Jump to content

Luni/yna

From Nepali Proofreaders
Revision as of 02:13, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Luni.pdf" from=39 to=45/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
(ञ)

(१)
ह्लासा सारा सुन घर छ ।
ञूँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
हीरा हीरा झर्छन्‌ रे
छरछखर छङछङ छाँगामा ॥

(२)
कस्तूरीले वन बास्छ
'चूजीक्वाँग' मा फूल हाँस्छ
'सिङ डोङ्कार' मा सुन झल्की ।
चाँदी त तारा झिलझिल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
घाम र जूनमा क्या टल्की ॥
जिम्बु वनमा ढुक्कुर छन्‌,
साँढे टाउके कुकुर छन्‌
मखमल भुवा बिराला ।
गुलाफ बारी गालामा,

कमल हिउँ छालामा
रजहाँसका चालामा
नाच्छन्‌ परी अप्सरा
उकाला र ओराला ॥

(३)
"सुन जलपकी परखालकी
बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन्‌ रे !
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
भन्छन्‌ हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
झलझल सुनको राशमा ॥

(४)
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
भन्छन्‌ लामा ह्लासाका
खम्बामा जसका हीरा छन्‌ ।
मोती मुगा खासाका ।

(५)
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
धपधप बल्ने दिन– आँखा
सूर्य नामका सुहाई ॥

सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुब्छन् भन्छन्‌ लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा झलमल छ ।
रातमा सुत्छन्‌ झूल तानी
नीरमा हीरा झलमल छ ॥

(६)
ह्लासाका छाना टल्कन्छन्‌
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्‌
दुईबार गजुर कुनामा ॥

(७)
गालामा आई फूल फुल्छन्‌
बिजुली छन्‌ आँखामा ।
कस्तूरी पो मगमग छन्‌,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्‌
अनार-मुना भाषामा ॥

(८)
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका फुलफुल सब बोल्छन्‌
भुइँ छ पन्ना लिपेको ।

डाँफेका आँगमा इन्द्रेणी
वनदेवीले छिपेको ।
फूलले लाउँछन्‌ यारिन्‌ रे !
सपनाले तारावन–
बाट रुँदै टिपेको ।

(९)
हिमाल दरबार जून[1] रानी
पुरुष हेरी गल्छिन्‌ हे ।
पन्ध्र दिनलाई गलेर
एक दिन सुती फुल्छिन्‌ रे !
राम्रा आइमाई अनि त
हेर्दै गोल गोल बन्छिन्‌ रे ।

(१०)
तर होस्‌ ह्लासा सुन सुनको
सुनको भेडा सुन ऊनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिक्‌सिक्‌ लाग्दो मासु छ ॥

(११)
मखमल गद्दी नीलोमा
सुनका प्याला भर्दछन्‌ ॥
चामर डोलाई केटीले
गुलाफ अत्तर छर्दछन्‌ ॥

नागको मणि राखेर
अँध्यारोलाई हर्दछन्‌ ।
हजार लामा राजा झैँ
पयरतिर पर्दछन्‌ ॥

(१२)
बज्दछ झिन झिनतारे ।
कोयलकण्ठी गानामा ।
चीनिया रेशम लाएका
ह्लासा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हावामा फूल झैँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा
मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्‌
एक इशारा लानामा !

(१३)
अनार सर्बत बुलबुलबुल
सुनका प्याला झल्कन्छन्‌ ।
अत्तर झारका बास्नाले
बैँसका अधर बल्कन्छन्‌ ।

(१४)
केलाएका झार भुवा
सुनका तारले फड्कन्छन्‌ ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥

(१५)
तर छन्‌ रानी लूनीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
बादल हाली ती मनमा ।

(१६)
सम्झिन्‌ उल्टो 'लूनी' ले
चाङना बस्ने झोपडी
तारामण्डल झ्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी झुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घैँटे जलको लडिबुडी ॥

(१७)
कोसको कुना झल्केको
कमल थोपा उज्यालो
देखेर मन मन आँजाले
भन्दछे– (हाम्री रानीको
चालाले भन्छ पानीको,
उल्टो पो पर्‍यो उकालो) ।

(१६)
जिन्जीको आँखा हेरेर
आँजले अंसार बुझ्दछे ।
'यस्ती राम्री जून-फूल झैँ,
कठै ! दुःखले भुलभुल भै,
भन्छिन्‌ चाँडै वैलिन्छिन्‌'
भन्दै मनमा सोच्दछे ॥

  1. चन्द्रमा