Buddhi binod/buddhi binod
कहाँ थियो वास अघी म को थिएँ
कसो हुँदा यो पिजरा लिंदो भएँ ।
कहाँ छ जानू कुन साथ लीकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१॥
म वाच्य को हो कसरी कहाँ बसी-
रहेछ त्यो इन्द्रिय-जालमा फसी ।
चिनिन्न आफूकन आफुले किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२॥
स्वयं निराधारविषे टनाटन
असंख्य ब्रह्माण्ड खडा गरीकन ।
जगत् जमायो कुन कर्मिले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३॥
कदापि कत्ती नलगाइ ठक्कर
ग्रहादिलाई दिनहूँ निरन्तर ।
घुमाउने को छ खडा भईकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४॥
निशाविषे माथि सधैं वरीपरी
अनन्त ज्योति गजमोतिले सरी ।
झुलीरहेका किन छन् ती को हुन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५॥
समस्त आकाशविषे टनाटन
थरी-थरी सुन्दर सृष्टि साधन ।
भएछ उत्पन्न कसो गरीकन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६॥
स्वभाव धर्माऽऽदि जुदा जुदा धरी
विशाल यो विश्वविषे थरी थरी ।
कसो हुँदा जीव जमे कडोरन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥७॥
अशेष आब्रह्म पिपीलिकातक
शरीर एकै उहि पाञ्च-भौतिक ।
परन्तु भोग्यादि घटी बढी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥८॥
झिलिक्क झिल्के बिजुली सरी सब
तुरुन्त छोडीकन जीवनोत्सव ।
अहो ! कती जीव गए कहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥९॥
बुढो पुरानो बदली प्रति-क्षण
नयाँ-नयाँ सृष्टिविषे टनाटन ।
सजाउने को छ मजा लिईकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१०॥
कती म जस्ता उहिल्यै बितीसके
कती सुतेका छन बाँचुँला म के ।
भनी कुनै कत्ति नआत्तिने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥११॥
समस्त सृष्टि स्थितिका नियामक
विरञ्चि नारायण शङ्करादिक ।
कहाँ बसेका छन गुप्त भैकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१२॥
अहो ! उनै जीव कुनै ति देवता
कुनै घुमेका गुहुमा यताउता ।
कहाँ गए ईश दया-निकेतन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१३॥
सबै सुखाऽऽस्वाद लिऊँ भनीकन
प्रवृत्त लाखौंतिर भै रहेछन ।
तथापि देखिन्न सुखी कुनै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१४॥
जहाँ दशै द्वार सधैं खुला छन
अहो ! उही प्राण समीर भाजन ।
फुसूफुसू सास नसिद्धिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१५॥
हरेक गर्भाऽन्तरमा पसीकन
बराबरी बालक बालिकागण ।
बनाउने ती गणितज्ञ को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१६॥
अनादि संसारविषे कुनै दिन
जताततै स्त्री जति शून्य भैकन ।
नजन्मनू केवल पूरुषै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१७॥
गुटूमुटू भैकन गर्भ-जालमा
बसी कठै ! अञ्जलि जोरि भालमा ।
कराउँदा बन्धुहरू थिए कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१८॥
झलक्क देखी निज-कर्म-पद्धति
उजार भै ईश्वरको गरी नति ।
उहाँ गरेको कुन हो निवेदन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१९॥
थियो जती गर्भविषे विरक्तता
गयो सबै त्यो जनमेपछी कता ?
हुँदैन केही पनि सम्झना किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२०॥
परत्र यस्तो छ यसो गर्यो भने
यसो-यसो हुन्छ भनेर देखने ।
नआउने कोहि पनी यहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२१॥
शरीर हो कारण पुण्य पापको
ढल्यो यहीं त्यो त बनी बिकामको ।
परत्रमा यो सब भोगने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२२॥
असत्य संसार असत्य देह यो
असत्यको भोग असत्य नै भयो ।
म सत्य आत्मा फिर जन्मने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२३॥
प्रमाणशाली श्रुति शास्त्र जो छन
अहो ! उनैमा झगडा टनाटन ।
यथार्थ के हो किन छैन मेलन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२४॥
कतै छ एकत्व कतै अनेकता
कतै सबै शून्य कतै क्रियात्मता ।
म सत्य मानूँ कसको विवेचन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२५॥
श्रुति, स्मृति, तन्त्र, पुराण मन्थन
गरेर बोक्रे झगडा लिईकन ।
यथार्थ जान्यो कसले सनातन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२६॥
जता जता दृष्टि दियो उतैतिर
कथा प्रपञ्चाऽऽदि अनन्त सुन्दर ।
महर्षिले जाल रचे वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२७॥
पराशर, व्यास, वशिष्ठ, जैमिनी
शुकाऽऽदि जो जो पहिले भए मुनि ।
गए ति के काम गरी कहाँ छन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२८॥
जमाइ साम्राज्य बसी नृपाऽऽसन
प्रजा खुशी पारि हुकूम् चलाउन ।
चटक्क छोडी किन ती पसे वन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२९॥
चुनेर जम्मा गरि कामिनी जन
असीम आनन्द लुटी लिनाकन ।
शुकादिको चित्त गएन हो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३०॥
कलत्र पुत्राऽऽदि सबै वरीपरि
लगाइ घेरा गफले जुलुम् गरी ।
शुकाऽऽदिले काल नफालनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३१॥
असत्य संसार सदैव देखिने
छ सत्य जो सो कहिल्यै नदेखिने ।
विचित्र उल्टो परिपञ्च यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३२॥
कहाँ छ वैकुण्ठ कहाँ छ रौरव
विचार को गर्दछ कर्मको सब ।
यथार्थमा तत्त्व छ शास्त्रको कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३३॥
प्रजा धरामा धरणी फणीशमा
फणीश पानी-बिच, पानी हो कहाँ ?
मिलेन विश्रान्ति जवाब हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३४॥
जमाउने सृष्टि सदा चतुर्मुख
उडाउने शङ्कर सृष्टिको सुख ।
हुँदैन होला झगडा अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३५॥
जगत्-व्यवस्था जसमा छ सन्तत
उनै स्वयं कृष्ण पराङ्गना-रत ।
कहाँ गयो उत्कट वेद-बन्धन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३६॥
घसी खरानी शिरमा जटा धरी
श्मशानमा नित्य बनी दिगम्बरी ।
लडीरहेका शिव हो अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३७॥
विलासिनी दिव्य अनन्त अप्सरा
छँदाछँदै यौवन-भार मन्थरा ।
फसे अहिल्यासित इन्द्र गै किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३८॥
पिएर गीताऽमृत शान्त भैकन
कुटुम्ब-हत्या-तिर लागनू किन ?
किरीटिले तत्व बुझे अहो ! कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३९॥
जती जगत्मा छ मनुष्यको गण
उती सबैका मनु मूल कारण ।
छँदा-छँदै जाति पृथक् बने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४०॥
कतै महापाप छ मद्य गोवध
कतै यही धर्म गनिन्छ मुख्यतः ।
पत्याउने के नपत्याउने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥
निबद्ध एकै पतिमा वधू जन
वधू हजारौं पतिले हुने लिन ।
चलेन पत्नीव्रतको प्रथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४२॥
विभाग वर्णाऽऽश्रमको गरीकन
जुदा जुदा जाति खडा गराउन ।
समर्थ को हो किन यो गरेछन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४३॥
अनन्त कष्ट व्यवसाय वैदिकी
क्रिया छ जो सोही भलो भनी सिकी ।
बडो बखेडा ऋषिले लिए किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४४॥
डटी जुता, कोट छडी लिईकन
रवाफी भै मोजमजा उडाउन ।
खराब ठान्यो ऋषिवृन्दले किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४५॥
यती पछी हुन्छ अवश्य सो कुरा
भनेर सम्पूर्ण बुझी पुरा पुरा ।
युग-व्यवस्था गरने ति को हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४६॥
त्रिकाल-दर्शी जगतै कपाउने
कठै ! उही ब्राह्मण-वर्ग हो भने ।
दरिद्र कुत्ता सरि आज भो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४७॥
महर्षिकै हौं सब हामि सन्तति
उनै पुराना छन मन्त्रपद्धति ।
तथापि आशीष नलागने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४८ढ॥
दयालू सर्वज्ञ ठुला अनीश्वर
प्रसिद्ध हाम्रा अघिका मुनीश्वर ।
कठै कुनै आज नपाइने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४९॥
अनन्त बाटा बटुवा छ एक यो ।
विचारमा रङ्मङिदा जनम् गयो ।
छँदै छ शङ्का अब कृत्य हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५०॥
कतै कसैको मराणान्त दुर्गति
कतै भने सम्पतिमाथि सम्पति ।
छ पक्षपाती सब जातिको किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५१॥
उही कुलो खेत बिऊ सबै उही
उसै गरी रोपिदिए पनि कहीं ।
हुँदैन धान्याऽऽदिक चैत्रमा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५२॥
अगाडि अध्यात्मविषे थियो जति
थिएन की शिल्पविषे उती मति ।
बनेन होला किन रेल, बेलुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५३॥
नयाँ कुनै दुर्बिन, यन्त्रको रती
सहाय केही नलिई ग्रह-स्थिति ।
अगाडिकाले कसरी बुझे हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५४॥
ग्रहाऽऽदिको त्यो उदयास्त पारने
सुवर्णको पर्वत-राज हो भने ।
नदेखिनू उत्तरतर्फ त्यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५५॥
नदी र नालाहरु रेलिदा सब
समुद्र उर्लेर तुरुन्त बेढब ।
समस्त पृथ्वी नडुबाउनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५६॥
उही छ माथी तलको नभस्तल
तथापि वृन्त-च्युत बृक्षका फल ।
नजानु माथी कहिल्यै पनी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५७॥
गडेर हेर्यो दुनियाँ जती जती
तरङ्ग शङ्का बढने उती उती ।
हुँदैन कत्ती पनि शान्तता किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५८॥
यसो गरेदेखि परिन्छ नेलमा
भनी बुझेकै छ तथापि जेलमा ।
परीरहेकै दुनियाँ अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥५९॥
जती कमायो धन धान्य सम्पति
तुरुन्त तृष्णा लहरी उती उती ।
बढेर जाने जनमैभरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६०॥
कलत्र पुत्राऽऽदि यहाँ जती छन
सबै ति थोरै दिनका भनीकन ।
बुझेपछी मुग्ध हुनू वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६१॥
प्रिया छ जो यौवनमा विलासिनी
पछी उही डङ्किनि धैर्य नाशिनी ।
रिसाउँछे दूर छि छी गरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६२॥
जहाँ छ सम्पत्ति तहाँ सबै जन
अघी-पछी लागि सधैं खडा छन ।
जगत् बिरानू धन रित्तिदा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६३॥
मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६४॥
शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६५॥
तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन ! ॥६६॥
मन:–
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ॥६७॥
॥ समाप्त ॥