Mhendu/mhenduko-bishayama
म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन् लिएर चार पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन् । केही छन्द त संस्कृतका विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन् । यस किसिमको लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास मुनामदन थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा सौन्दर्यका रसिला झल्याकझुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई नयाँ दिशातिर लैजान खोज्ने, बिउँझाउने घचघच मात्र हो । यो गीतिकाव्य अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्केत गर्दछ । युद्धभन्दा बलिदान ठूलो छ– त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको महान् विजय हो र प्रेमपथ नै सर्वोत्तम पथ हो भन्ने झल्केला । तर सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी फाल्यो लहरले । मोती छ कि छैन वा कति छन् यो विशेषज्ञले हेर्ला । बजारमा पुर्याएर मोलहरूमा झगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई छोडिदिऊँ । यौ एक दिनको लहडी लहरको सिपीको फेंक हो ।
चैत्र ३१ गते २०१५ लक्ष्मीप्रसाद देवकोटा
कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी