Jump to content

Lalitya bhag 1 ra 2/birahinika upar sakhiko prashna

From Nepali Proofreaders
Revision as of 15:55, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=181 to=184 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
विरहिणीका उपर सखीको प्रश्न

(१)
जुटाइ शिरमा लटा वदन-फुस्रो गरी
बसी विजन ठाममा नयन नासिकामा धरी ।
विचार कुन तत्त्वको गरदछ्यौ अ-केली बनी
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(२)
शरीरभर बाहिरै झलकँदा नसा(शा)- जाल यो
विशेष-रुचि भङ्गको स(श) कल चित्तले देखियो ।
झुकीकन महेशको गरदछ्यौ पुकार पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(३)
घडी विकट भस्त्रिका[1] हुन्छ निःश्वासले
घडी अचल भै तिमी अडदछ्यौ सुखाऽऽभासले ।
विलक्षण छ वातको गति, बुझिन केही पनि
सखी ! भने वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(४)
बगाइ पसिना घना खलखली, सही कम्पन
बलैसित उठाइछौ सब सहस्रपत्राऽऽसन[2]
झिजो बहुत मान्दछौ अलिक बात चल्दा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(५)
चढ्यो अब शनै: शनैः पवन कण्ठमा भन्दछ्यौ
विशालतम विश्व यो सकल शून्यझैँ ठान्दछ्यौ ।
बसी फगत सुन्दछ्यौ विविध मञ्जु गुप्त[3] ध्वनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(६)
जिऊ सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।
असम्भव छ के अहो !! अब-लयै[4] हुनमा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(७)
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको[5] पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(८)
घुमाई मनमा सदा प्रण-वलाइ[6] बेसरी
निरन्तर-र-त-रङ्गको[7] मधुर तान एकै घरी ।
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(९)
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको[8] वैभव
खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।
म देखदिन खेचरी[9] हुन बिलम्ब कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(१०)
निरञ्जन,[10] निरीह,[11] निर्मय,[12] नितान्त,[13] निर्लेप,[14] यो
स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।
दया गर अलीकती, बुझिन मर्म कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

  1. खलाँती र प्राणायामको भेद ।
  2. पत्राऽऽसनः कमलको पत्रको आसन र पद्माऽऽसन
  3. गुप्तः गुप्ती मीठा कुरा र अनहित
  4. बालाशून्य हुनामा र लय हुनामा ।
  5. जन्मपत्री र कुण्डलीशक्ति ।
  6. प्रण-वलाइः प्रणको बलाई र ॐकार ।
  7. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको धमीठोतरङ्गविषयक ।
  8. अ-तनु-वेधकोः कामदेवको वाण वेध र महावेध
  9. खेचरीः देहत्याग र मुद्रा
  10. निरञ्जनः केहीले पनि नरङ्गिने र गाजलशून्य ।
  11. निरीहः इच्छा नभएको ।
  12. निर्मयः निडर
  13. नितान्तः ज्यादा वैलाएको र अत्यन्त
  14. चन्दनादि लेप नलाएको र पाप-पुण्यरहित