Shakuntala/ekonabimshatitam-sarga
खुल्यो उज्यालो दिन आउँदामा ।
धप्की सुनौला सुखका शिलामा ॥
गोला बनी, सुन्दर स्वर्गबाट ।
सिँगार्न ऊँचा गिरिका ललाट ॥
(१)
तारा निभिन् अन्तिम हीरकाभा ।
सिँगार ठण्डा मृदु मिर्मिरेकी ॥
सन्देश जस्ती दिनकी बलेकी ।
प्यारी उषाकी सँगिनी खुलेकी ॥
(२)
वेदी सफा शीत कणाहरूकी ।
प्रबोधिनी प्रात हवाहरूकी ॥
ती लुक्दथिन्, चट्ट खुली कपाट ।
गुलाफ-बारीतिर स्वर्गभित्र ॥
(३)
आनन्द ओर्ल्यो रवि-रश्मिसाथ ।
धप्काउँदै पर्वतका ललाट ॥
प्रभात भन्थ्यो लिपिमा सुनौला ।
छ प्रेम मिल्दो अब प्रेमसाथ ॥
(४)
उदास पत्ती अब भर्न थाले ।
वसन्त आशा-तरुमा फुलेर ॥
रूँ रूँ गरेको अवरूद्ध बल्ली ।
झल्की सफा शीत झिझिल्ल हल्ली ॥
(५)
आशा छ बोल्दी वनका चरामा ।
आशा छ खुल्दी सुन-टाकरामा ॥
आशा रूँदी जो दिलभित्र बस्थी ।
झल्केर चम्की जलका कणामा ॥
(६)
प्रताप धप्क्यो विजयी बनेर ।
अँधेरमा वाणहरू छरेर ॥
लाली बहायो सुनमा खुलेर ।
जोडी चखेवा खुश छन् मिलेर ॥
(७)
झर्ली पहेँली मुखहीन पत्ती ।
बल्ली उज्याली अब प्रात बत्ती ॥
खुल्ला कही सुन्दरको कपाट ।
जस्ता भए भाव अनेक ठाँट ॥
(८)
चिसै थिई तैपनि सम्झना ता ।
तुषारकी निष्ठुर एक नाता ॥
तथापि दाना अब बन्न लागी ।
प्रकाशको चुम्बन दिव्य मागी ॥
(९)
मानो कही सुन्दर स्वर्ण झल्ल ।
प्रसाद भज्दी धनले अमूल्य ॥
नदी बहन्थिन् परदेशतर्फ ।
लिएर स्वप्ना उरमा उज्यालो ॥
शकुन्तला ती तटतर्फ आई ।
हिरण्यका दिव्य प्रतापलाई ॥
मुद्रा[1] बनाएर प्रसन्न हेर्दी ।
देख्थिन् त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाकुरामा ।
(१०)
आए उज्याला सखि हेर्न फेरि ।
नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
"लौ जाउ भन्छन् नगरेर देरी ॥"
(११)
समीर ठण्डा जल मालिनीको ।
छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
ती पातका आँग सिरिङ्ग पारी ॥
(१२)
झर्की "म ता जान्नँ नि मालिनीमा ।"
भनेर फर्केर फरक्क घुम्छिन् ॥
पत्तीहरूमा छ सहानुभूति ।
अनिश्चिता ती मृदुलाङ्गिनीमा ॥
(१३)
मुसुक्क मुस्के दुइ लाल रेखा ।
मिले दुवै हात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन् ।
छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
(१४)
प्रियम्वदाका दृग शीघ्र जानी ।
बुझेर भन्छन् "सुनझैं छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
कठोरताको नरमिन्छ त्रास ॥
अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्नानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन् गला सुन्दर आधि खाली ॥
(१५)
झन् सम्झनाले मन हुन्छ चीसो ।
झन् अङ्ग सम्झी परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छन् ।
"आगो बनाऊँ ? सखि" चारु भन्छिन् ॥
(१६)
झींझा बटुल्दा कर लाल लाल ।
पुगे सलीला अब मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुइ लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु बन्छिन् ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)
तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेंला अनि लाल सामु ।
लाग्छन् उषा सुन्दर झैं मलाई ॥
(१८)
"को हुन्छ हामीहरुमा' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कुद्छिन् ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)
छिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो शैशिर त्यो सुनौला ।
पङ्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)
सुशीघ्र फर्के सखि चार चारु ।
काँपर कुद्दै वनका किनारा ॥
सानो वसन्ती कुसुमाङ्ग चार ।
चढ्दा दशा शैशिरको किनार ॥
(२१)
ती देख्न पाए अब कामदेव ।
वनैभरी वाण रँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
नाङ्गै भई सुन्दरता विचर्थी ॥
(२२)
न ढङ्ग वा रङ्ग हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
(२३)
यी नग्नतामा तर सत्य आफैं ।
सौन्दर्यको रूप बनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिइ सिर्जनाको ॥
(२४)
ती फूल नाङ्गाहरु हुन् उज्याला ।
रेखा सफा पेशल रङ्गदार ॥
पूजाहरू लायक कल्पनामा ।
छन् सिर्जनाका वनका सिँगार ॥
(२५)
म चित्र लेखूँ रँग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगिने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
धप्की रहेको न त खुल्छ चाला ॥
(२६)
बत्तीहरू हुन् सब रूपवाली ।
धप्की रहेका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन् कपाल ।
सुवास नै बैंस, सजीव चाल ॥
(२७)
तताइए हात भएर लाल ।
सुक्दै गए थुर्थुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
दिनेश डाहा ततिएर जागे ॥
(२८)
हाँसी प्रसन्ना सुख-वल्कला ती ।
फुली उज्याला मुखमा गुलाफ ॥
सुवास वार्तासित कण्ठ-डाँठ ।
हिलेर चल्छन् वनका हवामा ॥
(२९)
सिँगार पार्ने अब भो तयारी ।
ऐना बनाई जल-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
लौ काइँयाले अब हेर बेस ॥
(३०)
फेटेर पानीसित तेललाई ।
टलक्क पारीकन केशलाई ॥
चिल्ला दुवै हात सरक्क पारी ।
प्रियम्वदा छन् रहँदी मुसारी ॥
(३१)
ती केश लामा त्यसरी छुँदामा ।
छन् भृङ्ग चिल्ला रँग टल्किँदामा ॥
नितम्ब हुन्छन् लहरे र लामा ।
न तौल लिन्छन् हलुका हुँदामा ॥
(३२)
'हेला गरे धेर हरे मलाई ।
कालो भनी रङ्ग न भेउ पाई ॥'
भनेर आई शिरमा बसेर ।
राम्रो बनेको रँग कृष्ण हेर !
(३३)
फर्की रहेकी उसतर्फ खालि ।
पृथ्वीभरी केश अँधेर फाली ॥
शाशी-परी झैं सुरकी उज्याली ।
अमा यता छन् तर स्वर्ग बाली ॥
(३४)
ठट्टा चले केश नृसिंहपाश ।
बनाउँदी रेशमतुल्य खास ॥
प्रासादमा दिव्य बनी शिकारी ।
हाँस्छ्यौ तिमी भ्रूशर चन्द्रमा झैं ॥
(३५)
लुकाउँदी चन्द्रमुखी मुहार ।
ती केशका आश्रय पार्श्व पाई ॥
झन् चन्द्रमा झैं घनबीच आधा ।
छिपेर हाँस्छिन् कवि-दृष्टिलाई ॥
(३६)
कला सिकाईकन बैंस बस्थ्यो ।
अबोल शिक्षा दिन मोहनीका ॥
जो अङ्गमा ती घन झैं वसन्ती ।
फुल्दै थिए भित्र मिठास बाँकी ॥
अर्कै छ धेरै, छ विकास बाँकी ।
सुवास, रेखा रँगमा भने झैं ॥
(३७)
सिँगार गर्छन् अब सुन्दरीले ।
वसन्तका अग्र हवाहरू झैं ॥
कोरी बटारी मृदु पल्लवीय ।
बैसालु ती वर्द्धन, शंसनीय ॥
(३८)
लगाउँछन् फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढङ्ग ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)
प्रसूनको लाल धुलो कुटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन् फूल झैं शैशिर काललाई ॥
(४०)
सलक्क राम्री सुकुमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन् कि झैं छन् घर जानलाई ॥
(४१)
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
'आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अब छन् चम्किँदी भूषणादि ॥
(४२)
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन् झन् चीसा दृग युगल छन् मेघ आएर छोपी ।
झन् झन् नीलो गगन अब भो नेत्र भो नीलिमा झैं ॥
(४३)
औंठी लाइन् जब त सखिले चट्ट तानेर औंला ।
राम्रो बान्की सरल खुकुलो चट्ट भै लिन्छ स्थान ॥
मीठो टूना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर् गर्दै पुलक हुन गै हर्छ ती नेत्रलाई ॥
(४४)
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका ।
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होश ।
बेहोशैमा अधर दुइकी पालुवामा लगाइन् ॥
(४५)
"बिर्सन्छ्यौ है सखि महलमा जङ्गली यो सँगाति ।
औंठी आफ्नो प्रियतम बुझी सुम्पिँदी ओठलाई ॥
'को हो को हो !' सित पिक जसै बागमा कुँज्छ आई ।
को हो को हो ? भनिकन तिमी निर्सिनेछ्यौ मलाई ॥" ।
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट ।
'त्यस्ती हूँला निठुर' सरिको झल्कियो क्या रिसानी ॥
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !"
(४६)
"ऊँ" झैं केही मधुर नहुने पक्षको भाव हाली ।
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥
हेर्दी नाराज मृगनयनी 'लाज मारे' भने झैं ।
आफैं लज्जासित तल झुकिन् मुस्कुराएर सङ्गी ॥
(४७)
"भो भो बिर्सिन्न" यति नभने पुग्छ दुर्भाग्य लाई ।
आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥
हामी सम्झी वचन यति नै तीन यी शब्द प्यारा ।
सम्झेकी छन् भनि हृदयमा आश पाऊँ सहारा ॥"
भन्दी राम्री मधुर मुखकी शब्द गर्दी प्रतीक्षा ।
देख्छिन् "त्यस्ती बुझिनु निठुरी हाय मेरो परीक्षा ॥"
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र ।
(४८)
दाढीवाला ऋषि धवलतातुल्य ज्ञानै फुलेका ।
आई भन्छन् "सुखसित गए प्रेमका साथ सम्झे ॥
स्वामी माने दुख सुघ सबै बीचमा देवता झैं ।
धर्म्मै माने, हृदय रहने घाम जस्तो हुरीमा ॥
(४९)
नारीको हो धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्नू तिमिर नहुनू छर्नु आनन्द ज्योति ।
दुःखैमा नै मधुर मुखकी धैर्यकी दीप बन्नू ॥
(५०)
काँढा हुन्छन् कुसुमहरुमा एक नारी प्रसून ।
सच्चा जो हो मधुर मुखकी शूलले भै विहीन ॥
ज्योत्स्ता जस्ती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैलाई पनि सुख गरी बस्दछे झन् उ हेर !
(५१)
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
काँढा बिझ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥
(५२)
चर्चा ज्यादा अटपट कुरामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैको धन बटुलिने गेहको ज्ञान सारा ॥
(५३)
नारीको हो सुख गृह, कला सूक्ष्ममा सूक्ष्म जान ।
आनन्दै नै हँसमुख सदा फैलिने भै प्रधान ॥
हाँगा हाली सुखहरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्थे सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्थ्यो ॥
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर ।
रानी होऊ त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा केही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कुसुमहरुमा झैं भयो लास-भास ॥
(५५)
चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन ।
बन्छिन् "जाने समय अब ता भो नजीकै" भनेर ॥
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई ।
'बाबा !' भन्थिन् "अब पर हुँदा सम्झिनोस् है मलाई ॥"
बोली छैनन् स्फुट अधरमा भावले भन्छ खालि ।
"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन् दी जवाफ ॥
(५६)
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन ?
एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन ।
रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥"
"अर्कै हुन्छन् परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व ।
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ ।
दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको बुझ्दछिन् चारु मर्म ॥
(५८)
"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन् चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई ।
आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)
सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष-
सम्मन् प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥
(६०)
जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
देख्छिन् यौटा मृदुल बिरुवा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने त्रासले आज दीन ।
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
दिन्छिन् आशा "हृदयसँगमै छौं" भनी प्रेमसाथ ॥
(६१)
हाँस्छन् भन्थे अघि तरु लता आज छन् क्या उदास ।
चीसो चीसो छ अब वनमा घाममा नै बतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
स्वर्गै देख्थें कुसुमित यहाँ स्वप्नको भै विकास ॥
(६२)
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
खेल्थें डुल्थें यिनसँग कुरा गर्दथें साथ बढ्थें ॥
पढ्थें पाना कुसुमहरुमा, सुन्दथें मिष्ट गाना ।
दाना दाना हृदय चुहुँदै हुन्छु आजै रवाना ॥
(६३)
मेरो क्रीडावन समयले दूर राख्ला मबाट ।
सग्लै बन्ला हृदयपटमा चित्र यो प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कल्पिंदी प्रेमकुञ्ज ।
डुल्दै डुल्दै गहभर हुँदै छर्कुला रोज रोज ॥
(६४)
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन ।
हल्ली हल्ली मलयतरुमा नृत्य गर्लान् नवीन ॥
चिल्ली खुल्ली मधुर मुखकी मञ्जरी मञ्जु फेरि ।
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
(६५)
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्झिनेछु ।
न्यानो पाई स्फुट-अधरमा कोपिला फैलिनेछ ॥
खुम्ची खुम्ची हुदय तर यो शीतदाना लिनेछ ।
आशा फुल्ली वनभर यहाँ दुःख मेरो हुनेछ ॥
(६६)
मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई ।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥
(६७)
"बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ?
तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥
मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)
"बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बोली ।
आजैसम्मन् सुख नजरमा, दुःखको हुन्छ भोलि ॥
(६९)
बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन् ।
आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन् ॥
न्यानो होला स्वर रँग घुसी बास पाई नवीन ।
यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)
यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥
मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥
(७१)
यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥
मीठो शोभा बहुल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥
(७२)
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
बिर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको बन्छ दाना ।
सम्झी रूँ रूँ छिन छिन भई दुःख पग्लिन्छ नाना ॥"
(७४)
"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्कित भित्र भित्र यो ॥
(७५)
यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सब बीच सुन्दर ?
रँगदार सजीवता भनी-
कन हेरे छ यही सधैंभर ॥
(७६)
भन चारु सखे प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)
कसरी सहुँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मरुतुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)
म त जान्नँ म बस्छु विन्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखितुल्य लता र भाइ झैं ।
तर छोडी मरुकी चरा बनी ॥"
(७९)
मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कुनातक ॥
जलबिन्दु बनेर झर्दछ ।
बिरुवामा अलि म्लान पर्दछ ॥
(८०)
"प्रियका सँग काखमा बसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फुली झुली ।
रहने सुन्दरता बनी बली ॥
जब जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तब मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति 'चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन् ॥
(८१)
तर आँसु पुखी प्रियम्वदा ।
मसिनो रेशमको किनारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो बन्नु न घाउ पार्नु हो ॥
तर धीर हुनू सही लिनू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
यति मिष्ट कुराहरू सित ।
जल पुछ्छिन् हलुकापनासित ॥
(८२)
"पछि फेरि बिदा बराबर ।
लिन पाइन्छ" भनी "यतातिर ॥
सँगिनी जननी पिताकन ।
वनमा भेट्न खुशी हुँदा दिन ॥"
मित भाषणकी सँगी त्यहाँ ।
उनमा साहससम्म भर्दछिन् ॥
(८३)
"जननी सँगमै हुने हुँदा ।
तर यात्रा सजिलो छ हे सखी !
दुइ ब्राह्मण साथ छन् दिने ।
छ कुरा के अब हेर रोकिने ?"
यति साथ सहाय-सम्पदा ।
मुसकाइन् मधुर प्रियम्वदा ॥
(८४)
अब जान तयार गौतमी ।
स्वर दिन्छिन् परबाट वृद्धको ॥
"म तयार भएँ शकुन्तला !
तर के गर्न गयौ कहाँ तिमी ॥"
(८५)
अलि आज गर्हूँ भई पद ।
हलुका सुस्त हिंडाइ ली तिनी ॥
सखिसाथ मलीन माधुरी ।
अघि बढ्छिन् "म यही मुमा !" भनी ॥
(८६)
पहिले शिशुकाल सुन्दर ।
महिमा दिव्य पवित्र पाउँछ ॥
नव खोज लिएर मोहनी ।
प्रभु लीला हुनलाई आउँछ ॥
प्रकृति-प्रभ पोष पाउँदै ।
अभिप्राय प्रभुको बुझाउँछ ॥
अनि एक कुनै सँगी सधैं ।
प्रिय आत्मा त्यसले समाउँछ ॥
र बुनिन्छ अनेक तिर्सना ।
सुख दुःखादिक पाठ पाउँछ ॥
नव जीवनले विशालता-
तिर यात्रा घरको गराउँछ ॥
महती कठिनाइले तर ।
पथको चित्त विषाद पाउँछ ॥
अनि कण्टक पुष्पमा हुने ।
मृदुदाना दिलको बनाउँछ ॥
अघिको शिशु-दृश्य सम्झिंदा ।
सुखले दुःख बुझी रसाउँछ ॥
घर जानु सधैँ त्यसो हुँदा ।
द्इ आँखा दुखले भिजाउँछ ॥
तर सुन्दरता करैसँग ।
प्रभुको त्यो घरमा पठाउँछ ॥
छ उचाल्नु र राह लाउनु ।
प्रिय आत्मा जुन स्वर्ग धाउँछ ॥
अब बाहिर बन्दछिन् तिनी ।
त्यस आनन्द निवासको हरा ॥
दुनियाँ छ विशाल भन्दछ ।
पथ अज्ञान सदा कठैबरा !
(८७)
"म कतातिर जान्छु के गरी ।
जब आधार कहाँ म पाउँला ?
अघि दुःख र वेदना कति ।
अब नौलो दिनले पठाउला ॥
न पिता, न सँगी, न माइती ।
जननी वा शिशुकालका सुख ॥
नव सिर्जनमा कसो गरी ।
मनले शान्ति र चैन पाउँला ?"
घर जानु पराइएको परी ।
मुख नौलो ढँगमा थरी थरी ॥
स्मृतिले अब झन् रुवाउला ।
"म त्यहाँ के अब आड पाउँला ?
नव सागरको जहाज झैं ।
म हवा भेलविषे कहाँ हुँला ?"
डर धेर यही प्रकारका ।
नव यात्रासँग भित्र आउने ॥
(८८)
उनका मनमा पसीकन ।
मन भन्थ्यो "अब के म पाउँला ॥
न त स्वीकृतिसाथ सुन्दर ।
महिषी शासन गर्न मन्दिर ॥
न त विस्मृतिले गरी छल ।
म हुँला बाहिर नै रुँदी जल ॥
तर हैन ! दयालु सुन्दर ।
निठुरी क्रुरपना विना हुँदा ॥
सब सत्यसमान सुन्दर ।
कसरी हैन भनी पठाउलान् ?
रविले वनलाइ यो बरु ।
सब बिर्सी दिन नै नआउलान् ॥
यसरी मनमा तरङ्गीँदी ।
रसिली सुन्दरता मलीन ती ॥"
गुँडबाहिरकी चरीसरि ।
सब हेर्छिन् वन त्यो अडी घुमी ॥
दृग दीर्घ सप्रेम लाउँदी ।
पिउँदै त्यो वनचारु सम्झना ॥
सखिबाट त्यहाँ बुझाइनन् ।
"मनमा दुःख नल्यौ" भनीकन ॥
अब शावक चारु आउँछ ।
पदमा लुट्पुट भै कराउँछ ॥
म सँगै अब जान पाउँ झैं ।
दुगुरी फुर्फुरिँदै रमाउँछ ॥
उसलाइ चपक्क च्याप्नमा ।
सुख पाई करले मुसारदी ॥
"यसलाइ म साथ लीकन ।
भुलुँला दुःख सबै" भनीकन ॥
सखिका मुख जाँच गर्दछिन् ।
सुख न्यानो त्यति बेर पाउँदी ॥
उसलाई "नछोडुँ" झैं गरी ।
वन च्यापेसरि ती समाउँछिन् ॥
(८९)
अब माल्य लगाउँछन् सखि ।
जलका नेत्र बनी प्रशंसक ॥
अनि दु:ख सबै झरी खस्यो ।
पर जाने दिन अङ्गमालमा ॥
(९०)
दुइ पूर्ण घडा सिँगारिई ।
कुसुमाऽभूषित द्वारमा थिए ॥
दिलकी जलकी घडा तिनी ।
तिनका बीच भएर आउँछिन् ॥
(९१)
डोली दोटा राहमा छन् तयार ।
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥
अर्को वृद्धा गौतमीलाइ यान ।
यात्राको भो खालि बाँकी बयान ॥
(९२)
- ↑ सूर्य हेर्ने हातको मुद्रा।