Shakuntala/ashtadasha-sarga
आयो त्यहाँ खबर पङ्ख लिएर छीटो ।
एकान्त शान्त वनमा शरदीय मीठो ॥
"दृष्यन्तले समरमा विजयी बनेर ।
झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
(१)
खोला असङ्ख्य रिपुको रणमा बहाई |
लाली भरे जलदमा सब कीर्ति छाई ॥
मानो नवोदित प्रभाकर झैं सुवर्ण ।
बन्दै फिरे गगनमा कवि पङ्ख लाई ॥"
(२)
सन्देश एक नृपबाट नपाउँदामा ।
आशा निराश हुन गै दिन धाउँदामा ॥
चिन्ता परेर ऋषिका मनमा अधीर ।
ठाने नृपेशकन क्यै दिलका कठोर ॥
(३)
भन्छन् "अचम्म हुन गो अझसम्म केही ।
सन्देश छैन नृपबाट शकुन्तलामा ॥
हुन्छन् सुकोमल सफा दिल शीघ्र स्नेही ।
धोकासमान म त बुझ्छु विलम्ब लामा ॥
(४)
ज्यादा बसेर पर– माइतिमा रहेर ।
बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लाग्ने अरूतरफ यो छ जगत्प्रणाली ॥
(५)
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन् सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् ।
शृङ्गारदार रसका उपभोग राम्रा ॥
(६)
कन्या विवाह नहुँदातक माइतीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
(७)
चाँडै तयार गर यी घरतर्फ जाऊन् ।
बिर्सेर बस्न नृपले घरमा नपाऊन् ॥
रानी बनून् महलकी पतिसाथ पाऊन् ।
चिन्ता समस्त मनका सहजै हटाऊन् ॥"
(८)
यस्तो सुनी वचन ती ऋषिका तयारी ।
गर्दीभइन् घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी बुहारी ॥
(९)
"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
(१०)
ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
(११)
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
बाङ्गोपनासँग विकारहरू बढाई ।
झूटो नबन्नु, गर आदर आफुलाई ॥
(१२)
छोडेर मान नझुके न त गर्व राखे ।
सोझो र प्राकृत बने बनिँदैन पाखे ॥
राम्रा मिजासहरुले सब चित्त राखी ।
बन्नू विनम्र, न त रीस कदापि राखे ॥
(१३)
सौन्दर्यको छ अधिकांश विनीतता नै ।
शृङ्गार यो युवतिको छ अमूल्य जान ॥
बोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
(१४)
श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल् भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहून्, सब हून् सचेत ॥
(१५)
आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि बन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्म ढङ्ग ।
पाइन्छ देवहरुको सब रूप रङ्ग ॥
(१६)
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥
(१७)
जो लोभ मोह मद छन् तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नू सिँगार तर ठीक रिझाउनाको ।
ज्यादा नगर्नु नखरा नबनोस् तमाशा ॥
(१८)
जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥
(१९)
भित्री कुराहरु रहे सब ठीक ठीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)
जो धूर्तता छ उसमा पनि सार छैन ।
सत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो नीती हो उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥
(२१)
यौटै छ ईश्वर उ भो पतिदेव खास ।
शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥
यौटा धिराज दिलको छ अनन्त आश ।
बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)
आफैं दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिनु, विकृति मात्र शोध ॥
(२३)
आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तथैव पति हुन् गृहिणीहरूका ॥
बेलीसमान दृइ छन् रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)
जो बृद्धि झैं विकृतिभित्र रहेर बोल्छे ।
'यो ठीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधाग्निमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)
नारी गृहस्थिहरुकी मुटुतुल्य जान ।
हुन्छन् अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्बडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ ॥
(२६)
आचारभित्र रहनू रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्मैबिना घर चिता शव हुन् निवासी ।
कर्मैबिना मरुसमान छ शून्य गेह ॥
(२७)
जो सभ्यता छ जगमा सब गेहबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥
(२८)
यो रत्नको जलधि हो गृहनाम ठूलो ।
ती रत्न हुन् गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
माग्छन् खुला किरणमा, रणमा त्रिकाल ॥
(२९)
दृष्टान्त बन्नु सबका अघि चालद्वारा ।
बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती बनेर घरकी सब अन्धकार ।
छोडी, दिनू किरण उज्ज्वल हुन् मुहार ॥
(३०)
स्वादिष्ट पार्नु दिलले सबनिम्ति खाना ।
प्रेमै सुधासरि छ, शीलहरू खजाना ॥
मीठो गरी वचन प्रेम मिसी दिएको ।
स्वादिष्ट बन्छ रस दिव्य विचित्रले त्यो ॥
(३१)
खामोस खानु नरिसाउनु झट्ट नानी !
तौली मिजासकन ठीक गरी बयानी ॥
राखेर होश गतिमा रसिलो सचेत ।
आत्मा खुशाउनु अरूहरुको समेत ॥
(३२)
रानी समान घरकी बुझ सत्य नारी ।
हो शील ताज अनि ऐन छ धर्म भारी ॥
हो राजनीति उसको घरको मिलाप ।
छन् शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥
(३३)
त्यो राज्यमा छ गणको गहिरो खजाना ।
अध्यक्ष आत्मबल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन् अनि शस्त्र सत्य ।
सीमा बढाइरहने छ सहानूभूति ॥
(३४)
प्रैमै छ आसन सुवर्णसमान खासा ।
साहित्य दैनिक मिठास बढालु भाषा ॥
छन् देवदूत शिशु नै, सपना जहाज ।
आनन्द उन्नति क्रिया सब कामकाज ॥"
(३५)
यस्ता कुरा मधुरले उपदेश गर्दै ।
झुक्दी मुहारकन सुन्दर गौतमी ती ॥
गर्छिन् तयार घरतर्फ पठाउनाको ।
जोरी समस्त सरजाम अनेक भाँती ॥
(३६)
बिर्से कि आजतक भूपतिले मलाई ?
या सम्भिएर तर फुर्सद नै नपाई ॥
सन्देश एक पनि छैन न ह्वैन मेरी ।
भन्छन् कि ? के हुन गयो र भुले कसोरी ॥
(३७)
भन्दै विचारसित लोचन नासिकाका ।
टुप्पा दिँदी, अधरमाथि कनिष्ठिका दी ॥
राखी कपोल कर-पृष्ठ कुना अड्याई ।
रम्भोरु छन् मधुर चित्रण कल्पनाकी ॥
(३८)
आए सँगी हँसमुखी मृदुचाल लच्की ।
गर्दै प्रसन्न नखरा र कुरा रसीला ॥
गाला मुसार्न दुइ हात दिँदी कनै ती ।
"रानी अहा जगतकी" भनी चट्ट चम्के ॥
(३९)
यौटी पछाडितिरबाट सुटुक्क आई ।
मारेर चाल मुखलाइ यसो लुकाई ॥
छोपेर लोचन दुवै मुख खिल्खिलाई ।
सोध्छिन् अरू वदनबाट "चिन्यौ मलाई ?"
(४०)
जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥
(४१)
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)
जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन् रिससाथ भारी ।
(४३)
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)
आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)
बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन् वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥
आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥
(४६)
देखिन् बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर देवका झैं ॥
जोडेर मन्दिर अनेक बने समान ।
बुट्टा अनेक रँग-शिल्पित, स्वर्णचूड ॥
(४७)
शूगा रटेर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गद्दी रहेछ अनि बल्न दुवै तयार ॥
(४८)
माला धरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसन्न-मुख सुस्त नजीक आई ।
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥
(४९)
बिर्सेछु धेर दिनसम्म नमान दिक्क ।'
रूँ रूँ भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)
आफ्नो दशा हृदयको त्यसरी बताई ।
'के के भयो त्यस जगत्तिर' झैं भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥
(५१)
ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रूर भएछु भारी ॥
भन्दै दुवै विजयका करबीच पारी ।
कैदीसमान परिरम्भणले सिँगारे ॥
(५२)
के के भनूँसरि भयो तर शब्द खोजिन् ।
केही मिलेन, अनि मूक-मिठास बन्दी ॥
आनन्दका नजरमा प्रिय साथ पाई ।
ती राखिइन् कनक-आसनमा सजाई ॥
(५३)
रानी भयौ अब भनीकन साथ बस्दा ।
बाजा बजे मधुर गद्गद भो बतास ॥
त्यो शब्दसाथ तर नेत्र झल्याँस्स खुल्दा ।
सुन्छिन् घनन्न पहिलो वनभित्र घण्टा ॥
जो प्रातको मधुर श्वास लिएर बज्छन् !
(५४)