Prometheus/bhumika
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस महाकाव्य नेपाली पाठकहरूको समक्ष प्रस्तुत छ ।
स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय भाव-प्रवाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको विकाससँगसँगै नेपालीमा पनि देखा पर्यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध यूनानी मिथ हो– 'अग्निनगर्भटाइटन् देवता' । मानवजातिको लाभका लागि यिनले अग्नि चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय वस्तुको रूपमा अंगीकार गरेर प्रमिथसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।
कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमिथसको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति[1] मा क्रमशः प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगतिमा छापिएको अंशको संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । विज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।
यहाँ भएको प्रमिथसको पाण्डुलिपिका मूलकापीहरू जम्मा ५ थान छन् र ११ सर्ग । दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको बुझिन्छ । यस्तै 'षष्ठ सर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि छैन, माथिका केही पृष्ठ पनि नभएकोले ३३ औँ श्लोकदेखि मात्रै छन्– ११ देखि ३२ सम्मका श्लोकहरू छैनन् । २३ लाई ३२ पारेर सच्याउँदै लगिएको छ र सच्याइएअनुसार नै छापेका छौँ । सर्ग समाप्त भएपछि 'इति प्रमिथस…' लेख्ने गरिएको छ । अष्टम र नवम सर्गमा कतै पनि 'इति प्रमिथस…' आदि नलेखिएकोले यी दुवै सर्ग अपूर्ण हन् र अगाडिपछाडिका केही पत्र हराएको अनुमान गर्न सकिन्छ ।
यस प्रकार नभेटिएका श्लोक हुन्–
(१) चतुर्थ सर्गको १ देखि १३ सम्म
(२) षष्ठ सर्गको ११ देखि ३२ सम्म
(३) अष्टम सर्गको १९ देखि पछिका
(४) एकादश सर्गको ३९ देखि पछिका
उपर्युक्त श्लोकहरू खोजीनिधी गर्दा पनि भेट्टाउन नसकेकोले गोरखापत्रमा समेत विज्ञापन गर्यौँ, तर उपलब्ध हुन सकेन । त्यसैले हाललाई प्राप्त पाण्डुलिपिका मूलकापीबमोजिम नै प्रकाशित गर्न उचित ठान्यौँ । अपूर्णताको यो अप्ठेरो खिरिलोपना सबैलाई बिझ्न सक्छ । तैपनि भाव-हत्या वा सन्दर्भ-विहीनताको कटुता पढ्दाखेरि त्यतिको लाग्दैन भन्ने हाम्रो धारणा छ । देवकोटाको गरिमामय कृतित्वको परम्परालाई हलुंगो पार्ने किसिमको कृति होइन भन्ने विश्वास गरेर नै केही मात्रामा अपूर्ण भए पनि प्रकाशित गरेका छौँ । भविष्यमा कोही सज्जनबाट सो अंशहरू प्राप्त भएमा निश्चय नै समावेश गर्न सक्नेछौँ । पाइएमा सूचित गर्नुहुन हाम्रो विनम्र अनुरोध पनि छ ।
कृष्णचन्द्रसिंह प्रधान
आयोजक
साहित्य विभाग
१ वैशाख २०२९
कमलादी
- ↑ वर्ष १, अंक २ देखि ५ सम्म