Buddhibinodko pahila binod/baktabya
प्रिय ! वाचकवृन्द ! अघी मैले ७० सालमा भानुभक्तीय रामायण, विराटपर्व, भाषा पञ्चरत्न आदि कितापहरू भाका झिकी झिकी पढने नेपाली जनसमाजमा तर्कशक्तिको जागृति होस् भन्नाका निमित्त सानू बुद्धिविनोद नामक प्रश्नावली लेखेको थियें, त्यो ७३ सालमा निर्णय सागर प्रेस बम्बईमा छापिएर प्रकाश हुनासाथ नेपाली समाजले त्यसको ज्यादा चाह गर्यो, थोरै कालमा त्यो समाप्त पनि भो, कइएक विद्वान्हरूले तेसको उत्तर लेखने कष्ट पनि उठाए । मलाई नेपाली समाजको तर्कशक्तिमा जागृति पैदा भएको देखदा खुसी लाग्यो र मैले उही बुद्धिविनोदको जगमा–
कहाँ थियो वास ? तँ को ? म को थियें ?
प्रपञ्च के हो ? किन देह यो लियें ?
कहाँ छ जानू ? कुन साथ ली कन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ।।
भन्ने सप्तप्रश्नात्मक पहिला श्लोकका सातै प्रश्नका उपर पृथक् पृथक् विनोद खडा गरी प्रकाश गर्ने अभिप्रायले पहिला विनोद तयार गरी अरू विनोद लेखदै थियें, यस्तैमा ले. सूर्यबहादुरको प्रेरणाले सो पहिला विनोद साहित्यमालाको प्रथम पुष्पको स्वरूपमा १९९४ सालमा पनि प्रकाश गरें । तर त्यो पनि थोरै समयमा नै हातोहात गई समाप्त भएकोले हाल सो पहिला विनोद वाचक-वर्गको करकमलमा उपस्थित गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।
हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ: पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पूर्ण सार्थकता संझी
'सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
नवमेव मनोहारि नारीणामिव यौवनम् ॥'
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् ।
विनीत
लेखनाथ
२००३ पौष १५ गते