Shakuntala/ashtama-sarga
विपिनबीच छन् ती शकुन्तला ।
कुसुम-कोपिला कान्त-कुन्तला ॥
चपल चालकी दीर्घलोचनी ।
ललित लालिमा-युक्त मोहनी ॥
(१)
वदन बान्किलो हास्य सुन्दर ।
विहगगानकी मञ्जुमन्दिर ॥
रँग प्रवालका, ओठ पातला ।
दशवसन्तकी दिव्य पातला॥
(२)
सलिलकेलिकी कान्ति झल्झल ।
मधुर गानकी मुर्ती कल्कल ॥
मृदु गुलाबमा शीत विन्दु झैं ।
पतित, झीलमा चारु इन्दु झैं ॥
(३)
चपल वीचि झैं तीरचुम्बिनी ।
दिव्य कान्तिले मुस्किँदी तिनी ॥
मधुर चालकी छन् स्वतन्त्रता ।
विपिन-बालिका केलिमा रता ॥
(४)
ललित चालले लोलमञ्जुला ।
सरल शान्त छन् ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
(५)
कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
विगह फूल भै शान्त फुल्दथ्यो ॥
प्रकृतिमा मिली नाच्न आँगन ।
पहर आठ छन् चञ्चलेक्षण ॥
(६)
बाल-केलिको स्वर्णकाल छ ।
प्रौढको जगत् धूलिजाल छ ॥
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
(७)
छ र अनन्तमा खेल्नको मन ।
रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन् भुरुङ् व्योम झिल्मिले ।
चपल गानमा तारका बसे ॥
(८)
कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे ॥
(९)
नव सिँगारकी छन् वसुन्धरा ।
रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
हृदयकन्दरा बस्दछन् भरी ॥
(१०)
भ्रमरभित्रको मिष्ट भुन्भुन ।
छुनु हरा जगत् नाच्छ रे यहाँ ॥
जनक सुन्दछन् बन्न गद्गद ।
सृजनमाधुरी-बीच षड्पद ॥
(११)
शवल सिर्जना ईशले गरे ।
किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
पयर पाउँदै नृत्य गानको ॥
(१२)
कुसुम-ओठमा नव्य नाद छन् ।
छ ऋतु नृत्यका पाठ बन्दछन् ॥
स्वप्न बान्किने बोट झैं बनी ।
किरण केलीमा फुल्छ जिन्दगी ॥
(१३)
भावना मिली बढ्न फुल्नको ।
मधुर वासना पाउँछिन् तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला ।
सखि तृतीय ती द्वेषहीनता ॥
(१४)
मृद् शकुन्तला छन् चतुर्थ यी ।
दश-वसन्तकी कान्तकुन्तला ॥
छनन छन्न छन् छम्म छम्ममा ।
जल छचल्किने शस्यतीरमा ॥
(१५)
मधुर कुञ्जमा जून छर्किंदा ।
झम्म झाँगमा पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
सरस रङ्ग भै पत्र हेर्दथे ॥
(१६)
छलल छल्ल छल् छाल गर्दथे ।
टलल टल् टपल् चन्द्र झर्दथे ॥
पुलिन सज्दछन् नृत्यवाद ती ।
कथन भज्दछन् क्या रमाइला ॥
(१७)
यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा ।
आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा सुनाईकन ॥
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।
सुन्थ्यो स्वादु कुरा जगत् सब बनी क्या चाँदनीको वन ॥
(१८)
ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन ।
बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
जूनेली जल झन्झने लहर ली आनन्द भै दोगुना ।
पार्थिन् वीर प्रसूनका छुनमुना, रत्नार्णणी कामना ॥
(१९)
"को दुष्यन्त ?" शकुन्तकी सखि त्यहाँ सोध्थिन् सफा चाखले ।
"राजा रूप प्रतापका र गुणका छन् सन्तका पालक ॥
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन् कान्त, ती शान्त छन् ।
फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥"
(२०)
भन्दी चारु भइन् हलक्क अलि क्यै चाँडै बढेकी ठिटी ।
आनन्दी शिशुसाथ नन्दनकुनाका बीच सौगन्धमा ॥
फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्थ्यो सुगन्धी कुरा ।
दुष्यन्त प्रभुका अनन्त यशको जो सन्त पाल्ने थिए ॥
(२१)
"हात्ती छन् सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन ।
चढ्छन् रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन् अरे ॥
सारा सागरका जुहारहरुका छन् हार रे सुन्दर ।
मीठा बाग फुली बिहारहरुका छन् रम्य रे मन्दिर ॥
(२२)
छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझल्झल् बालुवातुल्य रे ॥
(२३)
रत्नै फल्दछ रे अनेक रँगको सारा बगैंचाभरी ।
छाना नै सुनको अरे गजबको !" आँखा यहाँ चम्किए ॥
गर्छिन् शान दुवै समुच्च करले, "आकाशभन्दा पनि ।
ठूलो रे, सुनको बिहानसरिको झल्झल् उँचा रम्य रे॥"
(२४)
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा ।
त्यो अत्युक्ति सुनेर चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥
हाँसिन् सत्वर मालिनी-तरलता तारङ्ग ती बालको ।
टिप्दै गुन्गुनसाथ "सत्य सब हो" जस्तो गरी जूनमा ॥
(२५)
"बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान वयका सारा कुराका धनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
(२६)
भन्छिन् एक "छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ।
हाम्रो उम्रिदिँदैन क्यार !" यतिले खिल्खिल् बने ती सबै ॥
ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
(२७)
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी बस्छन् नचाई परी ।
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(२८)
"त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन् ?"
भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन् ॥
ती देख्छिन् सपना बनाइ बिपना छायासितै जूनको ।
"रानी भन्न सुयोग्य छ्यौ" जब सुनिन् भस्किन् पुगेझैं कहाँ ॥
(२९)
"ती राजा अब आउँछन् सखि यहाँ गर्छन् बिहा छाँटले ।
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
बस्नेछ्यौ सखि ! चाकरी सब गरी लिन्छ्यौ बुझ्यौ चामर ॥"
भन्थिन् ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साथकी ।
"जाऊ धुत्त नकच्चरी" यति भनी फर्किन् परी सुन्दरी ॥
(३०)
"जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी ।
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछु ।"
भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन् ॥
(३१)
चीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
चीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
उठ्छन् ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना ॥
(३२)
(मालिनी)
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
तरुवरमनि राम्रा जूनले भासमान ।
छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
(३३)
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
पुष्पैतुल्य हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
जूनेली सुरपुष्प सुन्दर सफा मानो छ फुल्दो त्यहाँ ।
बास्ना नै जसको छ शान्ति रसिलो, आनन्द नै रूप छ ॥
(३४)
"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
टूना चारमुखी महा नृपतिका आनन्द कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना सूक्ष्मका ।
थोरैमा जति छन् उनी अरु कहीँ छैनन् उज्याला हरि ॥
(३५)
आऊ नानि ! शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक ?
यस्तो बेर गरी नआउनु बुझ्यौ राका-चकोरीसरि ॥
ठण्डा सत्तु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ॥"
(३६)
सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
कस्तो रात सफा छ हेर्नु त हवस्" भन्छिन् दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
भन्छन् "रात सफा भएर न त्यहाँ छन् खान क्यै पातमा ॥"
(३७)
फाँको सत्तु लगाउँदी वदनका कूना सफा पार्दछिन् ।
छोटी भैकन खान थोर भुइँमा सेतो झरी झार्दछिन् ॥
पुछ्दी फेरि यसो मुहार करले पानी पिई कल्कल ।
ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी झार्दछिन् ?
(३८)
यति बाद सुतिन् शकुन्तला ।
सपनामा वनमा परीसँग ॥
सुनको दरबारमा उडी-
कन हेर्दी नृपकीर्तिका रँग ॥
(३९)
मानो छ एक सपना मनको मलाई ।
आउन्न रङ्ग बिपनातिर सत्य हाई !
हुन् कालिदास कवि नै कि त व्यास आई ।
राखून् समस्त पद चित्रणमा सफाइ ॥
(४०)