Shakuntala/navama-sarga
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
वसन्त छ परागमा, विहगका गला रागमा ॥
प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
(१)
छ काग पनि कोयली मधुर 'कोयँ' को शब्द ली ।
डटे तरु फुली झुली नरम बैँसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलता लताको मिली ॥
(२)
कुरङ्गगवन रङ्ग भो बहुविहगका सङ्गमा ।
प्रसङ्ग घुइरा चले कुसुमओठका रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत सिर्जना ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(३)
वसन्त छ अनन्तको मधुर पन्थ झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झैं अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
(४)
बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
मुसुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
चरासरि नयाँ कुरा यति बढेछ छापी धरा ।
भनेर कुसुमाकरा द्युति पुर्याउँछे टाकुरा ॥
(५)
बनेर नृप वन्य झैं ऋतु वरेण्यमा गण्य झैं ।
कुबेर घनधान्य झैं कलुषकालिमा शून्य झैं ॥
मनोहर अनन्य झैं मदनजन्य लावण्य झैं ।
प्रफुल्लित हिरण्य झैं छ ऋतुराज सौजन्य झैं ॥
(६)
लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
नशासरि रँगीन छन् जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको परीको थरी ।
हिलाउन डुले धरी चमर हेर लाखौं थरी ॥
(७)
डटी वसनमा हरा मखमली बनाई धरा ।
लिई कुसुमका सुरा पुलकमा पुर्याई शिरा ॥
गवाउन् सिकी चरा सुरभिले छुँदो उर्वरा ।
प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
(८)
रँगीन उसको कला कति भला रसामा खुला ।
नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
अनेक रसिला थला मृदुगला गुँजिन्छन् भला ।
तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥
(९)
छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा ।
विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
कुँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
(१०)
विशाल पटमा टमाटम भरी टुना चातुरी ।
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
थपी रँग थरी थरी कुसुममा सहस्राऽधरी ।
विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
(११)
धराभरा हराभरा वनभरी कुनै अप्सरा ।
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
दिंदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
(१२)
छ चित् शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
(१३)
अपार गति पारमा विपिनसार संसारमा ।
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
झिना मधुर तारमा, भ्रमर भारका सारमा ।
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
(१४)
अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुञ्जिँदो कुसुमपत्रमा पुञ्जिँदो ॥
सिँगार नव पाउँदो मधुर काम फैलाउँदो ।
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
(१५)
छ हास सब वासनामय महाचिदाऽऽभासमा ।
समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥
बनी मधुर बोल्दछन् विहग-जीवनी आशमा ।
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
(१६)
सफेद कर काँच झैं सकल मूलका काममा ।
झिलीमिलि रँगाउँछन् कुसुमकालका रङ्गमा ॥
सबै किरणकामना हृदयका बनी भावना ।
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
प्रकाशन प्रयत्नमा अधर हालिदिन्छन् हरि ॥
(१७)
छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
(१८)
अबोल पनि बोल भै अचलसम्म नै दोल भै ।
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै ॥
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
(१९)
झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
विहङ्गम गला गरी मधुर वेणु झैं मोहन ।
जगत् छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
(२०)
कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
बनी रँग विभिन्नता छिरबिराउँछन् के यता ।
चलूँ मृदु झूलूँ फुलूँ रव गरूँ भने झैं कता ॥
(२१)
चरा छ जसको कुरा अनि छ रोगन नै हरा ।
छ पुष्प मधुरो शिरा किसलयाऽऽधरा हृद्हरा ॥
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
(२२)
जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता ।
दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।
झरे वनविषे परे अब शकुन्तलामा पनि ॥
(२३)
जहाँ पिक छ प्रश्नमा हृदयभित्र 'को हो ?' भनी ।
जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी !
विहार वनमा गरी अब फुलिन् फुकी कामिनी ॥
(२४)
बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।
कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥
करङ्गनयनी यिनी ललितता लताकी बनी ।
बनिन् विपिन झैं धनी मदनमोहिनी मोहनी ॥
(२५)
कथाहरु पुराणका विपिन गर्दछन् वर्णन ।
प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन् ॥
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी ।
स्वरूप छ र कृष्णजी तल झरे कि झैं छन् यिनी ॥
(२६)
सुरेख मृदु अङ्ग छन् वश अनन्त आफैं हुने ।
बनी भजन भृङ्गको हृदयले सुधा नै लिने ॥
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी ।
हुने मरण नै मजा पयरमाथि छाती धरी ॥
(२७)
कहाँ प्रकृत साधु छन् ? हठ र योगका भक्त ती ।
नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥
अमानव छ शून्यता नजरमा न रोमाञ्च छ ।
छ साधु मकनै उही जुन अगाडि सत् जादु छ ॥
(२८)
पर्यो विपिन जानु नै किन बसी घरैका घर ।
जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि ।
उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥
(२९)
छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥
बुझे मधुर रूप नै निगम नै छ के काम र ?
बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥
(३०)
बुझे सरस लाजको मृदुल "नाइँ" को माधुरी ।
छ दर्शन यहाँ अरू कुन जगत्विषे चाहिने ?
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन् यहाँ ।
कडा परुषहातले मृदुलता कहाँ छोइने ?
(३१)
"अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
सधैंभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥"
(३२)
"ममा शरम चित्तमा नरम रङ्गले आउँछ ।
कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ बुझ ।
भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥"
(३३)
यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन ।
प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
यहाँ किन झरिन् र को हृदय डाक्न आइन् यिनी ॥
(३४)
"तमोवृत छ जो जगत् विषयका खिचातानमा ।
यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥
यिनैकन गरूँ भनी मृदुल रूप आमन्त्रण ।
भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥
(३५)
न लेशभर लोभका न कटु कामको कामना ।
लिईकन छुनू यहाँ ?" भनि-दिँदै सफा सम्झना ॥
गुलाबहरु बेलिँदै विषयपत्र झारी झरे ।
उडेर तर मोहनी मृदु कपोलमा ती चढे ॥
(३६)
वियोगसरि बन्दछन् कुसुमबोट भै कण्टक ।
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
बनिन् अमृत झैं यिनी अधरदार पृथ्वीविषे ॥
(३७)
अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
बनेर नखरे ठिटी मन इशारिने बढ्दछन् ॥
यिनी मधुर-भावकी सरलता फुलेकी लता-
समान अति चारु छन् प्रकृतभावलज्जास्पदा ॥
(३८)
हवासदृश बग्दछन् सुरभिभाव सानन्द ती ।
तिनी प्रकृत चालकी मृदु प्रवाल छन् मालती ॥
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
(३९)
यिनी शरम-शुद्ध छन् मधुर रङ्ग चढ्दैछ त्यो ।
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
उघारिन उघारिनै छ कि तयार झैं माधुरी ।
उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥
(४०)
बुझे पनि नबुझ्नुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिझिनुमा तथा रिझ्नुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
(४१)
यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
(४२)
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण थोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥
(४३)