Luni/nga
(१)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन् फन्का
पर्वत, डाँडा, छाँगा वनका ।
(२)
झासी ह्लामा ह्लासा घरको
चाँदी ईंटमा सुनको धर्को ।
ताता छाना जलप चर्को
भेज्दछ आफ्नो मानिस घरको ।
(३)
फूलको किश्ती अबीर लावा
पत्र छ जसमा साटित सुन्दर ।
मगमग अत्तर छिट्दै हावा
ल्याउँछ साम्बा सामु 'ह्मेन्दर !'
(४)
शिरले आदर भारी पारी
झुक्दै एकछिन किश्ती भारी
हात दुवैले चट्ट उचाली
राख्दछ साम्बा सुनको खतिया
(५)
माथि सुन्दर फूल खसाली !
"संसारभरको सेर्पा राजा
सुनको बारी, सुनको दरबार
सामु हाम्रो तासी ह्लामा
झुक्दछ शिरले बिन्ती एकबार !
(६)
"हामी सानो झासी ह्लामा
ह्लासा घरको सानो छाना
बिन्ती आदर गर्दै आई
माग्छ हजुरको छोरी 'लूनी'
हाम्रो छोरा 'ह्लानी' लाई
(७)
पच्चीस ह्लामा गाउँ बिर्ता
पच्चीस बाघको छाला भेटी ।
पच्चीस साँप्ला सुनको दाइजो
पच्चीस राम्रा ह्लासा केटी !
बिन्ती हाम्रो सोङ्गो राजा
कानले दिलमा धारेदेखि
आजको मैह्ना दर्शन गर्न
'ह्लानो' भेज्छौँ चिट्ठी लेखी ।"
लेख्दछ सेर्पा साम्बा सोङ्गो
भोटे अक्षर केही बाङ्गो
सुन-जलपको मसीदानी
प्वाख कलमले बुट्टो तानी !
(९)
"हामी सानो सेर्पा साम्बा
आज्ञा जोहो पालन गर्छौँ ।
मैहना दिनमा 'ह्लानो' आए
फूलको शिरले स्वागत गर्छौँ ॥"
(१०)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन् फन्का ।
पर्वत, डाँडा, छाँगा वनका,
'साम्बा सोङ्गो' तर्फका भोटे
थपिई चिट्ठी लग्छन् उनका ॥