Shakuntala/panchadasha-sarga
विधुका कुलका शिरोमणि ।
नृप छन् फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
तिमिरै नाशिदिने महाकला ॥
(१)
अब हेर उनै विषादले ।
अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन् त्यहाँ ॥
(२)
जुन हात उदारतासँग ।
धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)
जब चन्द्र सुचारु तारक ।
नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन् ।
छवि माग्छन् नृपका दुवै कर ॥
(४)
जसनिम्ति वसुन्धरा सब ।
पतिको मान दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सब ।
नहुँदा आज शकुन्तला त्यहाँ ॥
(५)
जसको विजयी छटा थियो ।
अब आँखा जलले भिजाउँछन् ॥
उरका सबका महारवि ।
अब ती बादल झैं रसाउँछन् ॥
(६)
महलै पनि बिर्सिईकन ।
घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
अब भज्छन् विरहानलाऽतप ॥
(७)
पृथिवीभरका अधीश्वर ।
जसका द्वार महेन्द्र आउँथे ॥
अब ती वनबीच एकला ।
दिन नै याचक झैं बिताउँथे ॥
सपनासरि द्रव्य सुन्दर ।
अब मागी वनकी शकुन्तला ॥
(८)
कि त लाख रहेछ माधुरी ?
वनकी ती दृहिताभरी त्यहाँ ?
सपयोधि सशस्य मेदिनी-
कन त्यागी किन हिँड्दथे तिनी ?
(९)
सब प्यास हटाउने नृप ।
जनको स्वर्गसमान भूमिमा ॥
अब प्यास लिई नमेटिने ।
किन दुःखी वनमा गई बने ?
(१०)
विधुको महिमा मनोहर-
कन देखेर चकोर टोह्लिई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)
अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)
कुन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रँग बढ्दो रसिलो तृषासित ॥
(१३)
प्रभु मोहनबाट मोहनी ।
मुटुमा बन्दछ धूप-दीप झैं ॥
प्रभु खोजिलिँदो जगत् सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)
मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी बनीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति टूनासरि छोप्तछे मन ॥
(१५)
विरहै पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)
अनि सुन्दरमा त सत्य नै ।
नलिई दाग विरोधका कुनै ॥
झललल्ल झझल्किएसरि ।
हुन गै चित् गहिरो रसाउँछ ॥
(१७)
दिलको कलिलो सुकेन्द्रमा ।
छवि झल्कीकन फूल जन्मिए ॥
वनका सपनाहरूसरि ।
अनि रोएर सुगन्ध जन्मिए ॥
(१८)
रुन आउँदछौं यहाँ सन ।
पृथिवीमा रुनकै विलास ली ॥
अनिवार्य अतृप्त कामना-
हरुका नाद अतृप्त आश ली ॥
(१९)
कुन चीज नपुग्दथ्यो अब ।
सब संसार अहो ! मनाउँथ्यो ॥
जगतै वन भै तिनी तर ।
अब छन् दास भजेर सुन्दर ॥
(२०)
"कुन ठाउँ तिमी शकुन्तला ।
मुखले पुष्पहरू फुलाउँछ्यौ ?
अनि आँसु सिँगार पार्दछ्यौ ।
स्मृतिको दिव्य सुगन्ध दीकन ?
(२१)
वनकी दुहिता तिमी बनी ।
वनका पत्रहरू हरासँग ॥
छल गर्न सिकी प्रसून झैं ।
निकटै कुञ्जविषे हराउँछ्यौ ॥
(२२)
बिजुलीसरि झल्किने क्षण-
भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहाऽनलबीच बादल ।
जलको जीवन झैं बनाउँछ्यौ ॥
(२३)
यदि आँसु कणा भए सब ।
छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्दथें ।
तिमिराच्छन्न वियोग नैशमा ॥
(२४)
तब पो गति यो वियोगको ।
दुइ आँखासरि झल्मलाउँथे ॥
निशिमा परबाट भावना-
हरु सेना स्मृति-तुल्य आउँथे ॥
(२५)
कुन रुन्छ भनी कतातिर ।
गह तिम्रा पनि क्यै रसाउँथे ॥
सब रातविषे सुधांशुको ।
मुख जस्ती अलि क्यै चियाउँथ्यौ ॥
(२६)
तर दूर तिमी कता कता ।
नजिकै भैकन हाय ! बेपता ॥
जल जीवन हुन्छु हा! म ता ।
विरहैबीच बनेर बेपता ॥
तर आँसु अनेक झल्किँदा ।
दिलले पाउँछ आफ्नु क्यै पता ॥
(२७)
कसरी अति कोमलाङ्गिनी ।
विधुकी खण्डसमान जन्मियौ ॥
सब दिव्य सुधा बनीकन ।
छवि छाई भुवनाभिमोहन ॥
(२८)
जसरी तटमा बसी कुनै ।
सब देख्छन् विधु नै कणा कणा ॥
सब सैकतका भरी भरी ।
गहमा आँसु लिई चकोरले ॥
म छु हेर ! उसै गरी सदा ।
वनको छेउ हरा पयोधिमा ॥
कसुमादिहरू सबै तिमी-
सरि देख्ने विधु झैं शकुन्तला ॥
(२९)
सपनासरि चट्ट झल्किई ।
रसवाली मनको मुहारमा ॥
अब हाय कता रह्यौ तिमी ।
म तृषानिम्ति वियोगभारमा ॥
(३०)
क्षण नै गर्हुँका बनी गए ।
अति ढीला नरमाइला पला ॥
कति सुस्त विषाद हिँड्दछ ।
समयै बन्दछ क्रूर लङ्गडो ॥
(३१)
दिलले दिलसाध पोख्नको ।
रहरैमा जलभित्रभित्रको ॥
वन हेर ! खिजाउँदै थप्यो ।
नव शृङ्गार प्रसूनपत्रमा ॥
(३२)
रसिली कलिली प्रभामुखी ।
हँसिली वन्य कलि प्रवातमा ॥
खँदिली सपना सुशिल्पित ।
विधुकी खण्ड लुक्यौ कहाँ कहाँ ?
(३३)
विधुको सब सारले बनी ।
हिउँ पग्लेसरि पग्लियौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
मुटुमा चारु सुगन्ध नै बन्यौ ?
(३४)
म फिँजाउँछु वाञ्छनाहरू ।
वनमा छर्दछु बीज झैं नयाँ ॥
कुसुमाऽधरले तिनीहरू ।
सब फैली मनका कुरा भनून् ॥
(३५)
मुटु चुम्बक बैंसकी नयाँ ।
कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
कलि राम्री कुन ठाउँमा लुक्यौ ?
(३६)
तडपिन्छ भनी 'तिमी-तिमी' ।
मुटु यी धड्कनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
जल होस् शुष्क त ज्यून के पता ॥
(३७)
नभमा जति तारका परी ।
वनलीलाकन छन् सिँगार झैं ॥
सब स्वर्गजुहार झैं हुँदा ।
पनि तिम्रो महिमा छ चन्द्रिका ॥
(३८)
मनलाइ रुलाउने तिमी-
कन यादै नभई फुलाइ छ ॥
वनवायुहरू झुलाउँछन् ।
तर आँखा रसिलो मलाइ छ
(३९)
यति आँसु झरे मनोहर ।
दृग मुक्तालव झैं बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
दिनु जस्तो रुनु भो सुखै तर ॥
(४०)
जुन भाव म प्रेम भन्दछु ।
उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
किन बन्थे कण झैं सफा जल ॥
(४१)
गति थोर विषादले भरी ।
अनि जप्दै मनभित्र माधुरी ॥
रुनु सुन्दरता हुँदा यहाँ ।
सुर ओर्ले तल प्रेमले भरी ॥
(४२)
कि त आह अनेक कामना -
हरु झीना जनले नदेखिने ॥
म प्रभात बनाउँ सुन्दरी ।
तब छुन्थ्यौ कि तिमी वरीपरी ॥
(४३)
मृदु विस्मृति नै विचार नै ।
नगरी क्रूर कुटी बनाउँछ्यौ ॥
भ्रुकुटी दुइले म घायल ।
क्षणलाई महिमा सुनाउँदै ॥
खबरै नमिलेर घुम्दछु ।
वनमा कण्टकले बिझी रुँदै ॥
(४४)
जलतीरअगाडि बस्दछ्यौ ।
दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
सुन झैं प्रेम दृगार्द्र कालमा ॥
(४५)
तर प्रेम सुगन्ध झैं मिही ।
बहुतै पत्र लिएर छोपिँदो ॥
तहमा कलिला फुकी फुकी ।
छ खुला बन्न असम्भवै हुँदो ॥
(४६)
भँवरा म बनेर आउँथे ।
यदि यो देह म पाउँ बद्लिन ॥
दुइ कानविषे सुनाउँथें ।
मधुरो प्रेम प्रशस्त भुन्भुन ॥
(४७)
जसको अघि मर्नु स्वर्ग छ ।
'न छु प्रेमी' सब कल्पको भनी ॥
उनलाइ न प्रेम याद छ ।
जगतैको जुन प्रेमको धनी ॥
(४८)
बनबादलबाट पुष्पको ।
मृदु शोभा बिजुली बने तिमी ॥
झललल्ल खुली मरुस्थल ।
म बनी चातक प्यूँदथें सुधा ॥
(४९)
सपनाहरुमा मिहीसँग ।
यदि यो भाव घुसे दिई रँग ॥
बिउँझी विरही दुखीकन ।
अलि दिन्थ्यौ स्मृतिको फिका धन !
(५०)
अलि गुञ्जनसाथ प्रेमको ।
लिन टूनाहरुको कुनै सही ॥
अलि त्यो शिरको हिलाइले ।
कुसुमी ढङ्ग लिँदी मनोहर ॥
महदार मुहारकी तिमी ।
यदि बोली नबनी सही सरि ॥
(५१)
मुसकान लिएर मोहन ।
मुखले 'हुन्छ बुझें' भनीकन ॥
म हजार वसन्तको रस ।
लिन बन्थें सुखले मदालस ॥
(५२)
तर यादबिना मनोहर ।
निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
म गरीबै जन नै छु यो दिन ॥"
(५३)
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
गर्दा पुष्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
यौटै चित्र सिँगार्दथे हृदयको त्यो दिव्य शाकुन्तल ॥
(५४)
तृष्णा दर्शनको बनेर घन झैं सान्निध्यकी चन्द्रिका-
लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ झैं ॥
जो ज्योत्स्ना-निहिता थिइन् स्मृतिपरी खुल्दी तिनैको छवि ।
मानो बादलखण्ड झैं हुन गयो दुःखार्त उल्लासले ॥
(५५)
जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
ती आफैं अब छन् शिकार वनमा राम्री कुरङ्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले बिझ्यो ।
आगी जल्न तयार हुन्छ मनमा वर्षेर ती बच्दछन् ॥
(५६)
मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
झिल् झिल् पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
बल्दा विश्व झलल्ल बन्छ शुरुमा धप्केर अल्प क्षण ।
निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
(५७)
धेरै आँसु बफाउँदा जल बने स्वर्ण प्रभातैअघि ।
लाए शीत सिँगार पुष्पहरुले गर्दा पखेटा हिली ॥
प्रेमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥
(५८)
खोलातुल्य बने अनन्त लहरी त्यो मालिनीतीरमा ।
ब्यूँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गुन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
राम्रो रूप शकुन्तला युवतिको मानो उषा झैं हुँदा ॥
(५९)
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कुनै झ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
मीठो स्वप्न त्यजेर पङ्खहरुका गाना सुनी व्यूँझिँदी ॥
(६०)
बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
सुत्दीको महिमा अलौकिक यसो हेरूँ भनी मोहन ॥
त्यस्तै भै अब कल्पना किरणले कोही चियाऊँसरि ।
खोज्छे ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
(६१)
घुड्को एक घुटुक्क झैं भलकको आत्मा रसाईकन ।
मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन् तर क्यै कुरा र सँगको साथी ठट्यौलोकन ।
सोधे "एक उपाय क्यै भन सखे मिल्ने हरे ! दर्शन ॥
(६२)
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
बास्नादार मिठास वन्य-रसकी, हावाहरूको सुख ॥
बोल्दी ती चिडिया हरा भुवनका, बास्ना घुसेकी दिल ।
ती पुष्टा मृदुकोपिला तहतहै स्वप्नाहरू फैलिँदी ॥
(६३)
लाली थोर गुलाबकी वदनमा श्रीतुल्य वासन्तिकी ।
लज्जादार प्रसून लज्जत लिने लालित्य झैं लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
(६४)
कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेकौं छायाले भुइँकन दिँदा भूषणहरू ।
उनी सोध्थे "सुत्छ्यौ मकन नदिई नींद निठुरी ?"
(६५)
चराले बोल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
"तँ बुझ्छस् के मेरो मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन् रवहरु सुनेकी तर तिनी ।
सचेता बन्छिन् ती नृपति छ विलौनामय भनी ॥
(६६)
बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ऊषा विहारी दृग ।
तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुबोल नभको देखेर शोभा नव ।
जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
(६७)
त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
शोभाले छविको उडूँसरि हुँदो बोलेर मीठा कुरा ॥
त्यस्तो पङ्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
देखी ती नृप भन्दछन्- "विपिनका शाकुन्तशोभा तँ जा ॥
(६८)
भन्दे दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
प्रेमी आर्त प्रकाशभीरु जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भर्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
बास्ना मात्र सुँघेर त्यो बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
(६९)
राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही ।
चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥
बोलीतुल्य विकासशील मनमा लाग्ने मुनाका अघि ।
भन्थे "बोलन बोल हे अधरहो ! के भन्दछिन् हृद्छवि ॥"
(७०)
देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना ।
रोएकी मनमा मलीनपनले डेरा लिएकी दशा-
लाई आज भुलाउने छ बढिया भन्ने ठट्यौली सँगी ।
सोची धेर उपाय भर्तृहरिको दृष्टान्त पाईकन ॥
पोल्टाभित्र मकै लिईकन बुजा हाल्दो रुँदै बस्तछ ।
बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥
(७१)
आएको नृप देख्छ त्यो निकटमा "बाबा मरें नी उहूँ !
छाती पोल्दछ बिझ्छ हाय ! मुटु नै बेथा कहाँ यो कहूँ ॥"
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन ।
धाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥
देखाईकन भन्छ "लौन म मरें यो भित्रको कष्टले ।"
"के भो के ?" भनि सोद्धछन् नृपतिले "के पिर्छ के दुष्टले ॥
(७२)
भो भो हाय नबोल दौँतरि ! तिमी पोल्यो नि पोल्यो मुटु ।
फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन् हवा पोल्दछ ॥
जूनै अग्नी भयो मसी निशि भयो कालो वियोगी मसी ।
दुःखै हुन्छ समुद्र तैपनि कुनै देख्दैन मेरो दशा ॥"
(७३)
"त्यस्तो दुःख भएछ ए ! बहुत नै पीडा भएझैं गर्यौ ।
थोरै मात्र बताइदेउन सखे ! के वेदनामा पर्यौ ?"
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो ।
"दोटै अक्षर छन् सुवर्ण रँगका छातीविषे सुन्दर ॥
जो देखें सब स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।"
(७४)
"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहूहू' गरी ।
बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी ।
हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥
(७५)
भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।"
"कस्ती त्यो छ त" सोद्धछन् नृपतिले "के अप्सरा हो भन ?"
"माटो झैं जिउ छन् अरू युवतिका ! पाकी उज्याली सफा ।
लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन् तिनी ॥
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झैं ।
अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥
लाई गाजल ती टलक्क मुख छन् झल्की सिताराहरू ।
तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन् ॥
दाना सुन्दर रौप्यका कुसुम झैं पत्रै सुनौला भुइँ ।
मीठा मग्मग बास-साथ उदरै लोभी बनाईदिने ॥
छन् फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला ।
त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥
राम्रा फूल अनेक ती हृदयका खाना बनाईकन ।
रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥"
भन्दै घुँक्क गरेर, सुँक्कसँग त्यो आँखा भिजाईकन ।
"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥"
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हेरूँ" भनी ।
जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥
(७६)
खोर्याईकन धेर बेर नृपले सोद्धा बतायो तब ।
"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित ।
हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥
(७७)
'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन् ।
हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥
रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी ।
क्या मीठी मृदु कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥
सारा चारु टुना तिमी भर खुला पाऊँ कहाँ कोपिला ?"
भन्दै रुन्छ र भूप मुस्मुस गरी हाँसेर सुन्छन् करा ॥
"हा हाँडी किन बिर्सियौ" भनी रुँदै निक्कै हँसायो बरा ।
(७८)
"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ ।
बुझ्दैनन् अरु हाँस्दछन् शिव हरे ! टाढा तिमी बन्दछ्यौ ॥
झन् झन् झल्किन जान्छ गाजल अहा ! यो माधुरी श्यामल ।
रूँ रूँ लाग्छ अनन्त ! हन्त कसरी मैले सहूँ यी पल ॥"
हूँ हूँ साथ रुँदो बडो चतुर त्यो बूढो बनाई कुरा ।
पेटैसम्म मिचाउँदै नृपतिको हाँसो बन्यो त्यो रुँदै ॥
(७९)
"धन्दा छैन मिलाइदिन्छु सहजै गाला रँगाईकन ।
गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन ।
यो सारा वन वा सबै सहर नै द्यूँला घुमाई वरी ॥"
(८०)
यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अङ्गुली ।
"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जान्नँ सासूकहाँ ॥
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस् त्यो बिहा जङ्गली ।
हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥"
(८१)
प्रसन्नतासाथ क्षितीश हाँसे ।
भुलेर आफ्नो दुख थोर बेर ॥
तथापि आयो उनमा प्रवाह ।
परी झझल्का लहरी उठेर ॥
(८२)
"कहाँ उज्याली सुरकी जुहार ।
शठोपमा यो छ कहाँ असार ॥
फुटेर आँखा यदि स्वर्ग जाऊ ।
परी छ हाँडीसरि भन्न आऊ ॥
(८३)
छ गोरु उस्तै अझ नेत्रहीन ।
यहाँ छ भैंसी अघि हेर बीन ॥
यहाँ छ हीरा कपिको अगाडि ।
मकै चरा भज् अब मूर्ख हाँडी ॥
(८४)
सबै जगत्मा छ मपाइँ जैसी ।
जान्ने कहाँ हुन्छ दधालु भैंसी ॥
दिए तँलाई त्रिदिवेश ताज ।
बेच्ने थिइस् भज्न तमाल गाँजा ॥
(८५)
हवाहरूले जसको सुगन्ध ।
भजी महासागर दीर्घ तर्छन् ॥
उही छ बास्ना रँगरूप हेर ।
ती अङ्ग राम्रा उनका मिलेर ॥"
(८६)
"त्यसो भए ता म उपाय खोज्छु ।"
भनी कन्याईकन त्यो कपाल ॥
घोरिन्छ, देखी उसलाइ राजा ।
हाँसेर भन्छन् "कति मूर्ख बन्छन् ॥
(८७)
तिमी अगाडि प्रतिभाविपन्न ।
बनेछ तिम्रो शिर कृष्ण धन्य ॥
उ रौं चमत्कारसमान लामा ।
टुपी त श्रीपेच छ स्वाँगनामा ॥
(८८)
मुसुक्क हाँसी विधिले लिएर ।
'म उब्जनी गर्दछु एक मान्छे ॥'
भनेर, माटो तटको सुदूर ।
दुःखी नहुन् क्वै जगमा भनेर ॥
सिर्जे तिमी नै तब चट्ट हेर ।"
(८९)
श
यति वचनसाथ ती नृप गए डुली क्यै पर ।
विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥
सुवर्णकन वास छन्, झलक दिव्य हीराकन ।
प्रसून वनलाइ छन्, अनि कबेरकी छन् धन ॥
(९०)
धरा पनि धनी बनिन् यति शकुन्तलाले गरी ।
सबै शहर शून्य छन् वन छ दिव्यताले भरी ॥
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी ।
कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥
(९१)
न लोभ न छ लालसामा विपिनको हरा राज्यमा ।
कुबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥
महीरुह अनेकको शवल भ्रातृताले गरी ।
छ सुन्दर फुली वनै युग सुवर्णको माधुरी ॥
(९२)
प्रवाह गहना लिने, मधुर फुट्छ पन्ना जहाँ ।
हरा कर अनेकमा ऋतु वसन्तका केशमा ॥
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन ।
यि भावहरु छन् यहाँ ऋषि रमाउने मोहन ॥
(९३)
सुवासहरुले यिनै सकल सभ्यता जन्मिए ।
परी कसुम नाच्दछन् जुन कला बनी फैलिए ॥
हरा प्रकृति हाँस्दछिन् मधुर छन् सबैका दिल ।
मही मधुप पढ्दछन् मधुर वेद क्या मञ्जुल ॥
(९४)
अनेक ऋतु आउँदै नव प्रभावले छाउँछन् ।
चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन् ॥
धरा पनि प्रशस्त छन् मित छ चाहना, शीतल ।
कुटीहरु भँडार छन् सकल ज्ञानका मञ्जुल ॥
(९५)
छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी ।
सुधा-घटसमान छन् मृदुलरेख झैं भावना ॥
अहा ! करुण फूलकी गुण जरा धरामा घुसी ।
समुच्च मृदु भावना कसुमिता अहा षोडशी ॥
(९६)
मिहीन र नबोलिने सरस चारु टूनाभरी ।
शकुन्तसँगिनी सुखी रँग लिई हँसीली बनी ॥
खुला पवनमा बढी मृदुलता लिई फुल्दछन् ।
विचित्र रँग उड्दछन् बिहग फुल्दछन् बोल्दछन् ॥
प्रसून-रसना लिई मधुर पातला शब्दका ।
छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥
(९७)
अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट ।
सुधा-तरल बन्दथ्यो सुख शान्तिले बाँधिने ॥
बनाउन म लाग्दथेँ झलक-निम्तिमा मन्दिर ।
कला हृदयको लिई किरणश्रद्ध झैं विष्णुको ॥
(९८)
प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी ।
अरण्य-घनशालिनी जलधिरत्न-सौदामिनी ॥
वसन्त-"ऋतुमा यिनी सुरभि-गामिनी घुम्दछिन् ।
बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥
(९९)
परीहरु यहाँ कतै मधुर जूनमा आउलान् ।
झरेर मृदुतालमा सलिलका हिली गाउलान् ॥
लताहरु समाउलान् हृदयका कणा ल्याउलान् ।
प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान् ॥
(१००)
कतै हरित शैलका कुसुमदार थुम्काहरू ।
कतै छ सुखको गुफा हरित चारु झुम्काहरू ॥
हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर ।
बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥
(१०१)
ककल् कलकलाउँदी सलिलले झझल् झल् बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥
छचल् मचल शैलकी त्वरितगामिनी सुन्दरी ।
कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति ।
छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी ।
सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले ।
धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृदु मर्मरी कवि बनाउँदी छन् चरा ॥
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
सुशीतल हरा हवा मधुर चल्छ हर्हर् गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥
(१०२)
वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा ।
विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृदु परागमा हृदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०३)
प्रभाकर प्रतापका मृदुल रश्मिका छन् यहाँ ।
सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन् पवनमा सजीवानन ।
छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥
लमाइ अति लम्बिँदी नवल मञ्जरी छुन्मुना ।
सुस्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछे ॥
हवा छ लम्किँदो त्यहाँ सुरभिले प्रभा उष्णमा ।
कला छ कुसुमी जहाँ मधुर रङ्गको फुल्लता ॥
(१०४)
कन्याइन करङ्गले कलि प्रशस्त त्यो कालमा ।
मजासहित मख्मली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करङ्गी त्यहाँ ।
वसन्तऋतु-राज्यको जय मनाउँछे सुन्दरी ॥
(१०५)
विहङ्गहरु उड्दछन् गगनमाथि ली चक्कर ।
अनङ्ग पनि रङ्गका शरमिलिन्द-टङ्कारले ॥
फिँजाउँछ जतातता हृदयलाइ दी बेधन ।
अडे नृपति क्यै त्यहाँ उचितमा प्रशंसा दिन ॥
(१०६)
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
सफा छ चुचुरो लिँदो किरणमा फुकूँ झैं गरी ॥
तथापि मृदु लाजको हरित पत्रको अञ्चल ।
फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
(१०७)
लता र तरुबीचको मृदु मुनाभरी सुन्दरी ।
झिनी छ सुकमारिता मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन् सुरप्रदेश ढुङ्ग्रीहरू ।
दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
(१०८)
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
भुवा छ आल खौरेने मृदु हरा फुटी कड्मल ।
बनेर टप चारु झैं अलि छ त्यो खँदीली तर ।
फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
भएर डर भाग्दछन् हृदय चर्किएला भनी ॥
(१०९)
सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला ।
छ मग्मग सुवासले ऋतु वसन्तकी कुड्मल ॥
बराबर छ बर्बरी पवनमा फुलेको रज ।
जमीनकन छिर्बिरे अलि गराउँदै फेदमा ॥
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर ।
विहङ्ग वन-बालिका छिरबिरे पँखेटा बनी ॥
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ ।
उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥
गरी भ्रमर भुन्भुनी अमृत माग्दछन् पुष्पका ।
जहाँ अधर मुस्किए अलि गरेर गानै त्यहाँ ॥
(११०)
बनेर नव सिर्जना विपिनका परीको घर ।
तथा वनसमान त्यो सुरभिकेन्द्र क्या सुन्दर ॥
किनारकन पुष्पको मृदु सिँगारले छाउने ।
थियो मधुर चित्र झैं कवि सुनी फुली आउने ॥
(१११)
त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई ।
बसे नृपति झाँगको सरस आडमा तर्किई ॥
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले ।
सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥
(११२)
चियाउन सुखी ननी हरित झाँग ठूलो मनि ।
त्यहाँ नृपति देख्दछन् विपिन-वल्लरी कामिनी ॥
लिई ढलक बैंसको मधुरता खुलेको ढँग ।
कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥
(११३)
सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका ।
प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥
नितम्बतक झर्छ जो सरस-रेशमी रङ्गले ।
कपोल मृदु पुष्पको सरसता खुलाईकन ॥
(११४)
त्यहाँ अब शकुन्तला कर कपोलमा दीकन ।
कुना तल अडाउँदी मखमली हरा शस्यमा ॥
थुँगातरि कपोलको मृदुल भार थामीकन ।
झरेर मृदु केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किंदी ।
बनी मधुर सूचना छविपछाडि नै छर्किदी ॥
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥
(११५)
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् |
दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झुकेर दृग लाउँदी विरहका मुनामा नयाँ ।
नवीन अन प्रेमको खुलिदिँदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा ।
(११६)
पहाडहरुमा चढी पथ शिलाहरुको लिई ।
निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू-
झरीहरु खपी खपी प्रखर सूर्यका आतप ।
भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट ऊँचा कुनै ।
छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
(११७)
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
अडेर सुखचूड भै अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् ।
अडेर अलि श्वास नै सकल शब्द रोकीकन ॥
(११८)
थिए दुई सजीवता चकित नेत्र नानी दुई ।
पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
अडी अमर झाँगमा अमृतकी नदीनेर नै ।
परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्र्यमा ॥
(११९)
न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
नृपेन्द्र सन चोरका नृपति छन् लुकेका यहाँ ॥
छ ढुक्ढुक त्यसै मुटू प्रकृतिकी सुता हेर्न ती ।
अदृश्य अभिसारकै सदृश ती कुरङ्गीकहाँ ॥
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
(१२०)
नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
सिखारु लजिली बनी हृदय खोल्न कच्चा पनि ।
सँगीसँग नबोल्दछ्यौ यति भयो मलाई भनी ॥
(१२१)
छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
प्रकाश गर है सखी हृदयको खुलेको कुरा ॥
छिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
छ दर्शक र को भनी अझ खुलस्त बन्छ्यौ यहाँ ॥
छिपाउँ जति भन्दछ्यौ उती खुलस्त झन्झन् बनी ।
बसी भ्रमर चित्तमा भुनभुनी गरी बोल्दछ ॥
(१२२)
फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन् ।
सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
रँगीन मृदु मोहनी नव सिँगारका लज्जत ।
थपीकन मुहारमा पवनमा इशारासित ॥
(१२३)
सबै अधर बोल्दछन् कुसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन् 'द्यौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झैं बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२५)
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्ने गरी ॥
अनेक दिलका कुरा अरु खुलस्त पार्ने ढँग ।
सबै युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥
(१२६)
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा षोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के बुझून् ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)
उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन् रुन्झुन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर ।
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)
सुमूर्ख शरमाउँदी कति सुधी र लाटी तिमी ।
न बोल्न पनि जान्दछ्यौ विरह मूक बन्नू भुनी ॥
छ खोज्नु भँवरा यहाँ मह दिएर लट्ठ्याउनु ।
सिँगार गुण गाउने कवि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्नु मूर्खै सही ॥
(१२९)
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर ।
मिली चपत हातको मृदु कपोलमा पन्सिइन् ॥
(१३०)
"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ?
बडी कपटकी यिनी दुख हटोस् कसोरी मरूँ ?"
(१३१)
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन् नृपतिले आँखा तिखारी अति ॥
(१३२)
(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्यारो ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन् मीठी बातकी मिष्ट बात ॥
(१३३)
"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रँगका शिखाहरु जले दिशामा दश ॥
(१३४)
बताउन सखी तिमी कुन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥
(१३५)
बिझी मदनबाण नै अति कृशाङ्गिनी मूक छन् ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥
वसन्त वन रोग यो कसुमबाट हो उब्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झैं वैलिने ॥
(१३६)
बताउन शकुन्तले ! न त वसन्त उन्मादले ।
बनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैंभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुग्णसरि बन्दछ्यौ सब पला दुखी झैं बनी ॥
(१३७)
न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्झिने हृदय झन् उदासै हुने ॥
तरङ्ग बहुलाउने प्रति निमेष रूँ रूँ हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
बसी विजन ठाउँमा अधिक घोरिऊँ झैं हुने ।
(१३८)
समीरण जलाउने मुटु चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रूँ हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' ।
"प्रकाश हुनु औषधि प्रकृत बोलि द्यौ सुस्तरी ॥
(१३९)
जवाकुसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा सुरभिले भरी हृदयलाई गर्माउँछ ॥
'उहू उहू' गरी गरी शर विदीर्ण ऊ कोइली ।
(१४०)
नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
कुरा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन् किन बसेर खोर्याउनु ?
(१४१)
यहाँ छ स्तन चारुमा बुझन चारु ! गट्टा कुनै ।
छ ढुक् ढुक थियो यहाँ कति छिटो बनी उत्सुक ॥
नबोल सखि है तिमी भ्रमर भित्र राखी रहू ।
उसैसँग करा गरी मधु तरङ्ग चाखी रहू ॥
(१४२)
झलक्क तर देखिए नजर यी लुकाऊँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् ।
खुलूँसरि बनी दुवै अधर 'जाऊ' जस्तो गरी ॥
फरक्कसित फर्किइन् हृदयभित्र शङ्का भई ।
कतै नृपति छन् कि ती निकट कुञ्जमा झैं भर्ई ॥
(१४४)
सशङ्क अलि भूप छन् अब मलाइ देख्छिन् तिनी ।
भनी कुसुम झाँगको निविड आड लिन्छन् तिनी ॥
शरीर अलि खुम्चिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लुकूँ कि अब के गरूँ भैकन ॥
(१४५)
"सुनेर दिलका कुरा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी मिलुँ भनी नआऊन् यहाँ ॥
शरीर यसरी गली अधर नै सुकाईकन ।
बसीरहनु एकली कुन छ बुद्धिमानी भन !
(१४६)
अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब कुरा दिलमा रहे ॥
तिमी सुकिदिँदा यसै बहुत लाग्छ माया कठै !
अलीकति बताइद्यौ कपट पाप लाग्ने छ नि ॥
(१४७)
यहाँ बसन काखमा शिर अडाइदेऊ तिमी ।
कि लाज यतिमै भयो ? उरु छ यो जनाना भनी ॥
यहाँ पुरुष छैन क्वै म ठुङ मार्छु मीठो गरी ।
गली कसुम बाहली शिरथुँगा अडाऊ यहाँ ॥"
भनी नरम काखमा मृदु शिरीषको माथ त्यो ।
बसीकन अडाउँछिन् "किन अतीव लज्जावती ॥
बन्यौ 'शिव हरे !' भनी करमकी अबोला गति ।
(१४८)
दुवै युवति हौं बुझ्यौ ? उर दुवै फुलेको यहाँ ।
उही प्रकृतिका दुवै छ कुन कृष्णजूँघा यहाँ ॥
कपोल न छ रौंभरी शरमलाइ खस्रो कनै ।
बताउन सखी हरे बहुत ! तुल्बुलायो मनै ॥"
(१४९)
अनेक ढँगका भई कठिनता तथा लज्जत ।
भरी मुख रँगाउँदी असजिलोपनाले गरी ॥
यसो सखि-मुहारमा नजर क्यै उचालीकन ।
नबोलिकन भन्दछन् 'मकन हुन्छ बाधा' भनी ॥
(१५०)
"खुलस्त नहुने तिमी अब त नास्तिकै भैसक्यौ ।
समस्त दिलको कुरा प्रभु न बुझ्दछन् क्वै वहाँ ?
छकाउनु जगत् सबै प्रकृतिलाइ रोकीकन ।
बनेर गर्हुँगी बस्यौ अधर बन्द पारीकन ॥
(१५१)
खुलस्त जति बोल्दछ्यौ हृदय नै हलूका बनी |
छ रोग पर नै हुने न त अनिद्र बन्दै तिमी ॥
गनेर सब तारका गगनबीच झारी कणा |
प्रतिक्षण हिसाबकी चतुर बन्दछ्यौ रात्रिमा ॥
(१५२)
खराब कटु रोग यो अब कपाल दख्ला नि है !
सधैं उर समाउला अति तरङ्ग भर्ला नि है !
सुकी अधर रूप भै विकृतिमा कलेटी परी |
शिकार कटु कालको बहुत शीघ्र बन्ल्यौ नि है !"
(१५३)
"छ षोडश वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
सबै युवति पर्दछन् नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हृदयलाइ लाग्छन् कुनै ।
छ भीरु दिलको व्यथा कति त मर्दछन् ग्रस्त भै ॥
(१५४)
भने भन तिमी सखी मन नभन्नको नै भए |
न भन्नु किन भन्नु है यति कुरा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस् हृदय मर्न मूकै बनी ।
बढी अप्रकृता बन्यौ" सखि अगाडि भन्छिन् तिनी ॥
(१५५)
"बताइदिनु यो कुरा हित बुझी बताएँ सखी ।
छ रोग पनि यो कडा सब म बुझ्छु यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर थोर कर्के गरी ।
मुहार मृदु हेर्दछिन् श्रवण छन् सुनूँ झैं गरी ॥
(१५६)
"थियो दिवस के सखी कसुमकालको सुन्दर ।
सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
शिकार कुसुमी गरी मदन डुल्दथे कि ? वन ॥"
(१५७)
मुसुक्क दुइ ओठले शरमसाथ बोले करा ।
बढ्यो शरम लाल भै तर लुकाउँछिन् ती बरा !
"बुझें अब बुझें" भनी रँग गुलाबका दीकन ।
कुरा कति प्रियम्वदा मधुर गर्दछिन् तीसँग ॥
(१५८)
बनीकन न फुक्छ त्यो तर बुझिन् सखीले भनी ।
प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन् ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
तिमी त चुपचाप नै बसिरह्यौ कि लाटी बनी ?"
(१५९)
रहस्य दुहुँदी तिनी अति मिठासका बातले ।
खिची नजर रीसका शरमका उज्याला बडा ॥
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन !
झुकेर अलि हेर्दथिन् मन बुझूँ भनी तत्क्षण ॥
(१६०)
"हरे कठिनता बुझें किन त्यसै खुला बन्दथ्यो ।
भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥
चलूँसरि बने पनि अधर बन्दछन् बन्द नै ।
म बुझ्छु कठिनाइ यो न अरू चारु बुझ्छिन् यिनी ॥"
(१६१)
भनीकन छ दुःखको प्रथम यो कुनै अक्षर ।
कसो ? नजर भन्दछन् नजर बन्दछन् हैन झैं ॥
निषेध छ समर्थ नै हृदयका कुरामा भनी ।
"बुझें अब बुझें बुझें" अब प्रियम्वदाले भनिन् ॥
(१६२)
चुँडी कमलको सफा धवल पात ल्याईकन ।
यहाँ हृदयको करा अलिकता तिमी लेखिद्यौ ॥
भनी निकटको कुनै कसुम शूलले दाडिमी ।
कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन् तिनी ॥
(१६३)
मसी मसँग नै छ यो रुधिर लाक्षिका भो यहीं ।
भनी स्वकर घोप्दछिन् मृटु चसक्क भो भूपको ॥
लिई कलम देख्दछिन् कमल पातमा ती अडी ।
अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥
(१६४)
"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन ।
कुराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥"
भनीकन तिनी अडिन् अरु सँगाति लागे पर ।
तिनी हृदय लेख्दछिन् हरफ वक्रमा सुन्दर ॥
(१६५)
जसै शरमले गरी कमलपात च्यातूँसरि ।
बनिन् मृदु शकन्तला त्वरित चारु सर्छिन् अघि ॥
झपक्कसित छोप्दछिन् कमलपात खोसीकन ।
दुवै नजर छोप्दछिन् तब शकुन्तला शोभन ॥
(१६६)
पढीकन सुनाउँछिन् मृदु रहस्यको लालिमा ।
'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥'
(१६७)
"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको ।
सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन् ॥"
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी ।
अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥"
(१६८)
अहो गजब भाग्य हो हुदयबीच राजा हुनु ।
त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन् मनमनै लुकेका त्यहाँ ।
यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
(१६९)
चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥
दिनेशै आए झैं अवनि-पतिको आगमनमा ।
मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥
(१७०)
चकितलोचनी मृदु शकुन्तला ।
'छल रहेछ यो सकलको' भनी ॥
शरमको गरी भाग्नको मन ।
हुन गई अडिन् प्यूँन दर्शन ॥
(१७१)
"कुशल नै छ के वनपरीहरू ?
वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भयो अति प्रसन्नता ।
अति उराठमा पो थिएँ म ता ॥"
(१७२)
भाव चित्तका सब छिपाउँदी ।
नजर हेर्दछिन् ती शकुन्तला ॥
चकितलोचनी विनत चारुता ।
कुसुम झाँगको आड खोज्दछिन् ॥
(१७३)
दिल खुलेसरी स्वर्ण कान्तिले ।
प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
हृदयपङ्खले गर्न स्वागत ॥
(१७४)
"दिल हुँदा हुँदै शाब्द शून्यता ।
जलद बीचमा शीघ्र बेपता ॥
बन्दछौ प्रभा अमित रत्नका ।
विश्ववन्द्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
हृदय भूपको खुश गराउँदछिन् ॥
(१७५)
चार चञ्चला अघि सरीकन ।
नृपतिसामुमा विन्ति गर्दछिन् ॥
"सखि शकुन्तला खोज्दछिन् यहाँ ।
विन्ति गर्न क्यै एकली बनी ॥
(१७६)
पर हिँडूँ सबै शर्म क्यै नली ।
हृदयको कुरा सखि, बताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
लौ त, हिँड्दछौं बस सखे ! यहाँ ॥"
(१७७)
यति भनी हिँडे सब सखीहरू ।
तब शकुन्तला हुन गइन् त्यहाँ ॥
नृपतिसामुमा 'अब म के गरूँ ।'
यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
(१७८)
नजर भूपका भेट्न लज्जिता ।
पयर हेर्दछिन् प्रेमसाथ ती ॥
कुसुम लौन नी अब कसो गरूँ ।
तुल्य भावले कर्किईकन ॥
(१७९)
"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
पृथ्वीमा छ कि स्वर्गमा छ भनिद्यौ केही नमानी धक ॥
इन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
'तिम्रो दास' म भन्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
(१८०)
सातै सागर वा डुबेर गहिरा ल्याऊँ र रत्नादिक ?
ल्याऊँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाऊँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
(१८१)
बन्दी चारु गुलाफ झैं वदनमा या खुर्र भागूँ बसुँ ।
लालीलाइ लुकाउने मन गरी लालित्यले फर्किदी ॥
टिप्छिन् फूल र च्यात्तछिन् कुटुकुटू मानो 'त्यसोरी दिल ।
मेरो लिन्छ वियोग दुष्ट करले' भन्ने बुझाएसरि ॥
(१८२)
जति प्रश्न गर्यो उति कष्ट हुने ।
मन बोल्न भए पनि झन् नहुने ॥
दगुरूँ दगुरूँ र बसूँ दुइटा ।
मृदु भाव मिलीकन ती रहँदी ॥
नबसूँ नबसूँसरि लाज हुँदा ।
तर 'भेट हुनेछ नि फेरि कता ?'
यति भाव लिई रहँदी मृदुता ।
जल-छालसरी अलमल्ल बनिन् ॥
(१८३)
भागिन् आखिर ती पुलुक्क मुखमा हेरी मुसुक्कै गरी ।
लज्जातुल्य सजीव ती कुसुमको लाली कहाँ अल्पिइन् ॥
देवीतुल्य वसन्तकी मदनकी कोपी कुँदेकी तिनी ।
स्वप्नातुल्य कहाँ गइन् विपिनमा भूस्वर्गकी चन्द्रिका ॥
(१८४)