Jump to content

Lalitya bhag 1 ra 2/manaparibartan

From Nepali Proofreaders
Revision as of 15:46, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=166 to=170 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
मन: परिवर्तन
(सत्य घटना)
(आफूले एक दिनअघि छातीमा गोली हानेर मारेकी पन्ध्र वर्षकी सेवताल-बालिकाको पाउ पक्रेर कप्तान मनरो साहेब भन्दछन्‌-)

(१)
अयि ! सुन्दरि मत्तकाशिनी !
तिमीलाइ पशु-तुल्य नै गनी ।
अघिबाट कुकर्म जो भयो
अब त्यै हा ! मुटुको फियो भयो ॥

(२)
अति निन्दित नीच जङ्गली
अछुती नै समझी घमण्ड ली ।
किन हेरिनहूँ कठैबरी
मुख तिम्रो शिव ! हाय ! त्यो घरी ॥

(३)
तमले सब छोपदा मन
अभिमानी म जयन्ति ! त्यो दिन ।
जुन राक्षसभावमा थिएँ
उसलाई अब बिर्सँदै गएँ ॥

(४)
अघिको न विरोध क्यै थियो
न त तिम्रो अपराध नै थियो ।
कसरी म बनेँ अकारण ?
नलिनीमा मदमत्त वारण ॥

(५)
यस घोर कुकर्मले गरी
म कुकर्मी कुन नर्कमा परी |
कुहुने कसरी ? कहाँतक ?
टरनेछैन अवश्य पातक ॥

(६)
कलिली अबला कठै ! तिमी
वनमा आफुखुशी घुमी घुमी ।
रहने बिचरी चरी-सरि
म शिकारी शठ पाप-पोखरी ॥

(७)
भुलमा अपराध त्यो गरेँ
तर आई फिर पाउमा परेँ ।
खलको भुलमा क्षमा गर
तिमि छैनौ म-समान निठ्ठुर ॥

(८)
तिमिले नगरे ममा क्षमा
म अभागी सबका समक्षमा ।
जिउँदै उस नर्कमा गएँ
जसमा देवि ! नजन्मँदै थिएँ ॥

(९)
जगदीश्वरका अघिल्तिर
तिमि हामी सब छौँ बराबर ।
नबुझी तर यो सहोदर-
भगिनी-घात गरेँ सरासर ॥

(१०)
जुन घातक हात हुन्‌ उनै
अब तिम्रा पदमा शनैः शनैः ।
प्रणिपात गरी क्षमा लिन
अघि सारेँ भयभीत भैकन ॥

(११)
सुनको प्रतिमा-समानकी
तिमि देवी उस आसमानकी ।
म कठै ! शठ नर्कको किरो
अझ पारेँ उसलाई साँघुरो ॥

(१२)
तिमी कोमल वन्य वल्लरी
अथवा नूतन चूत-मञ्जरी ।
सुकुमारि ! म नीच पागल
बनिहालेँ तिमिमा दवाऽनल ॥

(१३)
करुणामयि ! रङ्ग जातिको
जुन हो गर्व गुमान छातिको ।
अब त्यो सब गैगयो गली
पहिलो व्याकुल भावको चली ॥

(१४)
म डुबेँ , विकराल शोकमा
पुगिहाल्यौ तिमि देवलोकमा ।
उहिँबाट दयाऽवलोकन
गर हे देवि ! दयावती बन ॥

(१५)
गइथ्यौ जुन गोलिले तिमी
उहि फर्की दिलमा घुस्यो घुमी ।
गर देवि ! दयावती ? दया
दिल मेरो छ सबै छिया-छिया ॥

(१६)
तिमिलाई म खास मारने
तिमि ढोका दिलको उघारने ।
मुटुमा बजदो छ बेसुरा
कुन यो राग अहो !! पुरा-पुरा ॥

(१७)
पहिले जुन गोलि बन्दुक
लिइ फिर्थेँ म बनी समुत्सुक ।
अब त्यो सब हा ! हलाहल
विष सम्झी दिल रुन्छ आकुल ॥

(१८)
पदमा म झुकेँ नकच्चरो-
अपराधी, दिलमा हुँदा खरो ।
करुणा गर क्यै नल्यौ चुरो
भन देवी ! (मनरो ! न रो, नरो)॥[1]

  1. यो कविता पैले ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक