Lalitya bhag 1 ra 2/prabasilai aamako pratyuttar
(१)
हे बाबू ! पुतली भयौ र निशिको बत्ती निभाई गयौ
हुच्चीको हुरिमा पर्यौ , पर पुग्यौ, चिट्ठी धमीलो दियौ ।
यो सारा झुपडी छ धूमिल यता, तिम्रा पखेटा उता
खुस्केछन् पहिल्यै, दुवैतिर कठै ! कत्रो निरालम्बता ॥
(२)
त्यो मेरो वयका वसन्त ऋतुका जम्मा तीनओटा फुल
फक्रेका तिमि एक, भाइ बहिनी साना कली कोमल ।
सन्तापाऽऽनल सल्कि जीवन-लता शुक्तो छ रातो-दिन
यस्को आश्रयमा कली अब कठै ! के शक्दथे फक्रन ॥
(३)
उम्लेको छ उराठिलो घनघटा, भास्दैन क्यै सामुमा
भकानू मुटुमा छ, नैन-पुतली डुब्छन्, सदा आँसुमा ।
भेजूँ यो गतिमा म खर्च कसरी कस्को कहाँको झिकी ।
गर्दैछू दुइ साँझलाई अरुकै जाँतो, पनेरो, ढिकी ॥
(४)
प्यूँदै पानि तुरुन्त फर्क, मनको लाछीपना छाडिद्यौ
त्यो कुल्लिगिरीलाई त्यै जमिनमा खाल्टो खनी गाडीद्यौ ।
त्यो अन्धोपन गैशक्यो, जब तिमी फर्की यहाँ आउला
देख्नेछौ अनि आफनै मुलुकमा धन्दा हजारौँ खुला ॥
(५)
शिक्षा, स्वास्थ्य, विकास, खानि, बिजुली, बाटो, घरेलू कला
पैनी, पूल र बाँध, खेतिहरुका उद्योग लाखौँ ठुला ।
खुल्दै छन् तिनले सबैतिर सदा तिम्रो ठुलो स्वागत
गर्नेछन्, अब रल्लिएर नबसे यै अर्ति दिन्छू म त ॥
(६)
बाबु ! हामि अजान कोटि जनको सौभाग्य रेखा बनी
झुल्केको छ सफा महेन्द्र-जुगको यो शीतल रोशनी ।
यस्को आदर गर्नुपर्छ सबले यै शान्तिको मूल हो
यस्को कोहि विरोध गर्दछ भने त्यस्को ठूलो भूल हो ॥