Jump to content

Lalitya bhag 1 ra 2/parashuramko dronacharyasanga ukti

From Nepali Proofreaders
Revision as of 15:58, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=197 to=198 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
परशुरामको द्रोणाऽऽचार्यसँग उक्ति
(सम्पूर्ण पृथ्वी ऋषिवर्गलाई दान दिएर त्यागी बनेका परशुरामका अगाडि धनको इच्छाले उपस्थित भएका द्रोणाचार्यलाई देखेर परशुराम भन्नुहुन्छ- )

(१)
दानी छ राम भनि नाम सुनेर आयौ
हे विप्रवर्य ! तर केवल दुःख पायौ ।
मौका गयो, पछि भयौ, अब आज हाय !
तिम्रो गरूँ म कसरी धनले सहाय ??

(२)
सीदत्कुटुम्ब तिमि छौ, तिमिमाथि भारी
दारिद्र्यको पिर छ घोर अनर्थकारी ।
देखिन्छ साफ सब यो अनुहारबाट
देखेर हुन्छ तर के म फकीरबाट ॥

(३)
ऐश्वर्य बाहुबलले अघि जो कमाएँ
त्यो कश्यपाऽऽदि ऋषिलाई दिएर आएँ ।
विप्रेन्द्र ! एक दमडी पनि छैन पास
दारिद्र्यको गरिदिऊँ कसरी विनाश ??

(४)
अर्थी, अकिञ्चन, अनाथ तिमी-समान
सत्पात्रलाई दिन पाइनँ केहि दान ।
यै बातले बहुत आज चिरिन्छ छाती
दिग्दारिको लहर चल्दछ भाँतिभाँति ॥

(५)
सम्पत्तिमा मसित देशसिवाय छैन
तेसै बिदा यदि गरूँ मन मानदैन ।
शास्त्रास्त्रको बरु म दिन्छु समस्त शिक्षा
यै भो तिमीकन जनम्‌भरलाई भिक्षा ॥