Shakuntala/bimshatitam-sarga
शीघ्र शीघ्र चल्छ यान ।
राज-धामतर्फ जान ॥
वन्य दृश्य छुट्छ दूर ।
मालिनी-सुचारु-तीर ॥
(१)
दीर्घ मार्ग लम्बिएर ।
घुम्छ उच्च निम्न हेर ॥
दूर दूर साङ्ग्रिएर ।
शस्यदार छेउ लेर ॥
(२)
शुभ्र झैँ फिता बनेर ।
जो हरा किनारदार ॥
क्षेत्र शैलको सिँगार ।
लग्छ तान्छ दूर, पार ॥
(३)
मोहनी सिँगारदार ।
तुल्य डाक्नु मञ्जु भार ॥
भन्छ "हे शकुन्तले म ।
लेर जान्छु दृक् उघार ॥
(४)
सोचदार सम्झना र ।
सूक्ष्म त्रास दूर लार ॥
स्वर्ग छैन दूर धेर ।
खालि थोर शैलपार ॥
(५)
खालि नील त्यै किनार ।
वारिवाह वेश्मसार ॥
झल्ल झिल्ल कान्तिदार ।
एक रोज पङ्ख पार ॥
(६)
ती कुरङ्ग-नेत्रदार ।
मार-प्रेयसी मुहार ॥
पक्ष्म-जाल क्यै उचाल्न ।
आश प्रेरित-प्रकार ॥
(७)
दीर्घ-कोणदार दृष्टि-
मा प्रसन्नता थपेर ॥
पक्ष्म-जाल क्यै उचाल्न ।
छन् प्रयत्नशील हेर ॥
(८)
कामदार छन् किसान ।
खेतबीच अन्न खान ॥
अन्नका पितासमान ।
ली खनित्र चित्रमान ॥
अल्प चाहले प्रसन्न ।
स्मेर शान्तितुल्य धन्य ॥
मृत्तिका-सिँगार-जन्य ।
कर्म-वीर कीर्ति-गण्य ॥
मेदिनी-प्रतोष-पुत्र ।
स्वेददार सच्चरित्र ॥
ग्राम्य गानले पवित्र ।
ओठसाथ शुद्ध भित्र ॥
पर्ण-नाकसत्य-पाक ।
शाककोष द्रुपताक ॥
प्रात चञ्चुले प्रबुद्ध ।
साँझ लाल कर्मशुद्ध ॥
सौख्यपूर्ण बाल वृद्ध ।
इन्द्र-वृष्टिले समृद्ध ॥
(९)
स्वर्ग अल्पमा रहेर ।
ती वसुन्धरा दुहेर ॥
रूप रङ्ग हेर फेर ।
गर्दछन् मनोज्ञ हेर !
दीन देह दीन वस्त्र ।
हातमा अहिंस शस्त्र ॥
दूर दूर कालबाट ।
गान हृद्-प्रकोष लेर ॥
वारि-वृष्टि गीततुल्य ।
जोड्दछन् खुशी बनेर ॥
मच्चिँदै कतै कहीं त ।
मेघतर्फ दृष्टि देर ॥
(१०)
हेर हेर सूक्ष्म सर्र!
लाल हैम रङ्ग चढ्छ ॥
अस्त शैलको किनार ।
लम्बिए मेघ अड्छ ॥
खुड्किला बनेर कान्ति ।
स्वर्ग हर्म्यतर्फ चढ्छ ॥
जो तला तला बनेर ।
झल्ल झिल्ल बन्छ जल्छ ॥
(११)
त्यो गुलाफको स्वदेश ।
त्यो सुगन्धदार बाग ॥
त्यो सुवर्णको निवास ।
त्यो विलासको पराग ॥
त्यो तला तला तहाल ।
क्या झिलिल्ल झल्ल झल्ल ॥
भास्कर-प्रताप-सार ।
दिव्य नव्य देशतुल्य ॥
छन् त्यहाँ परी अनेक ।
गान नृत्यका विवेक ॥
एक एक ठाँट काँट ।
वस्त्रमा बडा अमूल्य ॥
फोहरा-नजीक चट्ट ।
कुञ्जमा हरा बिछट्ट ॥
हातमा लिएर बीन ।
तान छेड्दछन् नवीन ॥
ती कला-प्रवीण चारु ।
अप्सरा उडान-हीन ॥
माझमा बसेर देव ।
भाष्कर प्रताप-पूर्ण ॥
सुन्दछन् उ झन्न झन्न |
पार्नलाइ नव्य पर्ण ॥
स्वर्ण स्वर्ण रत्नदार ।
हर्म्यबीच स्वादु कर्ण ॥
मुग्ध मुग्ध स्निग्ध स्निग्ध ।
स्वादु नादसाथ वात ॥
गन्धदार मन्द मन्द ।
शीघ्र पाइ मिष्ट छन्द ॥
स्वप्नतुल्यको छ धन्य ।
चित्र हेर त्यो सक्षम ॥
फुल्छ पुष्प लाल लाल ।
झुल्छ दिव्य कल्पवृक्ष ॥
क्या शकुन्तलाअगाडि ।
जिन्दगी छ स्वर्ण लक्ष्य ॥
स्वप्न स्वप्न फुल्छ बल्छ ।
जल्छ हिल्छ गल्छ मिल्छ ॥
आश फुल्छ आश फल्छ ।
स्वर्गद्वार खुल्छ, ढल्छ ॥
एक देव कीर्तिबाट ।
मोहनी छ त्यो कपाट ॥
रङ्ग चढ्छ विश्वमाथि ।
सर्र सर्र भाँति भाँति ॥
घप्प घप्प हुन्छ लाज ।
माथमाथि हेर आज ॥
यो समस्त विश्व भर्न ।
छन् प्रसन्न स्वर्णवर्ण ॥
सूर्य एक कीर्तिदार ।
व्योमबीच ती धिराज ॥
सुस्त सुस्त चल्छ यान ।
शैलमाधि चल्छ, सार ॥
बढ्छ बल्छ देखिनेछ ।
देश दिव्य शैल-पार ॥
(१२)
सुस्त सुस्त चल्छ यान ।
शैलमाथि सुस्त, जान ॥
बुन्छ कल्पना अगाडि ।
दिव्य कान्ति रुक्म तान ॥
'आज आज' भन्छ नाद ।
लिन्छ स्वप्न हैम ताज ॥
फुर्छ रोम, हेम-पङ्ख ।
आज जान्छ दिव्य धाम ॥
आज लाल हुन्छ साँझ ।
देव धेर कान्तिमाझ ॥
बस्न छन् तयार हेर ।
पङ्खदार गान लेर ॥
खुट्किलाहरू चढेर ।
स्वर्गतर्फ सूर्यनेर ॥
(१३)
एक पङ्ख बोल्छ मिष्ट ।
चारु आरुमाथि इष्ट ।
बोल्छ मञ्जरी टिपेर ।
, आधि पुष्पले छिपेर ॥
श्वेत लाल पुष्पभित्र ।
बासदार बातसाथ ॥
"हो कि हो वसन्तको कि ।
काल ? हो कि स्वर्गद्वार ?
हो कि हो कि ? हुन्छ साँझ ।
हो पुगिन्छ आज आज !"
(१४)
सुस्त सुस्त चल्छ यान ।
पुग्छ शैल-शृङ्गमाथि ॥
अड्छ यान वायु भन्छ ।
"दृश्य क्या अगाडि जाति ॥
अस्त-काल कान्तिबाट ।
झल्मलाउँदो विचित्र ॥
राज-धाम दूरको छ ।
क्या मनोज्ञ प्रस्ट चित्र ॥"
(१५)
खोज्दछन् सुचारु नेत्र ।
दूर झल्ल पौर चित्र ॥
"थाम थाम" शब्दसाथ ।
गौतमी उठेर भित्र ॥
छन् समुत्सुका, नजीक ।
आइपुग्दछन् नजीक ॥
अड्दछन् पुगेर शिष्य ।
हातको विशाल आड ॥
उठ्दछिन् तिनी विरेख ।
रूपदार काँससार ॥
चाउरी भरी मुहार ।
हेर्न पौर दृश्य पार ॥
पार पूर्व दख्खिना उ !
स्वर्णचूड उच्च-शैल ॥
तुल्य झल्ल के त्यही छ ।
राज-धाम स्वर्गमूल्य ॥
वृद्ध-नेत्र पुग्नलाई ।
दुर यत्न साथलाई ॥
भन्दछिन् कि "आज रात ।
लग्दछौ त्यहाँ मलाई ?"
(१६)
ती शकुन्तला उठेर ।
नेत्रकी प्रसन्न हेर ॥
लाल वस्त्रको किनारा ।
केश पाश गुच्छदार ॥
सान्ध्य कान्तितुल्य चारु ।
शैलमाथि पुष्पसार ॥
झल्किएर सुस्त हेर्न ।
पौर दृश्य छन् तयार ॥
ओठमाथि अङ्गुली छ ।
दीर्घकोण लम्बिएर ॥
हेर्छ चल्छ बार बार ।
पार्श्वतर्फ फेरि नेत्र ॥
खोज्दखन् अगाडि दृश्य ।
स्वप्नको समान चित्र ॥
(१७)
दूर हुन्छ झल्ल झल्ल ।
स्वर्ण-चूड स्वर्गतुल्य ॥
राज-धाम, अस्तकाल ।
शिल्पभित्र त्यो विशाल ॥
फ्याँक्छ ज्योति दूरसम्म ।
तीनतर्फ श्यामलो छ ॥
दीर्घ बाग, पोखरी छ ।
पार्श्वमा छ अल्प दूर ॥
रम्यपौर ! कान्त गेह ।
चारु-चूड पुष्प-चुस-
को निवासतुल्य टम्म ।
देव-वेश्म रम्य-चूड ॥
चारु-चित्रवत् त्रिकोण ।
मोहडाहरू हरा छ ॥
खेत खेत आलि आलि ।
छन् कुला अनेक चिर्छ ॥
शैल वारी शुभ्र-रेख ।
नाग-वेली-क्षेत्र-वक्ष ॥
निम्नगा बनेर दीर्घ ।
दक्षिणी दिशा लिएर ॥
वृक्ष-पङ्क्ति ठाउँ ठाउँ ।
छोप्छ फेरि दूर दूर ॥
नील रङ्ग लिन्छ दृश्य ।
पग्लिएर चारु हेर ॥
छन् त्यहाँ सुदूर शैल ।
पूर्वतर्फ क्या हरा छ
(१८)
शान्त त्यो प्रशस्त बन्छ ।
पूर्ण क्षेत्र फैलिएर ॥
रङ्ग लिन्छ बीच बीच ।
शैल-जन्म वारि-स्रोत ॥
टिप्दछन् प्रशस्त चारु ।
उब्जनी गरेर साधु ॥
रङ्ग रङ्ग खण्ड खण्ड-
त्यो लशून त्यो गहूँ कि ?
पीतमा हरा सुचारु ।
के र त्यो अगाडि आलु ॥
बुर्बुरे छ मुन्द्रिएर ।
क्या प्रसाधिताङ्ग क्षेत्र ॥
अन्नदार कीर्तिकान्त ।
मेदिनी प्रसन्न हेर ॥
देवराज-राज्य-कीर्ति-
को हरा सिँगारतुल्य ॥
(१९)
लालिमालसत् छ व्योम ।
स्वर्ग रङ्ग वैलिएर ॥
झल्किँदो सुवर्ण चूड ।
राजधाम शन्तिसाथ ॥
श्रान्त हुन्छ, झल्किँदैन !
मौनकीर्ति शैलतुल्य ॥
शिल्पचारु बन्छ शान्त ।
बाटिका फिका भएर ॥
पङ्ख डाक्दछन् दिनेश ।
फिर्दछन् स्वहर्म्यतर्फ ॥
(२०)
छन् फिका पुरी विशाल ।
शान्तिकी स्वराज्यतुल्य ॥
मिर्मिरि बनेर जान्छ ।
दृश्य मेघ वैलिएर ॥
आउँछन् सुवर्णभस्म ।
गौतमी सफेदकेश ॥
(२१)
यानभित्र पस्दछिन् र ।
"दूर छैन भो बढूँ त !
दूर छैन ! दिव्य ध्येय ।
नन्दनैसमान दृश्य ॥
देखियो त एक बार !
राजधाम त्यो अपार ॥
राज्य यो बडो उदार ।
यो हरा भरा प्रकाश ॥
बीच सान्ध्य कान्ति खास ।
तुल्य राज्य गर्न पाऊ ।
आउ पुत्रि ! आउ आऊ ॥"
(२२)
शीघ्र शीघ्र चल्छ यान ।
राजधामतर्फ जान ॥
मिर्मिरि बनेर दृश्य ।
हेर्दछन् सबै वितान ॥
शान्त मौन मिर्मिरे छ ।
एक तारका अगाडि ॥
व्योम हुन्छ फेरि श्याम ।
वारिवाह वैलिजान्छ ॥
सुस्त सुस्त भै विलीन ।
मार्ग बन्छ क्यै मलीन ॥
(२३)
"आज छैन सम्झना कि" भन्छ भित्र कल्पना ।
स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए ।
दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ?
(२४)
शैलवासिनी समान साँझका झलकमा ।
शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥
फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश ।
एक अंश नै मिलेन अन्धकारको वश ॥
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ ।
(२५)
आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ?
भन्दछन् कि ? या चिनेर भन्दछन् कि भेटिनँ ?
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई ।
शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)
मिरमिर भो अब साँझ झमक्क ।
तिमिर भो तम भो ढकमक्क ॥
पिलपिल छन् उडु पङ्ख सुषुप्त ।
विधु नभमा तर स्वर्गृह गुप्त ॥
(२७)
हर हर चल्दछ तीर प्रवात ।
सुरभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ शून्य छ मिर्मिर खालि ॥
डर पनि लाग्छ थकाइ छ साथ ।
(२८)
निकट छ एक सरोवर हेर ?
टलपल वक्ष छ छन् उडु थोर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दछ उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल झ्याल ! अरू घर छैन ।
अब पर बढ्नु त व्यर्थ हुँदैन ?
(२९)
अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरे र उठेर ॥
थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
वसन कटीतक छोप्न धरेर ॥
(३०)
"किन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
खुशसाथ गर्छ स्वागत ॥
(३१)
तब भित्र पस्न गौतमी ।
दइ हात आड पाउँछिन् ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन् ॥
(३२)
तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ अग्नि दन्दन ॥
(३३)
अब उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
दुइ बन्दछन् सुभाषले ॥
(३४)
अरुण प्रभा छ दन्दन ।
मुखलाल छन् शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)
"कहिले बिहा भयो ?" भनी ।
जब सोद्धछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
मुसकाउँछिन् सुयौवनी ॥
(३६)
उ छ खिल्ल "ए ! त्यसो भए ।
भवँराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मृदु भन्दछे "कहो कहो ॥"
(३७)
स्मित गौतमीमुहारमा !
सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
मुख छोप्दछिन् सुमञ्जुला ॥
(३८)
जब खोल्दछिन् मुहार ती ।
सुरबागका जुहार ती ॥
मृदु छन् गुलाफ भारती ।
मुकुमारिता अपार ती ॥
(३९)
जान्छ किसान दुही लिन गाई ।
हात लिई गबुवा पयलाई ॥
"यो निशि के दुहुनाकन जान्छौ ?"
भन्दछ एक त्यहाँ उसलाई ॥
(४०)
अड्दछ सत्वर बोल्दछ चारु ।
"आठ त याम छ गाइ दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
(४१)
छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी ।
कृषक त घट भर्छ छ्वाछ्र्वार्गरी ॥
घटभर पय हुन्छ ह्र्वाह्र्वागरी ।
ज्वलित अनल बोल्छ यस्तै गरी ॥
(४२)
आउँछ दोधक शान्त किसान ।
स्मेर मुखाकृति गबुवासाथ ॥
उष्णपयस्क सफेन सफेद ।
दूध दुहीकन आर्द्र छ हात ॥
(४३)
ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
दूध खन्याउँछ सुन्दर चाला ॥
बग्छ प्रसन्न मनोहर धारा ।
फींज उठेर रिझाउँछ सारा ॥
(४४)
जोड्दछ हात गर्दछ बिन्ती ।
"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥
छैन दरिद्रसँगै अरु खाना ।
स्वीकृति होस् यति जलपान ॥"
(४५)
प्याउँछ बन्छ प्रसन्नमुहार ।
सत्कृति गर्न सदैव तयार ॥
दीप्त छ लोचन स्नेह रसाई ।
जोड्दछ हात खडा सबलाई ॥
(४६)
कृष्ण मुहार छ माथ छ फेटा ।
धेर नशामय हात छ दोटा ॥
त्यो कृशकाय किसान अजान ।
बाल्दछ नेत्रविषे सब ज्ञान ॥
(४७)
भुट्न मकै तब तत्पर श्यामा ।
पार्श्व दिंदी मृदु कोष छ लामा ॥
क्या स्मितिसुन्दरलोचनचारु ।
षोडशवर्षप्रविष्ट फुलारु ॥
(४८)
छम्छम छम्छम चल्दछ चूरी ।
पट्पट पट्पट बोल्दछ हाँडी ॥
भर्भर भर्भर गर्दछ आगो ।
चम्चम चम्चम नाच्दछ आँखा ॥
बात बनाउन बन्न चनाखा ।
चाख छ चल्दछ फुर्फुर धागो ॥
चञ्चल चञ्चल लोचन चारु ।
मोहन मौक्तिक हास्य फुलारु ॥
बात हुँदै मृदु बैंस-बयानी ।
फुल्दछ चारु मकै मनमानी ॥
हेम फुलेर बनेसरि चाँदी ।
मोहन हास्य मनोहर दाना ।
कोमल कोमल सत्कृषि खाना ।
बादल पात्र छ रूक्मखजाना ॥
(४९)
स्नेह जुटाउँछ स्नेह छ खाँदो ।
स्नेह छ गद्गद् स्नेह छ आँखा ॥
बात मनोहर भाव सिपालु ।
चञ्चल चञ्चल नेत्र छ श्यामा ॥
(५०)
आउँछ सुन्दर कोमल पाठो ।
बोल्दछ सुन्दर कोमल "म्याँ म्याँ" ॥
स्मेरमुखाकृति- गद्गद श्यामा ।
हेर ! सखीसित लोचन लामा ॥
शब्दित शान्त शकुन्तप्रियामा ।
बोल्दछ हेरन, बालक– 'आमा' ॥
(५१)
हाँस्दछ लोचन सुन्दरता ली ।
लाल मृखाकृति गर्भ-उज्याली ॥
छल्न फरक्क गरीकन फर्की ।
छन् कति सुन्दर लोचन तर्की ॥
(५२)
ब्राह्मण एक थकाइ हुँदामा ।
दीर्घ शिखान्वित आड लिंँदामा ॥
उड्न बराबर रुङ्रुङ थाले ।
शान गरीकन दीर्घ शिखाले ॥
(५३)
खुरुखुरु आउँछ हेर मूषिक ।
तल तल झर्छ कि झैं बराबर ॥
तर जब देख्दछ धेर मानिस ।
खुरुरुरु भाग्दछ बन्छ कातर ॥
यति मृदु बात गरेर सुन्दरी ।
हँसमुख चारु बनी वरीपरि ॥
अब सबलाई हँसाउँछे त्यहाँ ।
तब बिउँझे द्विज झस्किई वहाँ ॥
(५४)
अब सबलाई तयार बिस्तरा ।
थकित भई बहुतै उड्दी बरा !
"किन रहने अब सुत्ने पाल्नुहोस्"
नरम बनी मृदुशब्द सुन्दरी ॥
(५५)
त्यो किसान द्विजको अब रजनी-
बीच दाप्छ पद यी अतिथि ॥
सुत्दछ थकिन ती मृदु सपना ।
देख्न, दाप्छ क्रमले सरलमना ॥
(५६)
आधिराततक त्यो बिउँझिरह्यो ।
भक्ततुल्य प्रभुको चरण लियो ॥
त्यो समुत्थितमना तब सुखमा ।
प्रातकालतक, सुत्दछ पिँडिमा ॥
सूर्य उदय भै तब बिउँझी ।
त्यो दुहुन्छ पय श्रीचरण भजी ॥
(५७)
थकाइ रातमा मरी ।
प्रभातमा उठीवरी ॥
शकुन्तला र गौतमी ।
गए तडागमा घुमी ॥
(५८)
प्रभातको प्रवातले ।
प्रबुद्ध वृक्षपातले ॥
"नजीक आउ" भन्दथे ।
सुभाष शब्द बन्दथे ॥
(५९)
दिनेश दूरवृत्तमा ।
सुवर्ण लट्किएसरि ॥
धपक्क छन् समक्षमा ।
सुवर्णपोखरी भरि ॥
(६०)
अनेक मत्स्य छन् जल ।
झझल्ल रम्य शीतल ॥
अनेक रङ्ग मीन ती ।
टिपेर खान चामल ॥
(६१)
पुलुत्त आउँछन् पर ।
चलाउँदै मनोहर ॥
सुचारु तेजिला पर ।
निमेषहीन सुन्दर ॥
(६२)
त्यहाँ नुहाउँछन् दुई ।
प्रणाम गर्दछन् नुही ॥
जसै सफेद ली छवि ।
धपक्क बल्दछन् रवि ॥
(६३)
फिरेर झोपडीतिर ।
लिएर अन्नपात ती ॥
बिहान जान तत्पर ।
भए समुत्सुका गति ॥
(६४)
किसान जोड्दथ्यो कर ।
जलदृशी बनी तर ॥
छ श्यामला विलोकिता ।
दुखी शकुन्तलातिर ॥
(६५)
"नबिर्स फेरि फेरि है ?
यहाँ फिरेर आउन ॥
दिदीसमान लाग्दछ ।
न स्नेह यो छुटाउन ॥"
(६६)
भनेर आर्द्र श्यामला ।
रुवाउँछिन् शकुन्तला ॥
अतीव स्नेहको दिल ।
बनाउँदा सुकोमल ॥
(६७)
झट्ट त्यहाँ स्निग्ध पशु ।
बालक त्यो मञ्जु शिशु ॥
शब्द गरी स्नेहमय ।
कोमलता दुग्धमय ॥
(६८)
फुर्फर भै नाचिवरी ।
पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
लुट्पुट भै हुन्छ वर ॥
(६९)
तान्दछ त्यो वस्त्रकन ।
शस्यमुना तान्नकन ॥
सिक्न सरेतुल्य अघि ।
छुन्मुन झैं शीर्ष गरी ॥
(७०)
फर्की हेर्दा एक पाठो कलीलो ।
तान्दो सारी फुर्फुरे भै खुशीले ॥
देखी बोकिन् स्निग्ध त्यो चारु भार ।
छातीलाई म्वाइँ दी गर्न प्यार ॥
(७१)
"छानो बाबाः छिः हिछी क्या अपाल ।
'आमा' भन्द्यौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥
(७२)