Jump to content

Lalitya bhag 1 ra 2/bayobriddha koiliko bilauna

From Nepali Proofreaders
Revision as of 16:27, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=227 to=228 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
वयोवृद्ध कोइलीको बिलौना

(१)
उज्यालो त्यै अग्लो हिमचुलि छ त्यै नील गगन
तिनै खोला नाला, रुखहरु तिनै त्यै छ पवन ।
म त्यै छू, त्यै प्यारो खग जुनि छ, त्यै चञ्चुपुट यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥

(२)
जवानीको चढ्दो अति चहकिलो रङ्ग रसमा
म देख्थेँ नाचेको सकल वनमा स्वर्ग-सुषमा ।
गलामा घन्केको कहुँ कुहुँ, कुहुँ-कौतुक थियो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥

(३)
जुनेली वासन्ती सरस निशिको अन्त्य पहर
जसै देख्थेँ लाग्थ्यो हृदयबिच अत्यन्त रहर ।
चुचो खोल्थेँ बोल्थेँ, मनमन सबै गद्‌गद् थियो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥

(४)
पखेटा छन्‌ लाटा, चटुल गतिको गौरव छुट्यो
चनाखा आँखामा किनकिन धमीलोपन जुट्यो ।
खलातीझैँ छाती, तन सब जरा-जर्जर भयो ।
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥

(५)
दिशा त्यो माहेन्द्री, उदय गिरिमा त्यो सुनहरी-
उषाका उठ्दै छन्‌ अति मृदुल आलोक-लहरी ।
म बोलूँ भन्दै छु, तर सब गला घर्घर छ यो
कठै ! त्यो आनन्दी मधुर वय मेरो सब गयो ॥