Jump to content

Luni/dha

From Nepali Proofreaders
Revision as of 02:14, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Luni.pdf" from=52 to=54/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
(ढ)

(१)
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
आज जिन्जी, ह्मेन्दो वनमा
फूल फूल डोलाउँछ ॥

(२)
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
आज जलथल बिजुलीले
कसले झल्काउँछ

(३)
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
सुनको भर्‍याङ सुन खुड्किला
कल्ले लगाउँछ ?

(४)
"आज जिन्जी, चूली चूली
कल्ले रङ्गाउँछ ?
आज कल्ले गुलाफ रङ्गको
जलप लगाउँछ !

(५)
"आज जिन्जी, छाँगा छहरा
कल्ले नचाउँछ ?
आज जिन्जी, सुनको मन्दिर
कल्ले बनाउँछ ?

(६)
"जिन्जी, आज हजार वनको
चरी तारमा झीनो
किरण धनु कस्तो भनूँ
लो को बजाउँछ ?

(७)
"आज जिन्जी, पहाडभरि
फूल को लगाउँछ ?
आज जिन्जी, कल्ले मलाई
पारि बोलाउँछ ?

(८)
पालुवाको ओठले जिन्जी !
बोल्न को आउँछ ?
मेरो पयर हल्का पारी
फूल को बिछाउँछ ?

(९)
"ह्वैन हजूर सुनकी गजुर
हीरा जडेकी ।
खालि जरो रन्की निधार
तन्द्रा परेली ॥"
जिन्जी रुन्थी आँखा भर्दै
घुँक्का निकाली ।
आन्जा हेर्थी लूनी रानी
आँसु खसाली ॥