Jump to content

Lalitya bhag 1 ra 2/bichitra bahini

From Nepali Proofreaders
Revision as of 16:29, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=272 to=279 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
विचित्र-वाहिनी

(१)
प्रश्न-
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन ।
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥

(२)
उत्तर-
अन्त जान झिँजो मानी साँझका माझमा हिजो ।
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥

(३)
छैन साथी पनी साथ थिएँ खालि म एकलै ।
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै ॥

(४)
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो ।
देह मानू हुल्याहाको हूललाई सिधा भयो ॥

(५)
आकाश शब्दले ढाक्यो चित्त ढाक्यो तपासले ।
लुच्चो भएर कुर्कुच्चो ठोक्यो होश हवासले ॥

(६)
छुट्यो अत्यासले रेल थर्क्यो हृदय-टेशन ।
मैले रुमाल हल्लाएँ गोराले झैँ बिदा दिन ॥

(७)
कहाँ त्यो सभ्यको चाला कहाँ ती मूर्खको गिदी ।
के सम्झन्थे कठै ! मेरो त्यो शिष्टाऽऽचारको विधि ॥

(८)
उल्टो मेरो बिदालाई सम्झी सोझो निमन्त्रण ।
फर्क्यो फरक्क तत्कालै त्यो सारा दुष्टको गण ॥

(९)
पायौँ निमन्त्रणा, आयौँ, गर पूजा भनीकन ।
लागे मानू सबै छुच्चा पाहुना खल्बलाउन ॥

(१०)
कहाँ पाद्य, कहाँ अर्घ्य, कहाँ विष्टर, आसन ।
पार्न थालेँ तिनैलाई म उल्टो रक्तचन्दन ॥

(११)
त्यस्ले झन्‌झन्‌ रिसाएर खैलाबैला गरी ठुलो ।
गर्न थाले जबर्जस्ती धैर्य मेरो भयो धुलो ॥

(१२)
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन ।
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन ॥

(१३)
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन ।
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन ॥

(१४)
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर ।
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर ॥

(१५)
मार्चको शब्दले हो वा भानले हो विमानको ।
निद्रादेवी उडी-हालिन्‌ पर्दा खोलेर कानको ॥

(१६)
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो ।
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो ॥

(१७)
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो ।
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो ॥

(१८)
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो ।
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो ॥

(१९)
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे ।
जायाजात लिनालाई आएका फौजझैँ बसे ॥

(२०)
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर ।
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर ॥

(२१)
राँका लिएर आएका डाँका-तुल्य कडा बनी ।
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी ॥

(२२)
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी ।
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी ॥

(२३)
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे ।
ताजा रगतका धारा खाजा पारे भुँडी कसे ॥

(२४)
म शिकार थिएँ यौटा ती शिकारी कडोरन ।
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन ॥

(२५)
खाई भतेर फालेका टपरीमा बडा छुचा ।
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ॥

(२६)
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब ।
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ??

(२७)
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे ।
कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे ॥

(२८)
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै ।
पियारो साहिनू लाई बोलाई दगुरे कुनै ॥

(२९)
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा ।
गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा ॥

(३०)
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी ।
तर जिब्रो नरङ्गाई हटेनन्‌ ती कुनै पनि ॥

(३१)
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए ।
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए ॥

(३२)
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी ।
 पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी ॥

(३३)
बिकम्बा ती सबै जम्बा मेघझैँ हुन्हुनाउँदै ।
घुम्न थाले जथाभाबी मानू हर्ष मनाउँदै ॥

(३४)
सप्रेका पात-तरुमा पाकेका फलझैँ गरी ।
टीँ टीँ आवाजका साथ गिर्न लागे उसै घरी ॥

(३५)
बाबु मर्यो भने(फेरि) छोरा नाति पनि मरे ।
कन्दराको कुनै मानू लुटेरा फौजझैँ झरे ॥

(३६)
लगाई छातिमा लात्ती तीखा दाह्रा धसी अति ।
चुसी चुसी पिए सारा रक्त-धारा मिले जति ॥

(३७)
उठी क्रोध पिठो पारूँ भनी बाँधी कडा मुठी ।
 पिटेँ पटापटी फेरी किटी दाँत कटाकटी ॥

(३८)
चोट मेरो छली चट्ट झट्ट भागे अली पर ।
चोटले आफनै अङ्ग बन्यो चौपट्ट जर्जर ॥

(३९)
यता हाने उता जाने कानैमा फेरि नाचने ।
नहाने रगतै खाने कसोरी हो नि बाँचने ॥

(४०)
लाल गाला कठै !! खालि छाला-शेष हुँदै गयो ।
तालुमा दन्तमालाले ज्वाला नै बेसरी दियो ॥

(४१)
म यौटा छु हजारौँ ती झम्टँदा छन्‌ वरीपरी ।
ढाडिएको गँड्यौलामा विषालु कमिलासरी ॥

(४२)
हाल-बाला भई टाला जम्मा पारी धुवाँ दिँदा ।
कुइरोमा कराएर घुमेका कागझैँ हुँदा ॥

(४३)
धीरे धीरे झरे फेरी तरी धुम-महोदधि ।
घोर सागर नाघेर वीर गोराहरू सरी ॥

(४४)
त्यो वेला म थिएँ मानू निर्धो निर्बुद्धि भारत ।
तिनी थिए डच, फ्रेन्च, पोर्चुगीज र इङ्लिश ॥

(४५)
भोका ती रक्तका प्यासा ब्वाँसा-तुल्य बलीकन ।
नरमी चालले थाले सुस्तसुस्तै कन्याउन ॥

(४६)
भरौँला पेटको थैलो मरौँला अथवा भनी ।
सबै हाँहाँ दिँदै दौडे बडा आहारिसे बनी ॥

(४७)
ख्याल गर्दा बिरालाले मुसाको जुन हालत ।
हुन्छ, तेही भयो मेरो हरायो होश-तागत ॥

(४८)
कता बुद्धि कता शुद्धि केही नचलने भयो ।
विधर्मीले अँठ्याएर हिन्दूको ठीक भै गयो ॥

(४९)
पौवा चितौनको झाडी मोटो गैँडा म छु खडा ।
शिकारी दुष्ट ती भाला रोप्न थाले तिखा कडा ॥

(५०)
दुष्टको दुष्टता निद्रा-वनलाई सलाइ भो ।
आँखा झिमिक्क लागेन प्राण-बाधा मलाइ भो ॥

(५१)
जब सूर्य उदाएथे उज्यालो प्राण झैँ बनी ।
अनि ती छुट्टु लाम्खुट्टे भागे, जागे अरु भनी ॥

(५२)
यही चोला सही मित्र ! अहिले भित्रबाट म ।
आउँदै छू यहाँसम्म यो अचम्म कहेँ सब ॥

(५३)
निका निका रसिकको मन-रञ्जन पारन ।
हास्यको भास पारेर लेखेँ यो वाहिनीकन ॥