Luni/cha
(१)
रानी लूनी राम्री
शिरीष कोमल हाम्री
कठै ! रुन्छिन् मनमा
एक्लै हमेन्दु[1] वनमा
(२)
ह्नामे[2] बोल्छ "को हो !"
पल्लव हेर्छन् "ओहो !"
झुल्छे लहरा !
बैँस फुट्छ रङ्गमा
फूलैफूलका लङमा
वसन्तका सँगमा
नाच्छे छहरा !
(३)
हरियोको संसार
आगो झिल्किन्छ ।
नशा नशा फूलमा
बैँसले वल्किन्छ ॥
भँवराको ताँती फूलमा पल्किन्छ
हावा चुम्छ फूललाई
गाला ढल्किन्छ ॥
(४)
वसन्तको लहर
सुन्दर सागरको
आई छुन्छ शहर
पहाड भ्रमरको ।
फूल फूलका परी
नाच छ रहरको ॥
तर कठै लूनी !
आकाशको मुनि
एउटी तिमी रुन्छ्यौ आँसु अमरको ।
(५)
फूलको संसारलाई
दिलमा रसाउने ।
कोमल भावले ह्मेन्दु
वनै हँसाउने ॥
आज कठै लूनी !
बादल उदासी !
केलिन्दीकी जल झैँ
दाना दाना हीरा
गरम दु:खका दाना
बस्छ्यौ छिनछिन गाँसी
बादल उदासी !
(६)
आउँछे छिटी जिन्जी
चङ्ख पयरकी
"क्यान रानी लूनी,
ह्मेन्दु शहरकी
आँसु आँसु दाना
कोसमा, रसिली ?
क्यान रानी लूनी,
छैनौ हँसिली ॥"
(७)
रानी लूनी भन्छिन्
"ढुक्कुर एक जोडी
ह्मेन्दु वनमा बस्न
खोज्थ्यो नछोडी
एउटा शिकार खेल्ने
टाढा डाँडाको ।
आई हान्छु भन्छ
शरले काँढाको ।"
(८)
बुझी जिन्जी पुछ्छे
कोसको झलझल नीर ।
दोटै साथमा जान्छन्
केलिन्दीको तीर ॥
(९)
बनाई माला राम्रो
सेर्पा चाङना हाम्रो
पूजा गर्थ्यो फूल !
सच्चा आँसु झल्काई
दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
कँपाइ कँपाइ ओठ
जहाँ फुल्यो झ्याम्म
[3]बखडाको बोट ।
(१०)
भक्ति देखी सुन्दर
घारी लुकेर ।
रानी लूनी, जिन्जी
हेर्छन् छिपेर ।
(११)
खुकुरीको टुप्पो
फूलले सिँगारी
पूजा गर्थ्यो चाङना
आँखा जल भारी !
(१२)
आँखा चिम्ली एकछिन
"रानी हे लूनी !"
भन्दै आँसु झार्छ
हाँगा फूलमनि !
(१३)
नसकेर खप्न
लूनी हामफालिन् ।
सेर्पा चाङनालाई
हातले अँगालिन् ।
(१४)
रोए दुई बरबर
प्रेमको मिलनमा
दुइटा फूल झैँ जोडी
प्रेमको मिलनमा ॥
पिँजराको ढुक्कुर
पोथी फुके झैँ
वनको हरा कुना
भाले लुके झैँ ॥
उडिजाँदी आँखा
भरभर बोले झैँ ।