Lalitya bhag 1 ra 2/shraddhanjali
(१)
अग्ला अग्ला उज्याला हिमगिरि-चुचुरा मौलि-माला समान
जस्का छन् गर्दथ्यो जो समर-विजयमा गर्व यद्वा गुमान ।
त्यै शंल प्राय हाम्रो प्रबल-विदित यो राष्ट्र नेपाल खास
हामी कोटि प्रजाको निहित छ यसमा जिन्दगीको विकास ॥
(२)
आफू सानै छँदा यो प्रबल भरत झैँ सिंहका साथ खेल्थ्यो
जो जो हुन् आइलाग्ने रिपुहरु उनमा जाइलाग्थ्यो धकेल्थ्यो ।
वैरी भाग्थे दगुर्थे बहुत पर पुगी दीर्घ निःश्वास लिन्थे
सम्झन्थे जित्नलाई कठिन जब अनी मित्र बन्थे नुहुन्थे ॥
(३)
साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य निष्पट्ट कालो
मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो ।
त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो
आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो ॥
(४)
तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा
हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा ।
भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए
कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए ॥
(५)
नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा
जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा ।
त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी
धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी ॥
(६)
हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क
नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क ।
जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास
पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास ॥
(७)
त्यै मालाबाट उड्दो मधुर महकमा रङ्गियो देश सारा
भाषाको द्वेष गर्ने कृपणमति सबै लाग्न थाले किनारा ।
चौतर्फी चम्चमायो क्रमसित सब यो भानुको वाग्विलास
बढ्दो राष्ट्रीयतामा सरस चहकिलो पर्न थाल्यो प्रकाश ॥
(८)
बढ्दो-चढ्दो रसीलो वय लवकुशझैँ राष्ट्र यो शक्तिशाली
चाहन्थ्यो भित्र उस्को उस नव वयले उच्च शिक्षा-प्रणाली ।
भेट्टायो भानुभक्त प्रिय गुरु नगिचै वन्य वाल्मीकि तुल्य
जो यै अध्यात्म रामायण अति रसिलो ग्रन्थ लेख्थे अमूल्य ॥
(९)
भाषामा त्यो हुनाले सहजसित सबै राष्ट्रले पढ्न पायो
पढ्दा सुन्दा र गुन्दा प्रमुदित मन भो भाव अर्कै उदायो ।
त्यस्ले कोटि प्रजाको हृदय-बिच मिही ऐक्यको बीज हाल्यो
यै हाम्रो राष्ट्रभाषा भनि सब दुनियाँ दङ्ग भै भन्न थाल्यो ॥
(१०)
वर्षैपिच्छे हजारौँ प्रति उस कृतिका छापिए छापिँदै छन्
बाँकी काहीँ रहन्नन्, खुसिसँग दुनियाँ नित्य किन्दै लिँदै छन् ।
निस्कून् लाखौँ करोडौँ अरु नव कविता किन्तु यस्को महत्ता
खेस्ने छैनन् कसैले जबतक रहला राष्ट्रमा शक्ति सत्ता ॥
(११)
भाक्सु, आसाम, बर्मा, सिकिम र मलया, दार्जिलिङ् श्याम सारा
नेपाली बास-बस्तीहरु-बिच रसिलो भानुकै काव्यधारा ।
हर्दम् बग्दो छ अद्याऽवधि घरघरमा, दूरता-दोष धुन्छ
मानू जातीयताका सब-फुल बटुली ऐक्यको हार उन्छ ॥
(१२)
जो निस्केको छ ऐले विविध किसिमको नव्य साहित्य-सृष्टि
त्यस्मा भाषा-विकास प्रणयमय उही भानुको तीक्ष्ण दृष्टि ।
पौडी खेल्दोछ हर्दम् अमृतमय मिठो रङ्ग अर्कै निकाली
टल्केको उर्मिमाला-विलुलित सरमा हंसझैँ भाग्यशाली ॥
(१३)
कस्तो मौका थियो त्यो ? किन कविगुरुले लेखनी त्यो लिएथे ?
कस्तो निन्दा घृणाको सहिकन कटुता काव्य त्यस्तो दिएथे ।
त्यस्ले के लाभ ल्यायो सकल मुलुकमा यो सबै जान्नुपर्छ
जानी ती भानुलाई प्रथम कवि भनी राष्ट्रले मान्नुपर्छ ॥
(१४)
नेपाली गैह्र हामी, हिमगिरितटको राष्ट्र नेपाल हाम्रो
हाम्रो यो राष्ट्रभाषा प्रचलित सजिलो, छन्द-शैली छ हाम्रो ।
त्यो हाम्रो आदिकाव्य प्रिय कविवर ती भानु आचार्य हाम्रो
हाम्रो यै भावनाले जुग जुग तब, यो बन्छ नेपाल राम्रो ॥
(१५)
राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी
भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी ।
चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी
मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी ॥
(१६)
पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त
ऐले हामी हजारौँ नियति-वश बन्यौँ भक्तिले भानु-भक्त ।
श्रद्धा राखी मनाऊँ अब सब उनको जन्मको यो जयन्ती
जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती ॥