Jump to content

Lalitya bhag 1 ra 2/dhan mahima

From Nepali Proofreaders
Revision as of 15:38, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=88 to=96 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
धन-महिमा

(१)
मनुष्यको जीवन-वृक्षलाई
अमन्द आनन्द-सुधा दिलाई ।
बडो उज्यालो रसिलो सदैव
गराउन मुख्य धनै छ दैव ॥

(२)
विपन्न, सम्पन्न, अशक्त, शक्त,
अयोग्य योग्याऽऽदिक यो विभक्त ।
प्रपञ्च, जो हो उसको प्रधान
निदान खाली धनलाई जान ।

(३)
सभा, कला-कौशल, खेति-पाती
लगान वाणिज्य अनेक भाँति ।
सुधार, शिक्षाऽऽदि सबै प्रपञ्च,
धनै भए मात्र बनी-रहन्छ ॥

(४)
यथार्थमा हेर मनुष्यलाई
मनुष्यताको सँगमा मिलाई ।
चढाउने उन्नति-शैल-माथि
धनै छ यौटा स्पृहणीय साथी ।

(५)
धनै भए लभ्य छ गाँस, वास
धनै भए मात्र रहन्छ सास ।
धनै छ सर्वोत्तम सार जे छ
सबै धनैमा लटकी-रहेछ |

(६)
कसेर चारैतिरबाट ल्याई
नचाउने नित्य मनुष्यलाई ।
रहेछ एकै धन-नाम खास
महेशको मोहन मन्त्र-पाश ॥

(७)
अशेष यो विश्वविषे विशेष
लगाइ आँखाकन लेश लेश ।
विचार आफैँ बुझ हाव-भाव
रहेछ कस्तो धनको प्रभाव ?

(८)
यसो गरे देखि यती हुनेछ
यती भए दुर्लभ फेरि के छ ?
भनेर खाली धनका निमित्त
समस्त संसार छ यो प्रवृत्त ॥

(९)
बुझ्यौ जहाँसम्म रहन्छ सास
सदा उहाँसम्म धनाऽऽभिलाष ।
अखण्डता-साथ बनी-रहन्छ
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥

(१०)
पुगी-सक्यो प्राण सबै गलामा
परीरहेको छ अघोर धामा ।
तथापि पाए धनको प्रसङ्ग
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥

(११)
लिएर साधारण भिक्षुलाई
ठुला ठुला भूपतिसम्मलाई ।
विशाल आशामय पाश हाली
घिसारने मुख्य धनै छ खालि ॥

(१२)
विरक्त बन्छ, व्यवहार लिन्नँ
कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥
भनी मुडायो शिर, किन्तु आँखा
बनीरहेका धनमा चनाखा ॥

(१३)
गुणी विवेकी, कवि, साधु, सन्त
बडे बडे पण्डितजी, महन्त ।
सबै जनाका धन देखदामा
हुने दुवै नेत्र बिछट्ट लामा ॥

(१४)
जती तिमी हेर, जती विचार,
जतीसुकै निर्मल चित्त पार ।
सबै जना यै मनमोहकारी-
स्वरूपधारी धनका भिखारी ॥

(१५)
विचार, विद्या, बल, शक्ति, तत्त्व
विवेक, फुर्ती, पटुता, महत्त्व ।
सबै कुराको धनमा छ वास,
धनै छ सांसारिक सार खास ॥

(१६)
सदा नयाँ मङ्गलका तरङ्ग
प्रसन्नता, कौतुक, केलि-रङ्ग ।
बहाड, वैचित्र्य, विनोद, वाद
सबै कुरा हो धनको प्रसाद ॥

(१७)
धनै छ आराध्य, धनै प्रणम्य
धनै महामान्य र पूज्य रम्य ।
धनै यशोमूल, धनै प्रतिष्ठा
सबै कुराको धनमा छ निष्ठा ॥

(१८)
घमण्ड, ढाँचा, छल, दम्भ, पाप,
अमर्ष, दौर्जन्य, पराऽऽभिताप ।
असत्य, शाठ्याऽऽदिक दोष-धारा
धन-प्रभाभित्र दबिन्छ सारा ॥

(१९)
उदार, सर्वज्ञ, सुयोग्य, ठालु,
बडो महात्मा, चतुरो, सिपालु ।
हुनू छ सर्वोत्तम मान्य माऊ
भने बुझ्यो खालि धनै कमाऊ ॥

(२०)
विनोद, चातुर्य, विचार, शक्ति,
महत्त्व, सौजन्य, विवेक, भक्ति ।
गुणज्ञता, भोग, विलास, चैन
असाध्य केही धनबाट छैन ॥

(२१)
लिएर शास्त्रीय ठुला किताप
बढाउने हो किन दुःख, ताप ।
तवर्गका अन्तिम वर्ण खालि
पढी दुईटा वन भाग्यशाली ॥

(२२)
सुरूपधारी छ, गुणी, युवा छ
प्रवृत्ति लोकोत्तर कर्ममा छ ।
परन्तु पैसा नभए अभागी
गनिन्छ छोटो मतिहीन दागी ॥

(२३)
विचार, विद्या, विनयाऽऽदि जानी
हुँदैन कोही पनि भाग्यमानी ।
यथार्थमा भाग्य भनेर नित्य
पुकारिने वस्तु छ एक वित्त ॥

(२४)
हुँदै नहोस्‌ क्यै गुण, शील, खूपी
स्वरूपमा होस्‌ बहुतै कुरूपी ।
तथाऽपि मानिन्छ धनी मनुष्य
जताततै यो बुझनू अवश्य ॥

(२५)
धनै भए मात्र रहन्छ मान
धनै भए हुन्न फिका जमान ।
धनै भए बन्दछ बुद्धिमान
धनै भए मिल्छ ठुलो कमान ॥

(२६)
जसो गरी हुन्छ धन-प्रवाह
सदा बहाई बन 'वाह वाह' ।
हुनेछ धारो धनको पियारो
सुक्यो भने लोक सबै अँध्यारो ॥

(२७)
धनै छ यागाऽऽदिक-धर्म-हेतु
धनै छ भाग्योदधिमाथि सेतु !
धनै भए मान्दछ राहु केतु
धनै छ सर्वोत्तम भाग्य-केतु ॥

(२८)
कमाइ पैसा धनधान्य-शाली
बनेर ऐनातिर एकपालि ।
लगाउ आँखा, मनमा विचार
यथार्थमा कौन रहेछ सार ? ॥

(२९)
प्रशस्त पैसा मुठिभित्र राख
गरी कडा शब्द गरीब डाक ।
दिमाक देखाउ, लगाउ धाक
नहाँकिने के छ ? एथेष्ट हाँक ॥

(३०)
फिजी नयाँ लम्पट बेस बेस
लिएर बालिष्टविषे अडेस ।
जहाँ जसो भन्छ धनी मनुष्य
उहाँ उसै हुन्छ बुझ्यौ अवश्य ॥

(३१)
लगाइ घेरा धनवान-नेरा
खडा नयाँ मित्रहरू घनेरा ।
दरिद्रता खास उनै पुराना
जहान आपस्त पनी बिराना ॥

(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥

(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन्‌ सब हात हात ॥

(३४)
[1]धनाऽभिधा कल्पलता चढाई
शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥

  1. (यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
    बालकका निमित्त लेखिएको हो । -लेखक)