Mhendu/panchama
[१]
सेर्पा राङ्जा राम्रो
अग्लो गोरो हाम्रो
लडाइँमा चाम्रो !
[२]
मिर्मिर जूँघाओठे !
बाघलाई मार्ने खुकुरी
हान्छ एकै चोटे !
हँसमुख तामाङ भोटे ॥
[३]
बीँडमा खोपी खुकुरी
सिरुमापाते खुकुरी !
तेर्सो भिर्छ, पारेर
दुश्मन शिरको टुकुरा ।
त्यो ता कैल्यै हटेन
लडाइँमा पटक्कै
वीरको छाती फर्कायो
उसको अगि लड्ने को ?
इन्द्रै पनि थर्कायो ।
[४]
कपाल माथि फर्कायो ।
तामाङ टोपो कर्कायो
आँखा ठूला तर्कायो
दुश्मन सारा थर्कायो !
[५]
गालामा यौटा चोट छ !
लड्दा लब्सी बोटले
दिएको चिनो खोट छ ।
[६]
रक्सी खान्छ अघोरको
लाग्ने हुन्छ घनघोरको
खुकुरी ली नाच्छ
मुटु थर्काइ कमजोरको ॥
[७]
देख्यो त्यल्ले म्हेन्दुलाई
च्याखुरा झैँ इन्दुलाई ।
राजहाँसले सिन्धुलाई ।
[८]
छाती खोली कबोल्छ
"मेरी म्हेन्दु को बोल्छ ।
खुकुरीको धारले
त्यसको गर्धन म मोल्छ ॥
[९]
गुंजेलामा गएर
राङ्जालाई भन्दियो ।
गुम्बु माग्छ-म्हेन्दु यो
लान खोज्छ भन्दियो ॥
[१०]
तादी नदी तीरमा
फूलको हाँगा शिरमा
कहालीको भीरमा
गुम्बु म्हेन्दुसँगमा छन् !
[११]
भेट्टाएर राङ्जाले
हाँक्यो गुम्बु मजाले !
म्हेन्दु ताक्ने भाङ्जाले ।
[१२]
म्हैन्दु देखी तर्सिइन्
आँखामा आँसु बर्सन्छन् ।
हरामीको डरले
मुटु कामी थर्कन्छन् ॥
[१३]
खुकुरी ली हातमा
नाङ्गो झलझल वातमा
उफ्र्यो राङ्जा घाटमा ।
"लौ आ" भन्छ ठाँटमा ॥
[१४]
गुम्बु भयो अकमक्क
थाहा के र ? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु
टुलटुल आँखा पिलिक्क ।
[१५]
म्हेन्दु छेकी बस्दछिन्
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्बु पाउँदा ॥
[१६]
रोइन् म्हेन्दु फूल झैँ
विन्दु शीतको लव जल झैँ
हात जोरी भन्दछिन्-
स्वरले खोला कलकल झैँ !
[१७]
"मेरो विन्ति नलड
पीर्ति दुइटै दिल पढ ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पो !
[१८]
पीरतीको बाटोमा
लड्छौँ हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगेको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।
[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रँग हुन्छ !
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ !
[२०]
ईश्वर हाँस्छ वनवनमा
जून लिपेको आँगनमा
झल्की उठ्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिंगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा !
[२१]
मुना मुना के भन्छ
आँधी खपी नरम छ !
लडाइँ गर्ने बाँझको बोट
ड्याङ्र्याङ् डुङ्ग्रुङ् शरम छ !
[२२]
फूलको नसा के भन्छ
चोट लाए पाप हुन्छ ।
पृथिवीको छातीमा
ढुङ्गे दिललाई श्राप हुन्छ ॥
[२३]
फूल सारा क्या रुन्छन्
मानिस दिलले नसुन्छन्
धूलो वर्षाले धुन्छिन्
मुर्दा आँखा सुनसान छ !
[२४]
मेघ झैँ मर्द गर्जन्छ
हाम्रो आँसु वर्षन्छ !
लडाकाले शान्तिको
ढुक्कुर मुटु तर्सिन्छ ।
[२५]
भित्र चरी मूर्छा छ
बाहिर मुङ्गो वर्षा छ
काँप्छिन् पृथ्वी धाँजा गै
छातीमा दु:खको धर्सा छ !
[२६]
फूल यौटा बनाइदेऊ
द्यौता त्यल्लाई भन्नेछु
च्याती च्याती मार्नेलाई
राक्षस मैले गन्नेछु ॥
[२७]
दिलमा मासु नपल्हाई
कल्ले लिने लौ मलाई ?
ढुङ्गो पीर्ति गर्दैन
पीर्ति गर्ने मर्दैन !
[२८]
झगडा यो के लागि ?
माटो खरानी लौ मागी
चाहे जिउ यो छोड्द्युँला
ढुङ्गो जस्तो मान्छेको
मुखलाई आँखा मोड्दिउँला !
[२९]
सुनको शहर माथि छ
नरम दिल पो साथी छ ।
फुली आएँ बोलाउन
मनमा तिम्रो राती छ ॥
[३०]
ईश्वर फूलमा वेद फुल्यो
सुगन्धमा सत् झुल्यो !
किरण भई भेद खुल्यो !
चरी बोलमा प्रेम बोल्यो
यस्तो संसार पाएर
अन्धो आँखा क्या पोल्यो
[३१]
आँसुभरी ले विन्ति
वीर है मेरो बेगिन्ती
प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन् ती ।
[३२]
मेरो माटो देखेर
सिँगारेका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुझ्ने मलाई पारी आ ।
अर्को जनम खेलाउने ।
[३३]
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चूलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो !
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥
[३४]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन !
आ लड् आ भिड् ! भिड्दैन ?
अझ त चीसो रगतको
तेरो टाउको गिँड्दैन ।
थरथर सिङ् हे छेरुवा
कानलाई लाजले छेड्दैन ?
[३५]
म्हेन्दु भन्छिन् रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अझ राङ्जाजी
शरम धरम सब फाली ?"
[३६]
"हे वीर । हेर हेर एक फेरा
चाँदी चूली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !
[३७]
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥
[३८]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥
[३९]
शरम छैन के तेरो ?
माटो लान्छस् यो मेरो
मुटुमा मेरो चोटलाई ?
काटे काट् लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई !
[४०]
"लौ हेर ज्यान यो पर बन्दी
म झैँ आइमाई वीर हुन्थी ।
सह्मानलाई जो रुन्थी ?
हेलिन्छु हेर तादीमा
पछि लाग्ने वीरलाई
राख्नेछु सधैं गादीमा !"
[४१]
यत्ति भनी लमकोसे
हाम्फालिन् ती जलमा ।
यौटा बस्थ्यो गादीमा,
एक झिमिक्मा कुदेर
हाम्फाल्यो त्यो भलमा,
आर्को रह्यो थलमा ॥
[४२]
लहर बोल्छन् तादीका
"म्हेन्द-गुम्बु" कहानी ।
सुनिन्छ भन्छन् तीरमा
हेलम्बुकी वनरानी ॥