Jump to content

Shakuntala/prathama-sarga

From Nepali Proofreaders
Revision as of 01:56, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Shakuntala.pdf" from=6 to=14/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

॥:श्री:॥

नेपाली शाकुन्तल महाकाव्य

प्रथम सर्ग

(शार्दूलविक्रीडित)

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥
बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
(१)

चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥
(२)

मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
(३)

बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥
(४)

आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥
चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥
(५)

गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ॥
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ॥
(६)

माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ॥
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ॥
(७)

आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा ॥
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका दारिद्र्यका चित्र छन् ॥
(८)

यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ॥
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ॥
(९)

छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ॥
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नु छ भनी लेखें पुरानो कथा ॥
(१०)

लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥
(११)

नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी ।
सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥
(१२)

बिर्सेका तकिया बनून् रसिकका शैलादि झैँ शीतल ।
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको ।
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा ।
(१३)

पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् ॥
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥
पृथ्वी हून् तरुनी, फरक्क समयै फर्कोस् सुनौला बनी ।
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥
(१४)

बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥
(१५)

उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ?
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन ।
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥
(१६)

भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥
(१७)

भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
(१८)

दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
(१९)

के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्‌चके ।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
(२०)

कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥
(२१)

गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जुहारहरुका झल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर लिई हाम्फाल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥
(२२)

"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥"
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)

मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)

"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)

"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फुर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)

जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)

"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौँ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ॥
(२८)

अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी ।
बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ॥
मातालाइ शकुन्तला छ करमै 'थप्या' र 'थप्या' दिन ।
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ॥
(२९)

देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर ।
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ॥
नाचून् पात्र सजीवतासँग यहाँ हृद्‌रङ्गमा देशको ।
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ॥
(३०)

ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्‌भक्तिको माधुरी ।
ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥
जानून् गर्न विलास दिव्य यसमा सारा नवाबी जन ।
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥
(३१)

हामी बालक हौँ भुलेर युग यो, याे क्रूर कोलाहल ।
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा ।
ल्याऔँला नवगन्ध पुष्प हँसिला पोल्टाभरी बासना ॥
(३२)

पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी ॥
गालाबीच गुलाफका कमल झैँ सेतो चढाई कर ॥
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी ।
मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥
(३३)

प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी ।
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ॥
मारी चारु कटाक्ष ती तब भनून् "भुल्छन् कसोरी नर" ।
"भुल्नेछन् भँवरा, म भुल्दिनँ" भनी प्रेमी दिऊन् उत्तर ॥
(३४)

झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुक्कुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥
(३५)

हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥
(३६)

पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥।
(३७)

चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥
(३८)

स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥
(३९)

माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ ।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥
(४०)

(वियोगिनी)
सुन मिष्ठकथा सुवाषिणी,
मृदुमाधुर्यविलासमोहिनी ।
वनशीतलवारिवाहिनी
शिवसत्‌सुन्दरतानिनादिनी ॥
(४१)

सुन कोविदकालिदासको
कलकल्लोलकलास्वलङ्कृता ।
रचनाप्रतिबिम्बिनी कथा
सब यो भारतको प्रिय-ज्यथा ॥
(४२)

वसुधा हरियो गरी सुधा-
जल छम्की बहुरङ्ग-सम्पदा ।
युगनाममिलिन्दगुञ्जिनी
छ नदी झैँ कुसुमायना कथा ॥
(४३)

मरुपान्थ ! नदी छ शीतल
पसिना सुक्न ! सुगन्ध-मञ्जुल ।
मृदु वन्य हवा हिलाउँछ
जलकल्लोल प्रसन्न मञ्जरी ॥
(४४)

हिँड सुन्दरको विदेशमा
चिडिया आज बनूँ उडी त्यहाँ ।
ढकमक्क सुगन्ध छाउने,
वनमा नीड रचेर गाउने ॥
(४५)

कलिकल्मषहीन कालिनी
कनकाभा छ उषा चिरन्तनी ।
ऋषिजीवनले रमाइली
छ हरा शावकको वनस्थली ॥
(४६)

जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदृ मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥
(४७)

सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)

म त जान्छु, हिँडेँ सखे ! अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधाऽऽसव ॥
(४९)

हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन्; मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)