गयाथ्या पनी ।
राम्‌ले लक्ष्मणथ्यैं भन्या म तिमिलाइ काम् गर्न द्यूँला भनी ॥
छैनन् भाइ भरत् पनी त तिनका खातिर् छ मेरी दया ।
कौशल्या सुनि खुस् हुनिन् भनी त जो सम्‌चार् बताउँदै गया ॥११॥

राजाले त खतम् गर्‌या दिन भनी क्या गर्दछिन् कैकयी ।
यस्‌मा विघ्न कदापि पर्न नदिउन् लक्ष्मी र दुर्गा भई ॥
कौशल्या पनि यो विचार् गरि तहाँ गर्थिन् पुजा देविको ।
द्यौताका मनमा भन्या ठहरियो काम् विघ्न गर्नू निको ॥१२॥

वाणी ! गै तिमि विघ्न पारि कन आउ ती मन्थरा कैकयी ।
द्वी स्त्रीका घटमा पसेर तिमिले काम् सिद्ध लाऊ गई ॥
द्यौताका इ वचन् सुनेर झटपट् तेस् मन्थरामा पसिन् ।
कैकेयी कन खुप् भुलाउन भनी फेर् कैकयीमा पसिन् ॥१३॥

वाणीका वशमा पर्‍याकि छँदि ती जाहाँ थिइन् कैकयी ।
काम् बित्‌ला भनि चट्पटाइ तहिं झट् त्यो मन्थरा गै गई ॥
नाना छल् गरि ठिक्क पारि कन सब् वृत्तान्त विस्तार् भनी ।
द्वी वर् छन् तिमि मागि ल्यौ भनि ठुलो सूचन् गरी यो पनी ॥१४॥

वाणीले ति भुलाइयाकि छँदि लौ भन्दी भइन् कैकयी ।
राम्‌लाई वनवास् भरत् कन रजाइँ माग्छू म चाँडो गरी ॥
द्वी वर्‌ले जब काम सिद्ध गरुँला द्यूँला सये गाउँ भनिन् ।
बीदा दी घर मन्थरा कन फिराइ रिस् गर्न लाग्दी भइन् ॥१५॥

सुन्दर् वस्त्र निकालि फालि कपडा मैला शरिर्‌मा धरिन् ।
आभूषण् कन फ्याँकि खूप रिसले खाली जमिन्‌मा परिन् ॥
सज्जन् बेस् सुमती पनी कुमतिका सङ्ले त बिग्री गयो ।
भन्छन् जो दुनियाँ उ लक्षण यहाँ ठिक् कैकयीमा भयो ॥१६॥

कैकेयी सित बस्नलाइ खुशिले राजा गयाथ्या जसै ।
देख्यानन् र तहाँ कता गइ भनी चाकर्‌नि सोध्या तसै ॥
क्रोधागार विषे भयाकि त बुझ्यौं कारण् छ कुन् कत्ति यो ।
बूझ्याको पनि छैन गै हजुरले बुझ्नू हवस् क्यान हो ॥१७॥

केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्‌मा गया ।
कैकेयी कन क्यान यो रित गर्‍यौ बात् खोल भन्दा भया ॥
जो भन्छू म पुर्‍याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् ।
राजा वृक्ष सरी गिर्‍या पृथिविमा यस्‌मा बहुन् जिद् गरिन् ॥१८॥

राम्‌लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी ।
द्वी वर्‌ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी ॥
भोली येति कुरा भयेन त भन्या मर्न्याछु विष् खाइ म ता ।
भन्न्या येति कुरा सुनी फिरि गिर्‍या राजा जमिन्‌मा यता ॥१९॥

त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया ।
सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया ॥
देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्‍यो क्या भनी ।
विस्तार् पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी ॥२०॥

राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी ।
वन्‌मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी ॥
यस्ता बात् सुनि बात् गर्‍या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी ।
राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्‌मा रही ॥२१॥

गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी ।
बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी ॥
हे राम्‌चन्द्र ! मलाइ आज तिमीले बाँधेर राज्यै गरी ।
झुट्टा देखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्‌तो गरी ॥२२॥

राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया ।
राजाको बुझियो र आशय तहाँ राम्‌चन्द्र माइ थ्यैं गया ॥
कौशल्या पनि भक्तिले हरिजिका ध्यान्‌मा रह्याकी थिइन् ।
राम्‌जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन् ॥२३॥

सुमित्राले भन्दा पछि पलक माइका खुलि गयो ।
प्रभूलाइ देख्ता अधिक मन सन्तोष् पनि भयो ॥
खुसीले काख्‌मा ली कन जब भनिन् खाउ कछु भनी ।
सुनी राम्‌ज्यू भन्छन् अब त कति खाँला नि म पनी ॥२४॥

गयो खान्या वेला म कन त मिल्यो राज्य वनको ।
भरत्‌ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ॥
बिदा बक्स्या जावस् खुसि सित म जान्याछु वनमा ।
म चाँडै फिर्न्याछू विरह न हवस् कत्ति मनमा ॥२५॥

वचन् सुन्दा मूर्च्छा परि कन उठ्याकी छँदि तहाँ ।
भनिन् कौशल्याले अब म तिमिलाइ छोड्दछु कहाँ ॥
भन्या राजाले ता तर म तिमिलाइ रोक्दछु यहाँ ।
कि साथै लैजाऊ म कन तिमि जान्छौ अब जहाँ ॥२६॥

तिमीलाइ बीदा दी म कसरि यहाँ दुःख सहुँला ।
बरू प्राणै त्यागी यमपुरि महाँ जाइ रहुँला ॥
विलाप् कौशल्याको यति सुनि दयाले भरि भयो ।
तहाँ लक्ष्मण्‌को मन् तब अरु उपर् रिस् हुन गयो ॥२७॥

नजर् दी राम्‌ज्यूमा अरु सित उठ्याको रिस बढाइ ।
गर्‍या बिन्ती राम् थ्यैं अब भरत थ्यैं गर्दछु लडाइ ॥
हजुर्‌को राज् हर्न्या जति जति त छन् मार्छु सबलाइ ।
पितै बाँध्छू पैल्हे भनि कन भन्या क्या छ अरुलाइ ॥२८॥

चढ्या जावस् गादी सकल रिपुको नाश् म गरुँला ।
यसै काम्‌ले माइका सकल मनको शोक हरुँला ॥
सुन्या लक्ष्मण्‌जीका इ वचन जसै राम् खुसि भया ।
बुझाया विस्तार्‌ले पनि तहिं ठुलो ली कन दया ॥२९॥

सुन्यौ भाइ ! संसार्‌मा शरिर अति कच्चा छ जनको ।
शरिर् कच्चा जानी नगर तिमि रिस् कत्ति मनको ॥
सबै भोग् चञ्चल छन् बिजुलि सरि एक् छिन् न रहन्या ।
विचार् यस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या ॥३०॥

भ्याग्‌तो खाँ भनि खोज्छ डाँस् मुख विषे साँप्‌ले धर्‍याको पनी ।
तस्तै भोग् गरुँला भनेर मनले भन्छन् दुनीयाँ पनी ॥
क्याको रस् छ यहाँ विचार मनले काल्‌सर्पको मुख् परी ।
क्या होला वन जाउँला इ सबलाइ आनन्द राखुन् हरी ॥३१॥

देश् देश्‌का बाटुलिन्छन् बुझ तिमि मनले बाटका पाटि माहाँ ।
बात्‌चित् गर्दै रहन्छन् खुसि सित मनले बन्धु झैं राति ताहाँ ॥
प्रातः काल् भो जसै ता उठिकन ति सबै दस् दिशा लागि जान्छन् ।
बन्धूको सङ्ग यस्तै बुझि कन गुणिले दुःखसुख् एक मान्छन् ॥३२॥

छाया तुल्य छ लक्ष्मि यौवन भन्या भेलै सरीको भनी ।
भन्छन् स्त्रीसुखलाइ स्वप्न सरिको साँचो कुरा हो भनी ॥
यस्तै जानि पनी मनुष्यहरु सब् संसारमा भुल्दछन् ।
भुल्नैका वशले अनेक् फजितिले संसारि भै डुल्दछन् ॥३३॥

जुन् यस् देह निमित्त यो रिस गर्‍यौ चिन्छौ कि कस्तो छ यो ।
हाड् मासू र रगत् नसा यति कुरा जम्मा भई बन्छ यो ॥
विष्ठा हुन्छ कि भस्म हुन्छ पछि तक् बाँच्तैन यो ता कसै ।
यस्‌का खातिर घात् गर्‍यौ पनि भन्या पाप्‌मात्र लाग्ला उसै ॥३४॥

क्रोधै हो यमराज सर्व जनको वैतर्नि भन्नू पनी ।
तृष्णा हो भनि यो बुझेर तिमिले कैल्हे नबिर्स्या पनी ॥
सन्तोष् लाइ बुझि कामधेनु सरिको सन्तोष मन्‌ले रहू ।
रिस् गर्नु बढिया त छैन वनमा जानू असल् हो सहू ॥३५॥

यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जाहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझीकन बिदा दीनू हवस् हामिलाइ ॥३६॥

यो बिन्ती गरि पाउमा जब पर्या बीदा दिई मन् बुझाइ ।
आँसू थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत् मिलिगयो ताहाँ बिदा रामलाइ ।
लक्ष्मण्ले पनि साथ जान्छु म भनी बिन्ती गर्या जानलाइ ॥३७॥

लक्ष्मण्लाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया ।
सीतालाइ तिमि ता घरै बस भनी पैल्हे त भन्दा भया ॥
पङ्खा छत्र चमर् रहित् प्रभु कनै देख्ता त शङ्कित् भइन् ।
क्या कारण् हुनगो भनीकन सिता हात् जोरि साम्ने भइन् ॥३८॥

शङ्कित् जानकिलाइ देखि प्रभुले तीमी घरैमा यहाँ ।
सासूको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
पीताको वचनै लिई सिर उपर् जान्छू म वन्मा प्रिये ।
चौधै वर्ष बिताइ जल्दि म यहाँ फिन्र्या छु निश्चै श्रिये ॥३९॥

यस्ता बात् प्रभुका सुनी कन तहाँ सीताजि मूर्छा परिन् ।
पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन् ॥
सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया ।
ब्राह्मण् खूसि सदा रहुन् भनि तहाँ दौलत् बहूतै दिया ॥४०॥

कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मण्जिले बिन्ति लाइ ।
माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ ॥
येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया ।
सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया ॥४१॥

बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया ।
यस्तो देखि असह्य भो र दुनियाँ सब् शोक गर्दा भया ॥
सीताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई ।
सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई ॥४२॥

यो अन्याय भयो यहाँ त न बसौं जाऔं प्रभूका सँगै ।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता न गै ॥
यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनी ।
सब् विस्तार् गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनी ॥४३॥

हे लोक् हो अति गर्दछौ तिमि त शोक् यो शोक ता छाडि द्यौ ।
साक्षात् विष्णु इ हुन् भनेर मनले श्री रामलाइ जानि ल्यौ ॥
पृथ्वीको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ ।
साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥४४॥

यस् बात्ले ऋषिले मनुष्यहरुको खुप् मन् बुझाई दिया ।
पौंच्या राम् पनि कैकयी र दशरथ् जाहाँ बस्याका थिया ॥
हे मातर् वन जानलाइ अब ता आयौं जना तिन् चली ।
बीदा जान मिलोस् म जान्छु वनमा रिस् राग् रतीभर् न ली ॥४५॥

आज्ञा जान मिलोस् पिताजिकि पनी जान्छू सदा खुस् म छू ।
दुख् पाउनन् कि भनी पिताजिकन शोक् मन्मा न लागोस् कछू ॥
कैकेयी यति बात् सुनी खुसि भई बस्तर् पुराना दिइन् ।
लाया श्री रघुनाथले ति कपडा सीताजिले ता लिइन् ॥४६॥

यस्ता वस्तर म लाउँ आज कसरी भन्न्या मनैमा धरी ।
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
श्रीराम्ले मुटुरा गरी ति कपडा हात्मा जसै ता लिया ।
त्यो देखी कन राजपत्निहरु सब् रोया तहाँ जो थिया ॥४७॥

दुष्टे आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ ।
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैचि ऐल्हे लियौ ॥
कैकेयी सित बात् वशिष्ठ गुरुले येती गर्याथ्या जसै ।
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै ॥४८॥

सीताराम् वनमा चल्या रथ चढी लक्ष्मण् गया साथमा ।
वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस् रातमा ॥
सुन्दर् एक् तमसा नदी तहिं थिइन् तिन्का दुवै तिर् भरी ।
आयो लस्कर राम्जिका सँग बस्यो खाली अयोध्या गरी ॥४९॥

फिर्नन् ता रघुनाथ् सँगै फिरियला जानन् चलौंला सँगे ।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं काहाँ बसौंला न गै ॥
यस्तो सुर् प्रभुले बुझी कन तहाँ युक्ती गर्या छल्नको ।
प्रातःकाल भयो उठेर झटपट् मन्सुब् गर्या चल्नको ॥५०॥

फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया ।
फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया ॥
यस् रित्ले दुनियाँ फिराइ सहरै श्री राम् वनैमा गया ।
गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया ॥५१॥

सुन्दर् वृक्ष थियो ठुलो तिर विषे एक् शिंशपाको तहाँ ।
दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
फल् फुल् ली कन भेट्नलाई गुहजी आया बडा हर्षले ।
निर्मल् देह भयो तसै बखतमा श्रीरामका स्पर्शले ॥५२॥

मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् गर्याँ बिन्ति यो ।
सेवक् हूँ करुणानिधान् मकन होस् माया र मर्जी छ जो ॥
यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे आज ता ।
वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छू म ता ॥५३॥

कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनी ।
भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिज्ञा भनी ॥
मेरै हौ तिमि राज्य जो छ उ पनी मेरै छ भन्दा भया ।
बर्को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया ॥५४॥

जल्पान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया ।
लक्ष्मण्का सँगमा रही गुह पनी रात् भर् खडा भै रह्या ॥
सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ ।
साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढन् गो मन् महाँ ॥५५॥

भन्छन् लक्ष्मण्लाइ भाइ फजिती खुप् कैकयीले दिइन् ।
राजालाइ वशमा गरेर बहुतै हुर्मत् प्रभूको लिइन् ॥
लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल् भित्र ठंडा गरी ।
लाग्या सुन्न पनी तहाँ गुहजिले तन् मन् वचन् सब् धरी ॥५६॥

दाता को छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको ।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
कर्ता हूँ पनि भन्नु छैन अभिमान् जन्ले न गर्नू कहीं ।
कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं ॥५७॥

धीरा भै रहनू विपत्ति सहनू कस्तै परुन् ता पनी ।
कैल्हे मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजिक्मा रही ।
गङ्गा तर्न हुकुम् भयो प्रभुजिको ताहाँ उज्यालो भई ॥५८॥

फिर्दामा म पुजा अवश्य गरुँला सामग्रि ठूलो गरी ।
गङ्गे आज म जान्छु घोर वनमा केवल् नमस्कार् गरी ॥
यस्तो बिन्ति गरी सितापतिजिका साथै चलिन् पार् तरी ।
आज्ञाले घरमा फिर्या गुह पनी भक्ती मनैमा धरी ॥५९॥

गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ ।
तेस्रो वास् रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ ॥
चौथो वास् रघुनाथको हुन गयो आश्रम् भरद्वाजको ।
राम्ज्यूको ऋषिले गर्या स्तुति तहाँ सुर् जानि काम्काजको ॥६०॥

पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी ।
राम्ज्यूलाइ यमुनाजि तारि ति कुमार् साँझ्मा त फर्क्या पनि ॥
सीताराम् पनि चित्रकुट् पुगि गया वाल्मीकि बस्थ्या जहाँ ।
वाल्मीकी कन दण्डवत् गरि बहुत् आनन्द मान्या तहाँ ॥६१॥

वाल्मीकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ ।
कुन् जग्गा बढिया छ सब् तरहले होला सुबिस्ता कहाँ ॥
सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले गर्याका कुरा ।
सोही माफिक बिन्ति बात् पनि गर्या वाल्मीकि छन् झन् पुरा ॥६२॥

जान्दैनन् महिमा बडा ऋषि पनी जस्का त एक् नामको ।
यस्ता हौ रघुनाथ् हजूर् कन यहाँ क्या काम् असल् ठामको ॥
सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर् कहाँ ।
विस्तार् एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ ॥६३॥

व्याधा हूँ अधिको म सप्तऋषिका निर्मल् कृपाले गरी ।
वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम्नाम उल्टा गरी ॥
उल्टै नाम कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ ।
गङ्गाका र इ चित्रकूट गिरिका बिच्का जगामा रहू ॥६४॥

वाल्मीकि ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया ।
गङ्गाका र ति चित्रकूट गिरिका बिच् पारि बस्ता भया ॥
गङ्गा देखि सुमन्त्र फर्कि दशरथ् जाहाँ बस्याका थिया ।
ताहाँ जल्दि गयेर जो छ समचार् बिल्कुल् सुनाई दिया ॥६५॥

बर्को दूद घसी जटा मुकुट झैं बाँध्या दुवै भाइले ।
फिर् लौ जा भनि यो हुकुम् तहिं दिया राम्ले सिता माइले ॥
गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ ।
छोड्याँ देख्न जसै रुँदै रथ लिई दौडेर आयाँ यहाँ ॥६६॥

सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको ।
हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको ॥
यस्ता बात् गरि राम् गया भनि सबै बिस्तार् सुनाया जसै ।
कौशल्या दशरथ्जिलाइ रिसले वाग्बाण् बजारिन् तसै ॥६७॥

वाक्शर्ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती ।
भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरिर्ले गती ॥
ऐल्हे मर्छु सराप् पनी छ तिमिले खुप् पुत्रशोक्ले गरी ।
जस्तै हामि मर्यौं उसै गरि मर्या ठूलो विपत्ती परी ॥६८॥

येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी ।
तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी ॥
सब् विस्तार सरापको कहि सकी हा राम सीता गरी ।
प्राणै त्याग् दशरथ्जिले जब गर्या खल्बल् पर्यो तेस् घरी ॥६९॥

प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दरबार् गया ।
तेल्मा ती दशरथ्जिलाई धरि फेर् छोरा झिकाई लिया ॥
चाँडै आउनको वशिष्ठ गुरुको आज्ञा छ भन्न्या सुनी ।
दूतैका सँग लागि भाइ कन ली आया भरत्जी पनि ॥७०॥

कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ ।
सब् वृत्तान्त गरी भरत् कन त सब् विस्तार् सुनाइन् तहाँ ॥
सून्या शोक् मनमा पर्यो भरतका साह्रै रिसाया पनी ।
पापी हौ तिमि कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥७१॥

कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया ।
कौशल्याजि जहाँ थिइन् तहिं रुँदै धाउँदै भरत्जी गया ॥
हे मातर् मनमा कदापि न परोस् मत् छैन मेरो रती ।
पाप् लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मार्या जति ॥७२॥

बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्जी तहाँ ।
मन्त्रीवर्ग समेत् वशिष्ठ गुरुजी पाँच्या नजिक्मा तहाँ ॥
देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी ।
शोक् गर्नु बढिया त छैन किन शोक् गर्छौ महाराज् भनी ॥७३॥

नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरूले हर्या ।
सब् आज्ञा गुरुको लिई भरतले काम्काज् पिताको गर्या ॥
राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी ।
तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी ॥७४॥

माता मेरि त राक्षसी सरि भइन् इन्का नजिक्मा यहाँ ।
बस्नू योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ ॥
यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी ।
मालुम् ता गुरुमा थियो तर पनी भन्छन् उचित् हो भनी ॥७५॥

बाबाको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई ।
चौधै वर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर् भई ॥
सीताराम् यहि बातले वन गया याहाँ हजुर्ले पनी ।
गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥७६॥

यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ ।
उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ ॥
कीर्तीमा अपकीर्ति पारि कसरी राज् गर्नु याहाँ बसी ।
दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥७७॥

गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ ।
फगत् एक् कैकेयी यहिं बसि रहुन् छोड्दछु यहाँ ॥
फलाहारी हुन्छू सिर भरि जटा धारि वनमा ।
म भोली जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥७८॥

प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा ।
म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया ।
भरत् भोली बेरै उठि कन सबेरै हिंडि गया ॥७९॥

सबै माता भ्राता गुरु सहित सब् फौज पनि ली ।
फगत् सीताराम्का चरणतलमा चित्त पनि दी ॥
भरत् गंगा पौंच्या गुहजि कन शङ्का हुन गयो ।
ठुलो लस्कर् देख्या न बुझि कन तार्नै डर भयो ॥८०॥

लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या ।
भनी मन् भै लस्कर्हरु कन तयार् हौ पनि भन्या ॥
ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछु भनी ।
तहाँ भेटी राखी नजर तिर हेर्या कछु पनी ॥८१॥

जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी ।
कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
जसै सिर् पाऊमा गरि ति गुहले ढोग् पनि दिया ।
भरत्ले अङ्कैमाल् गरुँ भनि उठाई कन लिया ॥८२॥

भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ ।
सुत्याको स्थल् कुन् हो म कन कहु जान्छु अब तहाँ ॥
गया विस्तार् पाई रघुपति सुत्याका शयनमा ।
भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥८३॥

अहो मेरा खातिर् वन वन सिताजी पति सँगै ।
कुशासन्मा सुत्छिन् न त यसरि सुत्थिन् अघि कतै ॥
अहो धिक्कार् मेरी जनमजननी कैकयि भइन् ।
इनैले गर्दैमा पति सँग सिताजी वन गइन् ॥८४॥

कहाँ छन् सीतानाथ् कति पर गया भेट्तछु कहाँ ।
छ केही मालुम् ता म कन कहु जान्छू अब तहाँ ॥
बताया जाहाँ छन् भनि ति गुहले राम् कन पनी ।
गुहैका सम्चार्ले खुसि पनि भया भेट्तछु भनी ॥८५॥

सब् विस्तार बताइ ताहिं गुहले गंगाजि तारी दिया ।
ताहाँ देखि भरत् चली पुगि गया जाहाँ भरद्वाज् थिया ॥
एक् दिन् ताहिं मुकाम् गर्या भरतले सम्मान् ऋषीले गर्या ।
बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् पर्या ॥८६॥

भोली बेर सबेर लस्कर लिई बीदा ऋषी थ्यैं भया ।
कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया ॥
खुस् भै लस्कर चित्रकूट गिरिका पौंच्या नजिक्मा जसै ।
खोज्या ताहिं भरत्जिले अघि गई डेरा प्रभूको तसै ॥८७॥

डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या ।
श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
भन्छन् धन्न्यै रह्याँछू सहज न मिलन्या पाउका छाप देख्याँ ।
ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥८८॥

यस्तो बोल्दै प्रभूका चरणधुलि विषे भक्तिले लट्पटींदै ।
कैल्हे पुग्छू कहाँ छन् भनि कन मनले दस् दिशा दृष्टि दींदै ॥
जाँदा ताहीं भरत्ले प्रभुजि कन जसै नेत्रले देख्न पाया ।
ख्वामित्लाइ आज पायाँ भनि कन खुसिले पाउमा पर्न धाया ॥८९॥

देख्या पाऊ पर्याको गह भरि बहँदा अश्रुधारा धर्याको ।
सब् राज्यै तृण् बरोबर् गरि कन बहुतै आफुमा मन् गर्याको ॥
यस्तो देखी कृपाले भरत कन तहाँ काखमा राखि लीया ।
यस्तो मन् हो भरत्को बुझि रघुपतिले खुप् कृपादृष्टि दीया ॥९०॥

श्री सीतापति माइका चरणमा राख्या र सिर् फेर् पिता ।
काहाँ छन् किन आज देख्तिन यहाँ क्या गर्दछन् छन् कता ॥
भन्दै खोजि गर्या पिता कन तहाँ श्री रामजीले जसै ।
सब् विस्तार वशिष्ठले भनि दिंदा शोक् गर्न लाग्या तसै ॥९१॥

गंगास्नान गरी तिलाञ्जलि दिया फेर् पिण्डदानै पनी ॥
फल् फुल्ले रघुनाथले तहिं दिया पाउन् पिताले भनी ॥
तेस् दिन्मा उपवास् गर्या जब बित्यो रात् फेरि गंगा गया ।
गंगास्नान् गरि फेर् फिरेर मढिमा आयेर बस्ता भया ॥९२॥

तहाँ सीताराम्का चरणतलमा सिर् पनि धरी ।
अयोध्यै लैजान्छु भनि कन ठुलो मन्सुब गरी ॥
भरत् बिन्ती गर्छन् किन रघुपते आज वनमा ।
हजुर्ले आयाको म कन अति ताप् हुन्छ मनमा ॥९३॥

ख्वामित् हजुर्को म त दास पो हूँ ।
यो राज्य गर्ना कन योग्य को हूँ ॥
यो गादि ता याहिं हजुरको हो ।
मैले त सेवा गरि बस्नु पो हो ॥९४॥

छोरा हुनन् यज्ञ बहुत् गरीनन् ।
सम्पूर्ण लोक्को पनि ताप् हरीनन् ॥
तब् पो ति छोरा सित राज्य छाडी ।
जानू असल् हो त छँदै छ झाडी ॥९५॥

वेला त यो होइन जान वन्मा ।
मेरा त यै निश्चय हुन्छ मन्मा ॥
जाऔं घरै फर्कि सधाइ जावस् ।
मेरी इ माता सित रिस् न आवस् ॥९६॥

यस्ता प्रकारले गरि बिन्ति गर्दै ।
आँखा भरी आँसु बहूत धर्दै ॥
रोया भरत्ले जब पाउमा गै ।
बोल्या प्रभूले पनि खूसि मन् भै ॥९७॥

हे भाइ गर्छौ किन आज जिद्दी ।
फिर्नू असल् छैन र काम् न सिद्धी ॥
जान्छू म वन्मा तिमि फर्कि जाऊ ।
यस् राज्यको काम् तिमिले चलाऊ ॥९८॥

राम्ले वनै गै मुनिभेष धर्नू ।
याहीं भरत्ले बसि राज्य गर्नू ॥
भन्न्या पिताको जब सुन्न पायाँ ।
आज्ञा उसैले वन जान आयाँ ॥९९॥

ई बात् भरत्ले जब सुन्न पाया ।
फेरी चरण्मा परि बिन्ति लाया ।
हे नाथ् पिता हुन् मतिहिन् भयाका ।
स्त्रीका त साह्रै वशमा पर्याका ॥१००॥

उन्ले भन्याथ्या पनि राज्य छाडी ।
जानू असल् होइन आज झाडी ॥
ख्वामित् बहुत् बिन्ति छ फर्कि जाऊँ ।
फर्कन्न भन्न्या त जवाफ् न पाऊँ ॥१०१॥

यस्तो भरत्ले जब जिद्दि लीया ।
उत्तर् प्रभूले पनि फेरि दीया ॥
फर्कन्न भैय्या तिमि फर्कि जाऊ ।
पिताजिलाई पनि दोष् न लाऊ ॥१०२॥

खुप् सत्यवादी त पिताजि थीया ।
साँचै हुनाले वरदान दीया ॥
सो पूर्ण गर्ना कन जान्छु वन्मा ।
साँचो कुरा हो बुझि लेउ मन्मा ॥१०३॥

उत्तर् प्रभूको सुनि दुःख मान्या ।
फेरी चरण्मा परि बिन्ति लाया ॥
फिर्नू हवस् ख्वामित बिन्ति गर्छु ।
यस् दण्डकारण्य विषे म जान्छु ॥१०४॥

यस्ता वचन् सूनि भरत्जिलाई ।
फेरि हुकुम् भो तिमि फर्क भाई ॥
यो राज्य साट्या पनि हुन्छ झूटो ।
हे भाइ गर्छौ किन आज भूटो ॥१०५॥

हुकुम् यस्तो सूनी भरत पनि राम्का चरणमा ।
परी बिन्ती गर्छन् म त रघुपते छू शरणमा ॥
चरण् बाहिक् एक् छिन् रहन पनि ताप् हुन्छ मनमा ।
न फर्क्या ख्वामित्का पछि पछि म ता जान्छु वनमा ॥१०६॥

न ता फर्की जान्या न त म कन लान्या वन पनी ।
भन्या मर्छू ख्वामित् अब अरु कुरो केहि न भनी ॥
भनी आसन् बाँधी जब मरणमा निश्चय धर्या ।
खुसी भै श्री रामले पनि अति दयालू मन गर्या ॥१०७॥

दिया सूचन् राम्ले गुरु कन बुझाऊ तिमि भनी ।
गुरूले एकान्तै लगि कन भरत्जी कन पनी ॥
बुझाया बात् खोली कन सुन इ जो हुन् रघपति ।
जगन्नाथ् साक्षात् हुन् त्रिभुवनपतीका अधिपति ॥१०८॥

अघी ब्रह्माजीले सकल भुमिको भार् हर भनी ।
स्तुती गर्दा खुस् भै सुन म हरुँला भार् पनि भनी ॥
भन्याको हूनाले उहि वचन पालन् गरुँ भनी ।
प्रभू जान्छन् वन्मा पछि त सुन फिर्छन् घर पनी ॥१०९॥

प्रभूकै इच्छा हो नतर कसरी कैकयि पनी ।
वनै जाउन् भन्थिन् प्रभु कन रती तुल्य न गनी ॥
कुरो यस्तो जानी न गर तिमि यो आग्रह यहाँ ।
भूमीको भार् टारी कन पछि त जान्छन् प्रभु कहाँ ॥११०॥

रावण् मारि उतारि भारि भुमिको फिर्छन् जगन्नाथ् भनी ।
यस्ता हुन् रघुनाथ् भनेर गुरुले खोलेर गुह्यै पनी ॥
सब् विस्तार गरी दिया र गुरुका वाणी सुनी खुस् भया ।
फर्क्यानन् रघुनाथ भनी मन बुझ्यो राम्का नजिक्मा गया ॥१११॥

हे नाथ् तत्त्व सुन्याँ म फिर्छु अब ता जान्छू अयोध्या महाँ ।
पूजा गर्न दिनू हवस् हजुरका एक् जोर् खराऊ यहाँ ॥
यस्तो बिन्ति गरी प्रणाम् वरिपरी घुम्दै भरत्ले गर्या ।
आफ्ना साफि खराउ दी प्रभुजिले सब् ताप् भरत्को हर्या ॥११२॥

फेरी बिन्ति गर्या तहाँ भरतले लौ फिर्दछू फिर्न ता ।
चौधे वर्ष समाप्ति पारि न फिर्या मन्र्याछु साँचै म ता ॥
यो बिन्ती सुनि लौ भनी भरतका साम्ने हुकुम् भो तहाँ ।
कैकेयी रघुनाथका चरणमा रूँदै परिन् खूप् तहाँ ॥११३॥

हे नाथ् दुर्बुद्धि आई अति फजिति दियाँ राज्यको घात् गराई ।
मायाले मोह पार्दा मन पनि भुलि गै मेरि बुद्धी हराई ॥
क्यारूँ नाथ् आज रुन्छू विपति परि गयो आज यो चेत पायाँ ।
कठ्पुतली झैं नवाउँछिन् त्रिभुवनपति सब् धन्य छन् तिम्रि माया ॥११४॥

मेरो माया छ छोरा जन धनहरुमा यो सबै खैंचि देउ ।
दुर्बुद्धी हो पछी ता शरण परि भनी खुप् कृपा राखि लेऊ ॥
कैकेयी येहि पाठ्ले स्तुति गरि हरिका पाउमा सीर धारिन् ।
हे नाथ् आई शरण्मा परि भनि करुणा राख यो बिन्ति पारिन् ॥११५॥

हाँसी सीतापतीले पनि अभय दिया जो भनायाँ भन्यौ सो ।
दोष् तिम्रो छैन यस्मा बुझ तिमि मनले मेरि इच्छा त हो यो ॥
मन्मा सन्तोष पाउ म कन दिन दिनै सम्झँदै दिन् बिताऊ ।
छुट्नन् सब् कर्म तिम्रा रतिभर मनमा शोक् न राखेर जाऊ ॥११६॥

कैकेयी करुणा बुझी खुसि भई बीदा प्रभु थ्यैं भइन् ।
श्री राम्का चरणारविन्द मनले भज्दै अयोध्या गइन् ॥
सब् लस्कर्हरु ली भरत् पनि बिदा भै फेर् अयोध्या गया ।
सब् लस्कर्हरुलाइ राखि घरमा आफू फरक् भै रह्या ॥११७॥

नन्दीग्राम्मा सर्याका भुमिशयन गरी रोज् फलाहार् गर्याका ।
एक् गट्ठा सब् जटाको गरि कन ति खराउ गादि माथी धर्याका ॥
गर्थ्या सब् राज्यको काम् त पनि सब कुरा गादिमा बिन्ति गर्दै ।
यस्तै रित्ले बिताया दिन भरतजिले राममा चित्त धर्दै ॥११८॥

केही दिन् चित्रकुट्मा बसि कन रघुनाथ् वाल्मिकी थ्यैं बिदा भै ।
जान्छू वन्मा म फिर्छू भनि कन खुसिले अत्रिका आश्रमै गै ॥
अत्रीका पाउमा सिर् धरि कन म त हूँ राम् भनी नाम् बताया ।
श्रीराम्का वाणि सुन्दा मन अति खुसि भै अत्रिले हर्ष पाया ॥११९॥

पूजा सीतपतीको गरि कन ऋषिले पाउमा बिन्ति लाया ।
वृद्धा छिन् पत्नि मेरी सकल विषयमा एक् रती छैन माया ॥
भीत्रै छन् आज दर्शन् दिन मढुलि विषे भीत्र सीताजि जाउन् ।
सीताजीलाइ पाइ अब त ति बुढिले जन्मको सार पाउन् ॥१२०॥

अत्रीको बिन्ति सूनी हुकुम पनि दिया लौ सिते भीत्र जाऊ ।
अत्रीकी पत्नि भेटी कन अब तिमिले जल्दि फर्केर आऊ ॥
आफ्ना नाथ्को हुकुम् यो सुनि कन खुसि भै भीत्र सीताजि जाई ।
भेटिन् वृद्धा बहुत् भै कन बसि रहन्या अत्रिकी पत्निलाई ॥१२१॥

सीताले पाउमा सिर् धरि कन बहुतै प्रेम् बुढीमा बढाइन् ।
जोर् जोर् कुण्डल् र सारी दिइ कन बुढिले अंगराग् फेर् चढाइन् ॥
यस्ले शोभा निरन्तर दृढ पनि रहला यो पनि बिन्ति लाइन् ।
सीताजी लाइ आशिष् दिइ ति अनसुयाले बहुत् हर्ष पाइन् ॥१२२॥

सीता र लक्ष्मण सहित् गरि रामलाई ।
भोजन् म दिन्छु भनि खुप् सित चिज् बनाई ॥
भोजन् गराइ रघुनाथकि जानि माया ।
ताहाँ सपत्नि भइ रामकि कीर्ति गाया ॥१२३॥

इति श्रीआयोध्याकाण्ड ।