Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/145

From Nepali Proofreaders
Revision as of 15:30, 25 June 2025 by Prty (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

(४)
तिम्रो त्यो मुख्य वासस्थल शिर शिवको पर्छ अत्यन्त टाढा
गछ्‌र्यौ टाढै भए तापनि तिमि रसको माधुरी-वृष्टि गाढा ।
खेली ठाडै सुरेली प्रणयमय यही तार एकै समाती
सोझै आएर माथी अमर पद पनी पाउँदो हो कि ? छाती ॥

(५)
टाढादेखिन्‌ खसेका विरल किरणको मन्द आभास मात्र
आँखाले पान गर्दा यसरि मन हरे ! हर्षको बन्छ पात्र ।
साँच्चैकी मूर्तिधारी तिमिकन म यहाँ पाउँदो हूँ त प्यारी !
भर्थे लाखौँ भकारी छिन छिन सुखका भूतलै स्वर्ग पारी ॥

(६)
अम्बा जम्बै बिकम्बा अरुचि छ लिचिमा, पाप झैँ आँप लाग्यो
फोस्रो मिश्री, मिठाई मह दह बहको, दाखको चाख भाग्यो ।
तिम्रो त्यो कान्तिधार फगत टुलुटुलू हेरदामा मलाई
संसारै प्राणप्यारी ! सकल हुन गएको छ खाली मलाई ॥

(७)
एक्कासी 'प्राणप्यारी' भनिकन यसरी जङ्गली जीव सानू
मेरो सौन्दर्यमाथी छिनछिन किन यो लीन भैजान्छ मानू ।
भन्ने आश्चर्य केही दिलबिच चढला, त्यो तिमी दूर फाल
ब्रह्माकै सृष्टिदेखिन्‌ तिमिसित गरदो छू सधैँ अङ्कमाल ॥