Jump to content

Lalitya bhag 1 ra 2/prathibha

From Nepali Proofreaders
Revision as of 16:28, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=258 to=259 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
प्रतिभा

(१)
प्रतिभा मुटु हो मनुष्यताको
प्रतिभाले पद लिन्छ देवताको ।
प्रतिभा बिजुली-समान चल्छ
प्रतिभाले सब दुःख-दर्द ढल्छ ॥

(२)
प्रतिभामय शास्त्र छन्‌ अनेक
प्रतिभा गर्दछ तत्त्वको विवेक ।
प्रतिभा कविता बनेर खेल्छ
प्रतिभा रङ्ग नयाँनयाँ उकेल्छ ॥

(३)
प्रतिभा दिलमा प्रकाश भर्छ
प्रतिभा दुस्तर अन्धकार हर्छ ।
प्रतिभा सुख-शान्तिको निवास
प्रतिभा गर्दछ सभ्यता-विकास ॥

(४)
प्रतिभा नभमा विहार गर्छ
प्रतिभा सात समुद्र पार तर्छ ।
प्रतिभा अणुसम्म फोर्न सक्छ
प्रतिभा स्वर्ग सबै निचोर्न सक्छ ॥

(५)
प्रतिभा युगको प्रवाह देख्छ
प्रतिभाले सजिलो विधान लेख्छ ।
प्रतिभा छ अनन्त-शक्ति-धाम
प्रतिभा बन्दछ विश्वको लगाम ॥