Lalitya bhag 1 ra 2/gauthaliko chiribiri 2
(१)
उपर दलिनमा गौँथलि बस्ता
तलतिर उसको मैला खस्ता ।
म उठेँ सहसा रिसले जागी
त्यो गुँड भत्काउनका लागि ॥
(२)
मेरो चुरिफुरि जोश विचारी
मसिनू तीखो चञ्चु उघारी ।
भ्रमको पर्दा च्याती ध्यार्र
गौँथलि बोल्यो चिरिबिरि-च्यार्र ॥
(३)
तिमीले भन्छौ यो घर मेरो
म पनि कहन्छू यै घर मेरो ।
वास्तवमा तिम्रो हो वा मेरो
खुब लगाऊ मनमा फेरो ॥
(४)
ईँटा-काठको बटुली राश
यो घर ठाडो पार्ने खास ।
सकल बिलाए कर्मी ज्यामी
ओत बसेका छौँ अब हामी ॥
(५)
छोड सबै त्यो रिस र राग
पुछिद्यौ दिलको कालो दाग
मिलिजुलि सबले घाम र पानी
छलनै पर्दछ आखिर नानी !!
(६)
अघि कति भन्थे यै घर मेरो
कति कति घस्थे रङ्ग कमेरो ?
अब सब तिनको नाता पर भो
विधिवश अहिले हाम्रो घर भो ॥
(७)
पछि कति कतिको यो हुन जाला
कति कति जीवन यसले खाला ?
कति छौँ अहिले यसमा हामी
हेर कलेजा भरसक छामी ॥
(८)
शब्द तलामा सुन अझ चर्को
चाँ चाँ चूँ चूँ गर्दछ अर्को ।
जब तिमी सुत्छौ अनि उफ्रन्छ
घरको मालिक मै हूँ भन्छ ॥
(९)
खनि खनि चारैतिर ओडार
पार्दछ खानारहित भँडार ।
सजिलो बाटो झिकि तलमाथि
खेल्छ हजारौँ बटुली साथी ॥
(१०)
चतुर त्यो पनि तिमी जस्तै छ
घरको ममता-वश मस्तै छ ।
न त त्यो सर्दछ न त क्यै दिन्छ
तिमीसित उल्टो भाडा लिन्छ ॥
(११)
मलिकपनको झिक्दै भाउ
आउँछ अर्को गर्दै ङ्याउ ।
उसकन झटपट झापड दिन्छ
दूध दही सब चाटी लिन्छ ॥
(१२)
तिमी जब हान्छौ धुरीमा चढ्छ
ताउ जुँगामा दिन्छ र लड्छ ।
मनमन मेरै घर हो भन्छ
तिमिकन सेवक सरि सम्झन्छ ॥
(१३)
यो सब रमिता जानी जानी
किन तिमी गर्छौ मुफत रिसानी ?
बस तिमी तेही आसन-माथि
मकन पियारो मानी साथी ॥
(१४)
तेत्ती आसन तिम्रो ठान
यो गुँड मेरो बिर्ता जान ।
अरु सब बाँकी सेरोफेरो
बैठक साजा तिम्रो मेरो ॥
(१५)
त्यो पनि थोरै दिनका लागि
आखिर जानै पर्दछ त्यागी ।
बटुवासरि छौँ सब तिमी हामी
अगुवा एकै अन्तरयामी ॥
(१६)
तिमिले खर्च्यौ रुपियाँ धेर
जानिरहेछु त्यो पनि हेर ।
तर रुपियाँको रूप विचार
सम्झ भयङ्कर त्यो तरवार ॥
(१७)
जुन रुपियाँले गर्दा आज
सब दुनियाँको मगज मिजाज ।
शुष्क गरायो, उसका लागि
किन तिमी बन्छौ दुच्छर दागी ??
(१८)
मानिस रुपियाँ जपि जपि मर्छन्
रुपियाँ छिन छिन डेरा सर्छन् ।
उपियाँको झैँ सरुवा बानी
यिनको सम्झनुपर्दछ नानी !!
(१९)
जति जति रुपियाँ सञ्चय गर्छौ
उति उति तिमि सङ्कटमा पर्छौ ।
यो सब मनमा नहुँदा थाह
मुफत निकाल्यौ तेत्रो डाह ॥
(२०)
शिरमा सञ्चय रोग बलाई
नभये-देखी आज मलाई ।
सुर-नगरीको सुर सम्झन्थ्यौ
जन्म चराको पाऊँ भन्थ्यौ ॥
(२१)
ममता गरि जड मट्टी-माथी
कति दिन भुल्छौ व्यर्थै माती ।
मानिस तिमि छौ, खोली छाती
होउ चराको चेलो जाती ॥
(२२)
उन्नति तिम्रो आध्यात्मिक हो
भवसागरको जुन नाविक हो ।
उसतिर देख्दा तिम्रो पीठ
बहुत मलाई लाग्यो टीठ ॥
(२३)
भैतिक सम्पति अरब कमाऊ
जल, थल, नभ सब टम्म जमाऊ ।
त्यसमा तिम्रो उन्नति छैन
त्यो सब सपनाको हो चैन ॥
(२४)
बिन्ति छ नानी ! अझ पनि बिउँझ
यो चिडियाको बोली सम्झ ।
मस्त नीदमा यसरी गम्की
कति दिन गर्छौ लम्कीझम्की ??
(२५)
दीन दुखीमा करुणा राख
प्रेम-सुधारस भरशख चाख ।
होउ चराको चेलो आऊ
चेतन चोला सफल गराऊ ॥
(२६)
यो सब धारो कर्ण-विवरमा
बहँदा-बहँदै अद्भूत सुरमा ।
बाहिर पानी बर्स्यो स्यार्र्
गौँथलि बोल्यो चिरिबिरि-च्यार्र ॥
(२७)
देखि तिमीकन लायक पात्र
आज बनाएँ मैले छात्र ।
अब कति पारौँ घाँटी घ्यार्र
सबसित भन यो चिरिबिरि च्यार्र ॥