Lalitya bhag 1 ra 2/pijarako suga
(१)
बालक बबुरो द्विज शुकनामा
हूँ, म परेको छू पिँजरामा ।
मकन हरे ! शिव ! शान्ति र चैन
सपनाबिच पनि रतिभर छैन ।
(२)
मेरा बान्धव बाबु र आमा
बस्छन् वनका एक कुनामा ।
कोसित पोखूँ मनको ताप
गरदै पिँजराबाट विलाप ॥
(३)
आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दा-तुल्य म हुन्छु ।
कहिले पागल सरि उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ॥
(४)
फलफुल खाई नित्य रमाई
वनमा फिरने बिचरालाई ।
विधिले पार्यो पिँजरा-भित्र
कर्म हरे ! शिव ! हुन्छ विचित्र ।
(५)
कति फिरदो हूँ कति उड्दो हूँ
कति कति देशान्तर डुल्दो हूँ ।
दैव ! हरे ! किन बालकलाई
बन्धन पार्यौ व्यर्थ भुलाई ॥
(६)
शीतल पानी कुञ्ज-निवास
भोजन मीठो फलको खास ।
त्यो सब हुनगो आज विनाश
बाँकि छ एकै मनको त्रास ॥
(७)
हरियो वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
डुलनू फिरनू फलफुल खाई
सपनामय भो हाय ! मलाई ।
(८)
वृद्ध महातुर बाबा जननी
आँसु खसाली दीन बनी ।
नित्य रुँदा हुन् हाय !! विधाता !
तोडिदियौ किन त्यो दृढनाता ?
(९)
वरिपरि वैरीहरु छन् सारा
छैन कतैतिर कोहि सहारा ।
के गरुँ ! कसरी उम्की-जाऊँ ?
कोसित मनको दर्द बिसाऊँ ?
(१०)
यो सब गगनैभरमा खास
जसका हुन्थे भोग-विलास ।
उसको अब हा !! जीवन-पात्र
केवल सानू पिँजरा मात्र ॥
(११)
पिँजरा फोरूँ भनिकन चुच्चो
बलसँग धसदा भो सब बुच्चो ।
बेसरि कुँजिए पक्ष र पाउ
कसरी अब हा !! काल बिताऊँ ॥
(१२)
कहिले ठण्डी कहिले धूप
कहिले बकबक, कहिले चूप ।
बालकहरुको मनअनुसार
हुन्छ निरन्तर भाग्य-विचार ॥
(१३)
भाग्य-तमासा जब सम्झन्छु
अनि पछि सिल्ली-तुल्य म हुन्छु ।
आँसु बहन्छन् छाति चिरिन्छ
चित्त निरन्तर रोइरहन्छ ॥
(१४)
उठ्दछ मनमा घोर तरङ्ग
सबतिर हेरी हुन्छु भरङ्ग ।
प्राण नजाने काल नआई
के गरि कसरी बाँचूँ हाइ !!
(१५)
खानु छ खाली तौली धान
त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन
भोगिरहेछु यस्तै चैन ॥
(१६)
शुष्क छ घाँटी, बन्धन चर्को
बोलनुपरने झर्को अर्को ।
बोली नबोलूँ लट्ठि उजाई
हुन्छ तयारी पीटनलाई ॥
(१७)
यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम !
पढो पढो जी, राखो नाम !॥
(१८)
यो कस्तो हो ? कसरी आयो ?
बसिकन पिँजराबिच के खायो !
यो सब बुझने कोही छैन
हाय !! यसैले मन रहँदैन ॥॥
(१९)
जीवन अर्पी बन्धन-भित्र
बोलनुपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र
दैव ! रहेछौ करुणा-पात्र ॥
(२०)
दैव ! दिएथ्यौ तिमिले एक
बोलन सक्ने शक्ति विवेक ।
पाइरहेँछु तेसै-द्वारा
बन्धन, गाली, धम्की सारा ॥
(२१)
मकन दिलाई सङ्कट जेल
मानिस गरने कौतुक खेल ।
यो कस्तो हो पापाऽऽचार !!
दीन-दयालु ! लाऊ पार ॥
(२२)
गुणको वैरी मानुष-जाति
शुष्क गराई गुणिको छाती ।
प्राण-पखेरू नलिए-सम्म ॥
खुश किन हुन्थ्यो, हाय ! अचम्म ॥
(२३)
पृथ्वीतलमा यौटासम्म
मानिस बाँकी रहँदा-सम्म ।
नाथ ! सुगाको जन्म नहोस
बल्ल मलाई आयो होस ॥[1]
- ↑ यो कविता नेपाली तेस्रो किताबमा छापिएको हो । -लेखक