Jump to content

Lalitya bhag 1 ra 2/ma madheshma

From Nepali Proofreaders
Revision as of 16:27, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=238 to=244 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
म मधेशमा

(१)
प्रभाव गङ्गातटको विशेष
हेरेर आएँ म फिरी मधेश ।
बस्नै पर्यो क्यै दिन झोपडीमा
फसेर दैवी गतिको कडीमा ॥

(२)
उराठिलो धूसर चैत्र मास
घुलैधुलाका सबतर्फ राश ।
गर्मी बढेको छ , हवा छ तातो
निस्क्यो भने बाहिर उड्छ सातो ॥

(३)
मध्याह्न-वेला छ पला-पलामा
चुहुन्छ खाली पसिना थलामा ।
पल्टी तताएँ भरिशक्य खाट
भएन निद्रासित भेटघाट ॥

(४)
उठ्दै र बस्तै फिर लोटपोट
गरी सुकाई मुख, कण्ठ, ओठ ।
यताउती नेत्र दुवै घुमाएँ
घुमाउँदा अद्भुत दृश्य पाएँ ॥

(५)
होचो अली दक्षिणतर्फ कुप्रो
थोत्रो, अँध्यारो खरको छ झुप्रो ।
छ्याङ्छ्याङ्ति सारा छितरो छ छानु
चौतर्फि च्याई नभ हाँस्छ मानू ॥

(६)
पानी न रोकिन्छ, न छेक्छ घाम
न गर्छ त्यो शीत-निरोध काम ।
आँधी-हुरीको न त रोकथाम
छ नाम मात्रै घर त्यो तमाम ॥

(७)
कुचुक्क भै चाउरि झोल्लिएको
रस्ता नराम्रो लयको लिएको ।
ढल्दो कुनै जर्जर जीवसङ्ग
दाँजेर हेर्दा सब ठिक्क रङ्ग ॥

(८)
गली-सकेको लडिया बिकम्बा
भ्याल्सी कुहेका धमिरालु खम्बा ।
कोरा थुनी गिर्न सबै तयार
जता दियो दृष्टि उतै उजार ॥

(९)
टाटी डिसिप्लेन सबै टुटेको
कुराज्य जस्तै बहुधा फुटेको ।
जस्बाट लोप्राहरु पट्टपट्ट
गिर्छन टुटी दन्तसरी बिछट्ट ॥

(१०)
काठे-किरा 'कटकट' शब्दकारी
काठैपिछे छिद्र अनन्त पारी ।
वर्षाउँछन्‌ धूसर धूलि-धारा
दुर्दर्श लीला लयको छ सारा ॥

(११)
सारौँ, परेवा र चिभे, भँगेरा-
काकऽऽदि चोट्टा चिडिया घनेरा ।
त्यै जीर्ण छानु उधिनी उजारी
बोक्छन्‌ चुचाले खर चट्ट धारी ॥

(१२)
साटी टुटेका, रसकी टुटेका
सहस्र धारा जलका छुटेका ।
मानू सबै धार्मिक-भावहीन
समाज झैँ छिन्न र भिन्न दीन ॥

(१३)
घुरान फोहोर लिएर नासो
मोटो र गन्दा बिचरो करासो ।
जम्मा झिँगा लाखन भन्नभन्न
भन्की-रहन्छन्‌ सब हाल भन्न ॥

(१४)
लर्की-रहेको खर, झार, पात,
धूलो, धुवाँसो जसमा छ खात ।
हावा चलेमा सब नाच्न थाल्छन्‌
नाची नयाँ कौतुकिता निकाल्छन्‌ ॥

(१५)
चल्यो जहाँ बाहिर हर्र हावा
वहाँ धुलाको घरभित्र धावा ।
छोपेर आँखा, मुख, नाक, कान
घुमी घुमी गर्दछ नाच-गान ॥

(१६)
थरीथरी कीट-पतङ्ग-जाति
गर्दै तमासा हर एक-भाँति ।
खेली-रहेका उस झोपडीमा
देखेँ सबै अद्भुत त्यै घडीमा ॥

(१७)
कतै त सिन्के सुनबारुलाका
पोला उभिन्डा नमुना कलाका ।
कतै अरिङ्गाल कतै छ मौरी
कतै घुमेको छ किरो मदौरी ॥

(१८)
'टटट्-टटट्‌' शब्द गरेर भारी
कतै ठूला माउसुली शिकारी ।
कोखा फुलाएर शिकारलाई
घुमी-रहेका सब सुल्सुलाई ॥

(१९)
कुनै कुनातर्फ कुमालकोटी
कीरो घुसाई गुँडमा चिमोटी ।
देखाई विद्याबल त्यो अनल्प
शनै: शनैः गर्दछ कायकल्प ॥

(२०)
जालो कतै टम्म छ माकुराको
बनावटी जाल सरी कुराको ।
फसेर जस्मा बिचरा अजान
दिन्छन्‌ शिकारी शठलाई ज्यान ॥

(२१)
कतै तिखा दन्त धसी खनेका
आदर्श चौर्य-श्रमको बनेका ।
टेढा र बाङ्गा गहिरा सुरुङ्ग
देखी मुसाको दिल हुन्छ दङ्ग ॥

(२२)
कतै छरीता कमिला शिकारी
कुनै कुनाबाट शिकार मारी ।
घिच्याउँछन्‌ लाखन लागि ताँती
मिलाई मेलो, मन, माग, छाती ॥

(२३)
कतै त काठे भुमरो कराल
काठे-किराको गहिर पुवाल ।
खोस्रन्छ बर्बर्ति धुलो खसाल्छ
कीरा चपाईकन पेट पाल्छ ॥

(२४)
कतै फटयाङ्ग्राहरुको छ धर्ना
फिटिक्‌फिटिक् फिट्ट कतै किथर्ना ।
कतै कुनै कीट-शिकार तारो
ताकी जमेको चतुरो क्षपारो ॥

(२५)
कतै त घोरै ढिकिच्याउँ चल्छ
कतै विषालू खजुरो टहल्छ ।
कतै करोडौँ धमिरा घुसेका
कतै किराले पुतली चुसेका ॥

(२६)
देखेँ सबै कीट-पतङ्गभित्र
मनुष्यकै तुल्य असच्चरित्र ।
बलिष्ठले निर्बल टप्पटप्प
पक्री निलेको सब कप्पकप्प ॥

(२७)
देखेर त्यो प्राकृत शक्तिवाद
यै बातको भो सहसैव याद ।
रहेछ सच्चा न त पुँजीवाद
न उच्च सैद्धान्तिक साम्यवाद ॥