Jump to content

Lalitya bhag 1 ra 2/jivan jyoti

From Nepali Proofreaders
Revision as of 15:43, 25 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
जीवन-ज्योति

(१)
दिनकर घुमून्‌ वा पृथ्वी घुमून्‌ वा, हावा घुमोस्‌ वा जल घुमोस्‌
शिशुमारनामा चक्रै घुमोस्‌ वा विकराल अथवा कालै घुमोस्‌ ।
जुन वस्तु हो त्यो हर्दम्‌ घुमेको उसको घुमावट धन्य हो
जसबाट निस्क्यो झलमल्ल यस्तो यो विश्व-जीवन-बिजुली अहो !

(२)
फनफन घुमेको उस चक्रको सब, सञ्चालना उही जान्दछ
जसलाई हाम्रो वेद सर्व-व्यापी पिता भनी मान्दछ ।
न त आदि उसको पाइन्छ कहीँ न त अन्त्य काहीँ मिल्दछ
जो गर्छ खोज उसको उसैको सत्ता उसैमा मिल्दछ ॥

(३)
यो विश्व-जीवन-सौदामिनीको सञ्चार गर्ने घर ठुलो
होला कहाँ त्यो ? कुन रेलिँदो हो त्यसमा अगम्‌ गतिमा कुलो ?
यो तर्क गर्दागर्दै सबैको शिर घुम्छ त्यो चक्र सरि
घन्कन्छ आखिर व्यामोहको नै खाली गगनमा बाँसुरी ॥

(४)
आब्रह्म, भुसुना, तृण, वृक्षतकका प्रणीहरू खम्बा सरि
छन्‌ भित्र मसिना तार मनका उनका कसेका बेसरी ।
सङ्कल्पको नै चर्को करेन्ट-ज्वाला निरन्तर चल्दछ
रङ्गित गुलुपको बीच वासनाको ज्योति झकाझक बल्दछ ॥

(५)
यो विश्व-जीवन-बिजुली निकाल्यो, त्यो विश्वकर्मा दङ्ग भो
झलमल्ल झल्क्यो यो विश्व सारा उसलाई अर्कै रङ्ग भो ।
सब झ्याल खोल्यो उस नाचघरका आफू बस्यो दर्शक बनी
लीला सुरु भो अद्भुत नटीको जम्मा भए नटुवा पनि ॥

(६)
मालिकनी भै गर्छे नटीले जुन जुन इशारा त्यै सब
नटुवाहरूले फिर गर्न थाले नृत्य-क्रियाको उत्सव ।
दर्शक बनेको त्यो विश्वकर्मा त्यै देखदा अलमस्त भो
देखिन्न अर्को मै एकलो छू भन्ने अत्याहट अस्त भो ॥

(७)
थोत्रा पुराना सामान पुर्जा प्रत्येक आफैँ हेरदै
जस्तो जहाँ जो चाहिने हो त्यस्तो त्यहाँ त्यो फेरदै ।
हर्दम्‌ तमासा हेर्ने तमासे त्यो विश्वकर्मा धन्य हो !
यो विश्व जसका भित्री नजरमा न त अन्य हो अनन्य हो ॥