Lalitya bhag 1 ra 2/jivan nadi
(१)
आज्ञानका दुर्गम शिखरमा बेहद जमेको सर्वदा
हिमराशि सञ्चित कर्मको भवितव्यता-वश पग्लँदा ।
प्रारब्धमय-निस्पन्द निस्क्यो मानस-सरोवरमा खस्यो
भुमरी परी त्यो फिर फन्फनायो समभावना दृढ रङ् बस्यो ॥
(२)
सारा सरोवर समतुल्य भैगो, थाल्यो छचल्किन बेसरी
चौतर्फी खलबल बग्दै त्यो लाखौँ हजारौँ मुख गरी ।
जम्बा हुँदै सब कलनाऽऽनुसारी अवितर्क्य एकै धारमा
पत्तै नपाई घुस्तै गयो त्यो विकराल मोह-द्वारमा ॥
(३)
कालो भयङ्कर गर्भे गुफामा धसियो, घुस्यो अलमल्ल भो
अलिबेर तेही अलमल्लमा नै अर्कै प्रभा झलमल्ल भो ।
आफू खसेको डण्डुर कालो ठाडो भयानक देखियो
लाग्यो कहाली त्यो देखदामा सोला अत्याहटले दियो ॥
(४)
चक्कर लगायो, फिर अस्पटायो, अन्योल भो लाचार भो
कछुवासरी भै डल्लो परी गो व्यामोह नै आधार भो ।
एतावता त्यो कालो गुफामा साह्रै जखडबन्द थियो
मार्यो हवाले धक्का अचानक, फेरि तलैतिर हुत्तियो ॥
(५)
यै चालले नै बाङ्गो र टेढो विकराल भिर सब तय गर्यो
संथर सफा मैदानजस्तो परिपञ्जमा फिर त्यो झर्यो ।
बिर्स्यो अघिको रस्ता उभिन्डो, ठक्कर भयङ्कर ती भुल्यो
यसतै रहूँला, यस्तै थिएँ पो भन्ने सुखी सुरमा चल्यो ॥
(६)
जाग्रत र सपना दुइटा किनारा, वासनामय टम्म भो
आशामयी सब लहरीहरुको सौन्दर्य उसमा गम्म भो ।
सुख-कल्पनाका फिर घुम्न थाले भुमरी निरन्तर फन्फनी
लीला सुरु भो दश जातका ती कलहंसको मनमोहिनी ॥
(७)
मिहिनेत-मिश्रित टन्टा हिलो सब देखिन्न उसमा भित्र छ
ऐश्वर्य-नामक पुष्पित कमलको जसमा झकाझक चित्र छ ।
विस्तार हरहर हावा निरन्तर चल्दो छ श्वासोच्छ्वासको
दह पर्छ बिचमा नीलो र कालो अपशोच, चिन्ता त्रासको ॥
(८)
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति
आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति ।
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ
कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ ॥
(९)
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै
आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै ।
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा
विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा ॥
(१०)
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि
प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी ।
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा
जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा ॥