Lalitya bhag 1 ra 2/aaryajati
(१)
मनुष्यमा खास मनुष्यताको
विकास गर्दै फिर सभ्यताको ।
आलोक भर्ने सब विश्वमाथि
संसारमा धन्य छ आर्यजाति ॥
(२)
धेरै अगाडी मुटुभित्र त्यस्को
पर्यो दैवी गतिरुप चस्को ।
बितर्कमा खूब तरङ्गिँदै गो
मस्तिष्क उस्को सब रङ्गिँदै गो ॥
(३)
छाती टटोल्यो, दुनियाँ टटोल्यो
पशुत्वमा मूर्च्छित दृष्टि खोल्यो ।
देख्यो उषाको हँसिलो मुहार
उत्थानमा भो सहसा तयार ॥
(४)
बगाइ चौतर्फि सुधार-धारा
धोयो पखाल्यो पशुभाव सारा ।
उद्बुद्ध त्यो उज्ज्वल आर्यजाति
फुक्तै गयो जागृतिको खलाँती ॥
(५)
ओडारको वा वनको निवास
विकासको हेतु बन्यो र खास ।
मस्तिष्कको कोष शनैः फुकायो
आर्यत्वको तत्त्व निगूढ पायो ॥
(६)
प्रपञ्जको भासक सत्य सत्ता
समाधिका साथ लगाइ पत्ता ।
त्यो गद्गदाऽऽकार बन्यो र फेरि
क्यै घोरियो जीवन-लक्ष्य हेरी ॥
(७)
यो विश्वको केन्द्र महेन्द्र-धाम
त्यस्को नियन्ता परिपूर्ण राम ।
जस्ले मनोमन्दिरमा निहार्यो
सर्व शिवं शान्तमिदं पुकार्यो ॥
(८)
विचार चौतिर सल्बलायो ।
कर्तव्यमा त्यो फिर सल्बलायो ।
प्रपञ्ज विस्तारक चारु वेला
तुरुन्त पायो मुटुभित्र फेला ॥
(९)
त्यस्मा पुर्याएर पुरा विचार
कर्तव्य सच्चा समयाऽऽनुसार ।
देख्यो र लेख्यो पनि वेद चार
यो ज्ञानका सागर छन् अपार ॥
(१०)
अध्यात्मको अद्भुत शक्तिमाथि
कब्जा गरी तथ्य कुरा समाती ।
त्यो धीर लोकोत्तर आर्यजाति
थाल्यो क्रिया गर्न अनेक भाँति ॥
(११)
देखाई आदर्श उदारताको
समाजमा त्याग र एकताको ।
प्रभाव चारैतिर भर्न थाल्यो
छाती कडा पत्थरको पगाल्यो ॥
(१२)
अनेक विज्ञान-विवेकशाली
शाखा-प्रशाखा श्रुतिका निकाली ।
दैवी कला हासिल गर्न शक्ने
त्यै आर्यता भो कहिल्यै नझुक्ने ॥
(१३)
विद्या परामा बहुतै सचेत
रहेर सारा अपरासमेत ।
जान्ने ठुला अद्भुत दूरदर्शी
यै जातिका रत्न थिए महर्षि ॥
(१४)
अन्यायकारी सुरराजसम्म
पल्टाउने शक्ति र सत्त्व टम्म ।
यै जातिको भित्र निवास गर्थ्यो
जस्देखि संसार अचम्म पर्थ्यो ॥
(१५)
अध्यात्म साथै अधिदैव लक्ष्य
राखी मिलाई अधिभूत पक्ष ।
जस्ले खुलायो सब सृष्टितत्त्व
उस्को न होला कसरी महत्त्व ॥
(१६)
परत्रको वास्तव वस्तुतत्त्व
वरत्रको जीवनको महत्त्व ।
बुझी दुवैको सुख-तारतम्य
यै जाति गर्थ्यो उपदेश रम्य ॥
(१७)
आस्तिक्यको दीपक दिव्य बाली
कालो कडा नास्तिकता पखाली ।
जस्ले जगाई प्रतिभा उज्यालो
विश्वात्मा विश्वेश्वरमा बसाल्यो ॥
(१८)
खगोल भूगोल सबै निहारी
रहस्य उस्का गतिको विचारी ।
समस्त सृष्टिक्रम-तारतम्य
यै जातिले स्पष्ट गर्यो सुरम्य ॥
(१९)
देवेन्द्रदेखि कृमि कीटसम्म
देखी महाचेतन-ज्योति टम्म ।
'आत्मैव सर्वम्' जुन जाति भन्थ्यो
आनन्दमा गद्गद भै रहन्थ्यो ॥
(२०)
सन्तोष: कारुण्य, परोपकार
इत्यादि दैवी गुणको प्रचार ।
जो विश्वमा शान्तिनिमित्त गर्थ्यो
सम्पत्तिको सञ्चयदेखि डर्थ्यो ॥
(२१)
अनार्यता वा जडवाद ज्यादा
बढ्यो भने गर्दछ विश्व-बाधा ।
भन्ने विचार जुन आर्यजाति
झुक्थ्यो सदा चेतनवाद-माथि ॥
(२२)
विधि-व्यवस्था समयाऽऽनुसार
सबै मिलाईकन बारबार ।
यै जाति शिक्षा सबलाई दिन्थ्यो
बन्धुत्वमा विश्व समस्त उन्थ्यो ॥
(२३)
सङ्गीत शिल्पादि कला प्रशस्त
विस्तार गर्दै दुनियाँ समस्त ।
यै जातिले खूब रमाउँदै गो
कर्तव्यको ज्योति जगाउँदै गो ॥
(२४)
उदार यस्कै उपदेश-धारा
चुर्लुम्म पारीकन विश्व सारा ।
अनार्यता-दोष सदा पखाल्थ्यो
आर्यत्वको उज्ज्वलता निकाल्थ्यो ॥
(२५)
रजस्तमो-दूषित वृत्तिबाट
संसारमा पर्दछ बिल्लिबाठ ।
भन्ने बुझी नित्य समाजभित्र
यै भर्दथ्यो सात्त्विकता पवित्र ॥
(२६)
के शस्त्र, के धार्मिक शास्त्रतत्त्व
के शिल्प, सङ्गीत, कलामहत्त्व ।
के स्वास्थ्य, वाणिज्य, कृषि प्रयास
सर्वत्र आर्यत्व थियो प्रकाश ॥
(२७)
त्यै आर्यको संस्कृति विश्वभित्र
छँदै छ अद्याऽऽपि बडो पवित्र ।
यथार्थ विश्लेषण गर्न उस्को
संसारको शक्ति छ आज कस्को ??
(२८)
त्यै आर्यको संस्कृतिको समाज
आर्यत्वको मूल भुलेर आज ।
आनार्यता वा जडवाद-माथि
झुक्तो छ सङ्कीर्ण गरेर छाती ॥