Jump to content

Luni/dda

From Nepali Proofreaders
Revision as of 02:15, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Luni.pdf" from=70 to=71/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
(द)

गुलाफ अत्तरभन्दा मीठो
सत्‌को मानो सत्‌को पीठो,
बिजुलीभन्दा सत्‌ नै छिटो
श्यावा, श्यावा, श्याब्बो !
गुलाफ जलमा चिन्ता जरो
मखमलभन्दा पाखी धरो
सितारभन्दा वनको चरो
श्यावा ! श्यावा ! श्याब्बो !
सुनको दरबारभन्दा झुप्रो
व्याङचे सानो आलटाल कुप्रो,
तारामण्डल सत्‌को थुप्रो
श्यावा ! श्यावा ! श्याब्बो !
बाहिरी रीति झूटा सारा
दिलको बाटो सत्‌को प्यारा
आखिर सत्‌को सबको चारा
श्यावा ! श्यावा ! श्याब्यो !
धर्मका बन्धन सत्‌का हाम्रा
कालले हुन्छन्‌ झूटा चाम्रा
दिलका बन्धन साह्रै चाम्रा
श्यावा ! श्यावा ! श्याब्बो ।

नरम हातका सुसारभन्दा
खस्रा सत्‌का सुसार राम्रा
कर्‍याङकुरुङ भुवाभन्दा
सेतो सफेद तुषार हाम्रा
श्यावा ! श्यावा ! श्याब्बो !
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा झल्की ज्वाला
सम्झिँदैमा आइजाला ।
श्यावा ! श्यावा ! श्याब्बो !

॥ इति ॥