Jump to content

Lalitya bhag 1 ra 2/basanta

From Nepali Proofreaders
Revision as of 15:38, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=98 to=101 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
वसन्त

(१)
अन्धकारमय सङ्ककारी
शीतपूर्ण जठिलाऽऽकृति-धारी ।
शैशिरस्थिति समस्त हरायो
शान्त सुन्दर वसन्त उदायो ॥

(२)
छैन शीत शरदी अघि जस्तो
लागदैन गरमी पनि उस्तो ।
मध्यम स्थिति लिएर वसन्त
लोकलाइ सुख दिन्छ अनन्त ॥

(३)
जाल फारि गहिरो कुहिराको
उज्ज्वल द्युति फिँजारि मजाको ।
सूर्य उत्तर दिशातिर लागे
पद्मका विकट दुर्दिन भागे ॥

(४)
जो थिए तरु लताहरु नाना
पत्र, पुष्प, फल-हीन पुराना ।
हेर आज विधिले उनमाथि
पालुवा जडिदियो अति जाति ॥

(५)
जामुनू, तिलक, बञ्जुल, पैञ्यूँ
कोबिदार, महुवाहरु, कैञ्यूँ ।
उच्च वृक्षहरु हेर विचित्र
देखिए कुसुमले वनभित्र ॥

(६)
केतली, बकुल, चम्पक, जाती,
पाटलाऽऽदि फुलको बहु भाँति ।
बागमा गमक(महक) त्यो गमकन्छ
चित्त चञ्चल भई चमकन्छ ॥

(७)
मन्द मन्द बहने सुखकारी
शीतलो सरस वृक्ष-विहारी ।
वायुले कुसुमको रज झारी
बागमा भरिदियो तर पारी ॥

(८)
टल्कने चहकिला अति काला
भृङ्गको रसमदाऽऽकुल माला ।
बागमा घुनुनुनू घुमनाले
दिग्दिगन्त सब घन्कन थाले ॥

(९)
वृक्षका मृदुल पल्लव-भित्र
खेलदै सरस खेल विचित्र ।
च्याउँ च्याउँ चिडिया खुशि मानी
बोल्दछन्‌ बहुत सुन्दर वाणी ॥

(१०)
झार, पात, पिपिराहरु नाना
दर्शनीय हरिया मृदु साना ।
देखिए धरणिमा बहुमूल्य
चीनियाँ नरम-रेशम-तुल्य ॥

(११)
शीत-शुष्क-नलिकामय सारा
सारले रहित तुच्छ अँध्यारा ।
पोखरीहरु भए अब बल्ल
पद्मका कुसुमले झलमल्ल ॥

(१२)
आँपका मधुर मञ्जरि खाई
दीर्घ उच्चतर कण्ठ खुलाई ।
कोइली गरछ गान विचित्र
मस्त भै छिनछिनै रुखभित्र ॥

(१३)
[1]लोकमा छ न त वृष्टि न घाम
शीतको छ न कुनै धुमधाम ।
वायु चल्दछ बडो सुखकारी
धन्य सुन्दर वसन्त विहारी ॥

  1. (यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)