Lalitya bhag 1 ra 2/ma kasto hu
Appearance
म कस्तो हूँ
(१)
बनूँ सत्यवादी, पढूँ नित्य विद्या
हटाऊँ सबै चित्तदेखिन् अविद्या ।
बडो धीर विद्वान्, बडो बुद्धिमान
फलानू छ भन्ने चलाऊँ बयान ॥
(२)
म को हूँ ? कहाँ छु ? कहाँ के छ हाल
लिएको छु के काम ? कस्तो छ चाल ?
सबै यो बिचारूँ विपज्जाल टारूँ
बडो बुद्धिमानी जगत्मा फिजारूँ ॥
(३)
लिएको छ जो लक्ष्य सोही कुरामा
खडा हुँ, उसैमा गरूँ घोर धामा ।
कुनै विघ्न आईपरेमा उजार-
नहूँ, कामलाई लगाऊँ म पार ॥
(४)
सधैँ हूँ उज्यालो सधैँ हूँ हँसीलो
सबैको म हूँ मित्र जस्तै रसीलो ॥
कसैलाइ काहीँ नपारूँ म मर्म
लिऊँ नित्य लोकोपकारी सुधर्म ॥
(५)
यता भिक्षुदेखिन् उता भूपसम्म
सबैको बुझूँ कर्मको तारतम्य ।
सुखैश्वर्य पाए नगम्कूँ गजक्क
विपत् पर्न आए नहूँ थक्क-थक्क ॥