Shakuntala/shastha-sarga
(स्रग्विणी)
मेनका हेर्दथिन् भावले सुन्दरी ।
बालिकालाइ ती मालिनीतीरमा ॥
आउँथे प्रेरणा दिव्य आनन्दका ।
चन्द्रका रश्मिमा स्वर्गदेखिन् झरी ॥
(१)
घामको उष्णता चम्किँदा मुस्किने ।
फूलका मुस्मुसे शान्त जादूहरू ॥
चक्षुमा बालको पस्दथे सुस्तरी ।
ओठ आनन्दले सुस्त मुस्काउन ॥
(२)
रङ्गका वस्त्रमा बास मग्मग् भरी ।
रेशमी पातला पुष्पका शानले॥
दक्षिणी वायुको राहमा डाकिने ।
गुन्गुने गानका पङ्ख छन् भृङ्ग ती ॥
(३)
आउँथे झुण्ड भै वल्लरीमा सजी ।
पुष्प पीयूषको एक गोला त्यहाँ ॥
पुष्पका स्नायुका चाँदनीका सुधा ।
तप्त तप्काउँथे ओठमा बालको ॥
(४)
चन्द्रमा टिप्नको चाहमा बाहुली ।
फ्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
केलिकौतूहला बालिका बन्दथिन् ॥
(५)
तारका झल्किँदो झूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले सुन्दरी बालिका ।
हेर्दथिन् स्वर्गका मेनकाका सखी ॥
(६)
वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥
पुष्पको कोपिलातुल्य आधी खुला ।
चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
(७)
वायुमा वन्य ती वासले बेलिँदा ।
पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
बालका चालमा तालमा ल्याउँथ्यो ॥
(८)
एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला धरी ॥
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो ॥
(९)
हुस्सु झैं पातको चारु पोल्टो भरी ।
तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन् द्वार कर्के गरी ।
शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
(१०)
लाजको लालिमा भालमा झल्किँदो ।
दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥
टाप सप्ताश्वका कड्किँदा पूर्वमा ।
झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥
(११)
देख्छ चोरी त्यहीं कण्वको चक्षुले ।
स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
फर्किदो फेरमा स्वर्गका द्वारमा ।
एक तारा झरी झल्किँदा नीरमा ॥
(१२)
इन्द्रका चापका रङ्गका गिन्तिले ।
अश्व जोती डटे सूर्यले स्यन्दन ॥
दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् ।
अन्धका शैलका ती विजेता बनी ॥
(१३)
बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो ।
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥
(१४)
ध्यानका चक्षुले कान्तिमा स्वप्निल ।
देख्न लागे तिनी कृष्णका भूषण ॥
मेघ सारा बन्यो दिव्य पीताम्बर
नीर त्यो रङ्गमा झल्कियो आनन ॥
(१५)
गोपिनी झैं बने फूल ती चञ्चले ।
अप्सरा बन्दछन् गाउने ती चरा ॥
वेणु झैं बज्दछन् प्रातका रश्मि ती ।
सात रङ्गी बनी दिव्यको ग्राममा ॥
(१६)
"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
(१७)
जान्छ टाढा कतै स्वर्गको देशमा ।
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग् परै पूर्वमा ॥"
(१८)
यत्ति बोली तिनी काँसका फूल झैं ।
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन् झन् अघि ॥
(१९)
आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माझ सौन्दर्यको ।
शान्तिको सूचना तोड्छ झम्टीकन ॥
(२०)
एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिँदा आउने ।
कम्पमा रुग्रुगे पङ्क तर्सी रुँदी ॥
(२१)
"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हा नलुछ् ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
फूल झैं कोमला बालिका सुन्दरी ।"
शब्द यस्तै गरी कण्व लागे पछि ॥
(२२)
"क्रूर हे कालको भाइ– नङ्ग्रा हुने ।
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥
जीवनाऽऽनन्दको कोमल स्पन्दन ।
ढुक्ढुकाई छिटो त्रासले भो, नमार् ॥
(२३)
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी ॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस् ईश्वरैको मुटु ?
(२४)
योनि फेर्, योनि फेर् शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो ।
लाश खाने लुछी लाज छोडीकन ॥
(२५)
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!"
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
चीं चिंचीं चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)
गै उठाए त्यहाँ कण्वले बालिका ।
आर्द्र आँखा हुँदी क्रूरका पापले ॥
देखिइन् बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको गर्दथिन् क्रन्दन॥
(२७)
त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पङ्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥
(२८)
अहो ! कोयली अप्सराकी मुहार ।
बिजूली नटीकी सुती झैं उज्याली ॥
वसन्ती मुनामा रसिली बनेर ।
विलापीरहेकी चुहाएर आँखा ॥
(२९)
उषातुल्य राम्री उदाई सबेरै।
सफा भालमा स्पर्श गर्दी हिमाल ॥
नयाँ घुम्रिएका भुवाले सिँगारी ।
यहाँ ओर्लिइन् शीत ती आँसुदार ॥
(३०)
चुचुच्चु ! च्चुचुच्चू! कुनै नीडबाट ।
चरी स्वर्गकी आज पृथ्वी झरेकी ॥
रूँदी फूलकी कोकिला बासवाली ।
फुलेकी चरी ! आँसु पार्छ्यौ सिँगार ॥
(३१)
अहा ! कोस लामा भिजेका परेला ।
दुवैबाट झल्काउँदी रत्न दाना ॥
परी एकलो ठाउँको त्रास रुन्छ्यौ ।
नजानी रुँदो शब्द जो भन्छ "आमा" ॥
(३२)
पिपिल्पिल् पिपिल्पिल् तिमी दुःख मानी ।
ममा हेर्दछ्यौ आड पाएर नानी॥
म बूढो बनूँ चोर तिम्रो कि क्या र ?
कुनै छैन आधार यो ठाउँमा र ?
(३३)
हलूका नयाँ पुष्प जस्तै प्रभाती ।
तिमीलाइ चोर्ने म हावासमान ॥
कुँदाएर लैजान्छ आनन्द मानी ।
जहाँ गौतमी चाउरी छन् बयानी ॥
कुनै शैल जस्ती मुजाले पुरानी ।
(३४)
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि ॥
(३५)
वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥
(३६)
हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
(३७)
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
(३८)
"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥"
(३९)
यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
(४०)
"प्यारी गोबर गौतमी छ चुनरी बूढ्याइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छ्यौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रँग ।
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
(४१)
चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी ।
यो आँखा दुइका सुधांशु छवि झैं छौ झोपडीमै तिमी ॥
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)
पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
उड्छ्यौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
(४३)
यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ॥
"आऊ छ्यानु यहाँ, करै ! कति बछ्यौ एकान्तमा एकली"
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
(४४)
"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल झैं गुन्गुने ।
आधा शब्द लुकेर अर्द्ध बुझिने वाक् बोल्दछिन् फूल झैं ॥
(४५)
बस्दामा वनमा महाविजनमा माता पिता दूर भै ।
तर्स्यै क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
(४६)
यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन ।
गाभा झैं सुनकी महीरूहविषे बोक्दै झुलिन् गौतमी ॥
आमाका सब भाव जो प्रथम छन् हावा झुलौना बनी ।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥
(४७)
के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
बूढा बाबु सदैव छन् हँसमुखा यो झल्लरी झूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन् सह्यारी शिशु ।
सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
(४८)
बाँडौला र छुनूमुनू कुसुमका हाँगाहरूका सब ।
बीयाँका भुइँबीच वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका "झुल बाबु" रङ्गहरुका चाचा, चरी चक्चके ।
तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य नै विश्व हो ॥
(४९)
"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाङ्गिनीसाथमा ।
सोधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी ॥
"राम्रो सूझ गर्यौ" भनेर ऋषिले लेखे नयाँ पातमा ।
चिल्ला पिप्पलको हवासित सदा उछ्लेर मर्मर् लिने ॥
(५०)
न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पङ्खिदा ॥
साना छुन्मुन स्निग्ध पल्लव फुटी, पन्ना हिलेका दिन ।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँथिन् ती शिशु ॥
(५१)
मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन् ।
गम्काईकन जौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन् कथा स्वर्गको ।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
(५२)
तोतो बोली बालको यो छ सारा ॥
गुन्गुन् गर्ने काव्य सङ्केतद्वारा ॥
खेलै होला खालि सौजन्यलाई ।
"थय्या, थय्या" स्नेहको "हाइ हाइ !"
(५३)