Lalitya bhag 1 ra 2/arunodaya
(१)
जय जगदीश्वर ! मनको रहमा
शून्य गगनमय भित्री तहमा ।
पलपल शीतल कलना-लहरी
निस्कन लागे ठहरी ठहरी ॥
(२)
मधुर ध्वनिको श्रवण-विवरमा
रेखा खिचियो पञ्चम सुरमा ।
जति जति डुबिकन हेरेँ भित्र
यति उति पाएँ भाव पवित्र ॥
(३)
प्रमुदित त्यहि नै भाव तमाम
गर्छ नखीको कोमल काम ।
जसले गर्दा वारंवार
झन्कन थाल्यो हृदय-सितार ॥
(४)
नासा-पुटमा थरि थरि महक
कसको कसको पाई बहक ।
लहबरि खेल्दै चहचह गर्छ
सुखका शीतल सीकर छर्छ ॥
(५)
तम सपनाको पर पर सारी
नयन-सरोरुह सरसर पारी ।
सुन्दर शीतल बिजुली छिनमा
दौडन थाल्यो हृदय-गगनमा ॥
(६)
उस बिजुलीका क्षणिकझलकमा
झल्क्यो अद्भुत दृश्यपलकमा ।
कृश रजनीको दीन मुहार
मलिन फिका सब गहना, हार ॥
(७)
सिम्रिक सारा पर छरिएको
चादर फुस्रोपन भरिएको ।
आँसु बहेको रजनी बिचरी
छटपटिएकी कसरी कसरी ?
(८)
रजनी ! रजनी ! बस अलि बेर
जनि गर, नदगुर रन्थनिएर ।
नजर फिराई अलिकति हेर
पूर्व गुलाफी खोपीनेर ॥
(९)
बालक दिनकर भरखरका ती
सुस्त पसारीकन कर माथि ।
गरछन् खोज प्रिय जननीको
बिन्ति छ रजनी ! नगर ननीको ॥
(१०)
हुन त उषाले लेली काख
प्रणय बढाई मानी चाख ।
किन्तु तिमी पनि ममता राख
धाईभन्दा जननी शाख ॥
(११)
अलिछिन श्यामल चादर-भित्र
उज्ज्वल रागी बाल पवित्र ।
गुटुमुटु पारी गुम्म तताऊ
अनि झुलनामा माथी ल्याऊ ॥
(१२)
[1]बसि बसि म पनी तेतिञ्जेल
हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारेँ फेला
शारदा अरुणोदयको बेला ॥
- ↑ (यो कविता शारदा पत्रिकको पहिलो अङ्कमा छापिएको छ ।)